काठमाडाैं । म्याग्दीको करबाकेली इको ट्रेकमा पर्ने सुन्दर पर्यटकीय स्थल आलडाँडा पर्यटकको पर्खाइमा छ । अन्नपूर्ण गाउँपालिका -८ मा पर्ने आलडाँडा सुन्दर पर्यटकीय गन्तव्य भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।
गुराँसे जङ्गल बीचमा रहेको आलडाँडाबाट गुर्जा, धवलागिरि, मानापाथी, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे र मनासलु हिमालको मनोरम दृष्यअवलोकन गर्न सकिन्छ । बिहानको सूर्योदय र साँझमा सूर्यास्तको सुन्दर दृश्यावलोकन गर्न सकिने आलडाँडा समुन्द्री सतहदेखि दुई हजार ६२० मिटर उचाइमा पर्दछ । आलडाँडालाई पर्यटकीय स्थलका रूपमा विकास गर्न गाउँपालिका र गण्डकी प्रदेश सरकार पर्यटन पूर्वाधार निर्माणमा जुटेका छन् ।
आलडाँडाबाट प्रसिद्ध पर्यटकीय स्थलहरू पुनहिल, घोडेपानी, मोहरेडाँडा र खोप्रा खयरलेक नजिक पर्दछन् । करबाकेली इको ट्रेक हुँदै आलडाँडा पुगेका पर्यटकहरू एकरात यहाँ बास बसेपछि चाहनाअनुसार पुनहिल, घोडेपानी, मोहरेडाँडा र खोप्रा खयरलेक जाने गर्दछन् ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण भए पनि प्रचारप्रसारको कमीले ओझेलमा परेको स्थानीय पर्यटन व्यवसायी भक्तबहादुर पुनले बताए । कोरोना महामारीका कारण विगतमा पर्यटक आगमन कमी आएको र अहिले भने आन्तरिक पर्यटक आउन थालेको पुनले बताए ।
स्वदेश तथा विदेशमा करबाकेली इको ट्रेकको प्रचारप्रसार गर्न सके आलडाँडामा पर्यटकको आगमनलाई बढाउन सकिने उनले सुनाए ।
पर्यटकको सुविधाका लागि पुनले दुई वर्ष अघि करिब ४५ लाख रुपियाँ लगानी गरेर २० जना बास बस्न सक्ने क्षमता भएको हिमालयन भ्यू एन्ड गेस्टहाउस समेत सञ्चालनमा ल्याएका छन् । शान्त र मनोरम वातावरण भएकाले युवा घुम्न आउने गरेको उनले बताए । राम्चे हुँदै मोटरसाइकलबाट यहाँ आउन सकिने भएकाले धेरैजसो युवा आउने गरेको उनको भनाइ छ ।
शान्त वातावरणमा रमाउन चाहनेका लागि आलडाँडा उपयुक्त स्थल भएको बताउनुहुँदै पुनले भने ‘‘यहाँ विदेशीभन्दा पनि आन्तरिक पर्यटक आउने गर्दछन् । मोहरे डाँडा, पुनहिल, घोडेपानी, खोप्रा र खयरलेक जानका लागि आलडाँडा संगमस्थल हो ।’’
गाउँपालिकाले कार्यान्वयन गर्ने गरी गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा करबाकेलीदेखि आलडाँडा हुँदै मोहरेडाँडासम्म पदमार्ग निर्माणका लागि ३० लाख रुपियाँ विनियोजन गरेको वडा नबर ८ राम्चेका वडाध्यक्ष खमबहादुर गर्बुजाले बताए ।
उपभोक्ता समिति मार्फत पदमार्ग निर्माण थालिएको उनको भनाइ छ । उनका अनुसार आलडाँडामा गुराँसको जङ्गलका साथै विभिन्न प्रजातिका वनस्पति, जडीबुटी, वन्यजन्तु र पन्छीहरूको पनि अवलोकन गर्न पाइन्छ ।
करबाकेली इको ट्रेक र अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गमा पर्ने आलडाँडा, करबाकेही, राम्चे, नागी, मोहरेडाँडा, कालीदह, फूलबारी, पुनहिल, घोडेपानी, प्यारीबाराही र टिकोटको मध्य भागमा पर्ने आकर्षण पर्यटकीय स्थल भएको वडाध्यक्ष गर्बुजाले बताए । गाेरखापत्र अनलाइन