बुधबार , जेठ २०, २०८३

‘घुमौँ लुम्बिनी’ टिकटक प्रतियोगिताको घोषणा

वैशाख १० गतेदेखि २० गतेसम्म प्रतियोगीहरूले भिडियो बनाउनुपर्ने र २१ गते घोषणा गरिनेछ ।

image

काठमाडाैं । २५६७ औँ बुद्धजयन्तीको अवसरमा बुद्धजन्मस्थल लुम्बिनीको प्रवर्द्धन गर्ने उद्देश्यले ‘घुमौँ लुम्बिनी’ शीर्षकमा टिकटक प्रतियोगिताको घोषणा गरिएको छ । लुम्बिनी विकास कोषले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा बुद्धजन्मस्थल लुम्बिनीको प्रचार प्रचार र प्रवर्द्धन गर्ने गरी घुमौँ लुम्बिनी टिकटक प्रतियोगिताको घोषणा गरेको हो ।

कोषका सदस्य सचिव सानुराजा शाक्यले मङ्गलवार एक प्रेस विज्ञप्ति जारी गरी प्रतियोगिताका लागि देश विदेशका प्रतियोगीहरूका लागि खुल्ला आह्वान गरिएको जानकारी दिए । भगवान् बुद्धको जन्मस्थल लुम्बिनीलाई बुद्ध धर्म र विश्व शान्तिको मुहानका रूपमा प्रवर्द्धन गर्ने गरी सृजनात्मक रूपमा टिकटक भिडियो बनाउनुपर्ने जनाइएको छ ।

प्रतियोगितामा सहभागी हुनका लागि घुमौँ लुम्बिनी डटकममा आफ्नो नाम, सम्पर्क नम्बर र टिकटक खाता दर्ता गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । वैशाख १० गतेदेखि २० गतेसम्म प्रतियोगीहरूले भिडियो बनाउनुपर्ने र २१ गते घोषणा गरिनेछ । पछिल्लो सामाजिक सञ्जालका रूपमा टिकटक लोकप्रिय भइरहेको बेला बुद्धजन्मस्थल आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न प्रभावकारी हुने भएकाले घुमौँ लुम्बिनी टिकटक प्रतियोगिता गरिएको हो ।

प्रतियोगितामा भाग लिन इच्छुक प्रतियोगीहरूले नाम दर्ता गरेपछि दिइएको विषयवस्तुमा मौलिक र सृजनात्मक टिकटक छोटो भिडियो बनाउनुपर्ने छ । प्रतियोगीतहररूमध्ये विशेषज्ञ मूल्याङ्कन समितिले विजेता छनौट गर्ने र विजेतालाई नगदसहित अन्य उपहारबाट पुरस्कृत गरिने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

चैत १७ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको अध्यक्षतामा लुम्बिनीमा बसेको बोर्ड लुम्बिनी विकास कोषको बैठकले बुद्ध जयन्तीको अवसरमा टिकटक प्रतियोगिता गर्ने निर्णय गरेको थियो ।

विज्ञप्ति:

सम्बन्धित समाचार