शनिबार , अषोज ३, २०८३

कनकमुनि बुद्धको प्रतिमा सहितको बगैँचा अलपत्र

image

काठमाडाैं । लुम्बिनीकाे आरौराकोट नजिकै कनकमुनि बुद्धको प्रतिमा सहितको बगैँचा अलपत्र अवस्थामा रहेको छ । निर्माण गरिएको मूर्ति सहितको बगैँचा संरक्षण नहुँदा अलपत्र परेको हो । कनक मुनि बुद्धको जन्मस्थल निगालीकोटबाट करिब डेढ किलोमिटर पूर्वमा उक्त मूर्ति अनावरण गरिएको थियो ।

बुद्ध स्थल तीर्थाटनको लागि नेपाल आएका भारतीय सम्राट् अशोकले लुम्बिनीपछि निग्लिहवाको पनि तीर्थाटन गरेका थिए । तीर्थाटनमा आएका सम्राट् अशोकले नै आफूले भ्रमण गरेको चिनो स्वरूप लुम्बिनी र कपिलवस्तुमा स्तम्भ बनाएर ठड्याएका थिए । जुन स्तम्भलाई अशोक स्तम्भको नामले विश्वभरका बौद्ध अनुयायीहरूले चिन्ने गर्छन् । तर गौतम बुद्ध भन्दा पनि पहिलेका बुद्धहरूले राज गरेका प्राचीन नगरहरूको प्रचार प्रसार र संरक्षण हुन नसक्दा यी स्थलको महत्त्व ओझेलमा परेको भन्दै बुद्धप्रतिमा निर्माण गरिएको हो ।

९० लाख ६ हजार ७ सय ९९ रुपैयाँको लगतमा कनकमुनि बुद्धको मूर्ति सहितको बगैँचा निर्माण गरिएको थियो । डिभिजन वन कार्यालय र लुम्बिनी प्रदेशको सहयोगमा उक्त मूर्ति र बगैँचा निर्माण गरिएको हो ।

कनकमुनि बुद्धको प्रतिमा निर्माण गर्नु राम्रो कार्य भए पनि अहिले त्यसको संरक्षणको जिम्मा कसैले नलिए पछि अलपत्र परेको स्थानीय सुग्रीव बरईले बताए । लाखौँ खर्चेर मूर्ति अनावरण गरियो तर त्यहाँ पुग्नाको लागि बाटो जीर्ण रहेको उनको भनाई छ । उनले भने, “यही नजिकै रहेको आरौराकोटको उत्खनन तथा अन्वेषणमा त्यति बजेट खर्च भएको भए केही काम पनि देखिन्थ्यो ।” कनकमुनि बुद्धले आफ्नो बाल्यकाल तथा वैवाहिक जीवन व्यथित गरेको ठाउँ अरौराकोट संरक्षणको अभावमा रहेको उनले बताए ।

वडासँग त्यसको विकासका लागि पर्याप्त बजेट नभएकोले प्रदेश सरकार र लुम्बिनी विकास कोषले विशेष चासो दिनु पर्ने कपिलवस्तु नगरपालिका वडा नं. ११ का वडाध्यक्ष राम गोपाल यादवले बताए । उनले लुम्बिनी प्रदेश सरकारले प्रतीक्षालय र फुटपाथ निर्माणका लागि काम अगाडी बढाएको बताए ।

प्रतिमा सहितको बगैँचा वन कार्यालयको स्वामित्वमा रहेकोले कोषले त्यसको विकासको लागि केही गर्न नसक्ने लुम्बिनी विकास कोष कपिलवस्तुका प्रमुख माधव प्रसाद आचार्यले बताए । खाली बगैँचा र प्रतिमा निमार्ण गरेर भएन त्यसको विकास पनि गर्नु पर्ने उनको भनाई छ ।

आरौराकोट नजिकैको कनकमुनि बुद्धको प्रतिमा सहितको बगैँचा निर्माणको कार्य अहिले अलपत्र रहेको डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख विजयराज सुवेदीले बताए । लुम्बिनी प्रदेश सरकार परिवर्तनसँगै मन्त्रालय पनि बाँडफाँड हुँदा समस्या परेको उनले बताए । पर्यटन तथा वन मन्त्रालय हुँदा सो कार्य भएको र अहिले आएर वन मन्त्रालय र पर्यटन मन्त्रालय विभाजन हुँदा वन कार्यालयमा बजेट आउन छोडेको कारणले काम गर्न अप्ठ्यारो भएको प्रमुख सुवेदीले बताए । उनले यसको संरक्षण पर्यटन मन्त्रालय सँगै स्थानीय तहको पनि भूमिका हुनु पर्ने बताए ।

प्राचीन कपिलवस्तु नगरी शाक्यमुनि बुद्धले २९ वर्ष जीवन बिताएको स्थल हो । यहाँ बुद्धका पिता राजा शुद्धोधनले राज्य गरेको क्षेत्र रहेकोले कपिलवस्तुलाई पुरातात्त्विक, ऐतिहासिक तथा धार्मिक महत्त्वको क्षेत्रको रूपमा लिइन्छ । गाेरखापत्र अनलाइन

सम्बन्धित समाचार