शनिबार , अषोज ३, २०८३

हनुमानढोकामा बढे पर्यटक

image

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रमा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ । युनेस्को विश्व सम्पदामा सूचीकृत रहेको यो क्षेत्रमा पछिल्लो समय घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार संरक्षण कार्यक्रमले जनाएको छ । धार्मिक स्थलका रूपमा समेत प्रसिद्ध मानिने वसन्तपुर दरबार क्षेत्रमा घुमघामसँगै धार्मिक आस्थासँग जोडिएका आन्तरिक पर्यटकको चहलपहल बढेको हो ।

आर्थिक वर्ष २०७९/८० को नौ महिनामा बिम्स्टेक राष्ट्रहरूबाट २८ हजार २५३ र अन्य राष्ट्रबाट ६९ हजार २२६ जना विदेशी पर्यटकले हनुमानढोका दरबार क्षेत्रको भ्रमण गरेका छन् । तथ्याङ्कअनुसार गत वर्षको साउनमा सार्क राष्ट्रबाट एक हजार तीन सय र अन्य देशबाट दुई हजार ८६४ जनाले दरबार क्षेत्रको भ्रमण गरेका छन् ।

त्यसैगरी भदौमा सार्क राष्ट्रबाट एक हजार ८९३ र अन्य देशबाट तीन हजार ६१०, असोजमा सार्क राष्ट्रबाट सार्क राष्ट्रबाट तीन हजार १७८ र अन्य मुलुकबाट १० हजार ५९४, कात्तिकमा सार्क राष्ट्रबाट तीन हजार ८०२ र अन्य मुलुकबाट १५ हजार ११७, मङ्सिरमा सार्क राष्ट्रबाट तीन हजार ५३ र अन्य मुलुकबाट छ हजार २१६, पुसमा सार्क राष्ट्रबाट चार हजार ६०२ र अन्य मुलुकबाट चार हजार १६०, माघमा सार्क राष्ट्रबाट दुई हजार ६२ र अन्य मुलुकबाट चार हजार २७५, फागुनमा सार्क राष्ट्रबाट तीन हजार ८१८ र अन्य मुलुकबाट आठ हजार चार सय र चैतमा सार्क राष्ट्रबाट चार हजार ४४६ र अन्य मुलुकबाट १३ हजार ९९० विदेशी पर्यटकले दरबार क्षेत्रको भ्रमण गरेका छन् ।

महानगरका अनुसार उक्त अवधिमा दरबार क्षेत्रमा प्रवेश गर्ने पर्यटक शुल्कबाट सरकारलाई सात करोड ३४ लाख ६३ हजार ९५० रुपियाँ राजस्व सङ्कलन भएको छ ।

त्यसैगरी नौ महिनाको सोही अवधिमा दरबार क्षेत्रमा चलचित्र छायाङ्कनको अनुमतिबाट दुई लाख ७५ हजार रुपियाँ आम्दानी भएको तथ्याङ्कमा उल्लेख छ । कार्यक्रमले सार्क देशका पर्यटकसँग १५० रुपियाँ र सार्क बाहिरी देशका पर्यटकसँग एक हजार रुपियाँ शुल्क लिने गरेको छ ।

सम्बन्धित समाचार