काठमाडाैं । ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल (टान)ले लमजुङ र गोरखाको उत्तरी भेगस्थित चार पालिकालाई जोडेर ट्रेकिङ ट्रेल बनाउने भएको छ ।
दुई जिल्लाको पर्वतीय क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले गोरखाको अजिरकोट गाउँपालिका र लमजुङको पूर्वी उत्तरी क्षेत्रहरू, दोर्दी, दुधपोखरी र मर्स्याङ्दी गाउँपालिकालाई जोडेर ट्रेकिङ ट्रेल बनाउन लागिएको टानले जनाएको छ ।
बुधवार दोर्दी गाउँपालिकामा भएको टान र स्थानीय तह प्रमुखहरूसँगको बैठकले पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम तय गरेको छ ।
दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बुद्ध हिमाल, हिमालचुली, ग्रेट लेक सर्किट ट्रेलको लागि गोरखाको अजिरकोट गाउँपालिका, लमजुङको दोर्दी, दुधपोखरी र मर्स्याङ्दी गाउँपालिका बिच समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।
उक्त सर्किट ट्रेल निर्माणका लागि दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीको संयोजकत्वमा समन्वय समिति निर्माण गरिएको छ । समितिको सदस्यहरूमा मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, अजिरकोट गाउँपालिका अध्यक्ष दिपक देवकोटा, दुधपोखरी गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङ र टानका द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ रहेका छन् ।
यसैगरी बुद्ध हिमाल, हिमालचुली, ग्रेट लेक सर्किट ट्रेल निर्माणका लागि अजिरकोट र दुधपोखरी गाउँपालिकाको सिमानामा राईनास नगरपालिका, दोर्दी गाउँपालिका र मर्स्याङ्दी गाउँपालिकाको सिमानामा बेसीशहर नगरपालिका भएकाले राईनास र बेसीशहर साझेदारी र सहकार्य गर्नका लागि उक्त राईनास नगरपालिका, बेसीशहर नगरपालिका र नासो गाउँपालिका जोड्ने निर्णय गरिएको छ ।
कार्यक्रममा दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी, मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, दुधपोखरी गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङ, अजिरकोट गाउँपालिका अध्यक्ष दिपक देवकोटा, टानका अध्यक्ष निलहरि बास्तोला, दोर्दी गाउँपालिका उपाध्यक्ष विच्छबहादुर घले, दुधपोखरी गाउँपालिका उपाध्यक्ष क्षेत्रबहादुर गुरुङ,अजिरकोट गाउँपालिका उपाध्यक्ष अनिता भुजेल, दोर्दी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सम्सेर गुरुङ, दुधपोखरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्याय, अजिरकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवराज अवस्थी, टानका उपाध्यक्ष धनबहादुर गुरुङलगायतको उपस्थिति रहेको थियो ।