ताप्लेजुङ । नेपालकाे पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उदेश्यले एनटिपी मल्टिमिडिया ग्रुपद्वारा आयाेजित ‘ताप्लेजुङ–दार्चुला पर्यटन प्रवर्द्धन टूर’ ताप्लेजुङको सदरमुकाम फुङलिङबाट सुरु भएको छ ।
एनटिपी मल्टिमिडिया ग्रुपको संयोजनमा, नेपाल उद्योग वाणिज्य सङ्घ, होटल एशोसिएसन अफ नेपाल (हान), नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्टस (नाट्टा), नेपाल पर्यटन बोर्डको सहकार्यमा टूरको आयोजना गरिएको हो ।
आइतबार ताप्लेजुङको फुङलिङमा पत्रकार सम्मेलन गर्दै टूरको औपचारिक सुरु गरेको छ । टूरमा युवा पत्रकार र कलाकार सम्मिलित छन् ।
टोलीले ताप्लेजुङका स्थानीय सरोकारवाला, पर्यटन व्यवसायी एवम् सञ्चारकर्मीहरूसँग पर्यटन प्रवर्द्धन, पर्यटनमा जलवायु परिवर्तनको असर, पर्यटकीय गन्तव्य, पर्यटकीय गतिविधि लगायत विषयमा छलफल समेत गरेका छन् ।
टोलीसँगको छलफलमा स्थानीय सरोकारवालाहरूले ताप्लेजुङको पर्यटन, सम्भावना, चुनौती लगायत विषयमा धारणाहरू राखेका छन् ।
ताप्लेजुङका सहायक जिल्ला अधिकारी टङ्क भट्टराईले यस यात्राले ताप्लेजुङको पर्यटन प्रवर्द्धनमा ठुलो योगदान पुग्ने विश्वास व्यक्त गरे ।
“ताप्लेजुङबाटै यात्रा सुरु गर्नुभएकोमा आभार व्यक्त गर्न चाहन्छु । यहाँहरूको यस यात्राले ताप्लेजुङको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास छ ।” सहायक जिल्ला अधिकारी भट्टराईले भने ।

उद्योग वाणिज्य सङ्घ ताप्लेजुङका वरिष्ठ उपाध्यक्ष दावा शेर्पाले नेपालको विकास र समृद्धिको आधार पर्यटन र कृषि नै भएको बताए । पर्यटन र कृषिमा राज्यको विशेष ध्यान जान आवश्यक रहेको उनले बताए । ताप्लेजुङदेखि दार्चुलासम्मको यस यात्राले ताप्लेजुङलाई थप परिचित बनाउने उनले विश्वास व्यक्त गरे ।
नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान केन्द्रीय सदस्य तारानाथ घिमिरेले ताप्लेजुङका पर्यटकीय गन्तव्यहरूबारे विभिन्न फोरमहरूमा चर्चा गरेर प्रवर्द्धन गरिदिन आग्रह गरे ।
रेडियो ताप्लेजुङका पत्रकार देवराज गुरुङले नेपालको सूर्य उदाउने जिल्ला ताप्लेजुङ भएको जनाउँदै यसबारे प्रचार गरिदिन आग्रह गरे ।
ताप्लेजुङमा पर्यटनको अथाह सम्भावना भएर पनि प्रवर्द्धन गर्न नसकिएको उनले बताए ।
ताप्लेजुङबाट पर्यटन प्रवर्द्धन टूर सुरु गरेकोमा टोलीप्रति आभार व्यक्त गरेका छन् । यस यात्राले ताप्लेजुङको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास उनीहरूले व्यक्त गरे ।
सहायक जिल्ला अधिकारी, उद्योग वाणिज्य सङ्घ ताप्लेजुङका वरिष्ठ उपाध्यक्ष, पर्यटन व्यवसायी, सञ्चारकमी, स्थानीय सरोकारवाला लगायत गरी २५ जनाभन्दा बढीको उपस्थिति रहेको थियो ।
स्थानीय पत्रकार एवम् रेडियो काबेलीका कार्यक्रम संयोजक एलिना दियालीले कार्यक्रमको सहजीकरण गरेकी थिइन् ।

पर्यटन प्रवर्द्धनका लागि जेठ १० गते काठमाडौंबाट सुदूरपूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुलासम्मको मोटरसाइकल यात्रामा निस्किएको टोली शनिवार ताप्लेजुङ पुगेको थियो ।
टोली काठमाडौंबाट निस्केको दिनमा खोटाङको हलेसी पुगेका थिए । हलेसीका पर्यटन व्यवसायी र हलेसी सूचना केन्द्रले टोलीलाई स्वागत गरेको थिए ।
टोलीले हलेसीका पर्यटन व्यवसायी, हलेसी महादेव मन्दिर व्यवस्थापन समितिका पदाधिकारी लगायत स्थानीयसँग पर्यटन प्रवर्द्धनका विषयमा छलफल गरेको थियो ।
जेठ ११ गते खोटाङको दिक्तेल बजारको भ्रमण, स्थानीय सञ्चारकर्मी, पर्यटन व्यवसायीसँग छलफल गर्दै खोटाङ र भोजपुरको सिमानास्थित चखेवा पुगेका थिए । चखेवा चर्चित मुन्धुम पदमार्गको बेस क्याम्प हो । टोलीले चखेवा र मुन्धुम पदमार्गको पर्यटन प्रवर्द्धनबारे स्थानीयसँग छलफल गरेका थिए ।
जेठ १० देखि २५ सम्मको यात्रा तालिका तय भएपनि यात्राअवधि लम्बिने संयोजक विष्णु विवेकले बताए ।
“मौसमको गडबडी, बाटोको अवस्था, सवारी साधनको कन्डिसन लगायत कारणले यात्रा लम्बिने भएको छ । हामी जस्तोसुकै अवस्थामा पनि यात्रा सफल र उपलब्धिमूलक बनाउनेछौँ ।” उनले भने ।
टोली आइतबार झापा पुग्ने छन् । टोलीले सातवटै प्रदेशमा स्थानीय सरोकारवालासँग पर्यटन प्रवर्द्धन, पर्यटकीय गन्तव्य, पर्यटनमा जलवायु परिवर्तनको असर लगायत विषयमा प्यानल डिस्कसन गर्नेछ ।
मध्यपहाडी लोकमार्ग र पूर्व पश्चिम राजमार्गको यात्राको क्रममा टोली करिब ६० वटा जिल्लामा पुग्नेछ । एकसय भन्दा बढी पर्यटकीय गन्तव्यमा पुग्नेछ । करिब एक हजार जना स्थानीय सरोकारवालासँग पर्यटन र जलवायु परिवर्तनबारे छलफल गरिने भएको छ ।
कोभिड महामारीबाट थला परेको पर्यटनलाई उठाउन, नयाँ पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन, पर्यटनमा जलवायु परिवर्तनको प्रभाव, पर्यटन व्यवसायीहरूको अवस्थाको अध्ययनका लागि टूर कोशेढुङ्गा साबित हुने टूर आयोजकले जनाएको छ ।
टाेलीमा अहिले विष्णु विवेक, राजाराम पाैडेल, पवित्रा खड्का, चन्द्र तामाङ र चन्द्रकला कार्कीसहित पाँच जना छन् । काठमाडाैंबाट पाख्रिबाससम्म धनकुमार कार्की र नारायण खनाल पनि सम्मिलित थिए । अन्य पत्रकारहरू विभिन्न स्थानबाट जाेडिनेछन् ।