शुक्रबार , भाद्र २६, २०८३

‘ताप्लेजुङ-दार्चुला टूर’ टिमलाई सौराहामा स्वागत

image

चितवन । नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले ताप्लेजुङदेखि दार्चुलासम्मको यात्रामा रहेको “नेपाल टुरिजम प्रोमोशन टूरः ताप्लेजुङ टु दार्चुला” टिमलाई चितवनको सौराहामा स्वागत गरेको छ । पूर्व क्षेत्रको यात्रा गर्दै बुधवार सौराहा आइपुगेको टिमलाई सौराहास्थित जङ्गल सफारी लजमा स्वागत गरेको हो ।

होटल एशोसिएसन अफ नेपाल (हान)का केन्द्रीय सदस्य एवम् जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरे, होटल एशोसिएसन अफ नेपाल (हान) चितवनका क्षेत्रीय अध्यक्ष गङ्गा नारायण गिरी, पर्यटन प्रहरी सौराहाका प्रमुख रविन्द्र प्रसाद दाहाल लगायतले टिमलाई स्वागत गरेका छन् ।

टिमले सरोकारवालाहरूसँग सौराहा, संस्कृति र संरक्षण विषयमा प्यानल डिस्कसन गरेको छ । नेपाल टुरिजम प्रोमोशन टूरका संयोजक विष्णु विवेकले मोडरेट गरेको प्यानल डिस्कसनमा हानका केन्द्रीय सदस्य एवम् जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरे, हान चितवनका क्षेत्रीय अध्यक्ष गङ्गा नारायण गिरि, पर्यटन प्रहरी सौराहाका प्रमुख रविन्द्र दाहाल सहभागी थिए ।

हानका केन्द्रीय सदस्य सुमन घिमिरेले नेपाल टुरिजम प्रोमोशन टूर टिमको यस यात्राले नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

पत्रकार र कलाकार सम्मिलित यस यात्राले पर्यटनको वास्तविक अवस्था बुझ्न सघाउने र यसले नेपालको पर्यटन क्षेत्रमा ठूलो अर्थ राख्ने उनले बताए ।

सुमन घिमिरे, केन्द्रिय सदस्यः हान । सञ्चालकः जङ्गल सफारी लज, साैराहा ।

चितवन राष्ट्रिय निकुञ्ज विश्वकै पर्यटकका लागि आकर्षक गन्तव्य भएको उनले बताए । घिमिरेले सौराहाको पर्यटनबारे प्रचार गरिदिन टिमसँग आग्रह पनि गरेको छ ।

सौराहामा अहिले ३० प्रतिशत बाह्य पर्यटक रहेको र बाँकी ७० प्रतिशत आन्तरिक पर्यटक रहेको उनले जानकारी दिए ।

“पहिला ७० प्रतिशत विदेशी र ३० प्रतिशत स्वदेशी पर्यटक हुन्थ्यो, तर अहिले उल्टिएको छ”, उनले भने, “अब आन्तरिक पर्यटन प्रवर्द्धनमा ध्यान दिन जरुरी छ ।”

पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई हेर्ने नजर परिवर्तन गर्न जरुरी रहेको उनले घिमिरेको भनाइ छ ।

त्यसैगरी हान चितवनका क्षेत्रीय अध्यक्ष गङ्गा नारायण गिरिले पत्रकार र कलाकारहरूको यस यात्राले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने बताए ।

उनले सौराहाको पर्यटन गतिविधिबारे जानकारी दिए । उनले “सौराहामा गैँडाको लोप हुने” भन्ने खालका प्रचारहरू कपोलकल्पित भएको बताए ।

गङ्गा नारायण गिरि, क्षेत्रीय अध्यक्षः हान चितवन ।

“सौराहामा गैँडा लोप हुँदै छ भन्ने खालका प्रचारहरू पनि सुनिन्छ, तर वास्तवमा त्यस्तो अवस्था छैन । गैँडाको सङ्ख्या बढिरहेको छ । लाखौँ वर्षसम्म पनि लोप हुने छैन । हामी संरक्षणमा लागिपरेका छौँ ।”उनले भने ।

सौराहाको पर्यटनलाई थप विस्तारित र दिगो बनाउनका लागि विभिन्न पर्यटकीय आकर्षणहरूको निर्माण, सांस्कृतिक पर्यटनको विकासमा ध्यान दिन जरुरी रहेको उनले बताए ।

पहिले थारु संस्कृतिलाई मात्रै पर्यटनसँग जोडिएकोमा अहिले १५ देखि २० समुदायको संस्कृतिलाई पर्यटनसँग जोड्ने कार्य भइरहेको उनले जानकारी दिए ।

पर्यटन प्रहरी सौराहाका प्रमुख रविन्द्र प्रसाद घिमिरेले सौराहामा पर्यटक सुरक्षाको अवस्था राम्रो रहेको बताए । “पर्यटक, व्यवसायी एवम् स्थानीयबीच परिवारको जस्तो सम्बन्ध देखिन्छ यहाँ । सुरक्षा अवस्था राम्रो छ । हामी पनि उहाँहरूको सुरक्षामा कुनै कसरत बाँकी राखेका छैनौँ ।” प्रमुख घिमिरेले भने ।

रविन्द्र प्रसाद दाहाल, प्रमुखः पर्यटन प्रहरी कार्यालय, साैराहा ।

डिस्कसनमा टिमका एक जना सदस्य पवित्रा खड्काले टिमको यात्रा, गतिविधि, पर्यटन र ग्लोबल वार्मिङबारे विभिन्न जिल्लाका स्थानीहरूको बुझाइ र प्रतिक्रियाबारे ब्रिफिङ गरेकी थिइन् ।

कोभिड महामारीपछिको पर्यटन उत्थानमा सहयोग पुर्‍याउने, पर्यटकीय गन्तव्यहरूको पहिचान र प्रवर्द्धन, पर्यटनमा ग्लोबल वार्मिङको असरको अध्ययनका लागि नेपाल टुरिजम प्रोमोशन मल्टिमिडिया ग्रुपको आयोजना, हान, नाट्टा, एफएनसिसिआई, नेपाल टुरिजम बोर्डको सहयोगमा यात्रा भइरहेको हो ।

टिममा विष्णु विवेक विश्वकर्मा, चन्द्र तामाङ, पवित्रा खड्का, राजाराम पौडेल, चन्द्रकला कार्की रहेका छन् । जेठ १० गते काठमाडाैंबाट हिँडेकाे टिमले जेठ १४ गते ताप्लेजुङबाट औपचारिक यात्रा सुरु गरेकाे थियाे ।

सम्बन्धित समाचार