काठमाडाैं । यस वर्षको ‘धान दिवस तथा रोपाइँ महोत्सव-२०८०’ असार १५ गते बेलकोटगढीमा मनाउने भएको छ । गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपाल र बेलकोटगढी नगरपालिकाको संयुक्त आयोजना नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा नुवाकोटको बेलकोटगढीमा मनाउन लागिएको हो ।
नेपालमा असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाइन्छ। यो दिन किसानहरूले महत्त्वपूर्ण पर्वको लामो समयदेखि मनाउँदै आएका छन् । डेढ दशक वर्षअघि नेपाल सरकारले यस दिनलाई औपचारिक रूपमा धान दिवस घोषणा गरी मनाउन थालेपछि राष्ट्रिय पर्वको रूपमा मनाउने गरिएको हो ।
नेपालको इतिहासमा धान मुख्य खाद्य बाली रहेको, सभ्यता र संस्कृतिसँग जोडिएको साथै साथै जीवनयापनको अभिन्न अङ्ग रहेकाले असार १५ लाई किसानहरूले महत्त्वपूर्ण उत्सवका रूपमा लिइन्छ ।
धानसँग सम्बन्धित विविध विषयलाई उजागर गर्नुका साथै यसको महत्वलाई दर्शाउन तथा सबैको ध्यान किसानतर्फ आकर्षित गर्ने अभिप्रायले नेपाललगायत एसियाका विभिन्न देशमा धान बचाऔँ अभियान सशक्त रूपमा अगाडि बढ्दै छ ।
असार १५ लाई वर्षाको सुरुवात, मुख्य वाली धानको रोपाइँका साथै हाम्रो संस्कृति र सभ्यतासँग गाँसिएको महत्त्वपूर्ण दिन समेत हो । यो दिनलाई रोपाइँमा सहभागी हुँदै खुशी र आनन्द अभिव्यक्त गर्ने एक सांस्कृतिक पर्वसमेत बनेको छ, असार १५ । यो दिनमा दही र चिउरा खाने, हिलोमा खेलेर गीत गाउँदै धान रोपेर उत्सवको रूपमा मनाउने गर्दछ ।
यसैको अवसरमा गाउँ पर्यटन प्रवर्द्धन मञ्चले बर्सेनि विभिन्न गाउँमा पुगेर किसानसँग हर्षोल्लासको साथमा धान दिवस मनाउने गरिएको छ । ‘कृषि पर्यटनद्वारा स्थानीयलाई रोजगारी सिर्जना गर्ने तथा आय आर्जनमा टेवा पुग्ने हुनाले बर्सेनि किसानहरूसँग रोपाइँमा सहभागी भई महोत्सव आयोजना गर्दै आएको छौँ’, भिटोफ नेपालका अध्यक्ष गोपाल थापाले भने ।
अध्यक्ष थापाका अनुसार प्राकृतिक सौन्दर्य, स्वच्छ र शान्त वातावरणमा ग्रामीण भेगका डाँडाकाँडा, भिरपाखा, हरियाली वन जङ्गल, खोलानाला, तालतलैया, झरना र अन्य भौगोलिक, जैविक एवं सांस्कृतिक विविधता, बस्तीमा पुगेर पर्यटकहरू रमाउन चाहन्छन् । साथै स्थानीयहरूले पाहुनाहरूको स्वागत सत्कार एवं सेवा पुर्याउने ग्रामीण पर्यटनअन्तर्गत पर्दछ ।
ग्रामीण पर्यटन प्रवर्द्धनका साथै ग्रामीण क्षेत्रको मौलिक उत्पादन, त्यहाँको संस्कृति, खानपिन र अतिथि सत्कारका विषयहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रचारप्रसार गर्ने र प्रवर्द्धन गर्ने (भिटोफ) नेपालको प्रमुख उद्देश्य रहेको उनले बताए । २०५४ सालमा गाउँ पर्यटन प्रवर्धन मञ्च (भिटोफ) नेपालको स्थापनाकालदेखि देशको कुनाकाप्चा पुगेर ग्रामीण पर्यटनको प्रवर्द्धन गर्दै आएको छ ।