शुक्रबार , जेठ ८, २०८३

बढ्न थाले चिनियाँ पर्यटक

image

काठमाडौँ । कोभिड–१९ महामारीपछि सुस्ताएको चिनियाँ पर्यटकको आगमन बढ्न थालेको छ । महामारी सुरु हुनुभन्दाअघि कूल पर्यटक आगमनमा १० देखि १५ प्रतिशतसम्म चिनियाँ पर्यटक नेपाल आउने गरेकोमा त्यसपछि भने सुस्ताएको थियो। सन् २०२३ को पछिल्ला महिनामा चिनियाँ पर्यटक आगमन बढ्न थालेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार जुलाई महिनामा पाँच हजार ६ सय ९३ चिनियाँ पर्यटक नेपाल भित्रिएका छन्। यो जुलाईमा आएका कूल पर्यटकको सङ्ख्याको ९.९ प्रतिशत हो। सन् २०२२ को जुलाईमा भने एक हजार पाँच सय ९३ चिनियाँ पर्यटक आएका थिए।

बोर्डका अनुसार सन् २०२३ को सात महिनामा पाँच लाख ३४ हजार दुई सय सात विदेशी पर्यटक भित्रिएका छन्। जुलाई महिनामा मात्रै हवाई मार्ग भएर नेपाल भित्रिने पर्यटकको सङ्ख्या २९ दशमलव आठ प्रतिशतले वृद्धि भएको छ।

यसवर्षको जुलाईमा ५७ हजार सात सय २६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् भने सन् २०२२ को सात महिनामा कूल ४४ हजार चार सय ६२ विदेशी पर्यटक नेपाल आएका थिए।

चीन सरकारले आफ्ना नागरिक घुम्न जाने देशको सूचीमा नेपाललाई समावेश गरेपछि चिनियाँ पर्यटकको सङ्ख्या बढ्न थालेको हो। गत मार्च १५ तारिखमा चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले प्रकाशित गरेको सूचीमा नेपाललाई समावेश गरिएको थियो।

गत महिना पोखरामा भएको चिनियाँ ड्रागन बोट रेस फेस्टिभल आयोजना गरिएको थियो। सो अवसरमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक चीनको छेन्दुबाट अन्तर्राष्ट्रिय चार्टर्ड उडान गरिएको थियो। चिनियाँ उडान सहज भएको र सीमानाका पनि खुलेकाले चिनियाँ पर्यटकको आगमन विस्तारै बढिरहेको बोर्डले उल्लेख गरेको छ।

बोर्डका अनुसार जुलाईमा सबैभन्दा बढी भारतबाट २१ हजार तीन सय ५७, चीनबाट पाँच हजार छ सय ९३, अमेरिकाबाट पाँच हजार पाँच सय ६१, बेलायतबाट तीन हजार छ सय ३० र बङ्गलादेशबाट दुई हजार ६ सय ९४ पर्यटक नेपाल आएका छन्।

सम्बन्धित समाचार