शुक्रबार , कार्तिक २९, २०८२

“पर्यटन दशक वा महोत्सव मनाउँदैमा पर्यटक आउँदैन”, –आङछिरिङ शेर्पा

“पर्यटकहरू घुम्न आउँदा आफू जान लागेका ठाउँमा के कस्ता सेवा सुविधाहरू छन्, सुरक्षाको अवस्था कस्तो छ, पूर्वाधारहरूको अवस्था के छ भन्ने बुझेर मात्रै आउँछन् । नेपालको पर्यटन पूर्वाधारको अवस्था राम्रो छैन”, शेर्पाले भने ।

image

काठमाडौं । पर्यटनविद् आङछिरिङ शेर्पाले पर्यटन दशक वा महोत्सव मनाउँदैमा पर्यटकको सङ्ख्या नबढ्ने बताएका छन् । गत शुक्रवार (वैशाख १ गते) एनटिपी मल्टिमिडिया ग्रुपद्वारा वसन्तपुरमा आयोजित नेपाल पर्यटन महोत्सवमा “हिउँ, हिमाल र हिमालय” शीर्षकमा बहस गर्दै शेर्पाले पर्यटन पूर्वाधारको विकास विना पर्यटकको सङ्ख्या नबढ्ने बताएका हुन् ।

“पर्यटकहरू घुम्न आउँदा आफू जान लागेका ठाउँमा के कस्ता सेवा सुविधाहरू छन्, सुरक्षाको अवस्था कस्तो छ, पूर्वाधारहरूको अवस्था के छ भन्ने बुझेर मात्रै आउँछन् । नेपालको पर्यटन पूर्वाधारको अवस्था राम्रो छैन”, शेर्पाले भने, “पर्यटन पूर्वाधारको विकास गर्ने हो भने पर्यटन दशक वा महोत्सव केही पनि मनाउनु पर्दैन । पच्चिस–तीस लाख पर्यटक तुरुन्तै आउँछन् ।”

खासगरी हिमाली पर्यटन, पर्यटन व्यवसाय, अध्ययन, खोज तथा अनुसन्धानमा करिब ६ बिताइसकेका शेर्पाले नेपाल विश्वको उत्कृष्ट पर्यटकीय गन्तव्य भएर पनि पर्यटन नआउनुमा यहाँको पर्यटन पूर्वाधारको दयनीय अवस्था नै कारक भएको बताए ।

हवाई यातायातको सुविधा बढाउने नसके जतिसुकै प्रचार गरेपनि नेपालमा पर्यटकको आगमन नबढ्ने शेर्पाको भनाइ छ ।

“पर्यटन भन्ने बित्तिकै यातायात पूर्वाधारको कुरा प्राथमिक हुन्छ । विदेशी पर्यटक आउन हवाई यातायात राम्रो हुन जरुरी छ । तर, नेपालमा राष्ट्रिय ध्वजा वाहक नेपाल एयरलाइन्सको अवस्था लथालिङ्ग छ । सेवाको गुणस्तर अभिवृद्धि र विस्तार गर्न सकेको छैन”, शेर्पाल भने, “पर्यटकहरूलाई राष्ट्रिय ध्वजा वाहकप्रति बढी भरोसा हुन्छ । त्यसैले राष्ट्रिय ध्वजा वाहक नेपाल एयरलाइन्सले सेवा विस्तार गर्न नसकेसम्म नेपालमा पर्यटकको आगमन बढ्दैन । नेपाल एयरलाइन्ससँग कम्तीमा १५ वटा वाइडबढी हुने हो भने अहिले नै आउँछन् पच्चिस तीस लाख पर्यटक ।”

शेर्पाले नेपालको दिगो विकास गर्ने हो भने मुख्य आधार पर्यटन नै भएको बताए । पर्यटनको विकास विना नेपालको दिगो विकास र समृद्धि सम्भव नरहेको शेर्पाको भनाइ छ ।

“पर्यटन भनेको अरू व्यवसाय जस्तो होइन । यसबाट कम लगानीमा तुरुन्तै फाइदा लिन सकिन्छ । अरू व्यवसायमा बजार बनाउन, स्थापित हुन तीन वर्ष, पाँच वर्ष लाग्छ । तर, पर्यटनमा त्यस्तो हुँदैन । पर्यटक पुग्ने बित्तिकै त्यहाँको जनताको क्रय शक्ति बढ्छ ।” शेर्पाले भने ।

नेपाल प्राकृतिक एवम् सांस्कृतिक सम्पदाको खानी भएकाले पर्यटकीय आकर्षणहरूको निर्माण गर्न जरुरी नरहेको शेर्पाको भनाइ छ ।

“हामीसँग संसारमा कसैसँग नभएको सर्वोच्च शिखरसहितका हिमालय छन् । झरना, गुफा, पोखरी, ताल तलैया त्यतिकै छन् । सयौँ जातजाति, संस्कृति छन् । तिनलाई संरक्षण गर्ने हो, नयाँ नयाँ बनाउन आवश्यक छैन ।” शेर्पाले भने ।

सम्बन्धित समाचार