काठमाडाैं । कतारकी राजकुमारी आस्मा अल्थानीले स्याङ्जाको भीरकोट नगरपालिका–५, महापुरबाट सुटुक्क प्याराग्लाइडिङको तालिम लिएकी छन् । अन्नपूर्ण प्रथम हिमाल आरोहण मौसमले प्रभावित भएसँगै जिल्लाको सुरक्षा निकायले समेत थाहा नपाउने गरी गोप्य रूपमा अल्थानीले भीरकोट नगरपालिका–५, महापुरमै बसेर पाँच दिनको प्याराग्लाइडिङको तालिम लिएकी हुन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलेसँगै पोखराको प्याराग्लाइडिङ उडान रोकिरहँदा उच्चस्तरकी पाहुना अल्थानीले चैत ५ देखि ९ गतेसम्म भीरकोटमा प्याराग्लाइडिङ तालिम लिएर उडान भरेको तस्बिर ‘द बाबु एड्भेन्चर इन्टरनेसनल स्कुल’ भीरकोटले सार्वजनिक गरेको हो । तस्बिर सार्वजनिक भएसँगै उनले सुटुक्क तालिम लिएको खुलेको हो ।
हाई प्रोफाइल कतारी राजकुमारी अल्थानी स्याङ्जामा आउँदा यहाँको प्रशासनसमेत अनभिज्ञ रहेको छ । राजकुमारी अल्थानी आएको आफूहरूले थाहा नपाएको बताउँदै प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले राजकीय रूपमा नआई पर्यटकका रूपमा आएकाले थाहा नपाएको बताए ।
विश्वकप प्याराग्लाइडिङ सफल भएको भीरकोट महापुरमा उच्च तहका पाहुना उडान र सिक्न आउनुले पोखरा पछाडिको प्याराग्लाइडिङ केन्द्र स्याङ्जा भएको उनले दाबी गरे ।
राजकुमारी अल्थानीलाई ‘द बाबु एड्भेन्चर’ भीरकोटका सञ्चालक सानुबाबु सुनुवारले प्याराग्लाइडिङमा उडान गराउनुका साथै उड्न र अवतरण गराउने सिकाएको थियो । सञ्चालक सानुबाबु सुनुवारले पाँच दिन २० घण्टा उडान तथा अवतरणको तालिम दिएसँगै राजकुमारीले वालिङ नगरपालिका–१, दौवाफाँटमा अवतरण गरेको सुनुवारले बताए ।
राजकुमारी अल्थानीकै आग्रहमा साहसिक कुरा भएकाले कसैलाई नभन्न आग्रह गरेसँगै गोप्य राखेर तालिम दिएको सञ्चालक सुनुवारले बताए । राजकुमारी अल्थानीले डाँडाबाट ‘टेकअफ’ र मैदानमा सुरक्षित तवरले अवतरण बारेमा सिकेर पाँच मिनेटबाट २५ मिनेटसम्मको चारवटा उडान आफैँ गरेको र अन्तिम उडान दौवाफाँटसम्मको गरेकी हुन् ।
प्याराग्लाइडिङ तालिम सिकेर एक्लै उडान र अवतरण गर्न सक्ने बनेर अल्थानी फेरि अन्नपूर्ण प्रथम आरोहणमा निस्के पनि मौसमका कारण पोखरामा रहेकी छन् ।
आधारभूत पाइलट प्रशिक्षण एक साताको हुने भए पनि अल्थानीले प्याराग्लाइडिङ उडानको २० घण्टामै आधारभूत पाइलट प्रशिक्षण पूरा गरेको सुनुवारले बताए । धेरै पहिलादेखि भीरकोटमा प्याराग्लाइडिङ उडान गर्न र सिक्न आउने अल्थानीको चाहना आफ्नो स्कुलले पूरा गरेको सुनुवारले बताइन् ।
उच्च तहका पाहुना भीरकोटमा आउने अल्थानी पहिलो भएको बताउँदै सुनुवारले राजकुमारीका लागि उपकरण स्कुलले उपलब्ध गराएको बताए ।