बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयले रायका लागि हालै सार्वजनिक गरेको प्रदेश पर्यटन नीति २०७९ को मस्यौदामा सो योजना उल्लेख छ ।
काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशलाई सांस्कृतिक पर्यटनको केन्द्रको रूपमा विकास गर्ने भएको छ । बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयले रायका लागि हालै सार्वजनिक गरेको प्रदेश पर्यटन नीति २०७९ को मस्यौदामा सो योजना उल्लेख छ ।
योजनाको कार्यान्वयनका लागि प्रदेशका विभिन्न भागमा बसोबास गर्ने विभिन्न जाति र समुदायका बारेमा वैज्ञानिक अध्ययन र अनुसन्धान गरी उनीहरूको इतिहास र संस्कृति प्रकाशमा ल्याउने व्यवस्था गरिने भएको छ ।
त्यसैगरी सांस्कृतिक सम्पदाहरूको संरक्षण र व्यवस्थापनका लागि उपयुक्त उपाय र प्रविधिहरूको पहिचान गर्ने, श्रोत, साधन र जनसहभागिता जुटाउने र तिनीहरूको उचित संरक्षण गरी पर्यटकलाई आकर्षित गरिने रणनीतिक कार्यनीति रहेको छ ।
सांस्कृतिक सम्पदाहरूका माध्यमबाट देशको पर्यटन उद्योगमा टेवा पुर्याई समाजमा रोजगारी र आयआर्जनका अवसरहरू वृद्धि गरिने मस्यौदामा उल्लेख छ ।
त्यसैगरी विभिन्न जातिहरूको लोक जीवनबारे सर्वेक्षण र अध्ययन गरी सामुदायिक सांस्कृतिक केन्द्रका रूपमा जीवित लोक सङ्ग्रहालयहरू स्थापना गरेर पर्यटकलाई आकर्षित गरिने भएको छ ।
परम्परागत, मौलिक कला र लोक सङ्गीत, नृत्य, नाट्य, साहित्य, प्रदर्शनकारी लोक कलाहरूको अभिलेखीकरण, संरक्षण र अनुसन्धान गरी पर्यटकीय आकर्षण बढाइने भएको छ ।
प्रदेशभित्रका लोपोन्मुख तथा सीमान्तकृत जाति तथा समुदायको भाषा, साहित्य, लोकोक्तिलाई लिपिबद्ध अभिलेखीकरण, अध्ययन, अनुसन्धान, संरक्षण, संवर्द्धन एवम् बासका लागि सम्बद्ध सङ्घ संस्थाहरूसँग समन्वय र सहकार्य गरी पर्यटकीय आकर्षण बढाइने रणनीतिक कार्यनीतिमा उल्लेख छ ।
प्रदेशभरिका पुरातात्त्विक एवम् मौलिक, धार्मिक, सांस्कृतिक लगायतका सम्पदा तथा गुठीहरू र सामुदायिक संस्थाहरूको संरक्षण, संवर्द्धन र अभिलेखीकरण गरिने छ । साथै सरोकारवाला र निजी क्षेत्रको सहकार्यमा जात्रा, पर्व, मेला, महोत्सव लगायतका परम्परा र संस्कृतिमा आधारित कार्यक्रमहरू सञ्चालन गर्न प्रोत्साहन र सहयोग गरी पर्यटकीय आकर्षण बढाइने मस्यौदामा उल्लेख छ ।