शुक्रबार , फागुण १८, २०८०

जिल्ला समन्वय समिति काठमाडाैंले बागमती नदिमा र्याफ्टिङ कार्यक्रम गर्ने

image

काठमाडाैं । जिल्ला समन्वय समिति काठमाडाैंले बागमती नदिमा ऐतिहासिक र्याफ्टिङ कार्यक्रम गर्ने भएको छ । पवित्र बागमती नदिकाे सभ्यता जोगाउन र पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले भाद्र १६ गते शनिवार सुन्दरीजलदेखि चोभारसम्म र्याफ्टिङ गर्न लागिएको समितिले जनाएको छ ।

शनिवार बिहान ७ः३० बजे सुन्दरीजलबाट र्याफ्टिङ सुरु हुने र साँझ ५ः०० बजे चाेभारमा पुगेर समापन हुने समितिले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

बृहत् र्याफ्टिङ कार्यक्रमलाई नेपाल र्याफ्टिङ एण्ड क्यानोइङ सङ्घ र बागमती प्रदेश र्याफ्टिङ एण्ड क्यानाेइङ सङ्घले प्राविधिक सहयोग उपलब्ध गराएको समितिले जनाएको छ ।

यस कार्यक्रमबाट बागमती नदीमा र्याफ्टिङ गर्न सकिन्छ भन्ने प्रमाणित गर्न, नदीलाई स्वच्छ, सफा र सुन्दर बनाउने, नदीमा प्रदूषण नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने, पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने साथै र्याफ्टिङ खेलको प्रवर्द्धनमा टेवा पुग्ने समितिले विश्वास लिएको छ । काठमाडौँ जिल्लाका नदी किनारा आसपासका क्षेत्रहरूमा पर्यटन प्रवर्द्धनका लागि सम्भावनाहरूको खोजी गर्ने, बागमती सभ्यतालाई उजागर गर्ने लगायतका उद्देश्य राखी काठमाडौं जिल्लाका काठमाडौँ महानगर र दश वटै नगरपालिकाको सहयोगमा जिल्ला समन्वय समिति काठमाडौंले र्याफ्टिङ कार्यक्रमको आयोजना गर्न लागेको हो ।

मानव सभ्यताको सुरुवात नै नदी किनारबाट भएको, समग्र जीवको आधार नै नदी भएको, विश्वका ठूला-ठूला प्राचीन सहरहरूलाई नियाल्दा पनि ती सहरहरू नदी किनारमा नै अवस्थित रहेको र विश्वका प्राचीनतम सहरमध्ये काठमाडौँ पनि एक भएकोले बागमती र विष्णुमती नदिकाे संरक्षण जरुरी रहेको समितिले बताएको छ ।

“काठमाडौँको बस्ती विकासलाई फर्केर हेर्दा बागमती र विष्णुमती नदी किनारबाट नै बस्तीको विकास हुँदै सहरका रूपमा रूपान्तरण भएको देखिन्छ । बागमती नदीलाई काठमाडौंको मात्र नभएर नेपालकै सभ्यताको प्रतीकका रूपमा लिइन्छ । धार्मिक एवं सांस्कृतिक महत्वका दृष्टिले पनि बागमती नदीको महिमा धार्मिक ग्रन्थमा वर्णित भएको यहाँहरूलाई अवगत नै छ । काठमाडौँ बागमती सभ्यताबाट हुर्केको सहर पनि हो,” समितिद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “दाहसंस्कार गर्दा जन्म र मृत्युको बन्धनबाट मुक्ति पाइनुका साथै मोक्ष प्राप्त हुने विश्वास रहेको छ । विगतमा बागमती नदीको जल ग्रहण गर्दा मानसिक आनन्दका साथै पवित्र भइने मान्यता थियो । यस नदीमा स्नान गर्दा चर्मरोग समेत बिसेक हुने जनविश्वास थियो । तर, अहिले कुनै जीवको सम्भावना समेत बागमती नदीमा पाइँदैन ।”

बागमती नदीमा हुन लागेको र्याफ्टिङ कार्यक्रममा काठमाडौँ जिल्लाका काठमाडौँ महानगरपालिका सहित अरू दश वटै नगरपालिकाको सहभागिता रहेको छ ।

यस र्याफ्टिङ कार्यक्रमको आयोजनापछि काठमाडौँ जिल्लाको ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाको खोज अनुसन्धान संरक्षण र त्यसको एकीकृत विकासमा पनि सबै पालिकासँग मिलेर अगाडि बढ्ने जिल्ला समन्वय समिति काठमाडौंको योजना रहेको छ ।

“जिल्लाका पालिकापिच्छे फरक-फरक आवश्यकता र सम्भावना हुन्छन् । समस्या पनि बेग्ला-बेग्लै हुन सक्छन् । फेरि पालिका प्रमुखहरूको आ-आफ्नै भिजन र चिन्तन हुन्छन् । काम गर्ने शैली पनि फरक फरक नै हुन्छन् । त्यसकारण कुन पालिकाले कस्ता काम सम्पादन गरेका छन् । त्यसको मूल्याङ्कन गरेर असल अभ्यासलाई अङ्गीकार गराउनु पनि हाम्रो लक्ष्य रहेको छ “, विज्ञप्तिमा भनिएको छ, “देश सङ्घीयतामा गइसकेपछि अहिले तीन तहका सरकार अभ्यासमा छन् । सङ्घ, प्रदेश र स्थानीय सरकार । स्थानीय सरकारलाई समन्वय गर्ने, अनुगमन गर्ने, सहजीकरण गर्ने र सन्तुलित विकासको अधिकार जिल्ला समन्वय समितिलाई दिइएको छ । त्यसको कार्यान्वयनका लागि पनि यो कार्यक्रम कोषेढुङ्गा साबित हुन्छ भन्ने हामीले विश्वास लिएका छौँ ।”

केहिदिनअघि नेपाल एशाेसिएसन अफ र्याफ्टिङ एजेन्सीज (नारा)ले पनि बागमती नदिमा र्याफ्टिङ तथा जलयात्रा कार्यक्रम गरेकाे थियाे ।

सम्बन्धित समाचार