शुक्रबार , अषोज १४, २०७९

बनेपा नगरपालिका र भक्तपुरका रमणीय स्थलहरू (भाग -१):

image

  •  केशवराज

“हजुरलाई गोसाईंथान बारे थाहा छ?”, एका बिहानै चिया खाने बेलामा दीपा अर्थात् मेरी पत्नीले सोधिन् । उनलाई नयाँ-नयाँ ठाउँ बारे जानकारी हुने गर्छ । म काठमाडौं वरिपरिका धेरै ठाउँमा उनको प्रेरणाले पुग्ने गरेको छु ।

“विश्वका १४ वटा आठ हजारिया हिमालहरू मध्ये सबैभन्दा होचो तिब्बतको शिशापाङ्मा हिमाल (७८,१०३ मि)लाई गोसाईंथान पनि भनिन्छ । रसुवामा रहेका नौकुण्ड मध्ये एउटा कुण्डलाई पनि गोसाईंथान भनिन्छ”, मैले मुस्कुराउँदै भने ।

“कहाँ तिब्बत र रसुवा पुग्नुभएको ? मैले त यहीँ काठमाडौं नजिक रहेको गोसाईंथानको कुरा गरेको हो”, उनले भनिन् ।

मैले थाहा नभएको सङ्केत गरेपछि उनले मुस्कुराउँदै भनिन्, “ल हजुरलाई थाहा नभएका ठाउँ पनि रहेछन् । गोसाईंथान यहीँ काभ्रे जिल्लामा पनि छ । पौराणिक मान्यता अनुसार महादेवले हिन्द महासागरमा मन्थन गर्दा निस्केको कालकुट विष सेवन गरेपछि विषको डाह शान्त पार्न रसुवाको गोसाईंकुण्ड जाँदा धुलिखेलमाथिको डाँडामा पाइला टेकेका थिए रे । त्यही डाँडाको भागलाई गोसाईंथान नैमिषारण्य क्षेत्रका रूपमा विकास गरिएको छ भनेर मैले पढेको थिएँ ।”

मैले उनलाई धन्यवाद दिएँ र गोसाईंथान बारे अन्य जानकारी जम्मा गर्न तर्फ लागेँ । बनेपा नगरपालिकाले गोसाईंथानको विकास गर्नुका साथै माथि डाँडामा भ्यू टावर निर्माण गर्ने र रेलिङ सहितका ढुङ्गाका १,६०० सिँढी बनाएर गोसाईंथानलाई बनेपाको प्रसिद्ध चण्डेश्वरी मन्दिरसँग जोड्ने काम गरेको रहेछ । गोसाईंथानबाट सोही सिँढी भएर सहजै चण्डेश्वरी मन्दिर पुग्न सकिने रहेछ ।

त्यति जानकारी भएपछि अब उनी र म गोसाईंथान घुम्न जाने भयौँ । उनी काठमाडौं उपत्यका नजिकका ठाउँहरूमा घुम्न जाँदा गाडीमा भन्दा सधैँ सार्वजनिक साधनमा जान रुचाउने गर्थिन् तर यसपालि मैले बसमा जाऊँ भन्दा पनि उनले गाडीमा जानका लागि जोड गरिन् । त्यसैले गाडीमा गइयो । अरनिको राजमार्ग अन्तर्गत बाँसघारीस्थित अरनिको होटेलको अगाडीबाट करिब दुई  किलोमिटर ठाडो उकालो चढेपछि डाँडा माथि रहेको बनेपा नगरपालिका–६, नैमिषारण्य क्षेत्र पुगियो । त्यो ठाडो उकालो देखे पछि बल्ल उनले गाडीका लागि जोड गर्नुको कारण मैले बुझेँ । उनी तेर्सो र हल्का उकालो बाटो जति पनि हिँड्छिन् तर ठाडो उकालो बाटो हिँड्न सकभर रुचाउँदिनन् ।

हामी नैमिषारण्य गुरुकुल शिक्षा सदन, गोसाईंथान डाँडामा रहेका महादेव, पार्वती, कृष्ण, हनुमानका मूर्ति, होम कुण्ड, आगन्तुक रिसोर्ट आदि घुमेर जङ्गलको बाटो चराको चिरबिर सुन्दै नजिकै रहेको भ्युटावर पुग्यौँ । भ्यूटावर माथि चढ्दा १०-१२ जना विभिन्न उमेर समूहका महिलाहरू त्यहाँ ड्राई पिकनिक मनाउँदै रहेछन् । त्यहाँ हरेक किसिमका खाने र पिउने कुराहरू प्रशस्तै देखिन्थे । हामी पुग्दा उनीहरू निकै मुडमा देखिन्थे । हामीलाई पनि खान र पिउनका लागि उनीहरूले प्रस्ताव गरे । तर हामीले धन्यवाद सहित असमर्थता व्यक्त गर्‍यौँ । उनीहरू कोही पनौती, कोही बनेपा, कोही नाला, कोही धुलीखेलबाट आएका रहेछन् ।

“ओहो हजुरहरू निकै रमाइलो गर्दै हुनुहुँदो रहेछ नि”, मैले हाँस्दै सोधेँ ।

एक जना महिलाले भनिन्, “कति सधैँ पुरुषहरूले गरेका रामरमिताको मात्र साक्षी हुने जाम् साथी हो भनेर आज यस जङ्गलको बीचमा रहेको शान्त भ्यू टावरमा जम्मा भएका हौँ । हामी पाँच जना स्कुल देखीका साथी हौँ । अरू सबै कोही नातेदार, छिमेकी हुन्”, उनले अरूलाई देखाउँदै भनिन् ।

भ्यू टावरबाट काभ्रे लगायत वरिपरिका जिल्लाहरूका डाँडाकाँडा र गाउँबेँसी र नगरकोट क्षेत्र देखिन्छन् । उनले नै हामीलाई विभिन्न ठाउँ बारे परिचित गराइन् । त्यहाँबाट ओपी भन्ज्याङ, रबी डाँडा, चप्लेटी, सुमारे भन्ज्याङ, मगर गाउँ, बाताल, टानचोक आदि हेर्दै गर्दा म मनमनै अव यहाँबाट नगरकोट पैदल जानु पर्छ भन्ने सोच्दै थिएँ । तर प्रत्यक्ष केही भनिन । उनीहरूलाई त्यो अपूर्व क्षणको भरपुर मजा लिन प्रेरित गर्दै हामी रमणीय सामुदायिक बनको बीचमा बनेका ढुङ्गाका १,६०० सिँढी (करिब तीन किलोमिटर) भएर बनेपा नगरपालिका–५ स्थित चण्डेश्वरी मन्दिरसम्म पुग्यौँ ।

चण्डेश्वरीबाट ऐतिहासिक नेवार बस्ती नाला पुगेर त्यहाँका पुराना शैलीका घर, ढुङ्गा ओच्छाइएका बाटा र पाइलैपिच्छे भेटिने मठ मन्दिरहरू तथा उग्रचण्डी, सेतो मछिन्द्रनाथ र अन्य मन्दिरहरूमा घुम्यौँ । किंवदन्ती अनुसार पलान्चोक भगवतीका चार दिदीबहिनीहरू पलान्चोक भगवती, उग्रचण्डी, नक्साल भगवती र शोभा भगवती मध्ये माइली बहिनी उग्रचण्डीको चार तले प्यागोडा शैलीको मन्दिर नालामा रहेको छ । त्यस्तै करुणा भावले भरिएका तथा पानी पार्ने र अन्न दिने देवताका रूपमा पुजिने चार मच्छिन्द्र मध्ये नालाको सेतो मछिन्द्रनाथ नालामा रहेका छन् । बाँकी चाहिँ जनबहालका सेतो मच्छिन्द्रनाथ, चोभारका आदिनाथ र बुङमतीका रातो मछिन्द्रनाथ रहेका छन् । हामी घुम्दै गर्दा भेटिनु भएका एक जना ज्येष्ठ नागरिकसँग कुरा गर्दा उहाँले नालामा नेपालकै एक मात्र युधिष्ठिरको मूर्ति पनि रहेको कुरा बताउनु भयो । हामीलाई जिज्ञासा लागे पछि उहाँले सो मूर्ति देखाउनु भयो । सो युधिष्ठिर मूर्तिको संरक्षण गर्दै मन्दिर बनाउनु पर्ने आवश्यकता महसुस गर्‍यौँ ।

नाला घुमेर पश्चिम लागेमा काभ्रे र भक्तपुरको साँध अमलडोल भन्ज्याङमा रहेको नाला गुम्बामा पुगिन्छ । हामी त्यतै लाग्यौँ । गुम्बा वरपर घुम्न मिल्ने जङ्गल छ । सर्वसाधारणका लागि शनिवार मात्र खुल्ने गुम्बा अरू बेला बन्द रहन्छ । त्यहाँबाट भक्तपुरको ताथली, च्यामासिंह, जगाती हुँदै घर फर्कने हाम्रो योजना थियो तर दीपाले अमलडोल भन्ज्याङ पुगे पछि नयाँ प्रस्ताव राखिन् ।

“हजुर पो प्राय: घुमिरहनुहुन्छ । मलाई सधैँ कहाँ मिल्छ र ? यता आएका बेला साँगा निस्कौँ न”, उनले भनिन् ।

मलाई उनको प्रस्ताव ठिक लाग्यो । यति गर्दा उनले अरू बेला घरमा आमाको हेरचाह गरेर मलाई घुम्न जानका लागि अनुमति दिन्छिन् भन्ने लोभ पनि पलायो । त्यसैले हामी अमलडोल भन्ज्याङबाट पश्चिम ताथली तिर नलागेर दक्षिण डाँडा तर्फ मोडियौँ । करिब २० वर्ष पहिले भक्तपुर जिल्लाको जिल्ला सडक गुरुयोजना बनाउने बेला यात्रा गरेको हुनाले मलाई सो सडक बारे जानकारी थियो । अमलडोलबाट भक्तपुरको चित्तपोल, साँगाको प्रहरी स्कुल हुँदै साँगाको दूरी करिब तीन किलोमिटर रहेको छ ।

सूर्यविनायक नगरपालिका-१०, चित्तपोल, खड्का गाउँ स्थित महाकालेश्वर मन्दिर र श्री राधाकृष्ण मन्दिर जाने बिन्दुमा पुगेपछि गाडीलाई अगाडि पठाएर हामी ती मन्दिरहरू र वरिपरिका सुन्दर स्थलहरूको अवलोकन गर्न डाँडा माथि उक्लियौँ । त्यहाँबाट पैदल हिँड्दै सोही मार्गमा पर्ने शिखर शैलीको लटरम्बेश्वर मन्दिरसम्म पुग्यौँ । जङ्गल बीचमा रहेको लटरम्बेश्वरबाट काठमाडौं उपत्यका, नगरकोट र हिमालहरूको चित्ताकर्षक दृश्यहरू देखिन्छन् । लटरम्बेश्वर मन्दिर आफैमा निकै सुन्दर रहेको छ । लटरम्बेश्वर मन्दिर परिसरबाट भङ्गाल तर्फ छोटो जिप लाइन सेवा पनि रहेको छ । हामी निकै बेर त्यहाँ बसेर प्रहरी स्कुल हुँदै साँगा कैलाशनाथ निस्क्यौँ तथा अरनिको राजमार्ग भएर घर फर्कियौँ ।

बनेपा, धुलिखेल, नाला, अमलडोल भन्ज्याङ, चित्तपोल, साँगा सम्मको यो मार्ग निकै रोमाञ्चक छ । चारैतिर खेतबारी, उत्तरमा देखिने हिमाल, काठमाडौं उपत्यकाको दृश्यावलोकन, गाउँले जीवनशैलीको प्रत्यक्ष अनुभव, सुन्दर हरियाली जङ्गलको बाटो हिँड्दाको रोमाञ्चकता, मठ मन्दिरहरू, कला र संस्कृतिको धनी नेवार बस्तीको अवलोकन आदिले त्यो यात्रालाई अरू रोमाञ्चित बनाउँछन् ।

यो यात्राले मलाई अर्को एउटा फाइदा भयो । धुलिखेलबाट उकालो लागेर काँसीभञ्ज्याङ हुँदै नगरकोट पुग्ने प्रसिद्ध पर्यटकीय पैदल मार्गबारे निकै पहिलेदेखि सुनी राखेको भएता पनि जाने अनुकूलता मिलेको थिएन या भनौँ आँट आएको थिएन । तर यो यात्राले मलाई अर्को पटक नगरकोट हिँडेर जानु पर्छ भन्ने हौसला बढायो । यस यात्रामा धुलीखेल – नगरकोट पैदल मार्ग बारे मोटामोटी जानकारी पाएपछि अब सोध्दै जान सकिन्छ भन्नेमा म ढुक्क थिएँ ।

साँगाबाट घर फर्कँदै गर्दा दीपालाई अर्को शनिवार धुलिखेलबाट नगरकोट पैदल यात्रा गर्ने प्रस्ताव राखेँ । तर उनी त्यति लामो र उकालो ओरालो भएको पैदल यात्रा गर्न इच्छुक देखिइनन् । उनी म पनि सो यात्रामा जाओस् भन्नेमा सकारात्मक थिइनन् । तर मैले मनमनै अर्को हप्ता एक्लै भए पनि नगरकोट जाने अठोट गरी सकेको थिएँ ।

अनुमानित मार्ग तथा दूरी: काठमाडौबाट धुलिखेल-३, अट्ठाइस किलो, बाँसघारीसम्म २८ किमिको दूरीमा गाडीमा जान सकिन्छ । त्यहाँबाट दुई किलोमिटरको उचाइमा रहेको गोसाईंथानसम्म पैदल वा गाडीमा जान सकिन्छ । गोसाईंथानबाट चण्डेश्वरी मन्दिरसम्म रमणीय सामुदायिक बनको बीचमा बनेका आकर्षक ढुङ्गाको सिँढी हुँदै तीन किलोमिटर पैदल यात्रा । चण्डेश्वरी मन्दिरबाट नाला उग्रचण्डी, सेतो मच्छिन्द्रनाथ हुँदै अमलडोल भन्ज्याङ स्थित नाला गुम्बासम्म करिब ७ किलोमिटर । अमलडोल भन्ज्याङबाट चित्तपोल हुँदै साँगासम्म करिब तीन किलोमिटर गाडी वा पैदल यात्रा । माथि उल्लेखित सबै ठाउँहरूमा गाडी पुग्न सक्ने सुविधा रहेको छ ।

 

 

 

सम्बन्धित समाचार