सोमबार , फागुण १४, २०८०

हजारौँ वर्ष पुरानो दुई मुखे ‘भारुन्ड चरा’लाई कसरी बुझ्ने ?

पहिलो टाउकोको आँखा निदाईरहँदा (सुतिरहँदा) दोस्रो टाउकोको आँखा टुलुटलु हेरिरहनेसम्मका घटनाहरू इतिहासमा देखिएका छन् । पहिलो टाउकोको मुखले केही खानलाई आँ‍... गर्दा दोस्रो टाउकोको जिब्रोमा र्याल आएको पनि देखिएको छ ।  अमेरिकीन एबी र ब्रिटनी हेन्सेल आज पनि जीवित छन्, उनीहरू ३२ वर्ष पुगिसके । 

image

भारुन्ड चरा, एक प्राचीन पौराणिक लोकपंक्षी हो । लोककथनअनुसार, यस पंक्षीको भुँडी एउटा र मुख (चुच्चो) भने दुई वटा थियो । केही चित्रणहरूमा, यसको प्वाँखहरू मयूरको रंगीन पुच्छरसँग मिल्दोजुल्दो देखिने गरेको छ । 

यता, हिन्दूतर्फ महाभारत भीष्म पर्व अध्याय ७ मा भारुण्ड नामक पक्षीको उल्लेख गरिएको छ । हिरण्यकश्यपलाई मारेपछि नृसिँह (भगवान विष्णु चौथो अवतार)को क्रोध शान्त नहुँदा भारुण्डले नृसिँहलाई आफ्नो पन्जामा समाएर आकाशमा लिएर उडेको विश्वास गरिन्छ । (र, अर्को कथनले ब्रह्मदेवको सुझावअनुसार देवी लक्ष्मीले भक्त प्रहलादलाई अगाडि सारिदिएपछी नृसिँहको रिस शान्त भएको उल्लेख पनि भेटिन्छ। ) 

यसबारे अलिकता भनिहालौँ,

नृसिँहले असुर राजा हिरण्यकश्यपुको वध गरेपछि उनको रगत पिए, तर क्रोध शान्त भएन वैष्णव समुदायको एक मतअनुसार हिरण्यकश्यपुको छोरा प्रह्लाद नृसिँहको क्रोधलाई शान्त गर्न सक्षम थिए र, उनले नृसिँहलाई शान्त पारेपश्चात् नृसिँह बैकुण्ठ फर्किएका थिए

यद्यपि, शैव मत शिवको सर्वोच्चातालाई स्थापित गर्न खोज्दै एउटा फरक कथा अघि सार्दछ, जसले यस पौराणिक कथामा भारुन्ड चराको इन्ट्री गराउँदछ । नृसिँहले आफ्नो क्रोधमा सम्पूर्ण ब्रह्माण्डलाई नष्ट गर्ने देखेर डराएका देवीदेवताले भगवान् शिवलाई पुकारे सृष्टि रक्षाका खातिर शिवले आफ्नो वीरभद्र रुप लिएर नरसिंहलाई सम्झाए, तर नरसिंह सम्झिने ‘मुड’मा देखिएनन् । रिसको झोकमा विष्णुले शिवलाई ‘जा भाग्’ भन्दिए । भनौं न, नृसिँहले शिवको आग्रहलाई ‘मस्तैले बेवास्ता’ गर्दिए यसपश्चात् शिवले ‘म पनि के कम’ ठानेर ‘शरभा वा शरभेश्वर’ रुप धारण गरे एक भाग सिंह र एक भाग पंक्षीको रुपाकार लिए नृसिँह र शरभको अनन्त: लडाई भयो । अन्त्यमा, ‘शरभाले नृसिँहको’ रिस शान्त पारे भन्नेसम्मको कथा शैवहरूले हाल्दै आइरहेकै छन् । 

‘पिक्चर अभि बाँकी है मेरे दोस्त’ भनेझैँ यहिनेर वैष्णव समुदायले पौराणिक कथालाई जबर्जस्त पारामा सिर्जना गर्छन् जो यसप्रकार छ- शरभा नृसिँहलाई आफ्नो पञ्जाबीच समातेर आकाशको उच्चतम बिन्दूतर्फ लैजाँदै थिए, नृसिँहले पञ्जाबीच च्यापिंदै गर्दा आफूलाई एक अलौकिक पंक्षीमा रुपान्तरित गरिदिए त्यो भनेको ‘गन्धबेरुण्ड अर्थात् भारुन्ड’ रुप थियो

नृसिँह वशमा पारिरहेका शिवको शरभा अवतार, श्रीलंकाको मुन्नेस्वरम मन्दिरबाट। स्रोत : विकिपीडिया

वैष्णव मत विश्वास गर्दछ कि गन्धबेरुन्ड शरभाभन्दा बलियो थियो उनीहरूबीच १८ दिनसम्म घमसान युद्ध भयो अठारौँ दिनमा, गन्धबेरुन्डले शरभालाई परास्त गरे शरभा परास्त भएसँगै उनी आफ्नो क्रोध त्यागेर शान्त मुद्रामा पुनर्स्थापित हुन् आइपुगे विष्णुको सम्मानमा शरभा (शिव)ले पनि आफ्नो शरीरको छाला हटाए, विष्णु पनि आफ्नो रुपमा ओर्लिए यसपछि विष्णु र शिव एकअर्कासँग गफसफ गर्दै, सन्चो-विसन्चो सोध्दै आ-आफ्ना  निवाससम्म फर्किए भन्नेसम्मको कथा यहाँनेर आइपुगेर समाप्त हुन्छ । 

***

यो कथा कहनुको एकैमात्रै कारण हो, सनातन हिन्दू धर्मले भारुन्ड चराको उपस्थितिलाई स्वीकारेको छ । यसको अर्को उदाहरणस्वरूप, यस मतालम्बीहरूबीच प्रचलित यस लोककथालाई पंक्तिकार अगाडि सार्दछ,

 

 

एकदिन :

दुई चुच्चो भएका यी चराहरू (चरा?) समुद्र किनारमा टहलिरहेका थिए (थियो) । उनीहरूको सामुन्ने अमृत–फल भेटियो । जुन समुद्रको लहरले किनारामा ल्याइ पुर्‍याएको थियो । त्यस फललाई खाँदै उसको एउटा मुखले भन्यो–”मैले समुद्रको लहरले किनारामा बगाएर ल्याएका सयौं अमृततुल्य फल खाएको छु तर यस फलको स्वाद त दिव्य तथा विलक्षण छ । यो देववृक्षको फल पो हो कि ? यस्तो स्वादिलो फल मैले आजसम्म खान पाएको छैन ।”

पहिलो मुखको यस प्रकारको कुरा सुनेर दोस्रो मुखले भन्यो– ” भाइ, यदि यो फल तिमीले भनेजस्तो स्वादिलो छ भने अलिकति मलाइ पनि देऊ । म पनि यसको स्वाद चाखूँ ।”

यो सुनेर पहिलो मुखले हाँस्दै भन्यो– “हाम्रो त एउटै भुँडी छ, जुन मुखले खाए पनि पेटमैं जाने त हो । यो मुखले खाए पनि त्यो मुखले खाए पनि भर्ने त पेट नै हो । त्यसैबाट तिमी तृप्ति लेऊ । अलग–अलग दुई मुखले किन खानुपर्‍यो ? बरु उब्रेको भाग हाम्रो प्रियतमालाई दिउँ, उसले पनि यसको स्वाद चाखेर सन्तुष्ट भएमा हाम्रो भलो हुन्छ ।”

यति कुरा भनेर एउटा टाउकाले आधा आफू खायो र उब्रेको फल आफ्नी प्रियालाई दियो । त्यो फल स्वाद मानी खाएर ऊ प्रसन्न भएर पतिलाई आलिंगन, चुम्बन तथा कटाक्ष गर्न थाली । बदलामा प्रियतमाले पहिलो टाउकोलाई मीठो चुम्बन समेत बर्साई । त्यो देखेर अर्को टाउकोले चर्को असन्तुष्टि जनायो । दोस्रो मुख त्यस दिनदेखि उदास र खिन्न रहन थाल्यो ।

प्रतिकाताम्क चित्र

अर्को दिन :

केही समयपश्चात, समुद्र किनारमा टहलिरहँदा विष–फल भेटियो । त्यो फल पाएपछि पहिलो मुखलाई देखाउँदै उसले भन्यो– “हेर, आज मैले विषफल पाएको छु । तिमीसित अपमान पाएको कारण यसलाई म खान गइरहेको छु ।” उसको यस प्रकारको भयानक कुरा सुनेर पहिलो मुखले आत्तिंदै भन्यो– “मूर्ख, यस्तो गर्‍यौ भने हामी दुवैजनाको मृत्यु निश्चित हुनेछ । तिमी यो फल नखाऊ ।”

पहिलो मुखले जति भनेपनि दोस्रो मुखले मानेन । आफ्नो अपमान सम्झेर अर्को टाउकाले त्यसलाई एक्लै खाइदियो । त्यो विषफल खाइदियो जसको कारणले ती दुई मुख भएको अद्भूत चरा तत्काल मर्‍यो ।

‘एकोदरा पृथग्रग्री वा अन्योन्य फल भक्षिण- असंहता विनश्यन्ति भारुण्डा इव परिक्षणः”।
अनुवाद- “एउटा पेट दुईवटा मुख र घाँटी भएका ‘भारुण्ड’ पक्षी आपसमा एउटा फलका लागि झगडा गर्दाको परिणाम आखीरमा दुबैको मृत्यु भयो ।” अनन्त: यस अद्भुत चरा संसारबाट नै लोप भयो (?) ।  यस पौराणिक कथा यहि सकिएको छ । 

तर कथा सकिएको छैन..

यस पौराणिक कथाले धेरै कुरा बोलेको छ, धेरै प्रसंगहरू अगाडी सार्ने जमर्को गरेको छ । सोच्नुहोस् त, एउटा जीव (पंक्षी) जसको एउटा पेट र दुई वटा मुख छ, त्यो यस सृष्टिका लागि कति घातक कुरा हो ? दुई वटा मुखले स्वाद लिइलिइ खाएर एउटा भुँडी डम्म भर्नु भनेको साम्रज्यवादी एवं तानशाही प्रवृत्ति हो । आज विश्वभर नै सम्पूर्ण क्षेत्रमा ‘भारुण्डवादी’ सोच, संस्कार, चरित्र, मनोवृत्ति बढेको छ । सत्ता, शक्ति र स्वार्थसिद्धिका लागि (सोही फल खान) हानाहान र मारामार गर्नेहरूको ठुलाठालुहरूको प्रवृति मौलाइरहेको छ ।  

१.

यस कथाले ‘धेरै खानु’को अत्याधुनिक प्रवृतिलाई इंकित गर्दछ । पछिल्लो समयका अध्ययनहरूले बताइरहेका छन् कि, ‘खान नपाएर भन्दा धेरे खाएर मर्नेको संख्या बढी छ ।” अत्यधिक धेरै खाना खानुले हृदयघातको लागि ट्रिगरको काम गर्ने अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) को मत छ । ‘कस्ता खानेकुरा किन खाने’ जस्तो सामान्य ज्ञानको बेवास्ता गरेर खाने र खुवाउने दुवैले आकर्षक विज्ञापनको आड लिएर खाइदिँदा र खुवाईदिँदा ‘विष फल’ निल्न पुगेको दोस्रो मुख भएको भारुन्ड चराको नियति हामीले भोगीरहेका छौं । वर्तमान समयको ‘आमकिसान र खाना संस्कृति’को सीमान्तीकरणमाथि यस पौराणिक कथाले व्यंग गरिरहेको हो कि ? 

पंक्तिकार नेता अमिक शेरचनको एउटा भनाई सम्झन्छ, “पहिलापहिला खान नपाएर कम्युनिष्ट नेता–कार्यकर्तालाई ग्यास्ट्रिक हुन्थ्यो । अहिले हेर्नुस् त धेरै खाएर कोलस्टोर छ ।”  

२.

यस कथाले अर्काको भाग खोसेर खाने प्रवृतिलाई पनि अगाडी सारेको छ । जसरी अमृत फल पाउँदा ‘हाम्रो त एउटै भुँडी छ, जुन मुखले खाए पनि पेटमैं जाने त हो नि’ भनेर पहिलो मुखले भनियो सोहीप्रकारका विषाक्त विचारहरू आज समाजमा देखिन्छन् ।  लाज, शर्म, इमान्दारीता र नैतिकताबेगर दिनरात भाषणलाई रत्यौलीघर बनाइरहेका नेताहरू, ‘चाउचाउ बेचेर भोकमरी हटाउँछु’ भन्ने चौधरीहरू पनि सोही भारुन्ड चरा हुन् । पंक्तिकार ठ्याक्कै बताइहाल्ने जाँगर गर्दैन कि देशलाई कसले अमृत खुवाइरहेको छ र को विष खुवाउन मरीमेटीरहेको छ ? खैर, यतातिरको यतै छोड्दिऊ !

३.

अझ, यस कथाले दुई मुख नमिलेको खण्डमा त्यसले सर्वनाशता निम्ताउने कुरालाई प्रष्टाइरहेको छ । अलि अगाडिको ‘डबल नेकपा’ र अहिलेको सत्ता गठबन्धन पछिल्ला उदाहरणहरू भइहाले ।    

बाँकी कुरा..

यहाँनेर आइपुग्दा मकन थुप्रा प्रश्नहरू ठोक्किन आइपुगे ।  यस कथाको रचना किन गरियो, रचयीता को थिए ? उनको मनसुवा के थियो होला ? त्यसताकाको समाज-समुदायको चरित्र आजको भारुण्डवादी’ सोच, संस्कार, चरित्र, मनोवृत्ति जस्तै रहेछ क्यारे ! तर त्यस पहिले एक दुई प्रश्नहरू अझ छन् ।  यस चरालाई यो हदसम्म अप्राकृतिक र अविकसित रुपमा किन वर्णन गरियो ? यसको अस्तित्त्व आज किन भेटिदैन ? यी चराहरू कुन प्रक्रियाबाट जन्मने गर्दथे र यिनलाई जन्माउने सृष्टिकर्ताहरू के-कस्ता थिए ? यस चराहरूको उमेर कति रहन्थ्यो ? कस्ता देखिन्थे ? यी प्रश्नहरू रहीरहून् ।  प्रश्नहरूले उत्तर भेट्नलाई पर्खनुपर्छ । पर्खाइ रहीरह्यो ।  

Two-headed eagle at the Sphinx Gate Alaca Höyük, Turkey.

अर्को कुरा चाहिँ, कथा छ भनेपछी घटना पनि छ भन्न सकियो । यसो हुँदा हामी केही हदसम्म स्वीकार्न बाध्य हुन्छौं कि- भारुन्ड चराको उपस्थिति इतिहासको कुनै कालखण्डमा हुनु नै पर्दछ । कल्पनाको नाम दिएर यसबाट पर हट्ने सुविधा त यद्यपी छँदै छ तर, कुनै पनि व्यक्तिको कल्पना कमसेकम उसको लागि केही प्रहरकै लागि साँचो हो भन्ने भाष्य पनि हामीकहाँ स्थापित नै छ । ब्रह्माण्डको उत्पत्ति जति जटिल छ, ब्रह्माण्डको रहस्य पनि उत्तिकै जटिल छ । अलौकिक शक्ति वा दिव्यताहरूको हस्तक्षेपलाई प्रमाणित गर्न विज्ञान लागिरहेको समयकालमा भारुन्ड चराको अस्तित्वलाई पनि विज्ञानले प्रमाणित गर्ला भनेर आशावादी हुँदै बाँकी कथन अघि बढाऔँ । 

 

दुई टाउके जीवजन्तु र पशुपंक्षी :

दुईवटा टाउको भएको जीवजन्तु एवं चराहरूको आकृति विश्वभरका विभिन्न संस्कृतिहरूमा विभिन्न समयअवधिमा भेटिएका छन् । आजभोलि यस्ता जीवजन्तु एवं पशुपंक्षी देखिए/भेटिएमा सञ्चारमाध्यमहरूले रोचक खबरको रुपमा प्रस्तुत गरिरहेको पाइन्छ ।  अमेरिकाको भर्जिनियामा ३ वर्षअगाडी दुई टाउको भएको सर्प भेटिएको थियो ।  

क्वीन्सल्याण्ड मा (२०१५) दुई मुख भएको साँढे भेटिएको थियो । दुई मुखे शार्क, कछुवा, बिरालो आदि पछिल्ला वर्षहरूमा भेटिएको समाचारहरू आएका थिए ।  

पोलिसीफ्याली (Polycephaly) भनिने यस प्रकिया मानवमा पनि देखिएका उदाहरणहरू छन् । सन् १८८१ मा तोक्सी ब्रदर्श (Tocci brothers), सन् १७८३ मा बङ्गालको दुई टाउके शिशु ( Two-Headed Boy of Bengal) केही उदाहरणहरू हुन् । हन्टेरियन म्युजियम अफ रोयल कलेज सर्जन्स अफ लन्डनमा बङ्गालको दुई टाउके बच्चा (कोब्राले टोकेर ४ वर्षमा मृत्यु) को अवशेषहरू आज पनि सुरक्षित छन् । 

५० लाख शिशुहरूमा दुई शिशुमा यस्तो देखिने विज्ञानको वक्तव्य छ ।  पहिलो टाउकोको आँखा निदाईरहँदा (सुतिरहँदा) दोस्रो टाउकोको आँखा टुलुटलु हेरिरहनेसम्मका घटनाहरू इतिहासमा देखिएका छन् । पहिलो टाउकोको मुखले केही खानलाई आँ‍… गर्दा दोस्रो टाउकोको जिब्रोमा र्याल आएको पनि देखिएको छ ।  अमेरिकीन एबी र ब्रिटनी हेन्सेल आज पनि जीवित छन्, उनीहरू ३२ वर्ष पुगिसके ।   (यसबारे चर्चा अरु कुनै बेला । )

अमेरिकीन एबी र ब्रिटनी हेन्सेल आज पनि जीवित छन्, उनीहरू ३१ वर्ष पुगिसके ।

ऐतिहासिक तथ्यहरू :

दुई वटा भएका चराहरूमध्ये चीलकै प्रसंग ज्यादतर भेटियो । चील उसैपनि शाही प्रतिक (शक्तिको बिम्ब) हो, अमेरिकाको राष्ट्रिय पंक्षी हो । चील लामो समयदेखि शक्ति र प्रभुत्वको प्रतीक हो तर, यो मानक कसरी स्थापित भयो खोजीको विषय हो ।  

दुई टाउके चीलको प्रयोग इतिहासमा धर्मयुद्ध लगायतका विभिन्न सन्दर्भहरूलाई दस्तावेजीकारण गर्ने क्रममा पटक-पटक आएको छ । यो बिम्ब आज पनि धेरै शाही घरहरूको ढोकामा शक्तिको प्रतीकस्वरूप र केही देशहरूमा राज्य प्रतीकको रुपमा देख्न सकिन्छ, उदाहरणका लागि- लायोलोगोसको बाइजान्टिन हाउस, रोमन साम्राज्य, हब्सबर्गको घर र रूसको रुरिक र रोमानोभहरू। यस्तै मध्यपूर्वी संस्कृति एवं क्रुसेडहरूलाई लेख्ने क्रममा दुई मुखे चराको वर्णन नछुटाइकन लेखेको पाइन्छ ।  

केलाडको रामेश्वर मन्दिरमा भेटिएको भेरुण्ड चरा

सबैभन्दा पुरानो ज्ञात स्रोतअनुसार, यस पंक्षीको उपस्थितिको अंश हालको इराकको पुरातन मेसोपोटार्नियन शहर लगासमा फेला परेको छ । ईसापूर्व तेस्रो सहस्राब्दीको अन्ततिरको माटोको सिलिन्डरलाई हालसम्म यस चराको समबन्धमा उपलब्ध प्राचिन प्रमाण मानिन्छ । यसले मेसोपोटामियाई देवता निन्गिरसु (Ningirsu) लाई प्रतिनिधित्व गर्दछ, जसलाई सहरको संरक्षककर्ता (देवता) मानिन्छ । १,००० वर्षपश्चात हाइटीजहरूले यसलाई पुन: जीवन दिए- आफ्ना मूर्तिकला, माटोका भाँडा र भवनहरू कुँदेर ।  

यस्ता आकृतिहरू आइरन एज र ब्रोन्जमा एजमा धेरै भेटिएका छन्, विशेषत: अस्सारियन क्षेत्रहरूमा (Assyrian sphere) ।  जसलाई पछी हित्त्तीज (Hittites) हरूले अपनाएको देखिन्छ ।  हित्त्तीजहरूले दुई टाउको भएको चीललाई ‘शाही चिन्ह’ को रुपमा व्याख्या गरेका छन् । अलाका ह्युकको स्फिन्क्स गेटमा दुई वटा खरायोमाथि पन्जा गाडेर दुई टाउके चील बसेको देख्न सकिन्छ ।  (स्रोत : Animal Mastery in Hittite Art and Texts)

दुई टाउके चीलको चित्रहरू हाइटीहरूले एनाटोलियामा रहँदा बनाएको स्मारकमा देखा परेको पाइएको १९ औं शताब्दीको प्रारम्भमा चार्ल्स टेक्सियरले बताएका थिए ।

टेक्सियरको दाबीमा टेकेर आधुनिक इतिहासकारहरू भन्दछन्, “हाइटीहरूको कला  यति प्रभावशाली थियो कि पछिका मानिसहरूले आफ्नो हतियारको चिन्हको रुपमा सो कलालाई पछ्याए ।” सन् १९२३ मा एक अमेरिकी मनोवैज्ञानिक एवं इतिहासकार आर्थर सी पार्कले एक लेख “द डबल-हेडेड ईगल एन्ड व्हेन्स इट कम’ मा हाइटीहरूलाई सो कला मेसोपोटामियाका बासिन्दाले सिकाएको बताएका थिए । (स्रोत: The Mesopotamian Origins of the Hittite Double-Headed Eagle )

अर्को उदाहरण, प्राचिन ग्रीस ( माइसेनियन पिरियड) को प्रमाणस्वरूप ग्रेभ सर्कल-ए स्थित एक कब्रस्तानमा सुनको गहनामा यस चरा अंकित भएको भेटिएको छ ।  (स्रोत : Reproduction of a Gold Mycenaean Ornament)

सिम्बोल र डिजाइनबारे अध्ययन गर्ने तरिका हेराल्ड्री र वेक्सिलोलोजी (Heraldry and Vexillology) अनुसार, दुई मुखे चील (डबल-हेडेड ईगल वा डबल-ईगल) साम्राज्यको अवधारणासँग सम्बन्धित प्रतिक हो । आज वैश्विक रुपमा स्थापित प्रतीकहरूमा केही हदसम्म बाइजान्टिन साम्राज्यको विशालताको प्रभाव देखिन्छ । कुनै पनि साम्राज्य ऐतिहासिक विशालताले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संसारभर नै प्रभाव पारिरहेकै हुन्छ । यस आकृतिले एनाटोलियाबाट निकै टाढासम्म यात्रा गरेको देखिन्छ । सिथियन, रोमन, बाइजान्टिन, रोमानोभ रूस र होहेनजोलर्न जर्मनीले यस आकृतिलाई अपनाएको देख्न सकिन्छ। यस चराको यस चमत्कारिक यात्रा खोजको विषय हो ।  

भारतीय उपमहाद्वीपतर्फ आऊ;

हिन्दू मिथक अनुरुपको कथा माथि उल्लेख गरिहालियो ।  भारतको कर्नाटक प्रदेशको प्रतिकमा यस चराको उपस्थिति भेट्न सकिन्छ ।  

दुई टाउके चराबारे तक्षशीलामा भेटिएको आकृति नै भारतीय उपमहाद्वीपमा भेटिएको  सबैभन्दा पुरानो  प्रमाण हो । ‘दुई टाउके चिलको तिर्थ’ नामले चिनिने बुद्ध स्तुपा इसापूर्व ३० मा बनेको मानिन्छ । 

प्रख्यात ब्रिटिश पुरातत्वविद् सर जोन मार्शल (१८७६-१९५८), तक्षशिलाका अवशेषहरू उत्खनन गर्ने क्रममा अचम्मित पर्दै यो आकृति यहाँसम्म कसरी आइपुग्यो भनेर उनले आफ्नो पुस्तक ‘Taxila: An Illustrated Account of Archaeological Excavations’ मा  खुलाएका छन् ।  तक्षशिलाबाट यस आकृति  प्राचीन भारतीय उत्तर-दक्षिण व्यापार मार्ग हुँदै दक्षिण भारततर्फ पुगेको मार्शलको भनाइ छ । 

यसैबेला यस पंक्षीको आकृति महाराष्ट्रस्थित जुनार पनि पुगेको थियो । दक्षीण भारतका चालुक्यान, होयासाला, काकातिया लगायतका मन्दिरहरुमा यस चराको आकृतिहरू देख्न सकिन्छ ।   

तक्षशिलाको यस स्तुपामा ‘डबल-हेडेड चील’ मोटिफको उपस्थिति रोचक छ, यसले यसको प्रवासको लामो श्रृंखलामा अर्को लिङ्क प्रदान गर्दछ। यो याद गर्न सकिन्छ कि यो हिटाइट र प्रारम्भिक बेबिलोनियन मूर्तिकलाहरु माझ यसको उपस्थिति बनाउँछ, पछि यो स्पार्टामा प्रारम्भिक आइभोरीमा पाइन्छ, र अझै पछि विशेष गरी सिथियनहरुसँग सम्बन्धित देखिन्छ । यी शाकहरू (सिथियनहरू) थिए, जसले तक्षशिलामा प्रतीकको परिचय दिए । शाकहरूबाट, यसलाई रूस र जर्मनीको शाही हतियारहरूमा ग्रहण गरिएको थियो । साथै यसले दक्षिणतिर भारत हुँदै विजयनगर र सिलोनसम्मको बाटो फेला पारेको थियो ।

शताब्दिऔँ पश्चात, यो दुई टाउके चरा हिन्दू संस्कार बन्न पुग्यो र यसलाई गान्डाभेरुन्ड (Gandaberunda) को रुपमा पुकार्न थालियो, जो विष्णुको नरसिंह अवतार पनि हो (सुरुमै बताइयो) ।  पछी, विजयनगर साम्राज्य (हालको कर्नाटक, दक्षीण भारतको विशाल साम्राज्य)ले यस संस्कृतिलाई बढावा दिने क्रममा ‘गान्डाभेरुन्ड सिक्का (Gandaberunda coins)’ नै निकाल्ने काम गर्यो ।

विजयनगरका सम्राट अच्युता देव रायले पहिलोपटक इसापूर्व १५२९ मा गान्डाभेरुन्ड सिक्का निर्माण गरेका थिए । यस चरालाई पहिलो पटक विजयनगर साम्राज्य (हालको कर्नाटक, दक्षीण भारतको विशाल साम्राज्य)को शासनकालमा सिक्काहरूमा कुँदिएको पाइएको थियो । सिक्कामा यस चराले चार वटा हात्तीलाई पन्जा र चुच्चोले थिचेको देखाइएको छ, जो शक्ति प्रदर्शनकै एक तरिका हो । 

समयक्रममा, यो सिक्का मैसूर राज्य सहित होयसलस, केलादिस र कदम्बासका धेरै राज्यहरूको आधिकारिक छाप बन्न पुग्यो । जब मैसूर राज्य (सन् १९७३ मा कर्नाटकको नाम परिवर्तन गरियो) गठन (सन् १८६८) भयो, तबदेखि यो सिक्का राज्यको आधिकारिक प्रतीक बन्न पुग्यो। पछिल्लो समय बंग्लारु इन्टर्नेशनल फिल्म फेस्टिभलमा पनि दुई टाउके चिलको चित्रण देखिएको थियो । (स्रोत : The Story Behind Karnataka’s Unique Emblem & Its Connection to a Magical Creature From Mythology)

सम्बन्धित समाचार