शुक्रबार , बैसाख ७, २०८१

पशुपति किनारमा मिल्किरहेछ नेपालको सबैभन्दा पुरानो कलात्मक मूर्ति !

पशुपतिको तिलगंगा क्षेत्रमा रहेको प्राचीन त्रिविक्रम (वामनदेव/विष्णुविक्रान्त) ढल भरिएको पोखरीमा रहेको छ, जो फोहोर फाल्ने, दिसापिसाब गर्ने र गाँजा तान्ने थलो हो ।

image

पृष्ठभूमि :

हृदय, बुद्धि र विचारको एकमुष्ट प्रकटीकरण कला हो । कुनै कला सौन्दर्यबोधक हुन्छ, आनन्दित बनाउँदछ । कुनै कला चित्कारबोधक हुन्छ, आघात पुर्‍याउँदछ । सौन्दर्यबोधक हुँदाहुँदै पनि आघात पुर्‍याउने नेपाली इतिहासको प्राचीन कलामध्ये एक हो- बागमती (ढलमती) किनारको ढलमा डुब्दै-उत्रँदै गरिरहेको नेपालको सर्वप्राचीन ‘कलात्मक’ त्रिविक्रमको मूर्ति । यस मूर्तिले स्वयम् आघात पुर्‍याएको कदाचित होइन, यसको महत्त्व नबुझेर संरक्षणको अभावमा हामीले उसलाई आघात पुर्‍याइरहेका हौँ । यस मूर्ति यस हालतमा पुग्नुले ऐतिहासिक सम्पदाप्रतिको हाम्रो बेवास्तालाई इंकित गर्दछ ।

नेपालको प्रस्तर-कलाको इतिहासमा तिथिमितिसहित अभिलेख अङ्कित सबभन्दा प्रमाणिक र कलात्मक ’त्रिविक्रमको मूर्ति’ ढलमा पुग्नुले हाम्रो धार्मिक तथा सांस्कृतिक ‘चिनो’ हराउने जोखिम बढेको सङ्केत गर्दछ । नेपाली कलाको विस्तार धर्मसापेक्ष रहेको पाइएकाले यहाँ ‘धार्मिक र सांस्कृतिक चिनो’ शब्द प्रयोग गरिएको हो । अतः धर्म सापेक्ष कलाकृतिहरूको उत्खनन, चर्चा-परिचर्चा र चियोचर्चा नै नेपाली इतिहासको ‘जेजति पाठ’ हो ।

अर्कोतर्फ, धार्मिक भावना र विचार सङ्केत नपाइने ज्यादै स्थूल किसिमको भद्दा मूर्तिहरू पाइनुले पनि ‘ज्योतिर्लिङ्ग, स्वयम्भू’ जस्ता विचारहरूलाई पुज्नेहरूको अस्तित्त्वप्रति सङ्केत गर्दछ । ‘प्राचीन आर्यहरू मूर्तिको निर्माण गर्न जान्दैनथे’ भन्ने म्याक्समूलर, म्याक्डोनल आदि विद्वान पनि छन् । यी विद्वानका कुरालाई काट्ने गरि एकातिर राजालाई देवता मानी पूजा गरिने कुषाण राजाका प्रतिमाहरू भेटिन्छ भने सिन्धु सभ्यतामै मूर्तिपूजा हुने गरेको प्रमाण भेटिन्छ । फेरी, यी विद्वानहरूसँग सहमति जनाउँदै वैदिक आर्यहरू वेदी वा प्रार्थना स्थलमा जम्मा भएर मूर्ति बेगरका ब्रह्म वा परमेश्वरप्रति आफ्नो समर्पण भाव व्यक्त गर्दथे भन्ने कथनहरू उपलब्ध छन् । यसकारण मूर्तिपूजाको सन्दर्भमा कसले र कहिले भन्ने प्रश्न गौण हुन् पुगेको छ । खैर, पूजा विशेषतः आदरसत्कार र मानसम्मानलाई श्रद्धापूर्वक गरिने एक विधि हो, जो धर्मसँग निकटतम छ । धार्मिक सम्प्रदाय अलग कुरा भयो ।

हामी त्रिविक्रममा आऊ;

पशुपतिको तिलगंगा क्षेत्रमा रहेको प्राचीन त्रिविक्रम (वामनदेव/विष्णुविक्रान्त) ढल भरिएको पोखरीमा रहेको छ, जो फोहोर फाल्ने, दिसापिसाब गर्ने र गाँजा तान्ने थलो हो । त्रिविक्रमको शिर कुल्चिएर पैदलयात्रीहरू नित्य हिँडिरहेकै छन् । कुकुर र बाँदरहरूको झम्टाझम्टी मच्चिरहेकै छ । दिनहूँ फोहोर मिल्किरहेकै छ । झिँगाहरू भन्किरहेकै छन् । कसैले कुनैबेला चढाएको फूलको थुङ्गो ओइलिसकेको छ । सुकुम्वासी बस्तीको बढ्दो चाप र बसपार्क क्षेत्र विस्तार छेउसम्मै आइपुगेको छ । यो सब बाबजुद हरेक बर्खा ढल मिसिएको पानीमा चुर्लुम्म डुबेर बस्नु त्रिविक्रमको नियति भएको छ ।

तस्बीर : कान्तिपुर

नित्य पूजा, विगत भइसकेको छ । घामपानी सहेर टिठ लाग्दो अवस्थामा रहेको मूर्तिको आकारप्रकार मात्रै होइन, शिलालेख समेत पढ्न नसकिने भएको छ । यति हुँदा पनि सुरक्षाको कुनै बन्दोबस्ती छैन, संरक्षण त परको कुरा सरोकारवाला निकायहरूको चासोसम्म व्यक्त भएको पाइँदैन । यदि यही अवस्था रहिरहने हो भने सुकुम्वासी बस्ती विस्तारको क्रममा मूर्ति उखालिनेछ र कुनै घरको भित्ता वा जगमा १६०० वर्षको इतिहास गाडिन पुग्नेछ । साथै, वैदिक सनातन धर्म अन्तर्गत (ऋग्वेदीक काल)का  विशिष्ट शक्तियुक्त देवता विष्णुको उपासना गर्नेहरूद्वारा बुद्धको समयताका प्रतिपादित ‘पशुहिंसा विरुद्ध अहिंसात्मक- वैष्णव धर्म’ नेपालको प्राचीन धर्ममध्ये एक रहेको बताउने उपयुक्त स्रोत-सन्दर्भ नष्ट हुन् पुग्नेछ । यसै मूर्तिको जोडा मूर्ति राष्ट्रिय संग्रालयमा सुरक्षित रहेकाले ‘यसो हुँदैन’ भनेर पन्छिन ‘झिँगा’हरूलाई छुट पनि उपलब्ध छ  (अर्को जोडा मूर्तिको यथास्थानमा सम्बोधन हुनेछ) ।

त्रिविक्रमको मूर्ति कहाँनेर छ ?

तिलगंगा पारीको पशुपति छिर्ने गेट हुँदै लगभग ३०-४० मिटर अगाडि बढिरहँदा देब्रेपट्टि (खोलातर्फ) एउटा घरको भर्‍याङ देखिन्छ । सो भर्‍याङदेखि सुरु हुने पातलो गल्ली हुँदै सुकुम्वासी बस्तीतिर अगाडि बढ्दा कङ्क्रिटको चारकुने संरचना जलमग्न भइरहेको देख्न सकिछ । सोही आहालमा बसेर त्रिविक्रमको शिलालेख भनिरहेको छ, ‘हरेकपल्ट फेरिने संस्कृति मन्त्री र पशुपति विकास कोषका पदाधिकारीहरू, तिमिहरूको संरक्षणको प्रतिबद्धताको गफ धेरै भो । मलाई जोगाएर तिमिहरू फ्रान्ज काफ्का बन । सुग्घरी हौँ ।’

पङ्क्तिकारको दुर्भाग्य भनौँ या सौभाग्य, साउन २० गतेका दिन दिउँसो २ बजे टन्टलापुर घाममा सो मूर्तिप्रति निहुरिएको उसले मुसलधारे झरी रोकिएपश्चात् ३ बजे पुग्दा त्यो आहालमा कुल्चने आँट गर्न सकेन । अन्दाजी कुर्कुच्चा डुबाउने ढलमा पौडी खेलिरहेको अवस्थामा दोस्रोपटक उसले टुटे फुटेर र अनुहार नचिनिए पनि आफ्ना तेजोमय तीन पाउले तीनै लोक ढाकिरहेका त्रिविक्रमको ‘दर्शन’ पाएको थियो ।

तस्बीर : राजु झल्लु प्रसाद

समयको मारमा त्रिविक्रम सग्लो रहन पाएन । इतिहास यसैगरी चोइटिन्छ र, इतिहास चोइटाउन समयबाहेक अन्य अप्राकृतिक हर्कतको बढी हात रहन्छ । यस कुकर्ममा पाशुपत क्षेत्रको माउ अड्डा पशुपति क्षेत्र विकास कोष प्रमुख भागीदार हो । सतही सुधारमा गद्गद् उसलाई कसैले ‘के गरेको यस्तो’ भनेमा ‘गर्दै छौँ’ भन्ने निम्छरो जवाफ दिनु उसको ‘सनातन परिचय’ भएको छ । सम्पदास्थलको विरासत बोक्ने कोषले विष्णुविक्रान्तमाथि हेलत्तो गर्नु, महत्त्व नबुझ्नु वा बुझेर पनि बुझ पचाउनु, या संरक्षण गर्नुको व्यक्तिगत फाइदा खोज्नु लज्जाको विषय हो । साथै, यस्ता अमूर्त सम्पदाको अवलोकन गर्न विशेष पर्व नै कुर्ने या संयोग नै जुराउने तपाईँ हामी पनि अन्य सबै कुरा गर्ने तर जीर्ण, क्षतिग्रस्त र लथालिङ्ग सम्पदाबारे मौन रहेको ‘पाशुपत क्षेत्रको सांस्कृतिक सम्पदा (मूर्त र अमूर्त)’ नामक किताब हौँ । यस्ता मूर्त–अमूर्त सम्पदालाई ‘ढलमति नदी’ नै बनाइरहँदासम्म जति ठूलो ग्रन्थ प्रकाशन गरे पनि पशुपतिनाथको महत्त्व बढ्दैन क्यारे । (गुठी संस्थान, राष्ट्रिय अभिलेखालय, चारखाल अड्डा, पुरातत्त्व विभागको त कुरा गर्नै परेन । आँची हो भनेपछि किन चलाइरहनु ?)

सत्यमोहन जोशीले आफ्नो पुस्तक ‘नेपाली मूर्तिकलाको विकासक्रम’मा लेखेका छन्, “यस मूर्तिलाई राजा मानदेवले आफ्नी मुमाराज्यवतीको नाममा एक विशाल मन्दिर बनाइ स्थापना गरेका हुन् । यो मूर्तिमा जुन उत्कृष्ट शैली र कलाको अभिव्यक्ति छ, त्यो अद्वितीय छ । हाल यो मूर्ति नेपाल राष्ट्रिय संग्रालयमा छ (पहिले यो मूर्ति लाजिम्पाट, धोबी चौरमा थियो) । यही मूर्तिकै जोडा एक अर्को मूर्ति पशुपति तिलगङ्गामा खेतको डिलमा मिल्किएको छ ।” जोशीले एक अर्को मूर्ति भनेर सम्बोधन गरेको मूर्तिको यहाँ चर्चा हुँदैछ । र, उनले ‘विशाल मन्दिर’ भनेबमोजिम मन्दिरको अवशेष यहाँ देखिँदैन ।

पुरातात्त्विक नियमअनुसार ‘कुनै पनि सम्पदालाई स्थानान्तरण गर्न मिल्दैन । तिनलाई जहाँ भेटिन्छ, त्यहीँ नै रहन दिइनुपर्छ ।’ सोही स्थानान्तरणको काम धोबीचौरमा हतियार उद्याउन प्रयोगमा आइरहेको यस मूर्तिको जोडा मूर्ति (त्रिविक्रम)को संरक्षण हेतु नियम (प्राचीन स्मारक संरक्षण ऐन, २०१३) विपरीत संग्रालयमा पुर्‍याउने काम जोशीबाट भएको थियो । पङ्क्तिकार तिलगंगाको मूर्तिको दुर्दशा देखिरहँदा सोच्ने पुग्दछ, ‘जोशीले सही गरेछन् ।’

जोशीले छाउनी पुर्याएको त्रिविक्रम, तस्बीर : शिलापत्र

२०३२ सालमा सत्यमोहनले बताएअनुरूप नै यस मूर्ति मिल्किरहेको अवस्थामा छ । हाल त्यहाँ खेत छैन, अव्यवस्थितरुपमा सुकुम्वासी बस्ती विस्तार भइरहेको छ । सत्यमोहन जोशी सहित मोहनप्रसाद खनाल, हरिराम जोशी, जगदीश चन्द्र रेग्मी आदि विज्ञले उतिबेलै चिन्ता व्यक्त गर्दै ‘बेवारिसे छन् वा खेतको डिलमा यसै परिरहेको छन्’ भनेका मूर्तिहरूमध्ये कतिपय सोही अवस्थामा रहेको र कतिपय हराइसकेका पाइन्छन् । बेवारिसे अवस्थामा रहेका यस्ता मूर्तिहरू जुनसुकै बेला पनि चोरी हुनसक्ने जोखिम बढ्दो छ ।  पशुपतिका विष्णुविक्रान्त हराए भन्ने सुन्न नपरोस् ।

विष्णुविक्रान्त कति पुरानो ?

जगदीश चन्द्र रेग्मीले यस मूर्तिको बारेमा चर्चा गर्दै लेखका छन्,  “लाजिमपाट धोबीचौरको थुम्कामा राजा मानदेव प्रथमकालिक तीन वटा अभिलेख अङ्कित मूर्तिहरू रहेका छन् । एउटा त नरवर्माले संवत् ३८८ (ई. ४६६) मा शिवलिंग र मन्दिर बनाएको प्रमाण हो । (बज्राचार्य २०३०: ३१) अर्को अभिलेख संवत् ३८६ (ई.४६७) मा राजा मानदेव प्रथमले थापेको त्रिविक्रम मूर्तिको हो (ऐजन:३४) । उनी राजाको रानी क्षेमसुन्दरीले सं.३६० (ई.४६८) मा शिवलिंग र मन्दिर थापेको प्रमाण अभिलेख पनि यहीँ छ (ऐजन:३६)  (काठमाडौं शहर सांस्कृतिक अध्ययन, भाग- १, पृ. २१) ।”

नरवर्माले संवत् ३८८ मा स्थापना गरेका शिवलिंग र मानदेवकी रानी क्षेमसुन्दरीले संवत् ३९० मा स्थापना गरेका शिवलिंग आज पनि यथास्थानमै छन् ।

मूर्तिलाई नियाल्दा : ‘सम्पूर्ण आयुधसहितका विष्णुले तीनै लोकलाई ढाकेका छन् । विक्रान्तस्वरूप विष्णुका मुनि राजा बाली हातमा जलधरासहितको कलश लिएर दान दिन प्रतिज्ञाबद्ध हुँदै वामनका अगाडि खडा भएका छन् । राजा बलिकी रानी आफ्ना पतिका साथ नमस्कार-मुद्रामा देखिन्छिन् भने अश्वमेध यज्ञको प्रतीक घोडा देखाइएको छ । यसै गरि असुर-पुरोहित शुक्राचार्य तथा अन्य कतिपय आकृतिहरू यस मूर्तिमा स्वाभाविक ढङ्गले कुँदिएका छन् ।’

मुसलधारे झरी पर्नु अगाडी खिचिएको, तस्बीर : राजु झल्लु प्रसाद

त्रिविक्रमको पादपीठमा के लेखिएको छ ?

त्रिविक्रमको पादपीठमा लिच्छवी- लिपिमा अङ्कित अभिलेखको प्रतिलिपि यसप्रकार छ-

“मातु: श्रीराज्यवत्या: हितकृतमनस: सर्व्वडा पुष्यवृद्धर्यै
राजा सहीमानदेव: शुभविमलमति: पात्रदानाम्बुवर्षा ।
लक्ष्मीवत्कारयित्वा भवनमिह शुभं स्थापयामास सम्यक्
विष्णु विक्रान्तमूर्ति सुरमुनिमहितं सर्व्वलोकेकनाथम् ।।
सम्वत् ३८९ वैशाख शुक्ल दिवा २ ।”

(भावार्थ : असल सफा बुद्धि भएका सत्पात्रमा पानीसरह दान बर्साउने राजा श्री मानदेवले हित गर्ने मन भएको (आफ्नी) मुमा राज्यवतिको सधैँ पुण्यको बढिबढाउ होस् भन्नानिमित्त राम्रो असल मन्दिर बनाउन लगाई देवता र ऋषिहरूले पुजिएका, सारा संसारका एउटै मालिक त्रिविक्रम (वामन) मूर्ति विष्णुलाई राम्ररी स्थापना गर्नुभयो । संवत् ३८९ वैशाख शुदि २ ।  (इतिहास-संशोधन मण्डल, प्रमाण प्रमेयको आधरमा, पृ. २०२-२०३ । यसमा अङ्कित संवत्लाई शाके संवत् मानिएको छ ।  (जोशी, ऐ.  पृ. १९)

यस मूर्तिको अभिलेखमा आरम्भमा प्रशस्ति (प्रशंसा) र अन्त्यमा मिति अङ्कित भएको छ, जो राजाले राखेका अभिलेखहरू प्रायशः देखिने गरिन्छ । यहाँ पनि अन्यत्र सरह नै जारी गरिएको ठाउँबाट सुरु गरेर राजाको प्रशस्ति र नाम उल्लेख गरि जनताको कुशलमंगलको कामना गर्दै अभिलेखको वास्तविक आशय वर्णन गरिएको छ ।

ढलले छपिएको विष्णुविक्रान्तको मूर्तिको शिलास्तम्भ, तस्बीर: शिलापत्र ।

विष्णुविक्रान्त मूर्तिको कलात्मक प्राचीनता :

यस मूर्तिभन्दा अगावै पनि धेरैथरि मूर्तिहरू निर्माण भएका हुन् सक्छन्, तर, तिनमा तिथिमिति उल्लेख छैन । प्रस्तर  मूर्तिको हकमा यसभन्दा पुरानो अभिलेख नभेटिएपनि शिलाहरू भने भेटिएका छन् ।

टिप्पणी : (पादपीठमा संवत् १०७/ई. १८५ श्री परमदेव महाराज जय वर्मा’ लेखिएको, लैनसिंह वाङ्देलले ‘जया वर्माको मूर्ति र नेपालको वर्मा वंश’ नामक पुस्तक उल्लेख गरेका मूर्ति राजाको भएको र कलापक्षको हिसाबले विष्णुविक्रान्त जत्तिको सर्वोत्कृष्ट नभएकाले हालसम्म विष्णुविक्रान्तकै मूर्तिलाई प्राचीन कलात्मक मूर्ति मान्नुपर्दछ । यस मूर्तिको उल्लेख यसकारण पनि उल्लेख छ कि यही पुरातात्त्विक प्रमाणको आधारमा किराँत कालको अन्त्य ई. १८५ मा भएको मानिन्छ । )

पुनः पाठमै फर्किऔँ, अभिलेख अङ्कित सर्वप्राचीन प्रमाणिक शिलालेखहरूको कुरा हुँदै थियो;

सर्वविदित उदाहरण: ‘इतिहासको आविष्कार गरिँदैन, अद्यावधिक गरिन्छ’ भनेअनुसार पशुपतिनाथ पटाङ्गिनीको मुक्तिखण्डपमा एकाएक भेटिएको (२०४६) लिच्छवीकालीन शिलास्तम्भ (‘३८१ शकसंवत्’) ले त्यसभन्दा अघिसम्मको सबैभन्दा प्राचीन प्रामाणिक अभिलेख भनिएको चाँगुनारायणको मानदेवको शिला (‘३८६ शकसंवत्’) लाई माइलो बनाएर आफू जेठो भएर बसेको छ । विष्णुविक्रान्तको मूर्तिको शिलास्तम्भको रोलक्रम छुट्याउन बाँकी नै छ । (२,३०० वर्ष लुम्बिनी र निग्लीहवाका ब्राह्मी लिपिमा लिपिबद्ध अशोकस्तम्भ अपवाद रहे ।)

मानदेवको यस मूर्तिभन्दा अगाडी नै उनको पुर्खा राजा जय वर्मा लगायतको मूर्तिहरू निर्माण भएको पाइएकाले पुराना मूर्तिहरूको सरसरती चर्चा गर्नु प्रासङ्गिक हुन्छ । हाँडीगाउँमा प्राप्त शिरविहीन एक बलौटे प्रस्तर मूर्ति (बोधिसत्त्व र यक्षबोधिसत्त्व बीच विवाद जारी, दोस्रो शताब्दी हो कि भनिएको), लुम्बिनीमा केशरशमशेरले उत्खनन गराउँदा भेटिएको रातो बलौटे प्रस्तरको उष्णिषसहितको सुन्दर बुद्धमूर्ति (शिरोभाग मात्रै, दोस्रो शताब्दी मानिएको) मूर्तिहरू केही उदाहरण हुन् । यसबाहेक आर्यघाटको मृगेश्वर, विरुपाक्ष, मृगेश्वरको बायाँपट्टिको आर्यादेवीको मूर्ति, मृगस्थलीको द्विभुज मूर्ति, किरातेश्वर इत्यादि र ठाउँ-ठाउँका साना खालका मोटा बसाहाहरूले शिव, सूर्य, नन्दी, मृग आदिका प्राचीन मूर्तिस्वरूपको सर्वविदित (विवादास्पद पनि) प्रमाण भई नै हालै । यसबाहेक केही शिलास्तम्भ, शिवलिंग तथा अन्य छरिएर यताउता रहेका कलाकृतिहरू पूर्वलिच्छवीकालीन हुन् भनिएको छ तर कति पुरानो हो भने ठम्याउन सकिएको छैन ।

यसो हुनुमा ती मूर्तिहरू माटोद्वारा निर्मित हुनु, काठका हुनु एवम् काठका वस्तुहरू स्थायी रूपले नखप्नु मुख्य कारण (मेसोपोटामियाका माटाका फलकहरूमा अङ्कित गरिएका तर पढ्न नसकिएका लेखहरूको सङ्ग्रहहरू आदि अपवाद रहे) हुन् आउँछन् । यसैकारण विकल्पको रूपमा ढुङ्गा (प्रस्तर)को मूर्तिहरू निर्माण हुन् पुगे । ढुङ्गा प्रयोगको कारण चम्काई, टिकाउ र सर्वसुलभता हो । लिच्छवीकालको उत्तरार्धदेखि भने प्रस्तरका अतिरिक्त ताम्रपत्र, राजोपत्र, सुवर्णपत्र आदिमा पनि अभिलेखीकरण सुरु भएको छ ।

मध्यकालको प्रारम्भताका भने पूर्वी भारतको सम्पर्क (पाल/पालि कला), गोरखनाथ (तन्त्रको प्रभाव)को सम्पर्क लगायतका कारण धातुकलाको द्रुत विकास भएको पाइन्छ । प्राचीन मध्यकालमा बनेका उमामहेश्वर, सूर्य, विष्णु, भगवतीहरू तथा बौद्ध सम्प्रदायका अनेक देवी-देवताका मूर्तिहरू नेपाल (बाहिर चोरी भएका पनि)कै संग्रालयमा छरिएर रहनु यस कुराको प्रमाण हो । मध्यकालीन कलाकृतिहरूको विरासत चाहिँ पश्चिम नेपालतर्फ ज्यादा देखिन्छ । मध्यकालमा चित्र एवम् वास्तुकलाको विकास उपत्यकासहित नुवाकोट, गोरखा, बौद्ध विहार र स्तुपाहरू भरपुर देखिन्छ । सालिक निर्माण चाहिँ पछिल्लो ‘हाउ झुसे, बकम्फुसे’ टाइप्सको तरिका हो । अझ त्यसमा पनि लौका, घिरौँला, आँप, भुइँकटर चाहिँ पछिल्ला सत्ताधिकारीहरूको ‘लास्ट तोरी स्वभावको ब्रो स्ट्याइल्स्’ हो । एकछिन हाँसौँ हाउ ।

तिलगंगाबाट देखिएको पशुपति, तस्बीर : राजु झल्लु प्रसाद

खैर, हामी विष्णुविक्रान्तमा नै आऊ,

‘नेपालको प्रस्तर-मूर्तिकलाको इतिहासमा अभिलेख र सालमिति अङ्कित सबभन्दा प्रामाणिक र कलात्मक मूर्तिको पृष्ठभूमिमा नेपाली प्रस्तर-कलाको विकास इसाको पहिलो, दोस्रो शताब्दीमै सुरु भइसकेको सहजै अनुमान गर्न सकिन्छ । किनभने, विष्णुविक्रान्तको मूर्तिमा जुन ओजस्वीपाना छ तथा कलाशैलीको जुन विकसित छाप छ, त्यसको क्रमिक विकासमा मानदेवको समयभन्दा अघिको समयलाई औँल्याउन कर लाग्न आउँछ । किनभने, पाँचौँ शताब्दीमा निर्मित त्यो अद्वितीय मूर्तिमा भएको कलाकारिताको विकासको निमित्त त्यसलाई २००/३०० वर्षको पृष्ठभूमि उसै पनि आवश्यक पर्न आउँछ । (जोशी, ऐ. पृष्ठ १९-२०)

त्रिविक्रमको मूर्तिले के कुरा बताउँछ ?

मूर्तिकलाको वास्तविक मूल्याङ्कन गर्दा हामीले देश, काल, परिस्थिति र परम्परालाई बढी ध्यान दिनुपर्दछ । समयको शाश्वत प्रवाहमा प्रवाहित सुख-दुःख र उथलपुथलका परिणामलाई व्यक्त गर्दै यसले खास प्रकारको विशेषतालाई औँल्याउँदछ । (खनाल, नेपाली कला, पृ. ४) फेरी, सौन्दर्यको प्रकटीकरण तत्कालीन समय निर्देशित मात्रै नरही कलाकारको आन्तरिक प्रेरणाविशेष पनि रहने हुनाले त्यसमा स्फूर्ति, हर्ष एवम् उद्वेगका अंशहरू पनि देखिने नै भए, तर ती धार्मिक प्रभावको तुलनामा गौण छन् । धर्मकै प्रधानता रहेकाले नेपाली मूर्तिकलाको आधारस्तम्भ, अडिने टेको पनि धर्म, त्यसपछि संस्कृति र परम्परा रहेको कुरा माथि परिहाल्यो ।

यसकारण मूर्तिविज्ञान बुझ्नलाई शास्त्रीय पक्षलाई नजरअन्दाज गर्नै नमिल्ने अवस्थामा हामी आइपुगेका छौँ ।  अतः विष्णुविक्रान्तको मूर्ति बुझ्नुपूर्व हामीले केही कुरा नियाल्नु अनिवार्य भएको छ;

  • वैष्णव र शैव धर्मबीचको द्वन्द्व र मेलमिलाप
  • पशुपति र गोपाल- किराँतकालीन- लिच्छवीकालीन पृष्ठभूमि :
  • बुद्धको विद्रोहपश्चात्  विष्णुको सर्वोच्च पद र अग्निको होच्याई एवम् बुद्धकै मूर्ति पूजाको थालनी

१. वैष्णव र शैव धर्मबीचको द्वन्द्व र मेलमिलाप

जसप्रकार शैव धर्मलाई परापूर्वकालदेखि चलेको मानिन्छ, सोही प्रकार परापूर्वकालीन वैष्णव धर्मको लागि नेपाल पनि उर्वर भूमि हुन् पुग्यो । यस कुरालाई लम्बेतान गर्नुपर्दा यसरी भन्नुपर्दछ,

नेपालमा प्राचीन राजनीतिक इतिहासमा सर्वप्रथम गोपालवंश, महिषपालवंश, किराँतवंश र लिच्छवीवंश देखिन्छन् । प्राचीनकालदेखि नै नेपालमा राजतन्त्रात्मक शासन पद्धति थियो नै तर, धार्मिक रूपमा के कसरी विभाजित थिए भनेर ठम्याउन चाहिँ कठिन छ । गोपालवंशमा कृष्ण काठमाडौं आएको बताइनाले वैष्णव, महिषपालमा दुर्गाले महिषासुर वध गर्नाले देवीपूजक शाक्त धर्म, किराँतहरू स्वभावतः शैव (झाँक्रीपन्थ) र लिच्छवीहरूमा ज्यादातर बौद्ध, त्यसपछि शैव एवम् वैष्णव  मतावलम्बीहरू रहेको अनुमान गर्न सकिन्छ ।  यो गहनतम विषय छ । गोपालहरू कृष्णसँग आएका व्यक्तिहरू होइनन् भन्नेदेखि महिषासुर सहादत दिवसको प्रसङ्गसम्म यहाँ जोड्नुपर्ने हुन्छ, सोही कारण यता गइएन । अर्कोतर्फ, गाणपत्य, शाक्त, सौर (सूर्य), वैष्णव तथा शैव धर्मलम्बीहरू उपासक सम्प्रदाय अन्तर्गत पर्दछन्, जसले एकै ‘परमात्मा’को पृथक् पाँच भावमा विभाजित भई उपासना गर्दथे र गर्दै आइरहेका छन् ।

पहिलो कुरो, नेपालको धार्मिक इतिहास सदैव शान्तिपूर्ण छैन । यसो हुनुमा प्राचीन तथा मध्ययुगिन इतिहास ब्राह्मणद्वारा लेखिनु र उनीहरू गङ्गा मैदानको हिन्दु विश्व दृष्टिकोणबाट प्रभावित (स्वार्थजनित) हुनु, लिच्छवीहरूको समयमा जनजाति समुदायहरू छिटोछिटो परिवर्तनको प्रक्रियाबाट गुज्रिनु एवम् तिब्बतसँग उनीहरूको सांस्कृतिक र आर्थिक सम्बन्ध रहनु मुख्य: कारण हुन् ।

दोस्रो कुरा, गङ्गा मैदानको हिन्दु धर्म र नेपालमा रहेका अरू धार्मिक परम्पराबिचको द्वन्द्वबारेका प्रसङ्गहरू धमिलो पारिएको बताउने क्रममा डोरबहादुर विष्टले केही उदाहरण अघि सारेका छन्, जसअनुरूप- ‘पाशुपत-शैव किराँतहरूलाई लिच्छवीहरूले धपाएको, बौद्ध धर्मावलम्बीहरूलाई शैव र वैष्णव हिन्दूले दबाएको, तहगत जात प्रथा विरुद्ध घण्टाकर्णको विद्रोह राम्रोसँग अभिलेखीकरण भएको छैन । बाबुराम आचार्यको हवाला दिँदै उनले पशुपतिनाथ मन्दिरमा दक्षिण भारतको शैव पुरोहितको नियुक्ति र पछिल्ला लिच्छवी राजाहरूले विष्णुको पूजा गर्न अस्वीकार गरेका प्रसङ्गहरूले नेपाली समाजको तत्कालीन अशान्तिलाई जनाएको’ बताएका छन् (विष्ट, भाग्यवाद र विकास, पृ. ३१) ।

सुरुवातमा खटपट भएता पनि पछि आएर यस भेगमा वैष्णव धर्म र शैव धर्म समानान्तर रूपमा चलेको पाइन्छ । नवआगन्तुक बाहुनद्वारा सुरु गरिएको हिन्दु धर्म र स्थानीयरूपमा प्रचलित झाँक्रीपन्थबीच आपसी सहयोग विकसित हुनु आवश्यक पर्‍यो । यो आवश्यकता कारण ‘दुवैलाई आफ्नो धर्ममा अर्को पक्षको धर्म पनि सम्मिलित छ भन्ने विश्वास जागृत हुनु’ रहेको विष्टको मत छ । उनले पुरोहित र जजमानको एकापसमा सम्बन्ध विस्तारमा प्रस्टाउँदै अगाडी लेखका छन्,  ‘झाँक्रीहरूले प्रेतात्मा पुज्ने र जीउमा प्रेतात्मा चढाउने चलन हिन्दु धर्मको अभ्यास विपरीत पनि थिएन । आखिर दैवी शक्तिलाई खुसी पार्न रगतको बलि दिने चलन दुवै धर्मको अभ्याससित मिल्दोजुल्दो थियो ।  (ऐ. पृ. ३२)। प्रेत्मामालाई आह्वान गर्न प्राचीन वैदिक मन्त्रोच्चारण गर्ने हिन्दु पुरेतहरू र सोही कामको लागि आफ्नै पुरानो भाषा प्रयोग गर्ने झाँक्रीहरू जनसामन्यका नजरमा एकै देखिन आइपुगे । यसले पनि यो वैरभाव हटाउन मद्दत पुर्‍याएको हुनुपर्दछ ।

यसै सन्दर्भमा मोदनाथ प्रश्रित यसो भन्छन्, ‘तन्त्रप्रधान शैव धर्म (रुद्र-शिव) र मन्त्रप्रधान वैदिक धर्मको द्वन्द्व पनि लामै समय चल्यो । त्यसलाई समाधान गर्न ‘शिव र विष्णु समान महत्त्वका हुन् । यी दुईको बीचमा भेदभाव गर्नु, यी ठूला र यी साना हुन् भन्ने धारणा राख्नु पाप हो’ भन्ने व्यापक अभियान चलाइयो । पछि क्रमशः ती दुवै देवता र धर्मले बहुजातीय दक्षिण एसियाली समाजमा मान्यता पाउँदै गए । त्यति मात्र होइन रामले शिवको पूजा र शिवले रामको पूजा अर्थात् सम्मान गरेका कथा पुराण पनि रचिए (प्रश्रित, नेपाल : पाँचवटा धर्मको उत्पत्तिस्थल, अनलाइनखबर)।

यहाँ हामीले  वैष्णव र शैव धर्मबारे सरसरती चर्चा गर्न सकेका छौँ, यसो गर्नुको मूल ध्येय शैवमार्गीको पाशुपत क्षेत्रमा वैष्णव मूर्ति किन र कसरी भन्ने प्रश्नका खातिर हो ।

तस्बीर : राजु झल्लु प्रसाद

२. पशुपति र गोपाल- किराँत-लिच्छवीकालिन पृष्ठभूमि :

क. गोपालकालीन

‘पशुपतिलाई टाढाबाट ल्याउनु परेको थिएन । स्वयम्भू जस्तै पशुपति आफैँ उत्पत्ति भएका हुन् । शिव भागेर बस्न गएको ठाउँको स्मृतिमा बागमतीको दाहिने किनारमा धेरै मन्दिरहरूले घेरेर लिङ्ग खडा गरिएको छ ।’ (सिल्भाँ लेभी, नेपाल, पृ. २२१) लेभीले अगाडि दन्त्यकथा सुनाउने क्रममा  ‘शिवले सनक चढेर हरिणको रूप लिएको, देवताहरूले उनलाई यत्रतत्र खोजेको, कैलाश (जेरुसेलमरुपी बनारस पनि भनेका छन्) फर्किन भनेको तर शिव फेरी भागेर बागमतीको अर्को किनारमा गएको, देवताहरूले हरिणरूपी शिवको सिङ समात्नेक्रममा सिङ भाँचिएको, शिवले यही बस्न जिद्दी कसेको, विष्णुले भाँचिएको सिङको एक टुक्रा लिएर त्यसलाई लिङ्ग जस्तो गरि सिँगारिदिएको, बाँकी तीन टुक्रा क्रमशः गोकर्ण, चन्द्रभागा नदीको किनार र इन्द्रको स्वर्ग अमरावतीमा लागिएको उल्लेख गरेका छन् ।’

अर्को कथनअनुसार, पुराणको हिमवत खण्डलगायत पौराणिक ग्रन्थका अनुसार पशुपतिनाथ मन्दिर भएको स्थानमा ज्वाला निस्किएपछि भगवान् विष्णु आफै उपस्थित भएर ज्वालामाथि शिवलिंग बनाएर स्थापना गरेको मिथक पनि रहेको छ (गोविन्द टन्डन, नागरिक दैनिक) यसले लेभीले बताएको तथ्यसँग विभाजित भएर पनि पारस्परिक सम्बन्ध राख्दछ । तर, यी दुवैबाट हामी के भन्न सक्छौँ भने शिव र विष्णु यहाँ सँगसँगै जस्तो रहँदै आएका थिए । घतलाग्दो कुरा के भन्दा लेभीले सबै देवताको साथ बुद्ध पनि पशुपति दर्शन गर्न आएको बताएको छन् । (यसबारेमा तेस्रो बुँदामा चर्चा हुनेछ ।)

साथै ‘योगीहरूले यो घटना त्रेतायुगको अन्त्यको अन्दाजी तीन सय वर्षअगाडिको अर्थात् हाम्रो युग भन्दा नौ लाख वर्षअगाडि भएको भनेका छन्’ भनेर लेखेका छन् । उनले अगाडी ‘एकचोटी ब्रह्मा र विष्णु लिङ्ग के भयो भनी घुम्न निस्कँदा धेरै समय भइसकेकाले मन्दिर भत्किएको र लिङ्ग पनि भग्नावशेष मुनि पुरिएको, सो ठाउँमा एउटा गाईले प्रत्येक दिन दूधको धारा बगाएको, गोठालालाई उत्सुकता लागेर हेर्दा ज्योति प्रकट भएको र पशुपति पुनः फेला परेको’ बताएका छन् । ‘यतिबेला ने मुनिबाट अभिषेक पाएका गोपाल वंशका संस्थापक राजा भुक्तमानले राज गरिरहेका थिए (ऐ. पृ.२२२) ।’ लेभीले सुनाएको यस कथा अद्यापि अद्यावधिक मानिन्छ । गोठालोको प्रसङ्ग आउनासाथ हामीले गोपालवंशको चर्चा गर्नुपर्ने हुन्छ । गोपालवंशभन्दा अगाडी नागवंश रहेको बताइन्छ, जसको चर्चा गर्नु परोइन् ।

पण्डित गुणानन्द (शाक्य) ले सङ्कलन-सम्पादन गरेको बौद्ध साहिलीको वंशावलीको हवाला दिँदै इतिहासविद् जगदीश चन्द्र रेग्मीले एक लेखमा लेखेका छन्, ‘द्वारकाबाट आएका श्रीकृष्णले चोभारको डाँडोलाई चक्रले काटेर तालको पानीको निकास गरेपछि इतिहास आरम्भ गरिएको, श्रीकृष्णसँगै आएका ग्वालाहरूमध्येकै एक जनाबाट पशुपतिनाथको लिङ्ग पत्ता लाएको र ग्वालाहरूमध्येकै एक जनालाई राजा थापिएको घटनासमेत त्यहाँ बताइएको छ ।” (सामाजिक परिदृश्य काठमाडौं भेकको, रेग्मी) दानासुरले पानीको निकास रोकेको र आफ्ना नाति प्रद्युम्नलाई पानी निकासमा सघाउ गर्न स्वयं श्रीकृष्ण यहाँ आई पानी निकास गरि बस्ती बसाएको उनले थप बताएका छन् । कृष्ण गोठालो भएकाले लेभी र रेग्मीको यो कथनले सामञ्जस्य राख्दछ । लेभीले ज्योति प्रकट हुँदा खनेर हेर्ने क्रममा सो गोठालोको मृत्यु भएको बताएकाले यी ग्वालाको पनि मृत्यु भएको हुनु पर्दछ । ग्वालाहरूको नेतृत्व श्रीकृष्णले उनीहरू वैष्णव मतावलम्बी देखिएका छन् । वैदिक सभ्यताकाल ई. पु. १५०० देखि ई. पु. ५०० वर्षसम्म मानिएको छ । यस आधारमा हेर्दा नेपालको गोपालवंशको काललाई पनि वैदिक कालको समकालीन मानिन्छ । यसप्रकार त्यसैसमयदेखि  नेपालमा वैष्णव धर्मको अस्तित्व कुनै न कुनै प्रकारले रहेको छ । यसैगरी, उत्तरवैदिक कालमा विदेह राज्य (राजा जनक) वैष्णव धर्मको ज्ञान र दर्शनको केन्द्रको रूपमा रहेको थियो भन्ने कुरामा स्वतः सिद्ध हुन् आइहाल्छ ।

पशुपतिको उत्पत्ति किम्बदन्तीहरू जेजति भएता पनि तिनले सङ्केत गर्ने भनेको- यायावरी गोठाले युग अर्थात् नवपाषणकालको अन्तिम समयताका सुन्दर र छरिता पाषणऔजार एवम् चित्रकारीयुक्त पोलेका माताका भाँडावर्तन र संयुक्त मानव समुदाय थियो भन्ने नै हो । ‘आगो, पानी, हुरी, बतास आदि प्राकृतिक प्रकोप र भूत, प्रेत, पिशाचजस्ता अदृश्य भयलाई दैविक शक्तिका रूपमा विश्वास गर्दै पशु धनजनलाई त्राण दिने, निर्जन पाखा-पखेरा वा जङ्गलमा विचरण गर्दै अदृश्य रूपमा डुल्ने पशुका पति यिनीहरूका आराध्यदेव थिए । त्यसैले पशु र जङ्गलका देवता रुद्र वा पशुपतिको स्थापना गोपालकाल अर्थात् गोठाले युगमा नै भयो ( नेपाली कला, मोहनप्रसाद खनाल, पृ. ६६)

अन्य मानवजातिहरू पाषणयुगिन संस्कृतिमै अल्मलिरहेको बखत खस-आर्य जातिका गोपालहरू भने धातुयुगीन संस्कृतिसँग पूर्ण परिचित थिए । तिनीहरूको १०/१२ पुस्ता पश्चात् नै पूर्वबाट पश्चिमतर्फ बढ्दै आएको लडाकू स्वभावको किराँत जातिले गोपालसँग प्रतिस्पर्धा गरि आफ्नो बस्ती बसायो ।  गोपालपश्चात् १२१ वर्ष तीन जना महिषपाल राजाहरूको शासन र तत्पश्चात्  २८ वा ३२ नाम भएको लामो फिरिस्तसहित १७०१ वर्ष किराँतहरूले राज्य गरेको इतिहास पाइन्छ । र, यिनै किराँतहरूलाई हराएर लिच्छवीहरूले आफ्नो पकड बनाए । (नेपालका मूलजाति वा आदिवासीका बारेमा चर्चा गर्नु नपरेकाले यहाँ फड्को मारियो।)

अलि हतार भयो कि ?

यहाँनेर पशुपतिनाथको मन्दिर जीर्णोद्धार गराएर त्यसमा सुनको छानो र गजुर हाल्न लगाएका भनिने सोमवंशी राजा पशुप्रेक्षदेवको पनि चर्चा गर्नुपर्ने हुन्छ । लेभीले १२३५ कलियुग अर्थात् इ.पू. १७६७ मा पशुप्रेक्षले पशुपतिलाई सुनका पाताले मोडेको बताएका छन् । यिनको मृत्युपश्चात् सुपुत्र भाष्कर वर्मा देखिन्छन्, जसले आफ्नो विजय अभियानमा नेपालको सीमाना समुद्रसम्म पुर्‍याए । विजयोत्सवकै क्रममा यिनले पनि सुन तथा अन्य सम्पत्तिलाई पशुपतिनाथको मन्दिरलाई कलात्मक बनाउन खर्चिए । भाषा वंशावलीले यिनलाई त्यागी तथा धर्मात्मा राजाको रूपमा चित्रण गरेको छ । यिनी नि:सन्तान हुनाले सूर्यवंशी क्षेत्रीय राजकुमार भूमि वर्मा (गोपाल वंशावलीका अनुसार भूमि गुप्त) उत्तराधिकारी हुन्छन् र उनी पहिलो सूर्यवंशी लिच्छवी राजा हुन् आइपुगी ४१ वर्ष शासन गर्छन् । (नेपालको प्राचीन र मध्यकालीन इतिहास, प्रा. डा. श्रीरामप्रसाद उपाध्याय, पृ. ५९) सूर्यवंशी शंकरदेवको समयमा नन्दीको मूर्ति, ठकुरी गुणकामदेवको समयमा सुनको छाना, सदाशिवको समयमा पशुपतिमा फेरी नयाँ छाना चढाएको कुरा लेभीले उल्लेख गरेबाट पशुपतिको लोकप्रियता एवम् सिँगार गाथा थाहा पाइन्छ  ।

ख. किराँतकाल

गोपालवंशपश्चात् किराँतकालमा आइपुग्दा, ‘किराँतकालको सङ्केत दिने पशुपति आर्यघाट वरिपरिको ‘किराँतेश्वर महादेव’ नामक शिवलिंग तथा पशुपति आर्यघाटमा रहेको ‘विरुपाक्ष’को चर्चा गर्नुपर्ने हुन्छ, जो लिच्छवीकालका प्रचलित मूर्तिहरूमा भन्दा भिन्न छन्, जसले किराँतकालीन नेपालको कलाकौशलको विकास बताउँदछ । ‘नेपालमा किराँतहरूले राज्य गर्दा समकालीक भारतमा पहिले जनपद युग (षोणश महाजनपद), नन्दवंशको युग अनि मौर्यहरूको युग थियो । त्यस बेला भारतमा राज्य गर्ने शासकहरूले शैव धर्मको विकासमा यथेष्ट ध्यान दिएको पाइन्छ । त्यसको प्रभाव नेपालमा पर्नु एवम् पशुपतिनाथको प्रादुर्भाव नेपालमा हुनु र त्यसको ख्याति तात्कालिक जनजीवनमा अत्यधिक रहेकाले पनि शैव धर्मको उत्थान राम्रोसँग भएको हुनुपर्दछ । किराँतहरूलाई भगवान् शिवको अनन्य भक्त बताएको उल्लेख पाइन्छ । आजका राई, लिम्बू, मगर, गुरुङ, दनुवार आदि प्राचीन किरातहरूको प्रतिनिधित्व गर्छन् र भिन्न-भिन्न नाम्ले भगवान् शिवको अद्यापि पूजा-आज्ञा गर्दछन्  (गोविन्द टन्डन, पशुपति क्षेत्रको सांस्कृतिक अध्ययन, पृ. ३२-३३) ।‘

फेरी, महाभारत (महान् भारत पनि) को समयदेखि नै नेपालमा रहेका किराँतहरूले विष्णुलाई मानेनन् भन्ने प्रष्ट प्रमाण पनि हामीसँग नहुँदा ‘बा, मान्थे कि ?’ भन्न पनि सकिन्छ । यसो भन्नुको एउटा कारण चाहिँ के भन्दा कतिपय पुराणहरूले ब्रह्मा, शिव तथा सम्पूर्ण देवता नै विष्णुको विराट स्वरूप भएको र यो जात नै विष्णुमय रहेको बताउँछन् । यिनले ‘सत्य नै विष्णु र विष्णु नै सत्य’ भएको एवम् ‘तीनै एक र एकै तीन (त्रिमूर्ति) भएको’ समेत बताउँछन् । यता, मोहनप्रसाद खनाल जस्ता विद्वानहरूले गण्डकीको शालिग्राम, चम्पाकारन्यका हरि, सप्तकोसी र कोका नदीका वराह आदिको उल्लेख महाभारत वनपर्वको पुलस्त्य- तीर्थयात्रामा परेको उल्लेख गरेका छन् । उनका अनुसार पशुपतिपुराणले समेत वैष्णव पीठको चर्चा गर्दछ (खनाल, नेपाली कला, पृ. १००)  ।

किराँत अस्तित्वको संकेत दिने एक मात्र शिलालेख जुन हाल हनुमान ढोका संग्रहालयमा छ । तस्वीर :सुशील श्रेष्ठ, शिलापत्र

अब हामी लिच्छवीकालमा आऊ ।

ग. लिच्छवी

मगधका सम्राट् अज्ञातशत्रुले गणराज्यहरूमा आक्रमण गरि वृज्जि आदि गणहरूकै मुल्छेदन गर्दा वैशालीका लिच्छवीहरू आत्मसुरक्षाका लागि नेपाल पसेका थिए । यस्तै कोषलका सेनापति विरुढकले शाक्यकुलको विनाश गर्दा कपिलवस्तुका शाक्यहरू नेपाल पसेको प्रसङ्ग ‘मूलसर्वास्तिवाद विनय’मा पाइन्छ । यसरी इ.पू. पाँचौँ शताब्दीदेखि उत्तरभारतमा रहेका विभिन्न गणराज्यहरूको आत्मसुरक्षाको लागि नेपाल पस्ने क्रम चल्यो र लिच्छवीवंशको जग बस्यो । (खनाल, पृ. ५)

नेपालमा शासन गर्ने लिच्छवी-राजवंशका प्रारम्भिक राजामध्ये सुपुष्पदेव (निमिष, मक्रान्त, काकवर्मन, भाष्करवर्मन पनि उल्लेख) र लिच्छवी वंशका राजा मानदेव (प्रथम)का बीचमा चालिस राजाको शासन रहेको कुरा वि.सं. ७८०-९० को जयदेव द्वितीयको पशुपति अभिलेखमा उल्लेख भएको पाइन्छ । एउटा राजाको सालाखाला २० वर्ष राजकाल मानिदिँदा ई. ४५० को समयमा मानदेव राजा भएका हुन् भने सुपुष्पदेव ई.पु. ३५० तिर राजा थिए । मानदेवले ५५ वर्ष अर्थात् ई. ५०५ सम्म शासन गरे भनिन्छ । उनीपछि महीदेव, वसन्तदेव राजा भए । वसन्तदेव पश्चात् केही राजाहरूलाई छाडेर ई. ६०५- ६२९ सम्म अंशुवर्मा देखिन आइपुग्छन् । अंशुवर्मापछि ख्यातिको हिसाबमा जयदेव प्रथम र द्वितीय दुवैको नाम आउँछ ।

गोपालराज वंशावलीअनुसार सुपुष्पदेव प्रजापालक र न्यायकर्ता भएको र यिनैले वर्णव्यवस्था एवम् पशुपतिनाथको मन्दिर बनाउन् लगाएका थिए । (उपाध्याय, पृ. ६१) पशुपतिको मन्दिर बनाउनेमा यिनी अर्का व्यक्तिको रुपा देखा पर्दछन् । जयदेवको पशुपतिको अभिलेखमा सुपुष्पदेवलाई ‘श्री मान्पुष्पश्राकृति’ अर्थात् कामदेवजस्ता भनिएको छ । ( खनाल, ऐ.)

लिच्छवीहरूले शिवलिंगको स्थापनाको सन्दर्भमा किराँतहरूले जस्तै प्रोत्साहन दिएको पाइन्छ । मानदेव प्रथमका रानीहरू क्षेमसुन्दरी र गुणवतीले क्रमशः संवत् ३९० (वि.सं. ५२६) तथा संवत् ४१९ (वि.सं. ५५५)मा शिवलिंगहरूको स्थापना गरेको देख्दा उनीहरूको शैव धर्मप्रतिको आस्था प्रकट हुन्छ । लिच्छवीकालमा वैष्णव, शैव, बौद्ध आदि विभिन्न धार्मिक सम्प्रदायहरू प्रचलित थिए । ती सबै सम्प्रदायहरूप्रति राजाको सद्भाव र आस्था राम्ररी देख्न पाइन्छ । त्यसले जनसामन्यलाई पनि प्रभावित पारेको थियो । मानदेव प्रथमले चाँगुनारायणको पूजा, गरुडध्वजको स्थापना, वामनमूर्तिको स्थापना तथा संवत् ३९६ (वि.सं ५३२) मा विष्णुमतिको किनार पारेर थन्तुरीद्रङ्गमा शिवलिंग स्थापना गरेको घटनाले त्यस कुरालाई उद्घाटित गर्दछ । यो परम्पराकै रूपमै पछिसम्म चल्यो र चल्दै आएको पनि छ  (टन्डन, ऐ. पृ. ३३) ।

यसबाट हामी के निष्कर्षमा आइपुग्छौँ भने बौद्धबाट दीक्षित तर वैदिक हिन्दूप्रति आस्था राख्ने लिच्छवीहरू यहाँ आएपश्चात् वैष्णव धर्मले ज्यादा फल्न/फूल्न पाएको हो । यसबारेमा डोरबहादुर विष्ट प्रष्टसाथ् भन्छन्, “ नेपालमा विकसित भएको शैव धर्मको झाँक्रीवाद र प्रकृतिपूजाको पूर्व वैदिक परम्परासँग नजिकको नाता छ । पुराणसँग यसको सम्बन्ध खासै थिएन (पुराणमा रुद्र शिव नभनी रुद्र उल्लेख गरिएको प्रसङ्ग- लेखक), न त कुनै किसिमको जात प्रथासँग नै यसको लिनुदिनु थियो । जात प्रथा नेपालमा सबैभन्दा पहिले लिच्छवीकालको सुरुमा वैष्णव धर्मको रूपमा प्रवेश गरेको हो । तर, नेपालमा आइपुगेपछि यसले झाँक्रीवाद र शैव मतसँग मात्रै होइन बौद्ध धर्मसँग पनि तादात्म्य राख्नुपर्ने भयो । (विष्ट, भाग्यवाद र विकास,पृ. ३५) ।”

शैव धर्म र वैष्णव धर्मको तादात्म्ययताको प्रयत्न चल्दै गए पनि यी दुवै वेदमार्गीहरूको बीचमा ठूलो-सानो, जातपात र छुवाछूत बरकरार थियो, जसलाई ठिकठाक पनि बौद्ध धर्म अगाडी सर्‍यो । शैव धर्म र वैष्णव धर्म बरोबर रूपमा फल्नु/फल्नुमा बुद्धको विशेष भूमिका छ भने बौद्ध धर्मलाई मिल्क्याई फ्याँक्नमा पनि यी दुवै धर्मले बरोबरी हात बटाएका पनि छन् ।

चाँगुनारायणस्थित त्रिविक्रमको मूर्ति, तस्बीर : राजु झल्लु प्रसाद

खैर, हामी हाम्रो तेस्रो बुँदामा आऊ, जहाँ यी कुराहरू प्रष्ट हुनेछन् ।

३. बुद्धको विद्रोहपश्चात्  विष्णुको सर्वोच्च पद र अग्निको होच्याई

हामीले चर्चा गरिरहेको वैष्णव सम्प्रदायको प्रादुर्भावको समयलाई बुद्धको उदयपश्चात्को समय हो भनेर मान्नुपर्दछ, जहाँ विष्णुभन्दा बढ्ता नारायण, नारायणभन्दा बढ्ता राम र रामभन्दा बढ्ता कृष्ण, कृष्णभन्दा बाल गोपाल पुजिन्छन् । र, यी सबैलाई विष्णुकै उपास्य हुनाले वैष्णव भन्न मिल्दछ ।

कुलचन्द्र कोइरालाका अनुसार, वैदिक सनातन धर्ममा यज्ञयज्ञादीको जटिलता थपिँदै गएपछि सर्वसाधारणले यज्ञ गरेर धर्म कमाउन नसक्ने अवस्था पर्‍यो । साथै अनार्य जातिको बाहुल्य भएको क्षेत्रहरूमा आर्यहरू पसेर शासन गर्न लागेपछि आर्य र अनार्य जातिको सम्मिश्रणले अनेक प्रजाति जन्मिन लागेकाले रक्त शुद्ध राख्ने प्रयत्नमा जातिवादका कडा कानून (धर्मशास्त्र) को जन्म भयो । यज्ञमा अनेकौँ पशुहिंसा र जातिवादको कडा नियमले गर्दा सर्वसाधारण त्रसित र आकुल थिए । आर्य-अनार्यको सङ्घर्षमा लाखौँ युवा गुमाएपश्चात् बिरक्तिएका आर्य ऋषि/महर्षिहरू वैदिक साहित्य भित्रै रहेका गूढ तत्त्वहरूको अन्वेषणमा उद्वेलित भए । यसक्रममा तत्त्व चिन्तनको सार ‘उपनिषद् साहित्य’को निर्माण एवम् पठनपाठन व्यापक भयो । तर, यज्ञवादको विरोध गरेर पुर्खाहरूको विरुद्ध जाने काम उनीहरूबाट हुन् सकेन । उनीहरूले यति चाहिँ भने, ‘यज्ञदेखि बाहेक हिंसा गर्नु अधर्म हो ।’ तर, यो भनाइले यज्ञको वैदिक संहिताप्रतिको विश्वासको भावना टुक्राउन सकेन । यस क्रममा कृष्ण अघि सरेर सम्पूर्ण उपनिषद्को निचोड झिकेर गीता पाठ गरे तर, उनले पनि यज्ञवादको विरोध गर्न सकेनन् । यसपछि नै हो, घोर हिंसा र जातिवादको कट्टर विरोधमा शाक्यमुनि बुद्ध र वर्द्धमान महावीर देखिन आइपुगेको ।

रक्त शुद्ध राख्ने प्रयत्नको विरोधमा निम्तिएको जातिवाद र हिंसापरक यज्ञको कडा विरोध गर्दै बुद्धले नयाँ धर्मको रूपमा बुद्ध सङ्घ नै खडा गरे । बुद्धले वेद स्वीकारेका थिएनन् भनिन्छ । यसक्रममा अनार्यबहुल क्षेत्र, कोषल र मगध बुद्ध र महावीरको कार्यक्षेत्र नै बन्न पुग्यो । उनीहरूको बढ्दो प्रभावमा वैदिक धर्मको गढ मानिएको कुरू पाञ्चाल (कान्यकुब्ज)का ब्राह्मणहरू सतर्क भए र यज्ञयज्ञादी/जातिवादको कठोरता केही मत्थर जस्तो भयो । तर, यो धेरै समय रहन सकेन नै ।

बुद्ध-महावीरको प्रभाव र पाञ्चालको हालत अलि परका गुजरातका मथुराका सात्तवत (यदुवंशी)ले नियालिरहेका मात्रै थिएनन्, कृष्णलाई नै ईश्वरको रूपमा पुजी अहिंसापरक सात्तवत धर्मको प्रचारप्रसार समेत गर्न थालिसकेका थिए । उतिबेलै कृष्णले गर्न नसकेको काम बुद्धको समयमा बुद्धको प्रभाव (डर?)का कारण यदुवंशीबाट हुन् सक्यो । उनीहरू कालान्तरमा चतुर्व्युहकृष्णा, सङ्कर्षण, प्रधुम्न, अनिरुद्ध नाम गरी चार मूर्तिहरू चार देवताका उपास्य बने । रामकृष्ण भन्डारकरका अनुसार यी चार देवताभन्दा अगाडी वासुदेव र सङ्कर्षण मात्रै उपास्य थिए, गीतामा पनि चतुर्व्युहरूपका उपासना सम्बन्धि सङ्केत पाइँदैन । व्यूहको अर्थ विस्तार भन्ने हुन्छ, यसले विष्णुको विस्तार सम्बन्धमा मार्ग प्रशस्त गर्छ  ।

(बुद्ध र महावीरका प्रसङ्ग एकछिनमा जोडौँला, त्यसपहिले यी कुराहरू सकौँ ।)

विष्णुको विस्तारसम्बन्धमा केही कुरा :

विष्णुको अवतारको सम्बन्धमा ‘वेदान्त दिग्दर्शन’मा स्वामी नरेश्वानन्दले लेखका छन्,

१. एक मतअनुसार विष्णु (परमात्मा)ले आफ्नो दिव्यमूर्तिलाई सर्वथा परित्याग गरी मनुष्य योनी या अन्य योनीमा जन्म लिन्छन् ।

२. भगवान्को अंशवतार मात्रै हुन्छ, त्यो चाहे आधा होस् एक चौथाई । बाँकी भाग चाहिँ आफ्नै स्थानमा रहन्छ ।  यस मतअनुसार अंशी र अंशले एक कालमा अलग अलग कार्य गर्दछन् ।

३. भगवान् विष्णुले आफ्नो शरीरलाई दुई रूपमा बाँड्छन्  । विभाजितमध्ये पहिलो मूर्ति आफ्नै स्थानमा रहेर दुष्कर तपस्यारत छ । दोस्रो मूर्तिचाहिँ योग निद्रालाई आश्रय गरेर प्रजाजनको सृष्टि स्थिति संहार जस्ता कार्यहरूमा संलग्न हुन्छ । एक हजार वर्षसम्म जलमा शयन गरेपछि कार्यअनुसार यो आविभूर्त (अभिव्यक्त) हुन्छ । महाभारतमा पहिलो मूर्तिलाई वासुदेव र दोस्रोलाई सङ्कर्षण नामले  व्यवहार गरिएको छ ।

४. यस मतअनुसार, नारायणका नार मूर्ति छन्, तीनमा एक निर्गुण र तीन सगुण छन् । निर्गुणमूर्तिको नाम वासुदेव हो । सगुणमध्येको पहिलो सङ्कर्षण हो । अर्को मूर्तिको नाम प्रद्युम्न हो, जो कार्यधर्मको संरक्षक र प्रजापालक रूपमा प्रसिद्ध छ । अन्तिम या चौथो मूर्तिको नाम अनिरुद्ध हो,जलशायी रूपको यो मूर्ति रजोरूपले संसार सृष्टिको कारणरूपमा प्रसिद्ध छ । बेलाबेला अवतार लिई दुष्ट दमन र धर्म संरक्षणमा सरिक बन्ने प्रधुम्न मूर्ति हो । (पृ. १००-१०१)

हामीले यहाँ चर्चा गर्न खोजिरहेको त्रिविक्रम विष्णु चाहिँ अत्यन्त व्यापक र सर्वश्रेष्ठ विष्णुको वर्णन हो, जो वैदिक साहित्यमा पाइन्छ । विष्णुको नारायण रूपको वर्णन मनुस्मृति एवम् महाभारत आदिमा पाइन्छ । ‘नारा’ भनेको जल र त्यसलाई घर बनाएर बस्ने भन्ने अर्थमा नारायणलाई सम्पूर्ण देवको रूपमा महाभारत र पुराणले वर्णित गर्दछन् । जलमा रहेको हिरण्यय गर्भ (ब्रह्माण्ड) रूप नारायणको नाभिबाट ब्रह्मा जन्मिन्छन् भने शिव विष्णुको निधारको चमकबाट उत्पन्न हुन्छन् । महाभारतको शान्ति पर्व नारायणी खण्डमा यिनै नारायणको र वासुदेव कृष्णको तादात्म्य रहेको नरनारायण सम्बन्धि कथा पनि पाइन्छ ।

यी वर्णनभन्दा अगाडीका साहित्यका अनुसार पुरुषरूप नारायणलाई बिहान, दिउँसो र साँझमा हवन गर्ने विधान थियो । यसैकारण यिनलाई अग्निको निकटतम बताइएको हुनुपर्दछ । कतै विष्णु नै अग्नि हुन् भन्ने पनि परेको छ । ‘वैदिककालमा अर्थात् ऋग्वेदमा (ई. पू. १५००) विष्णुलाई आकाशमा डुली हिँड्ने सूर्यको प्रतिरूप मानिएको छ (शुशीलकुमार अधिकारी, नेपालमा वैष्णव धर्मको प्रचार, विद्यावारिधि) । द्वादश  विष्णु सँगसँगै द्वादश सूर्य (अग्नि)को चर्चा पनि भेटिन्छ ।

चाँगुनारायणस्थित विष्णुको विश्वरुप र गरुडासान विष्णु, तस्बीर : राजु झल्लु प्रसाद

यहाँसम्म नआउनु आइसकेपछि अग्निदेवको कुरा नगरी सुखै छैन ।

अग्निदेवका सम्बन्धमा केही कुरा

एउटा रमाइलो किस्साबाट अग्निदेवको कुरा गरौँ, तपाईँहरूले आगो जोर्ने या बत्ति बाल्ने काम पनि गर्न सक्नुहुनेछ । अग्निदेवको कुरा गर्दा यसो गर्नुपर्दछ भन्ने मान्यता छ ।

अँ, रमाइलो कुरा के भन्दाचाहिँ- अग्निदेवलाई एकपटक अपच भएछ अर्थात् पेट खराब भएछ । पखला चलेछ कि गोटा परेछ चाहिँ थाहा भएन ।

कथनअनुसार, राजा श्वेतकीले एकसमय निकै लामो समयसम्म यज्ञ गरेकाले वायुमण्डल धुवाँले ढाकिन पुग्दा ऋषिहरूले ‘थप चरु होम्न’ अस्वीकार गरे । राजा रोकिएनन्, उनले ऋषि दुर्वाशालाई बोलाएर थप १२ वर्षसम्म वायुमण्डल ढाकिरहे अर्थात् यज्ञ कार्य जारि राखे । यति लामो समयसम्म आगोमा होमिएको चरु खाँदाखाँदा अग्निदेवको पेट बिग्रियो । अपच नै भयो । पखला नै चल्यो । अनेक उपाय गरे, तर हात लाग्यो शून्य । अग्निदेव ब्रह्माकहाँ विन्तीभावसहित पुगे । ब्रह्माले खान्डव वन डाह गर्न सके अग्निको पेटको उपचार हुने बताइदिए । सोही अनुरूप महाभारतको आदिपर्वमा अग्निदेवले कृष्ण र अर्जुनलाई आफूले वरुणद्वारा प्राप्त गरेको गाण्डीव धनु, वाण खाली हुँदै नहुने थोक्रो, ४ वटा सेतो घोडाले तान्ने सुन्दर रथसमेत प्रदान गरिदिन्छन् ।

यस कथाले वैदिक समयमा यज्ञयज्ञादी कर्म कुन अनुपातमा हुन्थ्यो भन्ने कुरा बताउँदछ । यसकारण यस कथा यहाँ उल्लेख गर्नु आवश्यक परेको हो ।

अब अग्निका सम्बन्धमा केही कुरा गर्नुपर्दछ । अग्निको सन्दर्भमा धेरै वटा कुराहरू छन् । अग्नि र इन्द्रको राजा शिविसँगको मजाक (परेवा र बाज रूप लिएर), भृगी ऋषिको गर्भवती पत्नी पुलोमाको श्राप र श्राप मुक्ति (अग्निले जे छोयो त्यो पवित्र हुने), अग्नि र सुदर्शनाको प्रेम (ओठले छोएपछि मात्रै अग्नि प्रज्वलित हुने), अग्नि र पत्नी स्वाहाको प्रसङ्ग आदि । यी यावत प्रसङ्गका क्रममा कतै उनी तीन नेत्र लिएर शिवजसरी वर्णन हुने गर्दछन् भने कतै चार हात लिएर विष्णुसरह । मत्स्यपुराणमा अग्निको प्रतिमा बनाउने नियमहरू तोकिएकाले उनी वैदिक देव हुन् भन्ने प्रष्ट भइजान्छ । अर्को कारण चाहिँ, अग्निलाई यज्ञको आगोमा चढाइने विभिन्न वस्तुहरूलाई पृथ्वीलोकदेखि स्वर्गलोकसम्म पुर्‍याउने संवाहक(मध्यस्थकर्ता)को रूपमा चित्रित गरिएको पाइन्छ । स्वाहा भन्दा चाहिँ चढाइएको अन्न नडढ्ने अन्यथा डढ्ने भन्ने त सर्वव्यापी कुरा नै हो । वैदिक युगमा यज्ञ नियमित थियो भन्ने कुरा रहेकाले वैदिक संस्कृतिको मुख्य प्रतीकको रूपमा अग्निलाई बुझ्दा कुनै हानी छैन ।  (वीणा पौड्याल, अग्निदेव र उनको प्रतिमा, प्राचीन नेपाल, २०५४)

यी कथनहरूले अग्नि र विष्णु एकै भएको वा नभएको भन्नेबारेमा खुलस्त पार्न नसकेपनि अग्निको विरोधमा विष्णु नआइदिए वा विष्णुले आफूलाई नसुधारिदिए बौद्ध र महावीरले वेदलाई ‘सक्ने थिए ।’ अतः त्यसो गर्नतर्फ वेदमार्गीहरू लाग्नै पर्दथ्यो । पौराणिक घटनाक्रमहरू पनि सोही बाटो हिँड्छन् ।

विष्णुको अग्ल्याई र अग्निको होच्याई

माथि कतै परेको छ, ‘ऋग्वेदकालिक विशिष्ट शक्तियुक्त देवता विष्णु थिए ।’ विष्णु वैदिक देवता तथा १२ आदि मध्येका एक हुन् । मन्त्रद्वारा त्रिविक्रम विष्णु आफ्नो तेजोमय पाउले तीनै लोक ढाक्दछन्, उनको दुई पाउ देख्न सकिन्छ तर तेस्रो पाउ पशुपंक्षीहरूको उडान भन्दा पनि माथि छ, जहाँ विष्णुको परम पद छ, मधुको छहरा छ, जहाँ देवगण सदा आनन्द पाउँछन् । यो बुद्ध र महावीरको विरोधभन्दा धेरै अगाडी अर्थात् वैदिक कालका विष्णुको प्रशंसा गान हो ।

यस्ता विष्णुमाथि एकाएक पशुहिँसा र यज्ञवादको आरोप लाग्छ, यो वैदिकमार्गीहरूको लागि सानो झड्का होइन । बौद्ध र महावीरको प्रभावका कारण यदुवंशीले सात्तवत मार्ग (भागवात् पनि भनिन्छ) अपनाइसकेका थिए भनेर माथि परेकै छ । तर, ती बाहेक बाँकी ठीँट थिए, उनीहरूले  यत्तिकै बुद्ध र महावीरलाई टेर्ने वाला थिएनन् । यसप्रकार जिद्दी कस्नेहरूले यज्ञयज्ञादी गर्दै एउटै देवता (विष्णु या अग्नि, शिव आदि ?) लाई छाडेर भक्तिमार्ग (मूर्तिपूजा- सात्तवत) तर्फ अग्रसर भएनन् नै, बुद्धको आस्था र मान्यतालाई प्रचारप्रसार गरिरहेकाहरूलाई साथसहयोग समेत उपलब्ध गराइदिएनन् । यसमा जनसामन्यको पनि सहयोग पक्कै रह्यो होला ।

यहिनेर एउटा कुरा जोडौँ, तिथिमिति तलमाथि भए पनि भृगवंशी ब्राह्मण उट्टकले वासुदेवलाई श्राप दिएको र शिशुपालद्वारा कृष्ण निन्दित भएका घटनाक्रमहरू संयोग मात्रै होइन कि भन्ने मेरो अनुमान छ । किनभने यी दुई घटनाले वैष्णव धर्मले तत्कालीन समाजमा उपयुक्त स्थान पाउन नसकेको हो कि भन्ने संकेत गरिरहेको प्रत्याभूति हुन्छ । जे होस्, यज्ञवाद कायम राखिरहँदा विष्णुको पद स्वभावतः खस्किने निश्चित जस्तै भएको थियो भनेर मान्न करै लाग्छ । अतयव: अग्निलाई निचो देखाई विष्णु (वैष्णव?) ले उँचो पद प्राप्त गर्नै पर्ने भयो ।

यसरी वैदिक कालका विष्णु, ब्राह्मण कालका नारायण, उपनिषद् कालका परमोच्च स्थानमा बस्ने ‘विष्णु’ र महाभारतकालका वासुदेव कृष्णको एकात्मकतापछि वासुदेव सम्प्रदायको जन्म हुन्छ, जो अग्निलाई छाडेर अहिंसावादी विष्णुलाई पुकार गर्न थाल्दछ । यसप्रकार सम्प्रदाय सात्तवतहरूमा चलिरहेको बखतमा नै बुद्ध-महावीरको जन्म भएको हो ।

निष्कर्षमा हामी यो भन्न सक्छौँ- यज्ञयज्ञादीको पशुहिंसा, जातिवाद, ब्रह्माण्डहरू लोभ/घमन्ड बुद्धको धार्मिक दर्शन(चार आर्यसत्य, अष्टाङ्गिक मार्ग र उपदेश आदि)का कारण चकनाचुर हुन् पुग्दछ । बुद्धको शेषपछि अशोक आदिको व्यापकता झनै बढ्न पुग्छ र वैदिक कार्य लगभग ठप्प जस्तै हुन्छ । एकाएक आइपरेको यसप्रकारको हैरान-परिसान (बुद्ध धर्मसँगको मुकाबिला) गर्नका लागि वासुदेव सम्प्रदाय अगाडी सर्न करै लाग्छ र विष्णु, नारायण, कृष्ण आदि नाउले सम्बोधित हुँदै विविधीकरणको विधि अपनाउने कम गर्छ । यसलाई वासुदेव सम्प्रदायको ‘साम, दाम, दण्ड, भेद’को ‘अवतारवाद नीति’ भन्न मिल्छ । बुद्धलाई विष्णुको नवौँ अवतार भन्नु यसैको उदाहरण हो ।

यता शैव परम्परामा आगम-निगम (तन्त्र विधि) चलिरहेको थियो । यतापट्टि लहसिएर तन्त्र-मन्त्र, उपासना पद्धतिका विभिन्न विद्याहरू सँगाली वैष्णव सम्प्रदायले पन्चरात्राग्राममार्फत आफ्नो व्याख्या बढायो । यसैताका उसले त्रिविध (शैव, शाक्त र वैष्णव) मार्फत आफूलाई एउटा लोकप्रिय र प्रभावकारी धर्म बनाउन सक्यो । अतः ऋग्वेदिक कालमा अप्रेक्षाकृत गौण स्थितिमा रहेका विष्णुले उपनिषद्क एवम् ब्राह्मणकालमा आफ्नो महत्त्व निरन्तर बढाई महाकाव्य एवम् पौराणिक कालमा आएर पूर्ण प्रतिष्ठा कायम गरे ।

यस सम्बन्धमा कुलचन्द्र कोइरालाले लेखेका छन्, “ब्राह्मण कालमा आइपुग्दा विष्णु अझ शक्तिशाली  हुन्छन् । यस क्रममा, वैदिक कालमा परम देवका रूपमा रहेका अग्नि होचिन्छन् र विष्णु सर्वोच्च देवताको रूपमा प्रतिष्ठित हुन्छन् । तथा यज्ञको अन्त प्राप्त गरेकाले विष्णु समस्त देवतामा श्रेष्ठ कहलाउँछन् । यसप्रकार पौराणिक साहित्यमा आइपुगेर विष्णुले सर्वव्यापी, सर्वेश्वर, प्रभु परमात्माको रूपमा एकाधिपत्य प्राप्त गर्दछन् ।

तिलगंगाका विष्णुविक्रान्तको अनुहार चिन्न सकिन्न, तस्बीर : राजु झल्लु प्रसाद

अहिंसावादी वैष्णवमार्गीका पछिल्ला कदमहरू :

धन्नै त्याज्य जस्ता हुन् पुगेका बौद्धकालीन विवादास्पद विष्णुले पुनः उच्चतम प्रतिष्ठा प्राप्त गर्नुको पछाडि बौद्ध धर्म अनुकूल मौर्यवंशलाई समाप्त पारेर सत्तामा आएको शुंगवंशले वैदिक धर्मको पुनरुत्थानमा खेलेको भूमिका पनि महत्त्वपूर्ण छँदै छ । यस शुंगवंशको काँधमा यज्ञवाद र कर्मकाण्डका विविध पक्षलाई जगाउने तर बौद्ध धर्म प्रभावित सर्वसाधारण आन्दोलित नहुने हिसाबले नवीन धर्मको सिर्जना गर्नुपर्ने काम आइलागेको थियो । यसो गर्दा वैदिक पक्षसँग सम्बन्ध टुट्नु हुँदैन थियो भने जनसामान्यको सरल जनजीविका चलिरहनु पर्दथ्यो । भारतीय इतिहासलाई निहार्दा यो काम उसले सफलतापूर्वक गर्न सक्यो भनेर मान्नुपर्ने हुन्छ ।

बुद्धले मूर्तिपूजाको पनि विरोध गरेकाले सात्तवतहरूमाथि यो चुनौती छँदै थियो तर यस चुनौतीलाई हल गर्न उनीहरूलाई खासै गाह्रो भने परेन किनभने ‘बुद्धले मूर्तिपूजाको विरोध’को विरोधमा उनीहरू मूर्ति पूजा गरिरहेकै थिए । यसैताका, वैदिक आर्यहरूले नगर्ने यस थितिमा अल्मलिरहेका जनसामन्यहरूमाथि वैष्णव सम्प्रदायले ‘एकोहं बहुस्याम’ नामको वैदिक मन्त्रको तत्त्व व्याख्या प्रभावकारी रूपमा गर्न सफल भयो । धेरै देवताको एउटै रूप मानेपछि कुरा खल्लास भइगयो अनि यसप्रकार अवतारवाद ‘फुत्रुक्क’ जन्मियो । (जसलाई डार्बिनले पछि आएर सविस्तार वर्णन गरेकै छन् ।)

यसपछि त के थियो ? विभिन्न अवतारको मूर्तिकल्पना, मन्दिरको स्थापना अनेकौँ देवतालाई एकै ठाउँमा ल्याई उपासना गर्न जनसामन्यलाई सजिलो भयो । फेरी जनसामन्यहरू- बुद्धको दार्शनिक विचार र प्रतिकोपासनाले मात्रै सन्तुष्ट थिएनन्, किनभने वैदिक आर्यहरूकहाँ जस्तो देवताहरू पृथ्वीमा आई मानिससँग सुखदु:खका गफ गरिरहेका थिएनन् । यसकारण आफ्नो दुःख पुकारा सुनाउने, सुनाएर मन नअघाए माग्ने, मागेर नपाए देलान् नि त भनेर आस गरिरहने (विष्ट यसलाई भाग्यवाद भन्छन्) जस्ता मानव अभिलाषाहरूले टिकाराम यात्रीको भाषामा पुष्पपन, पल्लवन हुन् पाए । यसपछि नै हो- पूजाआजा, शङ्ख-घण्टाको निनाद, आरती, वन्दना, स्तुतिपाठ, भजन ह्वारह्वारती देखा परेको ।

जनसामान्यहरूलाई यतिले मात्रै पुगिरहेको थिएन, उनीहरूलाई आफ्ना आराध्य देवताको महत्त्व दर्शाउने कथा, स्तोत्र, सेवाद्वारा फलप्राप्ति भएको उपाख्यान, व्याख्यान आदि चाहियो । अनि नयाँ-नयाँ पुराणहरू जन्मिए । यसपछिको इतिहास विदित नै  यिनै पुराणका कारण यस लेख पनि विवादास्पद बन्न पुग्ने ‘टन्नै सम्भावना’ छ । खैर, पुराणहरूमा परिवर्तन, प्रवर्द्धन र संशोधन चल्यो, चलिरहेछ । यसो हुँदा पौराणिक तर, ‘नयाँ धर्म’लाई वैदिक मान्यता दिलाउनुमा सन्तोष मान्नेहरू पनि देखिए किनभने समयक्रमअनुसार चल्नु नै पर्दथ्यो । यसकारण ‘मजस्ता’लाई पनि पौराणिक व्याख्या गर्ने छुट प्राप्त भयो तर, मजस्ता माथि खनिनेहरूको कमी नभएको पनि होइन । तर, मजस्ताहरूले मिथकको मिथकीकरणलाई कसरी लिन्छन् भन्ने पनि मूल प्रश्न हो ।

यी सब व्याख्यान वैष्णव (वासुदेव) -बुद्ध- शैव द्वन्द्व देखाएर शान्ति खलल निम्ताउनु कदाचित होइन । एक-अर्काका राम्रा-नराम्रा कुराहरूलाई आत्मसात् गरी शैव, वैष्णव र बौद्ध धर्मबीचको समन्वयात्मक भावनालाई प्रतिबिम्बित गर्नु हो । अपितु हामी बुद्धको नाममा ‘बुद्ध वाज बर्न इन नेपाल’, शिवको नाममा ‘ओ माई गाँजा बेबी’ र विष्णुको नाममा ‘१६०० गोपिनी’ च्याँपेर बसेका छौँ, यसकारण सो लाग्नु पनि स्वाभाविक नै हो । (धर्म निरपेक्ष राष्ट्रको बहस भने फेरी पनि आवश्यक छ नै ।)

पुनश्च : त्रिविक्रमको मूर्तिले के कुरा बताउँछ ?

उसो त यी सबै कुरा नै यस मूर्तिले बताएको कुरा हो, यसबाहेक केही कुरा छन् जो बताउनु आवश्यक छ । यसो गर्दा विष्णुविक्रान्तको स्वरूपको अन्तर्य, लिच्छवीकालीन राजनैतिक मानसिकता, मूर्तिको कलात्मक पक्ष एवम् मूर्तिकारको धार्मिक समझ सबैलाई एकसाथ एकैठाउँमा चर्चा गर्नु छोटोमिठो हुने लागेकाले यहाँ सोही गरिएको छ;

१. पहिलो कुरा त नेपाली समाज वैष्णव धर्म सापेक्ष थियो नै । तर यहाँनेर यस तथ्यलाई पनि बिर्सनु हुँदैन कि लिच्छवी राज्यको सुदृढीकरणमा प्राचीन ब्राह्मण र पौराणिक गन्थहरूमा वर्णित विष्णुले दैत्यराज बलीको सेखीलाई ध्वस्त गरेको उपाख्यान जोडेर बौद्ध धर्मलाई पाखा लगाउन खोजिएको चाहिँ थियो नै । अतः यस मूर्तिको महत्त्वलाई यस मानेमा पनि हेरिनुपर्दछ ।

२. माथिल्लो बुँदालाई यसप्रकार पनि हेर्न सकियो, वामन रूप विष्णुले बाउन्ने रूप फुलाएर समस्त पृथ्वी ढाकिदिएकाले शर्तमा हारेका असुरहरूले पृथ्वी देवतालाई छाड्नुपर्‍यो । यो बताउनुले पनि विष्णुको उच्चता कायम हुने नै भयो । विष्णुको उच्चता बढेको कारण इन्द्रले उनको शिरोच्छेद गरेको हुनुपर्दछ, जसको प्रभावस्वरूप प्रकट भएको कथा दोलागिरी (चाँगुनारायण)का नारायण मूर्तिलाई लिन सकियो भने इन्द्रले विष्णुको शिरोच्छेदन गरेको कुरा शतपथ ब्राह्मणमा उल्लेख भएको हरिराम जोशीले बताएका छन् । (जोशी, नेपालमा विष्णुविक्रान्त, प्राचीन नेपाल ) चाँगुनारायणको यस मूर्ति लिच्छवीकालमै निर्मित हुनुले विष्णुको उच्चता कायम गर्ने सवालमा ती मूर्ति बनेको हुनुपर्दछ । यसै कुरालाई ‘शिवले म पशुपतिमा बस्छु, तपाईं दोलागिरीतिर जानु भनेकाले नारायण यता आएका’ भनेर मन्दिरका पुजारीले पङ्क्तिकारलाई बताएका थिए । सो कथनले कसोकसो लिच्छवीहरूमा वैष्णव मत प्रचारप्रति ज्यादा आशक्ति थियो कि भन्ने अनुमान गर्न सकिन्छ ।

३. विष्णुको देवताहरूमा सर्वोच्च स्थान प्राप्त भएको कुराको पत्तो तिनको वामनावातारमा स्पष्ट परिलक्षित हुन्छ । पौराणिक कथनअनुसार दैत्यराज बलिद्वारा पीडित इन्द्रसमेत देवताहरूको प्रार्थनामा विष्णुले अदितिको छोरा वामन भई जन्मेर एक जना सौम्य स्वरूप लिएको ब्रह्मचारीको भेष लिई छलद्वारा बलिको सेखी झारेर देवताको रक्षा गरेका  थिए । वराहपुराणमा वर्णित छ- त्रिविक्रमको पाद जसै स्वर्गीय जगत् नाप्नको लागि उठेको थियो, ब्रह्माण्ड फुटेर त्यहाँबाट सांसारिक पानी निस्क्यो । उक्त उल्लेखले विष्णु नै विश्वको सिर्जनामा स्थितिको कारण भएको बुझिन्छ । शक् संवत् ३८६ (४६४)को चाँगु स्तम्भलेखमा विष्णुलाई तीनै लोकको कलपूर्जा घुमाउनेको रूपमा ‘त्रैलोक्ययभ्रमयन्त्रबत्तिविविध व्यासंगनित्योव्यय’ भनी वर्णन गरिनु तथा ऋग्वेदमा विष्णुले मनुलाई क्षेत्र दिने इच्छाले यस पृथ्वीको संक्रमण गरि विस्तृत क्षितिलाई सुन्दर जनहरूले युक्त गराएको उल्लेखले पनि उक्त तथ्यको पुष्टि हुन्छ । अर्थात्, वामन अवतारमा हामी विष्णुको वामन अर्थात् सौम्य र त्रिविक्रम अर्थात् विराट दुई स्वरूप देख्न सक्छौँ । विष्णुको उक्त दुई स्वरूपमा दुष्टको संहार गर्नुमा तिनको कूटनीति स्पष्ट रूपले देख्न सकिन्छ । अनि शत्रुलाई दमन गर्ने साम, दाम, दण्ड भेद मुख्य उपायको अतिरिक्त माया, उपेक्षा, इन्द्रजालहरू पनि महत्त्वपूर्ण उपायको रूपमा लिन सकिने कुराको यकिन जानकारी मिल्दछ ।  (हरिराम जोशी, नेपालमा विष्णुविक्रान्त प्राचीन नेपाल) साथै, मानदेव  (वि.स. ५२१–५६२)ले सोही शिला मार्फत आफू वैष्णव धर्मावलम्बी भएको बताएको कारणले त्यस समयमा वैष्णव धर्म राजकीय धर्म वा राष्ट्रिय धर्मकै रूपमा रहेको अनुमान पनि गर्न सकिने आधार तयार हुन्छ ।

४. पुराणमा वर्णित सारगर्भित विष्णुविक्रान्तको गाथालाई एउटै ढुङ्गामा यति सफलतापूर्वक देखाउनु मूर्तिकारको चानचुने खुबी होइन । यो एक सजीव चित्रण हो ।  यस सम्बन्धमा दुई विद्वानको विचार राखौँ;

क. मोहनप्रसाद खनाल यस मूर्तिको प्रशंसा गर्दै लेख्छन्, “सम्पूर्ण आयुधसहितका विष्णुले तीनै लोकलाई ढाकेका छन् । विक्रान्तस्वरूप विष्णुका मुनिराजा बलि हातमा जलधारासहितको कलश लिएर दाङ दिन प्रतिज्ञाबद्ध हुँदै वमनका अगाडी खडा छन् । राजा बलिकी रानी आफ्ना पतिका साथ नमस्कार मुद्रामा देखिन्छन् भने आश्वमध यज्ञको प्रतीक घोडा देखाइएको छ । यसै गरि असुर-पुरोहित शुक्राचार्य तथा अन्य कतिपय आकृतिहरू यस मूर्तिमा स्वाभाविक ढङ्गले कुँदिएका छन् ।  (खनाल, ऐ. पृ. १०९)

ख. सत्यमोहन जोशीले यही मूर्तिको कारण नेपाली प्रस्तर-कलाको विकास इसाको पहिलो, दोस्रो शताब्दीमै सुरु भइसकेको सहजै अनुमान गर्न सकिने भनेको कथन माथि परिसकेकाले उनैले उल्लेख गरेका  भारतीय कलाका आलोचक डा. स्टीला क्रामरिसको कथनलाई यहाँ उल्लेख गर्नु मुनासिब हुन्छ । क्रामरिसका अनुसार, “त्रिविक्रमको यी मूर्तिहरूमा अपूर्व किसिमको मूर्तिकला पाइन्छ, जुन भारतीय ढाँचाका विष्णुविक्रान्त त्रिविक्रमको मूर्ति सरि छ भन्ने अनुमान पनि हुन्छ । तर यी मूर्तिको शैली भारतमा प्रचलित छैन यद्यपि यी मूर्तिहरूले यस्तो मूर्तिकलाको शैलीलाई प्रकाशमा ल्याइदिए, जुन त्यतिबेलाको प्रारम्भिक भारतलाई थाहा नै थिएन ।” (जोशी, पृ. २१)

५. नेपाली कलाकार सिर्फ हतियार र वस्तुको प्रयोग गर्ने कलाकार मात्रै नभई ऊ स्वयं एक धर्मभीरु औँ शास्त्र परिचित प्राणी भएको प्रमाणित हुन्छ । शास्त्रको गूढ रहस्यबाट आफू राम्ररी परिचित भएकोले नै उसले आफ्नो कलाकृतिलाई यति सजीवता दिन सकेको हो ।

६. नेपाली कलाको सार-शैली समकालीन भारतीय कलाको सार-शैलीसित मिल्दो-जुल्दो देखिएता पनि नेपाली कलाकारहरूले आफ्ना कृतिमा मौलिक तत्त्वका छाप स्पष्ट छाडेका छन् । विषयवस्तु र शैलीको मेल भएतापनि नेपाली कला भारतीय कलाको प्रत्यक्ष प्रभावबाट मुक्त छ । यसलाई नेपाली कलाको गतिशीलताको रूपमा बुझ्नुपर्दछ । (जुन कुरा बूँदा ४ (ख) मा पनि परिहाल्यो ।)

निष्कर्ष : 

यी सबै चर्चा गर्नुको कारण मूर्ति एउटा ढुंगा मात्रै होइन भन्नु र विष्णुविक्रान्तको मूर्तिले संरक्षण पाओस् र नेपालको इतिहासको बृहत्तर पाटो जोगिओस् भन्ने हार्दिक सदिच्छाबाहेक अरू केही पनि होइन । अतः बाँकी कुरा समयकै मर्जी !

अस्तु !

विष्णुविक्रान्त आसपास सुकुम्बासी वस्ती विस्तार बढिरहेको छ, तस्बीर : राजु झल्लु प्रसाद

केहिबेरमै यो आहाल भरिनेछ, तस्बीर : राजु झल्लु प्रसाद

मूर्ति चिथोरिएको प्रष्ट देखिन्छ, ठाउँठाउँमा टुटेको छ, तस्बीर : राजु झल्लु प्रसाद

सम्बन्धित समाचार