काठमाडौँ । उपत्यकाको कला र संस्कृतिमा अभिन्न छ भक्तपुर । यहाँ घुम्न आउँदा पर्यटकले कहाँ-कहाँ जाने र के-के हेर्ने भन्ने जानकारी सजिलो गरी दिलाउन पुस्तक सार्वजनिक भएको छ ।
एक कार्यक्रममा होटल सङ्घ नेपाल सङ्घ अध्यक्ष विनायक शाह र क्षेत्रीय होटल सङ्घ भक्तपुर अध्यक्ष सत्यराम सुवालले पुस्तक सार्वजनिक गरेका हुन् । भक्तपुरमा आन्तरिक तथा बाह्य पर्यटकको बसाइँ लम्ब्याउने उद्देश्य रहेको सङ्घ अध्यक्ष शाहले बताए ।
‘पर्यटकीय हिसाबले भक्तपुर काठमाडौंसँगैको सुगम गन्तव्य हो । अहिले घुम्न आएर भक्तपुरमै बस्ने पर्यटकको सङ्ख्या बढ्दै छ । यसलाई अझै बढाउन आवश्यक छ,’ पुस्तक विमोचन कार्यक्रममा उनले भने, ‘नयाँ प्याकेज सिर्जनाका लागि हामीले भक्तपुरको पहिचान र आइटिनररी जानकारी दिने उद्देश्यले पुस्तक सार्वजनिक गरेका हौँ ।’
सन् २०२५ लक्षित विशेष भ्रमण वर्षका लागि भक्तपुरमा नयाँ हाइ इन्ड होटल-रिसोर्ट सञ्चालनमा आइसकेको उनले बताए । भक्तपुरको डोलेश्वर महादेवको मन्दिर, दरबार स्क्वायर, चाँगु नारायण, नगरकोट, रानीकोट, पाइलट बाबा, सूर्यविनायक लगायत विभिन्न क्षेत्र पर्यटकका लागि आकर्षकको केन्द्रबिन्दु रहेको उनको भनाइ छ ।
‘ब्रेथ टेकिङ भक्तपुर’ पुस्तक क्युआर मार्फत अनलाइनमा पनि पढ्न सकिन्छ । सङ्घका वरिष्ठ उपाध्यक्ष साजन शाक्यले भक्तपुर पर्यटन प्रवर्द्धनका लागि विभिन्न होटलसँगको सहकार्यमा आकर्षक प्याकेज तयारी सुरु गरिसकिएको बताए ।
‘हामीले पहिलैदेखि प्याकेज वितरण गर्दै आएका थियौँ । इतिहास बोकेको पुरानो सहर भक्तपुरको महत्त्वसँगै पर्यटन प्रवर्द्धन गर्न ‘ ब्रेथ टेकिङ भक्तपुर’ किताब ल्याएका हौँ ।,’ उनले भने । नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स, ट्रेकिङ एजेन्सी एशोसिएसन नेपाल लगायत पर्यटन सम्बद्ध विभिन्न संघसंस्थासँगको सहकार्यमा भक्तपुर पर्यटन प्रवर्द्धन कार्यक्रम सुरु गरिएको उनले जानकारी दिए ।
यसका लागि सङ्घले बङ्गलादेश सेल्स मिसनमा पनि गरेको सङ्घका कोषाध्यक्ष युवराज श्रेष्ठले बताए । ‘पर्यटन क्षेत्रसम्बद्ध सङ्गठनको सहकार्यमा यो पुस्तक सार्वजनिक गरिएको छ । अब भक्तपुरलाई साइट सिइङ मात्र नभई लामो अवधिसम्म बस्ने विशेष पर्यटकीय गन्तव्य बनाउने उद्देश्य लिएका छौँ,’ उनले भने,’अब भक्तपुर आन्तरिकदेखि हाइ इण्ड पर्यटकलाई सेवा दिन तत्पर छ ।’
क्षेत्रीय होटल सङ्घ भक्तपुरका सदस्य व्यवसायी रञ्जित माडिखुले पर्यटकले भक्तपुरमै बसेर नजिकै रहेका विभिन्न गन्तव्यमा समय बिताउन सक्ने बताए । आतिथ्यता, संस्कृति, धार्मिक क्षेत्र, रात्रिकालीन भ्रमण नै भक्तपुर अर्थात् ‘भादगाउँ’ को विशेष आकर्षण रहेको उनले सुनाए ।
उनका अनुसार हाल भक्तपुरमा एक सयभन्दा बढी होटल-रिसोर्ट सञ्चालनमा छन् । सबै सुविधाजनक छन् । तिनमा १ हजार डिलक्स, १ सय सुइट, ५० डिलक्स कोठा छन् ।