मंगलबार , साउन १९, २०८३

लुम्बिनीमा ‘दोस्रो बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट’ सुरु (तस्बिरहरू)

image

काठमाडाैं । लुम्बिनीमा ‘दोस्रो बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट’ सुरु भएको छ । आज (मे ११)मा सुरु भएको मार्ट मे १३ सम्म चल्ने छ । कार्यक्रमका प्रमुख अतिथि, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भान्ते)द्वारा विशेष पूजासहित मायादेवी मन्दिरमा मार्टको उद्घाटन गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवम मार्ट आयोजक समिति संयोजक सुरेश अधिकारीको सभापतित्वमा मार्टको उद्घाटन सत्र सम्पन्न भएको हो । उद्घाटन सत्रमा बोल्दै नेपाल पर्यटन बोर्डका अध्यक्ष समेत रहेका सचिव अधिकारीले यस मार्टले लुम्बिनीको पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

साथै उनले लुम्बिनीको पर्यटनको प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले बोर्डको आगामी बैठक लुम्बिनीमा राख्ने र लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि दुई करोड रुपैयाँ बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सचिव अधिकारीले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निकट भविष्यमै पूर्ण क्षमतामा सञ्चालनमा आउने जानकारी दिए ।

मार्टमा भारत, मलेसिया, चाइना, कोरिया, बङ्गलादेश, म्यानमार, थाइलैण्ड, श्रीलङ्का लगायत देशहरूबाट ३५ भन्दा बढी ट्राभल / टूर कम्पनीहरू सहभागी भएका छन् । नेपालबाट पनि सोही सङ्ख्यामा ट्राभल / टूर कम्पनीहरू विक्रेताका रूपमा सहभागी भएका छन् । स्वदेशी र विदेशी पर्यटन व्यवसायीबीच बी टु बी कार्यक्रम सञ्चालन गरिने भएको छ ।

नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र नाट्टाकाे सहकार्यमा मार्टको आयोजना गरिएको हो ।

उद्घाटन सत्रमा विदेशी पाहुनाहरू, विदेशी ट्राभल / टूर कम्पनीका प्रतिनिधिहरू, नेपाल सरकारका प्रतिनिधिहरू, नेपाल पर्यटन बोर्डका अधिकारीहरू, नाट्टा सदस्य कम्पनी, ट्रेकिङ एजेन्सीज एशाेसिएसन अफ नेपाल (टान), नेपाल  एशाेसिएसन अफ र्याफ्टिङ एजेन्सीज (नारा), गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटाेफ नेपाल), हाेटल एशाेसिएसन अफ नेपाल (हान) लगायत  पर्यटन सम्बद्ध सङ्घ / संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरू सहभागी भएका छन् ।

उद्घाटन सत्र पश्चात् लुम्बिनीको होटल पवन प्यालेसमा बी टु बी कार्यक्रम आयोजना गरिएको छ । यही सोही होटलमा स्वदेशी तथा विदेशी विज्ञहरूद्वारा कार्यपत्र प्रस्तुति सहितको सेमिनारको आयोजना गरिएको छ । सेमिनारको संयोजन प्रा. डा. हिमलाल घिमिरेले गर्ने छ । सो सेमिनारले नेपालको लुम्बिनी लगायत बुद्धिस्ट सर्किटको विश्वव्यापी प्रचार प्रसार मार्फत नेपाललाई पर्यटकीय हब बनाउने सन्दर्भमा गहन छलफल र निचोड निकाल्ने गरी तयारी गरेको छ ।

सेमिनारमा कार्यपत्र प्रस्तुत गर्न जर्मन, बङ्गलादेश तथा अस्ट्रेलियाबाट विज्ञहरू Prof Dr. Max Deeg, Mr. Md. Mohiuddin Helal, Mr.Dr. Kiran Ajit Shinde आइसकेका छन् ।

कोभिड- १९ पश्चात् नेपालको पर्यटन गतिविधि सामान्य रूपमा पुन सुचारु भइरहेको परिप्रेक्षमा पर्यटकीय आगमनलाई तीव्र बनाउँदै विश्वभर नेपाल भ्रमणका लागि सन्देश प्रवाह गर्ने र बुद्ध भूमि लुम्बिनी लाई केन्द्रमा राखी विश्वभर नेपालको सम्पदा आध्यात्मिक लगायत पर्यावरणीय साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले “Explore the Buddhaland, Gateway to Buddhist Circuit” भन्ने नाराका साथ दोस्रो बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल मार्टको आयोजना गरिएको हो ।

यस बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल मार्टबाट नेपाली टुर/ट्राभल कम्पनीहरू र होटल व्यवसायीले विदेशी टूर / ट्राभल कम्पनीहरूसँग व्यापार साझेदारी गर्ने सम्भावना वृद्धि हुने र लुम्बिनीमा विश्वभरिका पर्यटक ल्याउन थप मद्दत पुग्ने विश्वास लिइएको छ । त्यसका साथै भैरहवामा सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमा सहयोग पुग्ने साथै लुम्बिनी प्रदेशमा सञ्चालित नेपाली ट्राभल टूर कम्पनी होटल व्यवसायीहरूको लगानी अनुसार प्रचारप्रसार र प्रतिफल प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा लिएको छ ।

मार्टको उद्घाटनसँगै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को रजतजयन्ती पनि मनाइएको छ ।

तस्बिरहरू:

तस्बिर: चन्द्र तामाङ/हिमाल दर्पण 

सम्बन्धित समाचार