मंगलबार , अषोज ६, २०८३

सात बुँदे घोषणापत्र जारी गर्दै ‘बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट-२०२३’ सम्पन्न

image

काठमाडाैं । बुद्धको जन्मस्थल लुम्बिनीको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले लुम्बिनीमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट-२०२३ तथा बिमस्टेककाे दोस्रो रजतजयन्ती समारोह सम्पन्न भएको छ । बिहीबार (मे ११) देखि सुरु भएको तीनदिने ट्राभल मार्ट शनिवार सम्पन्न भएको हो ।

गाैतमबुद्धको जन्मस्थल लुम्बिनीलाई बौद्ध परिक्रमाको सुरुआत विन्दु र शान्ति गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने, लुम्बिनी र नेपालमा रहेका अन्य बौद्ध स्थलहरूमा पर्यटक बसाइ विस्तार गर्न विभिन्न गतिविधिसहितको साझा प्याकेज भ्रमण विकास गर्ने, पर्यटकलाई अन्तर्राष्ट्रिय सञ्जाल (नेटवर्किङ) गतिविधिलाई प्राथमिकता दिने, बुद्धसँग सम्बन्धित क्षेत्रका चार प्रमुख पवित्रस्थल नेपालको लुम्बिनी र भारतमा पर्ने बोधगया, सारनाथ र कुशीनगरको बौद्ध सर्किटलाई अन्य बौद्ध स्थलहरूसँग विस्तार गर्ने, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा कनेक्टिभिटीको प्रवर्द्धन र विस्तार गर्ने लगायतका सात बुँदे घोषणापत्र जारी गरिएको हो ।

मार्टले सन् २०२४ काे मार्च २४ मा तेस्रो बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट आयोजना गर्ने घोषणा पनि गरेको छ । तर, घोषित मितिभन्दा अगावै मार्टको आयोजना हुनसक्ने पर्यटन बोर्ड र नाट्टाका कतिपय पदाधिकारीहरूले बताएका छन् ।

कोभिड- १९ पश्चात् नेपालको पर्यटन गतिविधि सामान्य रूपमा पुन सुचारु भइरहेको परिप्रेक्षमा पर्यटकीय आगमनलाई तीव्र बनाउँदै विश्वभर नेपाल भ्रमणका लागि सन्देश प्रवाह गर्ने र बुद्ध भूमि लुम्बिनी लाई केन्द्रमा राखी विश्वभर नेपालको सम्पदा आध्यात्मिक लगायत पर्यावरणीय साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले “Explore the Buddhaland, Gateway to Buddhist Circuit” भन्ने नाराका साथ दोस्रो बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल मार्टको आयोजना गरिएको हो ।

मार्टको उद्घाटन सत्रमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवम् मार्ट आयोजक समिति संयोजक सुरेश अधिकारीले यस मार्टले लुम्बिनीको पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल पर्यटन बोर्डका अध्यक्ष समेत रहेका सचिव अधिकारीले लुम्बिनीको पर्यटनको प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले बोर्डको आगामी बैठक लुम्बिनीमा राख्ने र लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि दुई करोड रुपैयाँ बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मार्टमा भारत, मलेसिया, चाइना, कोरिया, बङ्गलादेश, म्यानमार, थाइलैण्ड, श्रीलङ्का लगायत देशहरूबाट दर्जनौँ ट्राभल / टूर कम्पनीहरू सहभागी भएका छन् । नेपालबाट पनि सोही सङ्ख्यामा ट्राभल / टूर कम्पनीहरू विक्रेताका रूपमा सहभागी भएका छन् । स्वदेशी र विदेशी पर्यटन व्यवसायीबीच ‘बी टु बी’ कार्यक्रम सञ्चालन गरिएको छ ।

मार्टमा बुद्ध दर्शन, यसकाे सान्दर्भिकता, बौद्ध पर्यटन, लुम्बिनी क्षेत्रको पर्यटन विकास, बाैद्धमार्गी देशहरूबीचकाे सहकार्य लगायत विषयमा विज्ञहरूले छलफल गरेका छन् ।

तीनदिने मार्टमा विदेशी पाहुनाहरू, विदेशी ट्राभल / टूर कम्पनीका प्रतिनिधिहरू, नेपाल सरकारका प्रतिनिधिहरू, नेपाल पर्यटन बोर्डका अधिकारीहरू, नाट्टा सदस्य कम्पनी, ट्रेकिङ एजेन्सीज एशाेसिएसन अफ नेपाल (टान), नेपाल एशाेसिएसन अफ र्याफ्टिङ एजेन्सीज (नारा), गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटाेफ नेपाल), हाेटल एशाेसिएसन अफ नेपाल (हान) लगायत पर्यटन सम्बद्ध सङ्घ / संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरू सहभागी भएका छन् ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय अवधेशकुमार त्रिपाठीद्वारा मायादेवी मन्दिर परिसरमा विशेष पूजासहित मार्टको उद्घाटन गरिएको थियो । अन्य कार्यक्रमहरू लुम्बिनीस्थित हाेटल पवन प्यालेसमा आयोजना गरिएको हो ।

मार्टकाे समापन पश्चात शनिबार विदेशी पाहुना, पर्यटनसम्बद्ध सङ्घसंस्थाका  पतिनिधि, सञ्चारकर्मी लगायतलाइ लुम्बिनी क्षेत्रकाे भ्रमण गराएकाे छ ।

नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र नाट्टाकाे सहकार्यमा मार्टको आयोजना गरिएको हो ।

सम्बन्धित समाचार