शनिबार , जेठ ५, २०८१

हिटलरको मनोमानीविरुद्ध सुरु भएको ‘कान्स फिल्म फेस्टिभल’मा सुरक्षा

image

कान्स फिल्म फेस्टिभल २०२२ मे १७ बाट सुरु भइसकेको छ । महोत्सव २८ मेसम्म जारी रहनेछ ।

महोत्सव सुरु गरिनु पछाडिको कथा निकै रोचक रहेको छ । सन् १९३९ मा यो महोत्सव हिटलरको मनमानीका विरुद्ध सुरु गरिएको थियो । त्यो समयमा विश्वभरिमा भेनिस फिल्म फेस्टिभल मात्र आयोजना हुन्थ्यो, जसमा इटालीका तानाशाह मुसोलिनी र जर्मनीका तानाशाह एडल्फ हिटलर एक आपसमा सल्लाह गरेर चलचित्रलाई अवार्ड दिने गर्थे ।

चलचित्रका अभिनय, मेकिंग र कलाका कुरामा त्यति ध्यान दिइँदैन थियो । यही मनमानीका विरुद्ध १९३९ मा फ्रान्सको कान्स सहरमा ‘कान्स फिल्म फेस्टिभल’ सुरु भयो । महोत्सवको सुरुआती चरण निकै सङ्घर्षपूर्ण रह्यो, तर अहिले यो विश्वकै प्रतिष्ठित फिल्म फेस्टिभलमध्ये एक हो ।

कान्स फिल्म फेस्टिभल २०२२ चलिरहेको यो समयमा आउनुहोस्, जानौँ यो महोत्सवको रोचक इतिहास:

LIFE on Twitter: "The first Cannes Film Festival began on this day in 1946 http://t.co/N00mGYFDDT http://t.co/Yc80ZBG1c0" / Twitter

१९३८ मा आएको महोत्सव सुरु गर्ने विचार

१९३८ मा नेशनल एजुकेशनका फ्रान्सेली मन्त्री जीन जेले इतिहासकार फिलिप इरल्यांगर र कला पत्रकार रोबर्ट फेवर लि ब्रेटसँग भेटपछि कान्स फिल्म फेस्टिभलका बारेमा विचार गरेका थिए, जसले अमेरिका र ब्रिटिस सरकारको पनि समर्थन पायो ।

हिटलर र मुसोलिनीको मनमानी भएकै कारण त्यसको विकल्प स्वरूप यस महोत्सवको बीजारोपण भएको हो ।नो दुवै तानाशाहहरूलाई जवाफ दिने उद्देश्यले फ्रान्सले स्वतन्त्र महोत्सव आयोजना गर्ने निर्णय लियो, ३१ मे १९३८ मा ‘कान्स’लाई महोत्सव आयोजना गरिने स्थानको रूपमा घोषणा गरियो । यही समयमा फ्रान्स सरकारले अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (फ्रान्सेली भाषामा – Le Festival International du Film) का दस्ताबेजमा सही गरेर यसलाई आधिकारिता दियो । पर्यटकको जमातलाई आकर्षित गर्ने उद्देश्यले फ्रेन्च रिवेरा रिसोर्टमा समारोह आयोजना गर्ने निर्णय लिइयो ।

कहिले भयो पहिलो कान्स फिल्म फेस्टिभल?

सन् १९३९ सेप्टेम्बर १ देखि २० सम्म पहिलो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना गरिएको थियो । विभिन्न किसिमका चलचित्र र सिनेमेटोग्राफीलाई प्रवर्धन गर्नु नै यो महोत्सवको उद्देश्य रहेको थियो ।

पहिलो दिनै रोकियो चलचित्र महोत्सव

१ सेप्टेम्बर १९३९ बाट सुरु हुने भनिएको महोत्सवको ठिक एक दिन अघि अर्थात् ३१ अगस्टमा एक उद्घाटन समारोह राखिएको थियो, जहाँ त्यो समयका हलिउडका लोकप्रिय कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो । १ सेप्टेम्बरमा जसै समारोह सुरु भयो, हिटलरले पोल्याण्डमा हमला गरेको खबर आयो । फलस्वरूप पहिलो दिनै महोत्सव १० दिनका लागि रोकियो । महोत्सवका आयोजक युद्धको माहौल शान्त हुने पर्खाइमा थिए, तर स्थिति झन् बिग्रँदै गयो । फ्रान्स र युनाइटेड किंगडमले ३ सेप्टेम्बरमा जर्मनीका विरुद्ध युद्धको घोषणा गरे र दोस्रो विश्व युद्ध सुरु भयो । जुन ६ वर्षसम्म चल्यो । फ्रान्स सरकारले महोत्सव रोक्ने आदेश दियो र पहिलो चलचित्र महोत्सव सुरु नहुँदै रोकियो ।

६ वर्षपछि फर्किएको महोत्सव

१९३९ देखि १९४६ को बिच करिब ६ वर्षको पर्खाइपछि २० सेप्टेम्बरदेखि ५ अक्टोबर १९४६ सम्म पुनः महोत्सव आयोजना गरियो । यसपटक महोत्सवमा २० देशले भाग लिए, जसको चलचित्र पहिलो कान्स अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शन गरियो ।

बजेट अभावका कारण दुई वर्ष रोकियो  

पहिलो समारोहपछि १९४७ मा दोस्रो समारोह आयोजना भयो, जसमा व्यवस्थापन लगायतका विभिन्न कारणले १६ देशले मात्र भाग लिए । त्यसैगरि १९४८ मा बजेटको अभावमा समारोह आयोजना भएन । १९४९ मा पनि सीमित देशहरूको उपस्थितिमा महोत्सव आयोजना गरियो । यही वर्ष पालिस डेस फेस्टिभल (कन्भेन्सन सेन्टर अफ कान्स), जसलाई महोत्सवका लागि तयार गरिँदै थियो, कार्यक्रम नजिकिँदै गर्दा त्यसको छत खस्यो । १९५०मा बजेट अभावका कारण पुनः महोत्सव रोकियो ।

१९५१ देखि प्रत्येक वर्ष आयोजना भइरहेको छ महोत्सव

१९५१ मा यो महोत्सव सेप्टेम्बर आसपास आयोजना गर्नु पर्ने भए तापनि भेनिस फिल्म फेस्टिभलसँग प्रतिस्पर्धा हुने भएकाले यसलाई मार्च र जुनको बिचमा आयोजना गर्न थालियो । महोत्सवको प्रतिष्ठा बढ्दै जान थाल्यो र मान्छेहरू यसमा भाग लिन थाले ।

२०१९ मा अभिनेत्री प्रियंका कार्कीको सहभागिता

सन् २०१९ को कान्स फिल्म फेस्टिभलमा सहभागिता जनाउन अभिनेत्री प्रियंका कार्की नेपालबाट भव्य तामझामका सहित फ्रान्स उडेकी थिइन् । तर, उनी कान्सकै लागि फ्रान्स गएकी हुन् या होइनन् भन्ने कुराको पुष्टि अहिलेसम्म हुन सकेको छैन । जाने बेला कान्सबाट निमन्त्रण आएर आफू त्यहाँ जान लागेको बताए पनि नेपाल फर्किएपछि कुनै संस्थाको निमन्त्रणा पाएर आफू त्यहाँ गएको एक अन्तर्वार्तामा उनले बताएकी थिइन् ।

२०२२ को कान्स फिल्म फेस्टिभलमा अभिनेत्री सुरक्षा पन्त

२०२२ को कान्स फिल्म फेस्टिभलमा सहभागिता जनाउन अभिनेत्री सुरक्षा पन्त फ्रान्स पुगेकी छिन् । बेल्जियन चलचित्र ‘दि एट माउन्टेन्स (Le otto montagne)’को कलाकारको रूपमा उनी कान्समा सहभागिता जनाउन गएकी हुन् । कान्सको रेड कार्पेटमा उनी तेन्जिङ भुटियाले बनाएको रातो गाउनमा देखा परेकी थिइन् । आधिकारिक निमन्त्रणा पाएर कान्सको रेड कार्पेटमा हिँड्ने उनी पहिलो नेपाली अभिनेत्री हुन् । महोत्सवमा भइरहेको विभिन्न कार्यक्रमबारे उनले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी दिने गरेकी छिन् ।

Surakshya Panta becomes the first Nepali to walk on the Cannes Film Festival red carpet - OnlineKhabar English News

कान्समा नेपाली चलचित्र

यसपटक कान्स फिल्म फेस्टिभलमा अविनाश विक्रम शाहको निर्देशनमा बनेको नेपाली चलचित्र ‘लोरी’ पनि सहभागी भएको छ । १४० ओटा देशका ३ हजार ५०० भन्दा बढी चलचित्रमध्ये शीर्ष ९ मा परेको चलचित्रले चीन, दक्षिण कोरिया, कोस्टारिका, अमेरिका, फ्रान्स, घाना र लिथुआनियाका चलचित्रसँग विश्व प्रतिष्ठित पामे डिओर अवार्डका लागि प्रतिस्पर्धा गर्नेछ ।

यसअघि सन् २००९मा दीपक रौनियारको चलचित्र ‘चौखट’ पनि कान्स फिल्म फेस्टिभलमा प्रदर्शन गरिएको थियो । चलचित्र ‘अप्रतियोगी’ क्याटेगोरीको लघु चलचित्र सेक्सन अन्तर्गत प्रदर्शन गरिएको थियो ।

सम्बन्धित समाचार