बिहिबार , जेठ २१, २०८३

क्रिसमस डे र अङ्ग्रेजी नयाँ वर्षकाे आगमनसँगै ठमेलमा बढ्याे पर्यटकको चहलपहल

विदेशी पर्यटकहरूको आकर्षणको केन्द्रबिन्दु ठमेलमा इसाई धर्मावलम्बीहरूको ठुलो पर्व क्रिसमस डे मा विशेष चहलपहल हुने गरेको छ ।

image

काठमाडौं । क्रिसमस पर्व र अङ्ग्रेजी नयाँ वर्षको आगमनसँगै राजधानीको मुख्य पर्यटकीय स्थल ठमेलमा विदेशी पर्यटकको चहलपहल बढेको छ । विदेशी पर्यटकहरूको आकर्षणको केन्द्रबिन्दु ठमेलमा इसाई धर्मावलम्बीहरूको ठुलो पर्व क्रिसमस डे मा विशेष चहलपहल हुने गरेको छ ।  क्रिसमस विश्वभरका इसाई धर्मावलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा मनाइने पर्व हो । यो पर्व २५ डिसेम्बरमा पर्छ ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले मुख्य पर्यटकीय सिजनको अन्त्यमा पनि क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षको आगमनले ठमेल क्षेत्रमा पर्यटकीय गतिविधि जारी रहेको बताए । अहिले ठमेलभित्र रहेका होटेलहरूको क्षमताअनुसार सरदर ५० प्रतिशतको हाराहारीमा पर्यटकहरू रहेको अध्यक्ष शर्माले हिमाल दर्पण लाई बताए । यस क्षेत्रका अन्य व्यवसायहरू पनि चलायमान रहेको उनले बताए । ठमेलमा ९० प्रतिशतभन्दा बढी व्यवसाय पर्यटनसँग सम्बन्धित रहेका छन् । ठमेलमा साना तथा ठुला गरी झन्डै तीन सय होटेल रहेका छन् । यस्तै तीन सयभन्दा बढी रेस्टुरेन्ट रहेका छन् । रात्रिकालीन व्यवसायी ९० को हाराहारीमा रहेका छन् ।

ठमेलको पर्यटन प्रवर्द्धन, विकास र व्यवस्थापनमा नेतृत्वदायी भूमिका खेल्दै आएको परिषद्ले अहिले ठमेल क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउन सम्बन्धित निकायसँगको सहकार्यमा सडक बालबालिकाको व्यवस्थापन, तारको व्यवस्थापनलगायतको काम गर्दै आएको छ । अहिले तारको व्यवस्थापन गर्न दैनिक ५५ जना भन्दा बढीले काम गर्दै आएको छ ।

यस्तै, ठमेललाई सुन्दर बनाउन सडक बत्ती जडान, सिसी क्यामरा जडान, फुटपाथ व्यवस्थापन तथा साइन बोर्डको व्यवस्थापन कार्यलाई पनि अगाडि बढाएको छ । ठमेललाई चौबिसै घण्टा स्वच्छ, शान्त र सुरक्षित बनाउन सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गर्न सम्बन्धित निकायसँग परामर्श भइरहेको परिषद्ले जनाएको छ ।

आगामी चैतसम्ममा ठमेल क्षेत्रको रूप रङ्ग नै बदलेर नयाँ ढङ्गले पर्यटनको विकास गर्ने परिषद्को उद्देश्य रहेको अध्यक्ष शर्माले बताए । ठमेलको मुहार फेर्ने परिषद्को यस अभियानमा काठमाडौं महानगरपालिका, महानगरको वडा नम्बर २६, नेपाल टेलिकम, विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनी, स्थानीय बासिन्दा र पर्यटन व्यवसायीहरूको साथ रहेको अध्यक्ष शर्माले बताए ।

सम्बन्धित समाचार