घरबेटी आमा बोल्दै छिन्, सूनको दैलो खोल्दै छिन् हे ! औंसीको बारो, गाई तिहारो भैलो । छाना माथि घिरैला, के - के दिन्छिन हेरौँला हे ! औंसीको बारो, गाई तिहारो भैलो ।
‘तिहारै आयो लौ झिलीमिली तिहारै आयो लौ झिलीमिली
ए सुन हजुर भैलेनी आए आँगन ए सुन हजुर भैलेनी आए आँगन’
तिहारमा देउसीभैलो खेल्ने परम्परा छ । बलिराजाका पालादेखि नै समूह बनाएर देउसीभैलो खेल्ने चलन अझ पनि कायमै छ । तर पहिलेको तुलनामा भने हिजोआज देउसीभैलो खेल्न निस्कने समूह कमै मात्रामा भेटिन्छन् ।
सांस्कृतिक विचलन र युवाहरूको विदेश पलायन बढेको कारण ग्रामिण भेगमा देउसी-भैलोका परम्परागत चलनहरूमा पनि फेरबदल देखिन्छ । केही युवा समूह मिलेर परम्परा धान्न र सामाजिककार्यका निम्ति देउसीभैलो खेलेको देखिन्छ तर यो चलन वर्सेनी पातलिंदै छ । गाउँगाउँमा सूचना प्रविधिको विकास हुँदै जाँदा मौलिक संस्कृति हराउन थालेको हो ।
देउसीभैलो खेल्दै हिंडेपनि मौलिक भाका गाउने भने अहिले देख्नै पाइँदैन । देउसी खेल्नका लागि निस्के पनि तिहारमा मेमोरीकार्ड, युट्युबबाट ठूला ठूला साउण्ड सिस्टमद्वारा गीत बजाएर नाच्ने चलन छ । हाम्रो मौलिक पहिचान बोकेका देउसीभैलो गीतमा विकृति भित्रिएको छ ।
भैलेनी आयौँ आँगन बडाली कुडाली राखन, आहैँ औँसीको बार गाईतिहार भैलीराम ।
हरियो गोबरले लिपेको लक्ष्मी पूजा पुजेको, आहैँ औँसीको बार गाईतिहार भैलो ।।
हामी त्यसै आएनौँ बलिराजाले बोलाएका, आहैँ औँसीको बार गाईतिहार भैलीराम ।
यसरी औँसीका दिनबाट गाउँका साथीभाइ जम्मा भएर घरघरमा जाने कसैले गीत गाउँदै, कसैले भट्याउँदै र कोही नाच्दै गर्दा तिहारमा निकै रमाइलो हुने र हेर्ने मानिसहरूको भीड हुने गर्दथ्यो । यस्ता गीतहरू गाउँदै देउसीभैलो खेल्दै हिंड्दा तिहारको माहोल नै छुट्टै हुन्थ्यो । तिहारमा हर्ष, उत्साह र उमङ्ग छाउँदथ्यो । हाल यस्तो परम्परा हराउँदै गएको हुनाले अहिलेका पुस्तालाई सुनाउँदा आश्चर्य मान्ने अवस्था आइसकेको छ । यस्ता हाम्रा मौलिक सांस्कृतिक परम्पराको पुस्तान्तरण हुन सकिरहेको छैन ।
५ दिनसम्म मनाईने तिहारको सम्बन्धमा धार्मिक ग्रन्थहरुका अनुसार, भगवान् विष्णुबाट यमपञ्चकको पाँच दिन स्वर्ग, मर्त्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा देउसीभैलो खेल्ने चलनको सुरुवात भएको विश्वास गरिन्छ ।
समुहमा मिलेर केटीहरूले गाउने गीत भैलो हो जुन तिहारको औशीको दिन लक्ष्मिको पूजा गरिसकेपछी घर घर गएर गाइन्छ ।
यो गीत गाउँदा साधारणत: एक जना मुख्य भैलेनी हुन्छन् र समूहका अरू व्यक्तिहरू मुख्य व्यक्तिको भैलेनी भन्दै गीतको अन्त सम्म अनुसरण गर्छन् । भैलो खेलेको घरबाट दान, सिधा र दक्षिणा दिन्छन् । त्यसपछि मुख्य व्यक्तिले भैलो गीतको अन्तमा घरका सबै जनालाई शुभकामना र आशिष् दिन्छ र समूहका मान्छेहरू भैलो भन्दै गर्छन् ।
भैलिनी आईन आगन,बढारी कुडारी राखन
हे ! औसी को बारो,गाई तिहारो भैलो
हरियो गोबरले लिपेको,लक्ष्मी पूजा गरेको
हे ! औंसीको बारो,गाई तिहारो भैलो
भैलिनी आईन आगन, गुनिया चोलो माँगन
हे ! औसीको बारो, गाई तिहारो भैलो
हामी त्यसै आएनौँ, बलि राजाले पठाको
हे ! औंसीको बारो, गाई तिहारो भैलो ।
अरू दिन आउने जोगिनी, आज आउने भैलेनी
हरियो गोबरले लिपेको, लक्ष्मी पूजा गरेको
हे ! औंसीको बारो, गाई तिहारो भैलो
भैलिनी आईन आगन, गुनिया चोलो मागन
हे ! औसीको बारो, गाई तिहारो भैलो
घरबेटी आमा बोल्दै छिन्, सूनको दैलो खोल्दै छिन्
हे ! औंसीको बारो, गाई तिहारो भैलो ।
छाना माथि घिरैला, के – के दिन्छिन हेरौँला
हे ! औंसीको बारो, गाई तिहारो भैलो ।
लक्ष्मी पूजाको राती भैलीका मुखमा सन्तोषी
हे ! औंसीको बारो, गाई तिहारो भैलो ।
यो घरकी आमा कस्ति छिन्, लक्ष्मी माता जस्ती छिन् ।
हे ! औंसीको बारो, गाई तिहारो भैलो ।
कति दिऊ के दिऊ भन्दैछिन, रुपैया पैसा गन्दै छिन
हे ! औंसीको बारो, गाई तिहारो भैलो ।
धमीराको ताती, हामीलाई भो राती
हे ! औंसीको बारो, गाई तिहारो भैलो ।
घोडा बान्ने तवेला, हामीलाई भयो अबेला
हे ! औंसीको बारो, गाई तिहारो भैलो।
दिने भए सिधा देउ, नदिने भए बिदा देउ
हे ! औंसीको बारो, गाई तिहारो भैलो ।
जसले दिन्छ मानो, उसको सूनको छानो
जसले दिन्छ पाथी, उसको सुनको छात्ती
जसले दिन्छ मूरी, उसको सूनको धुरी ।
हे ! औंसीको बारो, गाई तिहारो भैलो ।..
आहै, भन मेरा संगी हो- भैलेनी,
आहै, भट्याउनेको- भैलेनी,
आहै, सोरैमा ढाकी- भैलेनी,
आहै रामरी भन्- भैलेनी,
आहै, आशिष दिनु- भैलेनी,
आहै, यसैमा घरको -भैलेनी,
आहै, भडारमा- भैलेनी,
आहै लक्ष्मीले – भैलेनी,
आहै, बासै गरून्- भैलिनी,
आहै ढुङ्गामा छुदा- भैलेनी,
आहै, द्रव्य होस- भैलेनी,
आहै, माटोमा छुदा – भैलेनी,
आहै अन्न बनोस- भैलेनी,
आहै, पानीमा छुदा भैलेनी,
आहै तेलमा बनोस – भैलेनी,
आहै, यसैमा घरका – भैलेनी,
आहै घरबेटी बाबा – भैलेनी,
घरबेटी आमा – भैलेनी,
लाला र बाला – भैलेनी,
केटा र केटी – भैलेनी,
आहै, बरपिपल जस्तै- भैलेनी,
आहै, तपि रहुन – भैलेनी,
आहै, दुवोमा जस्तो – भैलेनी,
आहै, मौलाइ रहुन्- भैलेनी,
आहै, नाम र किर्ति – भैलेनी,
आहै, फैलिमा रहोस- भैलेनी,
आहै, यसै घरमा-भैलेनि,
आहै, सुख र शान्ति-भैलेनी,
आहै, सधैमा रहोस्- भैलेनी…
आहै, लेकको काने- भैलेनी,
आहै औलाको माने- भैलेनी,
आहै, आशिष दिन- भैलेनी, आहै,
यतिकै जाने- भैलेनी ।
यति भनिसकेपछि भैलेनीहरु हाँसी मजाक गर्दै रमाइलो गर्दै फेरि अर्को घरमा भैलो खेल्न जान्छ्न् ।
खासमा ‘देउसिरे’ देव श्री रामबाट अपभ्रंश भएर आएको विश्वास गरिन्छ । देउसीमा युवा र केटाकेटीहरू मात्रै हजुरबुबा-हजुरआमा पुस्ता पनि रमाइलो मान्छन् । टोली नाइके (भट्याउने)ले लय हालेर नाटकीय शैलीले भट्टयाउने र सहभागीहरुले देउसीरे घन्काउँदै सामूहिक रुपमा नाँच्ने देउसी मौलिक परम्परा हो ।
नाँच्ने क्रममा यस घरको मन ठूलो छ, दान पनि ठूलै हुन्छ, देउसे भैलोलाई मुठीखोलेर दान दिन्छन्, मिठामिठा परिकार दिन्छन्, जस्ता टुक्काहरू जोडेर घरमुलीको मन जित्ने प्रयत्न गरिन्छ । भैलोमा जस्ता देउसीमा पनि ‘हामी त्यसै आएका हैनौं, बलिराजाले पठाएको’ भन्न छाडीदैन ।
देउसी टोलीको मुख्यले भन्छ – “आहै झिलिमिली झिलिमीली”
मण्डली समूह: देउसिरे !
भट्याउने: “आहै के को झिलिमीली”
मण्डली समूह – देउसिरे!
भट्याउने”आहै फूलको झिलिमिली”
समूह – देउसिरे!
भट्याउने:”आहै बत्तीको झिलिमिली”
समूह – देउसिरे!
भट्याउने:”आहै, भन मेरा भाइ हो”
समूह – देउसिरे!
भट्याउने ” हे राम्ररी भन”
समूह – देउसिरे!
भट्याउने – “आहै,स्वर मिलाई भन”
समूह – देउसिरे!
भट्याउने “आहै, भन न भन”
समूह – देउसिरे!
भट्याउने “आहै देउसीरे खेल्न”
समूह: देउसिरे!
भट्याउने”आहै आएका हामी”
समूह: देउसिरे!
भट्याउने:”आहै, वर्षमा दिनको”
समूह – देउसिरे!
भट्याउने:आहै,चाड र वाड”
समूह – देउसिरे!
भट्याउने:”आहै, मनाउन भनी”
समूह – देउसिरे!
भट्याउने:आहै, आएका हामी”
समूह – देउसिरे!
भट्याउने:”आहै, रातो माटो”
समूह – देउसिरे!
भट्याउने:”आहै, चिप्लो बाटो ”
समूह – देउसिरे!
भट्याउने:”आहै, लड्दैमा पढ्दै ”
समूह – देउसिरे!
भट्याउने:”आहै, आएका हामी”
समूह – देउसिरे!
भट्याउने:”आहै, भनभन भाइ हो”
समूह – देउसिरे!
भट्याउने:”आहै, राम्ररी भन ”
समूह – देउसिरे!
भट्याउने:आहै, तीन दिन तिहार”
समूह – देउसिरे!
भट्याउने:”ए, पाँच दिन पन्चक”
समूह – देउसिरे!
भट्याउने:”मनाउनैं पर्छ”
समूह – देउसिरे!
भट्याउने:आहै, हामी त्यसै”
समूह – देउसिरे!
भट्याउने: “आहै,आएका हैनौ”
समूह – देउसिरे!
भट्याउने:बलिराजाले पठाएको”
समूह – देउसिरे!
भट्याउने:”आहै, भन मेरा भाइ हो”
समूह – देउसिरे!
भट्याउने: ” हे राम्ररी भन”
समूह – देउसिरे!
भट्याउने:”आहै,आखाम बाखम”
समूह – देउसिरे!
भट्याउने:”सेलरोटि चाखम”
समूह – देउसिरे!
भट्याउने:आहै, भन मेरा भाइ हो”
समूह – देउसिरे !
यसै क्रममा घरमुलीले केहि समयपश्चात् (१५ मिनेट देखि आधि घण्टा पछी) नाङ्लोमा दियो, कलस, फूल, अगरबत्ती, चामल, रुपैया पैसा, सेलरोटी, फलफूल आदि विभिन्न प्रकारका चीजहरु ल्याएर आँगन वा कौसीमा राखि दिने गर्दछन् । आँगनमा मिठो मिठो वासना आउने सेलरोटी, अर्सा अनि अनर्साले आँगन नै मगमगाउँछ ।
मुख्य व्यक्ति लगायत देउसे त्यसैको वरिपरि घुम्दै देउसी खेल्दै नाँच्छन् । देउसीको मुख्य व्यक्ति भट्याउनेले गएको घरका सबै जनालाई देउसी गीतबाटै शुभकामना र आशिष् दिन्छ र समूहका अरू मान्छेहरू देउसुरे देउसुरे भन्दै गर्छन् । र दक्षिणा फलफूल सेलरोटी आदि लिएर देउसे अर्को घरतिर लाग्दछ ।
उज्यालै–उज्यालोको पर्वका रूपमा लिइने दाजुभाइ र दिदीबहिनीबीचको मायाप्रेम प्रगाढ बनाउने पर्व हो, तिहार । दाजुभाइ र दिदीबहिनीबीचको हाँसो, खुसी, मायाप्रेमलाई फराकिलो बनाउने तिहार पर्वले चेलीबेटी र दाजुभाईबीचको समबन्धलाई मजबुत बनाउने काम गरेको छ । दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टिका लगाई मखमलीको माला अनि ओखर फोडेर दीर्घायु अनि समृद्धिको कामना गर्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई उपहार दिएर दिदीबहिनीको सुस्वास्थ्य अनि समृद्धिको कामना गर्छन् । तिहार विशेष गरी पारिवारिक आत्मीयता बाँड्ने अवसर पनि हो । परम्परागत चाडपर्वलाई आफ्नो मौलिकता नहराउने गरी मनाउने परिपाटी बसाल्न सके यसको ऐतिहासिक मर्म र महत्वले जीवन्तता पाउनेछ ।