शुक्रबार , फागुण १८, २०८०

धनुषाधाममा निरन्तर बढिरहेछ शिवको पिनाक धुनुष

यहाँस्थित शिवजीको पिनाक धुनषको मध्य भाग (रामद्वारा खण्डित) को निरन्तर बढ्दो रुपाकृतिले राम मिथकीय पात्र नभएको कुरालाई पुष्टि गर्दछ ।

image

रामायणलाई रोमाञ्चित कहानीको रूपमा सबैले सुन्ने, सुनाउने र हेरिने प्रख्यात कथाको रूपमा पनि मानिन्छ । संस्कृत भाषाबाट रूपान्तरित भएका भाषिक देश (थाइल्यान्ड, इन्डोनेसिया, कम्बोडिया, म्यानमार, श्रीलंकालगायत) का भिन्न धर्म, वर्ग र जातिले यस कथालाई महत्त्वपूर्ण तवरले हेरेको पाइन्छ । सूर्यवंशी राजामध्ये ६४औं राजा दशरथ रानी कौशिल्याबाट जन्मिएका रामचन्द्र भगवान् नारायणको सातौं अवतार र तेत्रायुगका युगपुरुष भनी कहलिएका छन् ।

रामायण नेपाली समाजसँग नजिकबाट जोडिएको कृति हो । नेपालमा रामायणसँग जोडिएका धेरै धार्मिक तीर्थ र मठ मन्दिर छन् । रामायणको आलोचनात्मक संस्करणले विद्वान् एवं पुरातत्वविद्हरूको खिसी गर्दै ‘राम एक मिथकीय पात्र भएको’ नबताएको पनि होइन । तर, धनुषा जिल्लाको दोस्रो ठूलो धार्मिक स्थलले धनुषाधामको ‘धनुषखण्ड’ले त्यस कुराको खण्डन गर्दछ । यहाँस्थित शिवजीको पिनाक धुनषको मध्य भाग (रामद्वारा खण्डित) को निरन्तर बढ्दो रुपाकृतिले राम मिथकीय पात्र नभएको कुरालाई पुष्टि गर्दछ ।

रामद्वारा खण्डित शिवजीको पिनाक धुनषको मध्य भागको निरन्तर बढ्दो रुपाकृति, तस्बीर: राजु झल्लु प्रसाद

हालको जानकीमन्दिर भएको ठाउँमा एउटा मठ रहेको र त्यसको अगाडी विशाल मैदानमा अयोध्याका राजा रामले शिवधनुष भङ्ग गरेको विश्वास गरिन्छ । रामले धनुभङ्ग गर्दा त्यसको एउटा हिस्सा उछिट्टिएर झरेको ठाउँ नै धनुषाधाम रहेको आमविश्वास छ । जनकपुरधाममा जगत् जननी सीताको दर्शन गर्न आउने दर्शनार्थीहरू अवश्य धनुषखण्डको दर्शन–पूजा गर्ने गर्दछन् । धुनषको यस खण्डको दर्शन, पूजाले समस्त पापको नाश र मंगल हुने विश्वास सयौं वर्षदेखि चल्दै आएको छ ।  भक्तजनले धनुषको टुक्रामा पुष्पजल अर्पण गर्छन् ।

 भक्तजनले धनुषको टुक्रामा पुष्पजल अर्पण गर्छन्

धनुषाधाम किन जाने ?

धनुषाधाममा एउटा शीलाखण्डजस्तो देखिने लामो धनुषको टुक्रा पिपल वृक्षको दुवैतर्फ राखिएको छ । यो टुक्रा चार–पांच वर्षमा केराउको दाना सरह एकचोटी आफैं बढ्ने र टुक्रा बढ्दै जाँदा धनुषलाई घेर्न पर्खाल पनि त्यसै अनुरूप बढाइँदै लगिने यहाँका महन्थ दास बताउँछन् ।

धनुषको बढिरहेको रुपाकृतिको पल्लो छेउमा गाडिएको त्रिशुलतर्फ अंकित गर्दै उनले भने, “निरन्तर बढ्ने क्रममा रहेको धनुषखण्ड यहाँसम्म आइपुगिसक्नु भएको छ । झलक्क हेर्दा रुद्राक्ष जस्तो लाग्दछ तर ढुंगा भनौं भने ढुंगा होइन, फलाम भनौं भने चुम्बकले समातिरहेको छैन । कुनै बेला पहाड विष्फोट भयो र लाभा निस्कियो भनौं भने पनि १०-२० किलोमिटर आसपास पहाड पनि छैन ।”  उनले अगाडी भने, “धनुषमाथि नै अवस्थित यस पिपल वृक्ष पनि ५५० वर्षभन्दा पुरानो हो ।” धनुषाधामलाई कतैबाट पनि गम्भीरतापूर्वक पर्यटकीय गन्तव्यको रूपमा अगाडी सार्ने काम नगरिएको उनले दुखेसो समेत व्यक्त गरे ।

धनुषधाम मन्दिरका महन्थ दासकाअनुसार, शिवले सत्ययुगमा महाऋषि दधिचीको हाडबाट पिनाक नामक धनु बनाई त्रिपुरासुर राक्षसको वध गरे । त्यसपछी त्यो धनु परशुरामलाई दिइएको र परशुराममार्फत जनक महराजले प्राप्त गरे । जनकपुरमा सिता स्वयम्वर रच्ने क्रममा भगवान् रामले यस धनुलाई तीन टुक्रामा विभाजित गरिदिए । दाहिने भागको टुक्रा भारतको रामेश्वर पुग्यो (जो समुन्द्रमा तैरिन्छ) । रामेश्वरको दर्शनलाई धनुषाधामको दर्शन समेत भनिएको छ । अर्को टुक्रा पाताल (राम मन्दिर अगाडीको धनुषसागर) मा खस्यो । र, धनुको बीचको भाग चाहिँ यहाँ रहेको छ । धनुषको टुक्रा किन फैलिरहेको छ भन्ने कुरा रहस्यको गर्भमै छ । कालो ढुंगाजस्तै देखिने त्यो टुक्रा के हो भन्ने पुष्टि हुन् सकेका यस क्षेत्रको थप महिमा उजागर हुने थियो ।

शिवले सत्ययुगमा महाऋषि दधिचीको हाडबाट पिनाक नामक धनु बनाई त्रिपुरासुर राक्षसको वध गरेका थिए, तस्बीर: राजु झल्लु प्रसाद

जनकपुरधामबाट १५ किलोमिटर दूरीमा रहेको यस स्थान सुरुमा खुला आकाशमै रहेको बताइन्छ । यसपछि स्थानीयवासीले मन्दिरको रुपाकृतिको दिएको र सो मन्दिर जीर्ण भएपश्चात् सम्बत् १९९५ मा बलियाका रघुनाथ राम जयसवालले पुननिर्माण गराइदिएका हुन् । धनुष मन्दिरभन्दा केही दक्षिणतिर राम–जानकी मन्दिर देखिन्छ, जसको निर्माण हालसालै गरिएको प्रतित हुन्छ । हाल यस स्थानको शिरोभागमा जस्तापाता ओढाएको देखिन्छ भने धनुषखण्ड निरन्तर बढ्ने क्रममा रहेकाले मन्दिरको संरचना बनाइएको छैन ।

१८ औं शताब्दीबाट सुरु भएको मिथिला मध्यमा परिक्रमा १५ विश्रामस्थल मध्ये यस स्थान पनि एक हो ।

१८ औं शताब्दीबाट सुरु भएको मिथिला मध्यमा परिक्रमा १५ विश्रामस्थल मध्ये यस स्थान पनि एक हो, तस्बीर: राजु झल्लु प्रसाद

पाताल गङ्गा 

धनुषखण्डको प्राथामिक आकृति नजिकै एक कुण्ड पनि रहेको छ, जसलाई पाताल गङ्गा भन्ने गरिन्छ । यस क्षेत्रको पारिस्थिकीय प्रणालीको सूचकको रुपमा पातल गङ्गालाई लिने गरिन्छ । समयको मूल्यांकन, मौसमी वर्षात, धानबालीको हानीनोक्सानी लगायतका कुराहरू कुण्डमा रहेको पानीको मात्रालाई आधार मानि तय गर्ने गरिन्छ । कुण्डमा जति पानी माथि बस्यो उति यहाँ सुख मानिन्छ । हाल १ महिनादेखि गङ्गा पाताल गएको समेत पूजारीले बताए ।

अर्को कथन अनुसार, पीपलको बोटमुनि नागको बास रहेको बताइन्छ । अमावश्या तिथिका दिन मध्यरातमा मणिसहितको नाग देखिने र पूरै मन्दिर हरियो रङले रंगिने जनविश्वास छ ।

कुण्डमा जति पानी माथि बस्यो उति यहाँ सुख मानिन्छ, तस्बीर: राजु झल्लु प्रसाद

धनुषाधामको धर्मशाला 

धनुष मन्दिरकै नजिकै धनुषाधाम नगरपालिकाको कार्यलय रहेको छ, जो वास्तवमा एक धर्मशाला हो । नगरपालिकाले आफ्नो भवन निर्माण सम्पन्न गरेको छैन ।

प्राप्त शिलालेख अनुसार दरभंगाका राजा लक्ष्मेश्वर सिंहकी आमा महेश्वर लतादेवीले शाके १७९७ मा धर्मशालाको निर्माण गराएकी हुन् । यसको जीर्णोद्धार  १९४१ ई.मा पटना, कदमकुआ (विहार, भारत)का ताराचन्द्र अग्रवालले गराएका हुन् (स्रोतः रामभरोस कापडि ‘भ्रमर’) । विशाल स्वरूपको यस धर्मशालाले तात्कालिन समयमा भक्तजनहरूको वृहत्तर संख्यामा आगमनलाई संकेत गर्दछ । हाल यहाँ सो अनुपातमा पर्यटकहरूको आगमन भएको देख्न सकिदैन ।

शताब्दियौंदेखि जनविश्वासले गर्दा स्वतस्स्फूर्त रूपमा अध्यात्मिक केन्द्रविन्दु रहँदै आएको  यस स्थानलाई कतैबाट पनि गम्भीरतापूर्वक पर्यटकीय गन्तव्यको रूपमा अगाडी सार्ने काम हुन् नसकेको बताउँछन्, धनुषाधाम नगरपालिकाका प्रमुख बालेश्वर मण्डल । मिथिला महात्म्यमा ‘धनुषदर्शनले मात्र पनि सबै पापको नाश हुन्छ’ भनिएको तर, यसको महत्त्व सरोकारवाला निकायले बुझ्न नसकेको देखिन्छ । मण्डलको यो दोस्रो कार्यकाल हो ।

 बालेश्वर मण्डल

धनुषाधाम नगरपालिकाका प्रमुख बालेश्वर मण्डल

पर्यटक भित्राउन के–के गर्न सकिन्छ ?

  • धनुषाधाममा बाह्रैमहिना श्रद्धालुहरू पुग्ने गरेका र विशेषतः माघभरिको मेला अवधिलाई नै प्याकेजको रूपमा विकसित गरी हाल रहेको जंगलमा अस्थायी कटेजहरूको निर्माण गरी पर्यटक भित्र्याउन सक्दा निकै लाभदायी हुन सकदछ ।
  • धार्मिक पर्यटकहरूको लागि रामलीला, भजन–कीर्तन आदिको व्यवस्था गरेर बसाइलाई भक्तिमय बनाउन सकिन्छ ।
  • यहाँ रहेको पवित्र वाणगंगा नदी र पोखरीको जीर्णोद्धार गरी आकर्षक एवं जलपर्यटनको प्रवर्द्धन गर्न सकिन्छ ।
  • धनुषाधाममा बाँकी रहेको जंगललाई व्यवस्थित गरेर त्यहाँ पशुपंक्षी पालेर आकर्षक गन्तव्य बनाउन सकिन्छ।
  • होटल एवं लजहरूको उचित व्यस्थापन गरेको खण्डमा पाहुना आएर यहाँ बस्ने प्रचुर सम्भावना रहेको छ ।
  • पर्यटन सूचना केन्द्र स्थापना, धर्मशालाको जीर्णोद्धार लगायतका कामले गति लिनु आवश्यक छ ।
  • मिथिला पर्यटनको एकीकृत प्याकेज मार्फत देशभित्रको आन्तरिक तथा विदेशी पर्यटकहरूको अर्को एउटा थप उर्वर पर्यटन स्थलको रूपमा विकास गर्न सकिन्छ ।

यहाँ जलपर्यटनको भरपुर सम्भावना छ, तस्बीर: राजु झल्लु प्रसाद

कसरी पुग्ने ?

जनकपुरधामबाट १८ कि.मी. उत्तरपूर्व रहेको धनुषाधाम जान मुजेलियाबाट १६ कि.मी. र पूर्वपश्चिम राजमार्गको धारापानीबाट १० कि.मी. बाटो रहेको छ । पूर्वपश्चिमबाट र उत्तरबाट आउनेहरूको लागि यो बाटो उपयुक्त हुन्छ । बस,टेम्पू सेवा नियमित रहेको छ । जनकपुरधामदेखि जाने-आउने गरि टेम्पुले १,५००–२,००० रुपैयाँ लिने गरेको छ । बाटो असुविधाको कारण टेम्पु चालकले बढी भाँडा लिने गरेका हुन् ।

धनुषाधाम पुग्दा यी ठाउँ जान नछुटाउनुस !

१. धनुषाधाम संरक्षित वन

यस क्षेत्रमा धनुषाधाम संरक्षित वन (३ सय ६० हेक्टर क्षेत्रफल) र वन भित्रै रहेको वाण गंगा नदि पर्यटकीय सम्भावना बोकेका स्थलहरू हुन् । चुरे विनासका कारण तराईका वनहरु मासिंदै गएको बेला वन कर्मचारीहरुको पहल तथा स्थानीयवासीहरुको सहयोगमा २०६९ सालमा संरक्षित वन घोषणा गरिएको हो। २०७१ सालदेखि नेपाल सरकारले यस क्षेत्रलाई चरिचरण निषेधित क्षेत्र घोषणा समेत गरेको छ। वनमा निलगाई, चितुवा, सर्प, विभिन्न प्रकारका पुतली, चराहरु र अन्य जिवजन्तुहरु देखिने गरेका छन् । वनमा पशुपन्छी संरक्षणका लागि विशेष योजनाहरु अघि ल्याईएको र चांडैनै चिडियाखानाको निर्माण समेत गरिने नगरप्रमुख मण्डलले बताए ।

२. धनुषखण्डको सानो अंश रहेको परशुराम तलाउ क्षेत्र 

जनकपुरको पूर्व–दक्षिण क्षेत्रस्थित मिथिला विहारी नगरपालिकाको पुरनदाहा गाउँमा रहेको यस सुन्दर तालछेउमा प्राचीन परशुराम मन्दिर अवस्थित छ । तालको सुन्दरता जोगाउने नाममा प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले लाखौँ रुपैया खर्च गरेको पाइएता पनि परशुराम मन्दिरको पुरातात्विक खोज, अनुसन्धान र प्रचारप्रसार भने गर्न सकेको देखिदैन । यस क्षेत्रको चर्चा किन पनि गरिएको भन्दा परशुराम मन्दिर छेउमा रहेको कल्पवृक्षमा फेदमा धनुषधाममै झैँ गरि सोही विशेषताको शीलाखण्ड निरन्तर बढिरहेको देखिन्छ । लम्बाई १ मिटर लामो भए पनि निरन्तर फैलिरहेको मन्दिरका मूल महन्त बताउँछन् ।

एकपटक क्षत्रिय राजा कर्तावीर्य सहश्रजूनले परशुरामको पिता ऋषि जमदग्नि तथा उनको कामधेनु गाईलाई मारे । पिता र गाईलाई मारेको कारण गाई मार्ने पुरा क्षत्रिय सम्प्रदायलाई मारेर उनले समाजलाई क्षत्रीबिहिन बनाए र पुनस् आफै ब्राम्हण पुत्र भएपनि क्षत्रिय बनेर क्षत्रिय सभ्यताको समाजमा स्थापित गरे । स्मरण रहोसः परशुराम ऋषि जमादग्नि तथा रेणुका को पाचौ पुत्र थिए । परशुराम न्याय र पितृ सम्मानमा यति कट्टर थिए कि उनले एकपटक आफ्नो पिताको आदेशमाआफ्नै आमाको समेत हत्या गरेका थिए । पछि उनले आमालाई जीवित तुल्याउने वर बाबुसँग त् मागे तर प्रयाश्चित गर्नका लागि उनि धेरैतिर पुगे । उनले ओढेको कालो कम्बल सेतो नभएसम्म उनी पापबाट मुक्त नहुने बताइएको थियो ।

मिथिला विहारी नगरपालिकाको पुरनदाहा गाउँमा रहेको यस सुन्दर तालछेउमा प्राचीन परशुराम मन्दिर अवस्थित छ, तस्बीर: राजु झल्लु प्रसाद

यसैक्रममा उनी यस स्थान अर्थात हालको परशुराम तलाउमा आइपुगेको बताइन्छ । यहाँ आएर तलाउमा नुहाइरहेको समयमा राजा जनकको दरबारमा रामले धनुष भाचेको र त्यसको एक झिल्का यहाँ खसेको जनविश्वास गरिन्छ । सो झिल्कापश्चात् नै रिसले आतुर भएर परशुराम जनकपुरस्थित सीता स्वयंवरमा पुगेका थिए । त्यसबेला भगवान परशुराम र भगवान रामबीच संवाद भएको थियो । त्रेतायुगमा भगवान रामसँगको मिलनपछि परशुरामको तेज रामले आफूमा लगेर परशुरामलाई सामान्य ऋषिको रूपमा राखेको पौराणिक कथनहरूले बताउँदछन् । चिरन्जीवी भागेवान परशुराम महेन्द्र पर्वतमा विश्राम गरिरहेको विश्वास गरिन्छ ।

भगवान परशुराम र मिथिलाको सम्बन्ध बताइरहेको यस स्थानमा तालको सौन्दर्यकरण हुनु राम्रो कुरा हो, साथमा यस धार्मिक किम्वदन्तीको प्रचारप्रसार भइदिएमा सुनमा सुगन्ध हुने थियो । हाल ताल क्षेत्रमा भगवान परशुरामको मूर्ति स्थापना भइरहेको देखिन्छ भने तलाउ क्षेत्रमा स्थानीय युवाहरूले प्रत्येक हप्ता सरसफाइ गरिरहेको देखिन्छ ।

परशुराम मन्दिरको पुरातात्विक खोज, अनुसन्धान र प्रचारप्रसार हुन् सकेको छैन, तस्बीर: राजु झल्लु प्रसाद

३. रामायणकालीन वाणगंगा

पौराणिक कथनअनुसार त्रेतायुगमा भगवान रामलाई वनबास गएको समयमा सीतासहित राम र लक्ष्मण सोही स्थान भएर जाँदै गर्दा सीतालाई पानीको प्यास लाग्दा चारैतिर चाहार्दासमेत पानी नभेटिएपछि अन्त्यमा लक्ष्मणले आफ्नो धनुषवाणले धर्तीमा छिद्र पारी राम र सीतालाई पानी खुवाई लक्ष्मण आफैँ स्नान गरेको किंवदन्ती छ । लक्ष्मणले आफ्नो धनुष वाणको मद्दतले धर्तीमा छिद्र पारी पानी निकालेको र आफू स्नानसमेत गरेकोले यसलाई त्रेतायुगदेखि नै वाणगंगा (लक्ष्मण सरोवर) को नामले परिचित हुन पुगेको हो । सोही वाणगंगा किनारमा देखिने मानिसका पाइला भगवान रामकै हुन् भनी पूजा हुनुका साथै सीता र लक्ष्मणको प्रतीकको रूपमा मानिँदै आइएको छ । लक्षमण सरोवर मन्दिरका महन्त महेन्द्रबहादुर खडकाका अनुसार, धनुषाधामको जंगलभित्र रहेको यस पवित्रस्थलमा जस्तोसुकै अनावृष्टि वा अतिवृष्टि हुँदासमेत एकै नासको पानी धर्तीबाट सधैँ निस्किरहन्छ । यसको वहाबमा कुनै परिवर्तन हुँदैन । यो आफ्नै सुर र तालमा वर्षको ३६५ दिन नै यहाँको पानीले शीतलता प्रदान हुने तथा यहाँ स्नान गर्नाले रोगव्याधी निवारण हुने मान्यता छ ।

रामायणकालीन चारधाममध्ये पूर्व झापाको सत्तासीधाम, मध्य सुनसरीको चत्तराधाम, धनुषाको धनुषाधाम र नवलपरासीको त्रिवेणीधामजस्ता महत्वपूर्ण स्थलहरूको रामायणकालीन भएको र यी धामहरूलाई पर्यटन प्रवद्र्धनको दृष्टिकोणले करिडोरको रूपमा विकास  गर्नु परम आवश्यक छ ।

४. मकर मेला

माघ १ गतेदेखि मसान्तको अन्तिमसम्म प्रत्येक आइतबार लाग्ने मकर मेला भर्न नेपालसहित सिमावर्ती भारतका विभिन्न स्थानबाट हजारौं श्रद्धालु भक्तजनहरू यहाँ  आउँछन् । पाँच मकर स्नान गरेर धनुष भगवानको दर्शन गरेपछि १०० रामेश्वरमको दर्शन बराबर हुने धार्मिक विश्वास रहीआएको  छ । लामा वर्षभरी गरिएको आकलभाकल माघभरि चढाउने गरिन्छ । धनुष मन्दिरमा भाँटाको भार चढाइने गरिन्छ । बाँसको झिक्रामा रोपिएका दुइवटा भाँटाको भारलाई दर्शनार्थीहरू चढाउने गर्दछन् । मेलामा त्यस्ता भारहरू प्रशस्त बिक्री भैरहेका हुन्छन् । यो चढाउँदा मनोकामना पूरा हुनुको साथै जीउमा रहेको चर्म रोग निको हुने विश्वास गरिन्छ ।

महिलाहरूको बृहद् उपस्थिति हुने यस मेलामा पहाडबाट सुन्तला, तेजपत्ता, कुकुर, खुकुरी, कम्बल, जडिबुटी आदि ल्याएर बेचिन्छन् भने मधेसबाट लगिएका लत्ता–कपडा, भाँडाकुडा, जुत्ता–चप्पल, नून, फलामका घरायसी सामग्री, केसौर (फलविशेष) पहाडी समुदायको लागि आकर्षणको विषय बन्दछ । नजिकका गाउँहरूमा बिहे भएकी छोरी, बहिनी, दिदीसँग भेट्न घरकी महिला मेलामा अवश्य जाने गर्दछिन् । भेटेपछि सँगै लगिएको पुरी–तरकारी, चूडा–दही खुवाई, हालचाल सोध्ने र जाने बेलामा जेरी किनेर सन्देश दिने प्रचलन रहेको छ । युवाहरू माइतीमा रहेकी आफ्नी श्रीमती, सालीहरूसँग भेट्ने सुअवसरको रूपमा पनि यसको प्रयोग गर्दछन् । त्यहाँ पनि पान, सुपारी, बिँडी–सिगरेटदेखि लिएर जेरी–मिठाइसम्मको सन्देशको आदान–प्रदान हुन्छ ।

मसाला (तेजपात) एक महिनाकै लागि मेलाभरी आकर्षणको केन्द्र मानिन्छ । मकर मेला हेर्न उद्देश्यले आएपनि घर जाँदा आउँदा घरमा खर्चिन सालभरिको लागि तेजपात किनेर ल्याइने गरिन्छ, जो  यस मेलाको अर्को रोचक पक्ष हो  ।

यसैगरी, होलीको दुई साता अघिदेखि सुरु हुने मिथिला मध्यमा परिक्रमाको अवसरमा नेपाल(भारत गरि १ सय २० किमि भू–भागको साधुसन्तलगायत श्रद्धालु भक्तजनले यहाँ पैदल यात्रा गर्ने गर्दछन्, जस्को आफ्नै विशिष्ट महत्त्व रहेको छ । धनुषाधाममा  विवाहपन्चमीमा पनि ठूलो मेला लाग्ने गर्दछ ।

शहीद द्वार

सम्बन्धित समाचार