बिहिबार , अषोज १, २०८३

धरानदेखि ऐतिहासिक साँगुरीगढी जाने ‘श्रम संस्कृति पदमार्ग’को उद्घाटन

image

काठमाडाैं । धरानदेखि ऐतिहासिक पर्यटकीय गन्तव्य साँगुरीगढी जाने ‘श्रम संस्कृति पदमार्ग’को उद्घाटन गरिएको छ । पूर्वको रमणीय स्थलमध्ये साँगुरीगढी पनि एक हो । यहाँबाट धनकुटा, तेह्रथुम, सङ्खुवासभा लगायत पहाडी क्षेत्रका बासिन्दाहरू पहाड, मधेस आवतजावत गर्ने गन्तव्य रहेको थियो ।

नेपाल एकीकरणको क्रममा पृथ्वी नारायण शाहले लिम्बुवान क्षेत्रमा रहेको यो गढीलाई जितेर यही गढी हुँदै पूर्वमा सेना पठाउने गरेको इतिहास छ । हाल धरान वडा नं.२० मा रहेको बिपी पार्क, श्रमपार्क हुँदै पदयात्राका लागि उक्त ऐतिहासिक बाटोलाई पर्यटकीय आकर्षण बनाउन सङ्घीय सरकारले पदमार्ग निर्माण बजेट विनियोजन गरेको थियो । उक्त पदमार्गको मङ्गलवार नगर प्रमुख हर्कराज राई र उपप्रमुख अइन्द्रबिक्रम बेघाले उद्घाटन गरेका छन् ।

पुर्खाहरूले हिँडेको बाटोलाई पदमार्गको रूपमा विकास गरेर पर्यटकीय आकर्षण बनाउन चाहेको नगर प्रमुख हर्कराज राईले बताए ।

“हाम्रा पुर्खाहरूले प्रयोग गरेका सामग्रीहरूको प्रतिमा बाटो–बाटोमा बनाइने छ । यस पदमार्गले हाम्रो इतिहास बताउने छ । पुर्खाहरूको सम्झनामा समर्पित यस पदमार्गले स्वदेशी पर्यटकसँगै विदेशी पर्यटक पनि आकर्षित गर्ने छ ।” मेयर हर्कराज राईले भने ।

प्रदेश सरकार, केन्द्र सरकारसँग बजेटका लागि पहल गरेर भए पनि पदमार्गलाई साँगुरीगढीसम्म पुर्‍याइने उपप्रमुख बेघाले जानकारी दिए । उनका अनुसार धरानदेखि साँगुरीगढी करिब २ कि.मि. भए पनि हाल ५१२ मिटर बनेको छ । बजेटको निकास चाँडै भए काम यही सालमा सम्पन्न गर्ने योजना रहेको उनले जानकारी दिए ।

पदमार्ग निर्माणका लागि सङ्घीय सरकारको बजेट, सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाईबाट बजेट आएको थियो । चालु आर्थिक वर्षमा कुल ९७ लाख बजेट आएको र उक्त बजेटको ४० प्रतिशतले पदमार्ग निर्माण गरिएको हो भने ६० प्रतिशत वडा ४ मा बहुउद्देश्यीय भवन निर्माणमा लगानी गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष राम लिम्बुले जानकारी दिए ।

उनका अनुसार पदमार्गका लागि छुट्टिएको ३८ लाख ८० हजार बजेटमा २६.५ प्रतिशत कटाएर २८ लाख ५१ हजार आठ सय प्राप्त भएको थियो भने २० प्रतिशत श्रमदान भएको थियो ।

सम्बन्धित समाचार