बुधबार , बैसाख ५, २०८१

धुलिखेलदेखि नगरकोट पैदल यात्रा (भाग २):

हाँसोकै बीचमा एकजना अधबैँसे महिलाले थपिन्, “तपाईँ जस्तो यस्तो हँसिलो ह्याण्डसम् मान्छेलाई साथी बनाएर हिँड्न पाए त हिँडिन्थ्यो नि सँगै तर हाम्रो त्यस्तो भाग्य कहाँ ?”

image

मेरो प्रतीक्षाको शनिवार पनि आइपुग्यो । बिहान उठेर फ्रेस भएँ । बुढीले अलि मजाले अघाउने गरी नास्ता दिइन् । बाटोमा खानका लागि भनेर नास्ता तयार गरी प्याक पनि गरिदिइन् । म हाइकिङ ब्यागमा पानी, छाता, औषधी, फलफूल, नास्ता चकलेट, आदि आवश्यक सामानहरू बोकेर घरबाट हिँड्दै शान्तिनगर गेटसम्म पुगेँ र धुलिखेल जाने बस चढेँ । बसमा धेरै भीड थिएन । पछाडिको एउटा खाली सिटमा आनन्दले बस्ता कति बेला निदाएछु थाहा नै भएन । एकैपटक साँगा स्थित झोलुङ्गे पुल पुगेर त्यहाँ उत्रिने यात्रुहरूको हल्लाले ब्युँझिएछु । बस फेरी हिँड्यो । बनेपा पुगेर केही बेर रोकिएको बसले धुलिखेलको बाँसबारी, अठ्ठाईसकिलो स्थित अरनिको होटेल अगाडि झारिदियो ।

अब मैले यहाँबाट पैदल यात्रा सुरु गर्नुपर्थ्यो । जति नै छिटो गर्छु भन्दा पनि त्यहाँ पुग्दा बिहान करिब ११ बजिसकेको थियो । मेरो सबैभन्दा ठुलो कमजोरी नै बिहान छिटो उठ्न र तयार हुन नसक्नु हो । घाम निकै चर्केकाे थियाे । कङ्क्रिट पेभमेन्टको ठाडो उकालो सडकमा बिस्तारै उक्लन थालेँ । मलाई ढुङ्गा माटोको पदमार्गमा हिँड्न सधैँ सहज लाग्छ । तर कङ्क्रिट वा अलकत्राको सडकमा हिँड्नु पर्दा म सधैँ मानसिक रूपमा नै थाक्ने गर्छु । करिब २० मिनेट उक्ले पछि एउटा यात्रु बिसाउने आधुनिक बिसौनी (जस्ता र ट्रसको सेड) भेटियो । त्यहाँ पाँच-छ जना टिसर्ट स्पोर्ट सुजमा सजिएका युवकहरू बसेर गफिइरहेका रहेछन् ।

“म पनि बाबुहरूसँग बस्न सक्छु ?”, मैले गफ गर्ने मेसो निकालेँ ।

“भइहाल्छ नि बुबा । बरु यो चर्को घाममा कहाँसम्म हिँड्नुभएको हो कुन्नि ?” उनीहरू मध्ये एकजना अलि ठुलो युवकले सोधे ।

“यसो बाबुहरूको गाउँ ठाउँ हेर्दै, बुझ्दै नगरकोटसम्म पुगौँ भनेर हिँडेको बाबु । तर घामले पो चुनौती दियो

।“, मैले मुस्कुराउँदै भनेँ ।

अनि थपेँ, “बाबुहरू फुटबल खेलेर आएका हौ ?”

“हजुर फुटबल खेलेर फर्केका हौँ । यस्तो गर्मी छ एक्लै जान लाग्नु भएछ बुबा । हजुरको आँट त गजब नै रहेछ ।“ ती युवकले भने ।

उनीहरू बनेपा-६, बुडोल, अट्ठाइसकिलो, बाँसबारी आदि ठाउँका रहेछन् । एकछिनको भलाकुसारीपछि उनीहरूले धुलिखेललाई पृष्ठभूमिमा पारेर मेरो तस्बिर पनि खिचिदिए ।

म पुग्नुपर्ने ठाउँ टाढा थियो । त्यसैले उनीहरूसँग विदावरी भई उकालो लागेँ । अर्को २० मिनेटमा नैमिषारण्य गुरुकुल शिक्षा सदन परिसरमा पुगेँ । शनिवारका दिन विभिन्न उदार मनका व्यक्तिहरूले त्यहाँका विद्यार्थी र गुरुहरूका लागि नास्ता खानाको व्यवस्था गर्ने गर्दा रहेछन् । म पुग्दा पनि एउटा समूहले शिक्षार्थी र गुरुहरूलाई नास्ता बाँडिरहेको दृश्य देखियो । म एकछिन त्यहाँ आराम गर्दै गफिएँ र पुण्य कार्यका लागि बधाई तथा शुभकामना दिँदै उकालो लागेँ । केही माथि पुगेपछि गोसाइँथान डाँडाको शिखरबाट चण्डेश्वरी मन्दिर जाने सोह्र सय सिँढी छोडेर मध्य वन भएर दाहिने तर्फको ओरालो लाग्ने बाटो समातेँ ।

बाक्लो वन भित्रको सुनसान सडकमा एक्लै आफ्नै सुरमा हिँड्दै थिएँ । करिब आधा घण्टामा सो वनबाट बाहिर एउटा सानो चौर जस्तो ठाउँ भेटियो । त्यहाँबाट तीन तिरै निकै सुन्दर बस्तीहरू देखिए । अझै थोरै ओह्रालो झरे पछि एकजना अधबैँसे व्यक्तिले झारले ढाकेको बारीमा विषादी छर्दै गरेको देखियो ।

“म त कुनै खेतीपाती देख्दिन तर हजुरले त विषादी छरी रहनु भएको छ त ?“, मैले जिज्ञासावश सोधेँ ।

“बारीको घाँस मार्नका लागि विषादी छरेको हुँ । विषादीले घाँस मारेर खनजोत गरी बारीमा तरकारी लगाउने हो ।“ उनले जानकारी दिए ।

म छक्क परेँ । मैले खेतीपातीमा किरा नलागोस् भनेर विषादी छरेको देखेको थिएँ । तर घाँस मार्नका लागि

पनि विषादी छर्ने कुरा मेरा लागि नौलो थियो ।

“तल भन्ज्याङमा देखिने बस्ती रवीओपी हो ?” मैले सोधेँ ।

“होइन त्यो ओपी गाउँ हो । रवी चाहिँ उ त्यो परको डाँडो हो । बीचको चाहिँ चप्लेटी भन्ने ठाउँ हो । त्यो धुलिखेल र बनेपा नगरपालिको सिमाना हो“ उनले भने ।

सधैँ रवी ओपी भनेर सुनेका कारण एउटै गाउँ होला भन्ने मेरो अनुमान थियो । तर यी दुई फरक बस्तीबाट पहिले रवीओपी गाउँ विकास समितिको नाम रहेको भएता पनि अहिले ओपी बनेपा नगरपालिकामा तथा रवी धुलिखेल नगरपालिकामा पर्दा रहेछन् । उनले त्यहाँबाट देखिने रवि, टानचोक, चप्लेटी, सुमारे भन्ज्याङ, घिमिरे गाउँ आदि बस्तीबारे पनि जानकारी दिए । म उनलाई धन्यवाद दिँदै अगाडी बढेँ । ओरालो गोरेटो बाटो ओर्लिँदै गर्दा एउटा पक्की घरको बरन्डामा चार पाँच जना विभिन्न उमेर समूहका महिलाहरू बात मारेर बसी रहेका रहेछन् ।

“नमस्कार । नगरकोट जाने बाटो यही होइन त ?“ मैले बाटो बारे जिज्ञासा राखेँ।

उनीहरू मध्ये एकजनाले म उल्टो बाटो आएकाले अव सुमारे भन्ज्याङ हुँदै घिमिरे गाउँ निस्केर जानु पर्ने भन्दै भन्ज्याङ देखाइन् । मैले टानचोक भएर जान चाहेको हो भनेपछि तल बेँसीको सडकमा पुगेर सोधेपछि थाहा हुने कुरा बताइन् । उनले थपिन्, “एक्लै जान लाग्नु भएछ ? कोही साथी छैनन् ?“

म मुस्कुराएँ र थपेँ, “ठाउँ ठाउँमा हजुरहरू जस्ता यस्ता राम्रा मान्छेहरू साथी भेटिनुहुन्छ । किन एउटा दुइटा मात्र साथीमा सीमित रहूँ भनेर नि !” एकछिन हाँसो चल्यो ।

हाँसोकै बीचमा एकजना अधबैँसे महिलाले थपिन्, “तपाईँ जस्तो यस्तो हँसिलो ह्याण्डसम् मान्छेलाई साथी बनाएर हिँड्न पाए त हिँडिन्थ्यो नि सँगै तर हाम्रो त्यस्तो भाग्य कहाँ ?”

उनले त्यसो भनेपछि हाँसो अट्टहासमा परिणत भयो । महिलाहरू समूहमा रहेका बेला एक्लो दुग्लो पुरुष भेटे भने पुरुषको हुर्मत लिन बाँकी राख्दैनन् भन्ने अनुभव भएको मैले हाँस्दै बातलाई बिट मारेँ, “ल रमाइलो गराउनुभयो । हजुरहरू सबैलाई धन्यवाद है ।“

एकछिनको हिँडाइ पछि तल ओपीको बेँसीमा पक्की सडक भेटियो । बायाँ लागे शेरा हुँदै नाला पुगिने, दायाँ लागे रवी पुगिने जानकारी सहित म टानचोकका लागि ठाडो उकालो उक्लिने भएँ । सडकमा भेटिएका एकजना व्यक्तिले भने, “माथि पिपलको चौतारो भएको ठाउँमा बायाँ लाग्ने बाटो भेटिन्छ त्यता नलाग्नु होला सुमारे भन्ज्याङ तर्फ जान्छ । दायाँ तेर्पायँ तेर्पायँ उकालो लाग्नुहोला । एउटा हाइटेन्सन लाइनको पोल भेटिन्छ । त्यहाँबाट उकालो लागे पछि एउटा ठाडो सिँढी देख्नुहुन्छ त्यही सिँढी भएर माथि लागे छोटो बाटो टानचोक पुग्नुहुन्छ ।“ म उनको सुझाव पछ्याएर ठाडो सिँढी भएको ठाउँमा पुगेँ ।

अबको यात्रा ठाडो उकालो थियो । बीचमा पातलो बस्ती पनि भेटियो । बीच बीचमा सडकले परम्परागत पैदल बाटोका सिँढीहरू भत्काएका थिए । म उकालो चढ्दै थिएँ । दुई जना पैदल यात्रुहरू भेटिए । अभिवादनपछि उनीहरू नगरकोटबाट आएका हुन् कि भनेर जिज्ञासा राखेँ । उनीहरू त बिहान आठ बजे नै यतैबाट नगरकोट जान भनेर गएका रहेछन् । तर टानचोक पुगेर अव जान भ्याइँदैन भनेर फर्केको कुरा सुनाए । मैले म त नगरकोट जाँदै छु । जाने भए जाऊँ हिँड्नुस् सँगै भनेको तर उनीहरू फर्किने नै भए । म उकालो लागेँ ।

अलि माथि पुगेपछि निकै आकर्षक घरहरू सहितको बन्द रिसाेर्ट देखेपछि बाटोमा भेटिएका एकजना भाइलाई स्वाभाविक रूपमा सो रिसाेर्ट बारे जिज्ञासा राख्दा यो देशको ठुलो मान्छेको रिसाेर्ट रहेको कुरा बताए । उनले त्यसैकारण ओपीबाट यहाँसम्म सडक कालो पत्रे गर्ने तयारी भईरहेको कुरा जानकारी गराए । काठमाडौं उपत्यका र त्यसका छिमेक जिल्लाहरूमा घुम्दा मैले धेरै ठाउँमा सुनेको कुरा प्राय: त्यही हुन्थ्यो । काठमाडौं उपत्यका वरिपरिका तथा अन्य ठाउँका जङ्गलसँग जोडिएका जमिनहरू घडेरीका लागि खारिएका भेटिन्थे, पक्की सडक पुगेको हुन्थ्यो र सोध्दा नेपालका कोही न कोही ठुला राजनीतिक पदधारी मान्छेहरूको हो भन्ने सुन्ने गरिन्थ्यो । यहाँ पनि त्यही भयो । रवि, चिप्लेटी, शेरा, धुलिखेल, बनेपा आदि ठाउँहरूलाई पृष्ठभूमिमा पारेर ती भाइले मेरा तस्बिरहरू खिचिदिए । म धन्यवाद दिएर उकालो लागेँ ।

म टानचोकको चिहाने डाँडालाई लक्ष्य राखेर उकालो चढी रहेको थिएँ । अर्को आधा घण्टाको उकालोपछि एकजना बुढी आमै (पछि उमेर सोध्दा ८५ वर्ष की हुनुहुँदो रहेछ) सहित चार पाँच जना मान्छे त्यहाँको जमिनमा डुलिरहेका भेटिए । अभिवादन गरे पछि हाँस्दै जमिन लिन लाग्नु भयो क्या हो भनेर सोधेँ ? एकजना मान्छेले बुढी आमै उनीहरूको आमा तथा उनीहरू दाजु भाइ रहेको कुरा बताए । काठमाडौं कोटेश्वर बस्ने उनीहरूले गाडी नआउने ठाउँमा शान्त पूर्वक बस्नका लागि वर्षौँ पहिले जमिन लिएर छाडेको तर अहिले यहीँसम्म गाडी आएको भनेर गुनासो गर्दै थिए । आमैले यात्रा शुभ रहोस् भनेर कामना गर्नुभयो । मैले धन्यवाद टक्राउँदै तथा उहाँ साँच्चैको साहसी रहेको कुरा भन्दै उकालो लागेँ ।

१२ बजेको नेटो भर्खर काटेका घाम निकै चर्किरहेका थिए । म हिँड्ने बाटो पनि झन् ठाडो हुँदै थियो । अलि माथि पुगे पछि पाँच छ जना महिला र पुरुष मकै गोडी सकेर मकैको बोट मुनी सियाँलो पारेर नास्ता खाइरहेका थिए । मैले अभिवादन गर्दै ‘कस्तो अर्नी खाने बेलैमा आइपुगेछु’ भन्दै ठट्टा गरेँ । उनीहरूले थाक्नुभएको होला आउनुस् बस्नुस् भने पछि म पनि सँगै बसेँ । पुरुषले एकजना महिलालाई (सायद उनको पत्नी हुनुपर्छ) चिया दिन भनेँ । उनले तामाङ भाषामा केही कुरा भनिन् । मैले सायद गिलास छैन भनेकी होलिन् भन्ने अड्कल काटेर तपाईँहरू जस्तै उद्धार मना मान्छेहरू भेटिँदा चाहिन्छ भनेर मैले कप बोक्ने गरेको छु भन्दै ब्यागबाट कप निकालेँ । सबैजना हाँसे । महिलाले मेरो कपमा थर्मसबाट चिया खनाइन् । मैले पर्दैन भन्दा भन्दै पनि पुरुषले बिस्कुटको पुरिया दिए । दुई बाली आलु खेती हुने, कोदो रोप्ने चलन हराएको आदिबारे गफिँदै चिया र बिस्कुट खाएपछि मैले उनीहरूलाई धन्यवाद टक्राएर उकालो लाग्दै गर्दा उनीहरूले चिहान डाँडा देखाउँदै टानचोक धेरै टाढा नरहेको कुरा बताए ।

म चिहान डाँडा पुगेर एकछिन सुस्ताएँ । आँप निकालेर खाने सुरसार गर्दै थिएँ बुढीको कल आयो । हजुरले त नास्ता राखेको डिब्बा छाडेर जानुभएछ नि, उनले खबर गरिन् । ब्याग खाेलेर हेरेँ । हो त नि डिब्बा ता राखेकै रहेनछु । अगाडिसम्म भोक नलागेको एकैचोटी भोग लागेर आयो । कस्सो बिस्कुट र चिया खाइएछ भन्ने लाग्यो । एकछिन सुस्ताउँदै आँप खाएपछि तेर्सो र ओरालो बाटो हुँदै टानचोक तिर लागेँ । टानचोक पुग्ने बेला एकजना महिला पनि घाँसमा विषादी छर्दै थिइन् । यसपटक किन छर्नुभएको भनेर सोध्नु परेन । टानचोकमा एउटा सानो टि हाउस रहेछ । त्यहीँ एउटा फलामे भ्यु टावर पनि बनाइएको रहेछ । एकछिन टानचोकको भ्यु टावरमा उक्लेर चारै तिरका बस्तीहरू ओपी, शेराबजार, नाला गुम्बा, टुकुचा, साँगा, धुलिखेल, नागीडाँडा, बासुकी, बनेपा, पनौती, बेथानचोक, धुलिखेल, काभ्रेभञ्ज्याङ पलाञ्चोक भगवती, पाँचखाल क्षेत्र, रवी, चप्लेटी, कुन्ता, मन्डनदेउपुर क्षेत्र, काशीभञ्ज्याङ, काँक्रे, चारघरे, देवीटार, अनाइकोट भ्यु टावर, बासुकीनाग मन्दिर, हिलेजलजले, चुनाताल, नगरकोट, घिमेरेगाउँ, माझगाउँ, बाताल आदि अवलोकन गरेँ ।

त्यहाँ माथि बसेर केही युवाहरू रमाइलो गरिरहेका थिए । कुरा सुन्दा जमिन किनबेचमा एजेन्टको काम गर्ने जस्तो लाग्यो । तिनीहरूमध्ये एकजना युवाले त्यहाँबाट नगरकोट जाने बाटो बारेमा राम्रो जानकारी दिए । उनले टानचोकबाट ओरालो लागेपछि धेरैजसो बाटो जङ्गल भएर जाने तथा काशीभञ्ज्याङ र रोहिणीभञ्ज्याङका साना बस्ती बाहेक अन्त घर नभेटिने कुरा पनि बताए । अब बल्ल मैले अघि दुई युवाहरू किन फर्केका रहेछन् भन्ने कारण अनुमान गरेँ । तर मलाई मेरो प्रकृति अनुसार पछि फर्कने सुविधा थिएन । त्यसैले भोक लागी हालेमा खान हुन्छ भनेर एउटा चाउचाउ र पानी किनेर काशीभञ्ज्याङ तिर ओह्रालो लागेँ । ती युवकले काशीभञ्ज्याङबाट बासुकीनाग जाँदा घना जङ्गलको बाटो भएर गएमा ठाडो उकालो भएतापनि छिटो हुने भनेको कुरा मेरो दिमागले गाँठो पारेको थियो । ओर्लने क्रममा युलेन्स अन्तर्गतका नाला आउटडुअर लर्निङ सेन्टरका सुन्दर भवनहरू तथा भिमसेनथान मन्दिर भेटिए । टानचोकबाट हिँडेको करिब आधा घण्टामा काशीभञ्ज्याङको मैदानमा केटाहरू फुटबल खेल्दै गरेको भेटिए । बिहान देखि निकै चर्को घाम भएकाले होला टानचोकबाट बदली हुन थालेको थियो ।

काँशीभञ्ज्याङ पुग्दा त पानी बर्सिन थाल्यो । पानी बन्द हुने आसमा त्यहीँ रहेको सेडमा ती केटाहरूसँग गफिँदै बसेँ । करिब आधा घण्टामा अलि कम भएको महसुस भएपछि छाता ओढ्दै अगाडि बढेँ । तर भन्ज्याङ कट्न नपाउँदै फेरी पानी दर्किन थाल्यो । नजिकैको घरमा ओत लागेँ । पानी कम भएपछि फेरी उकालो लागेँ । सडक बनाउँदा भत्किएकाले सिँढी भेट्टाउन बडो मुस्किल पर्‍यो । बल्ल बल्ल उकालो उक्लेपछि माथि जाँदै गर्दा निकै ठुलो पानी पर्न थाल्यो । छाताले धान्न सक्ने अवस्था थिएन ।

वर्षाको पानी भनेपछि सधैँ तर्सिने म सँग अव त्यसलाई सामना गर्ने बाहेक अरू उपाय थिएन । हुस्सुले बाटो ढाकेको थियो, पानी दर्की रहेको थियो, बाक्लो बीच जङ्गलमा म एक्लै उकालो उक्ली रहेको थिएँ । करिब आधा घण्टा उकालो उक्लेपछि एक ठाउँमा बाटो हरायो । सानो धर्सो देखिन्थ्यो तर झारपात र बिरुवाहरूले ढाकेको थियो । यही त होला भन्दै चार हात खुट्टाले टेक्दै करिब १५ मिनेट हिँडेपछि बल्ल भत्केका सिँढी देखिए । लामो सास फेरेँ । पानी परिरहेको थियो, बिसाउने अवस्था थिएन । ठाडो उकालो उक्लिरहेँ । काशीभञ्ज्याङबाट उकालो लागेको करिब सवा घण्टामा बल्ल बासुकीनागको डाँडो र सेड देखिए । संसारै जितेको अनुभूति भयो । लुगा भिज्न अब कुनै बाँकी थिएनन् ।

एकछिन बासुकीनागको सेडमा बसेँ । पानी खाएँ । बाँकी रहेको एउटा आँप र दुई चार पिस बिस्कुट खाएँ । एक कप तातो पानी पिएँ । बासुकीनागलाई एक फन्को लगाएर अगाडि बढेँ । करिब पन्ध्र मिनेटमा तीन वटा बाटा भेटिए । दाहिने तिर (पूर्व) नजानु भनिएको थियो। पहिलो देब्रे तिर (पश्चिम) को बाटो जाँदा फर्केर काशीभञ्ज्याङतिर नै गइन्छ जस्तो लाग्यो । तेस्रो देब्रे तिर जाने बाटो लागेँ । निकै बेर हिँडे पछि दुइटा मोटरसाइकल भेटिए । दोस्रो मोटरसाइकल वाला युवकलाई रोकेर सोध्दा पो थाहा भयो म त गलत बाटो समातेर उत्तर तिर आएको रहेछु । जानु पर्ने पहिलो देब्रे बाटो नै रहेछ । कहिलेकाहीँ बढी दिमाग चलाउँदा दुख पाइन्छ भन्थे हो रहेछ जस्तो लाग्यो । ती उदार युवकले मलाई त्यहाँसम्म छाडिदिने प्रस्ताव गरे । मलाई त्यो भन्दा राम्रो प्रस्ताव अर्को हुन सक्दैनथ्यो । उनको मोटरसाइकलमा चढेँ । बाटोमा ठाउँ ठाउँमा चिप्लो भएकाले ओर्लँदै चढ्दै गर्दै उनले रोहिणी भन्ज्याङ पुराइदिए । उनले त नगरकोटसम्म नै पुराइदिने प्रस्ताव गरेका थिए तर मैले धन्यवाद दिँदै त्यहीँ ओर्लेँ ।

अव पानी पर्न पनि बन्द भएको थियो । म त्यहीँ तलको हिले जलजले पुगी फर्केर आइ रोहिणी भन्ज्याङबाट हल्का उकालो उक्लँदै नगरकोट टावर निर पुगेँ । टावर माथि चढ्ने जाँगर थिएन । त्यहाँबाट करिब तीन किलोमिटर हिँडेर भट्टे डाँडामा रहेको बसपार्क पुगेँ । बसपार्क पुग्दा साढे चार बजेको थियो । नगरकोटबाट कमलबिनायक जाने पाँच बजेको अन्तिम बस लागेको रहेछ । त्यस बसबाट कमलबिनायक अनि कमलबिनायकबाट शान्तिनगर गेट ओर्लिएर साँझ करिब सात बजे घर पुगेँ ।

धुलिखेलबाट गोसाइँथान – ओपी – टानचोक – नगरकोटसम्मको करिब २० किलोमिटर लामो बाटो पार गर्न मलाई करिब छ घण्टा लाग्यो । त्यो छ घण्टामा मैले धेरै खाले अनुभव गर्न पाएँ । सबैभन्दा महत्त्वपूर्ण पाटो चाहिँ धेरै मान्छेहरूसँग भलाकुसारी गर्ने, तिनीहरूलाई पढ्ने र तिनीहरूबाट सिक्ने मौका पाएँ । निकै सुनेका तर तिनको वास्तविक अवस्थिति बारे अनभिज्ञ मैले त्यो क्षेत्रका धेरै ठाउँहरूसँग परिचित हुने मौका पाएँ ।

यो यात्राले मलाई टुकुचाबाट लामिछाने गाउँ हुँदै तथा नालाबाट घिमिरे गाउँ हुँदै नगरकोट पुग्न पनि घच्घचायो । फलस्वरूप त्यस पछिका दुई शनिवार क्रमशः मैले ती दुई बाटाहरू नाप्दै नगरकोट पुगेर नयाँ अनुभवहरू सँगाल्ने मौका पाएँ ।

सम्बन्धित समाचार