शुक्रबार , मंग्सिर २३, २०७९

मैथिली समाजका लोक नायक: ‘दीना-भद्री’

image

आर्य सभ्यताको प्रभाव बढ्दै गइरहेको प्रारम्भिक कालमा दीनाभद्री दुई दाजुभाई थिए । अहिलेको सप्तरीमा पर्ने कटैया खापमा यिनीहरूको मूल केन्द्र थियो । दिना–भद्री मैथिली समाजका लोक नायकका रूपमा पुजिन्छन् । नेपालमा जन्मिएको भए पनि भारतको मैथिल र मुसहर बस्तीमा समेत दीनाभद्रीको गाथा गाइने भएकाले अझ यो अर्थपूर्ण छ ।

सप्तरी जिल्लाको जोगिया जाँजर गाउँमा कालु सदा र आमा नीरसोको कोखबाट दुई पुत्र दीना र भद्री जन्मिएका थिए । बाल्यकालदेखि नै दुवै दाजु–भाइ वीर एवम् साहसी थिए । कुस्ती खेल्नमा सिपालु रहनुका साथै सामाजिक न्यायका सच्चा पहरेदारको रूपमा प्रस्तुत भएका कारण उनीहरूको वीरताको चर्चा त्यतिबेला जन–जनमा चलेको थियो । उनीहरूको मुख्य पेसा भनेको खेती किसानी नै थियो ।लोकगाथामा उल्लेख भएअनुसार दाजु दीना र भाइ भद्रीले पाँच मनको कोदालो चलाउने गर्दथे । दुवै दाजु भाइ सामन्ती प्रथाका कट्टर विरोधी थिए । गिरहत (मालिक)को ‘जी हजुरी’ नगरी स्वतन्त्र रूपमा मजदुरी गर्नका लागि मुसहर समुदायलाई प्रेरित गर्ने गर्दथे । मजदुरमाथि दमन शोषण गर्ने वा काम गराएर ज्याला नदिने विरुद्ध उनीहरू जाइ लाग्ने गर्दथे ।

जोगिया जाँजरका सामन्त कनक सिंहले उपेक्षित, उत्पीडित एवम् निम्न वर्गका व्यक्तिहरूलाई जबरजस्ती काममा लगाएर मजदुरी समेत दिँदैनथे । एक दिन बिहानै कनकसिंह दीना–भद्रीको आँगनमा गएर खेतमा काम गर्नका लागि आउन भने । सिङ्गो गाउँ नै आफ्नो खेतमा बेगारी (बिना मजदुरी) खटिरहेको बताएपछि उनीहरूले सामन्त कनकसिंहलाई कठालो समातेर बेस्सरी कुटेको लोकगाथामा प्रसङ्ग उल्लेख छ । उनीहरूको वीरताको सम्बन्धमा अर्को प्रसङ्ग के छ भने सप्तरीको भारतीय सीमावर्ती क्षेत्र कुनौलीमा जोरावर सिंह नाउँका एकजना राजपूतले त्यस क्षेत्रका मानिसलाई शोषण, दमन, अत्याचारका साथै नारी अस्मितामाथि समेत खेल्ने गर्दथे । उनले कुनौली क्षेत्र पूर्व, पश्चिम, दक्षिण वा उत्तरतिरबाट पहिलो पटक ससुराली जाने नव विवाहितालाई एक रातको लागि जर्वजस्ती पक्रेर ल्याउँथे ।

यसप्रकारको अत्याचारबाट मुक्ति दिलाउनका लागि दीना र भद्री दुलहीको डोलामा आफै बसी कुनौली पुगेका थिए । उक्त डोला जोराबर सिंहको घर पुर्‍याइन्छ । तत्पश्चात् जोरावर सिंहसँग पहलमानी (कुस्ती) लडेर मारेको कुरा लोकगाथामा उल्लेख भएको पाइन्छ । यसरी एउटा अत्याचारीको अन्त्य गरेर दीना–भद्रीले त्यस क्षेत्रका जनतालाई चयनको सास फेर्ने मौका दिए । शोषण, दमन, अन्याय अत्याचार विरुद्ध चालेका साहसिक कदम तथा क्रियाकलापहरूका कारण आज पनि दीना–भद्री मधेसमा देवताको रूपमा पूजित छन् । सप्तरी सिराहालगायतका तराईंका जिल्लाहरूमा देवी देवताको पूजा गर्ने बेलामा दीना–भद्रीको पूजाको अनिवार्यता हुन्छ ।

माघ १ गते धनुषाधाममा मुसहर समुदायका अगुआहरुले आफ्ना अराध्यदेव दीनाभद्रीको सम्मानमा अन्तर्राष्ट्रिय भुँइयाँ दिवस समेत मनाउने गर्दछन् । लोकसाहित्यका अनुसन्धाता सर जी. ए. ग्रियर्सनले सन् १८८१ मा ‘मैथिली क्रेस्टोमेथी’ मा सर्वप्रथम दीना–भद्रीका केही गीतहरू सङ्कलन गरेपश्चात् यसबारेमा अध्ययन, अनुसन्धान प्रारम्भ भएको राम भरोस कापडि भ्रमरले उल्लेख गरेका छन् (सामन्तवादका प्रमुख प्रतिरोधीः दीना–भद्री)। विंसं. २०३५ सालमा साझा प्रकाशनबाट दीना भद्री र सलहेस नामक ऋषभ देव शर्मा रेग्मीद्वारा लिखित उपन्यास समेत प्राप्त हुने उनले खुलाएका छन् ।

विगतमा सलहेस र दीनाभद्रीलाई राष्ट्रिय विभुति बनाइनु पर्ने माग गर्दै भोर तथा मिथिला पर्यटन अभियानले हस्ताक्षर संकलन अभियान समेत सुरु गरिएको थियो ।

मुसहर जातिले आफूलाई शबरीको वंशज मान्ने गर्दछन् ।

सम्बन्धित समाचार