आइतबार , अषोज २५, २०८३

दियोको अस्तित्व चपाउँदै विद्युतीय बत्ती

image

‘ए झिलिमिली झिलिमिली
के को झिलिमिली ?
फूलको झिलिमिली
फूलको होइन, बत्तीको झिलिमिली’

तिहारमा भट्याइने यो देउसे गीतले तिहारमा देखिने फूल र बत्तीले उज्यालिएको वातावरणको व्याख्या गर्छ । प्राचीन कालमा फूलले बारी उज्यालिएका हुन्थे भने दियोले घरहरू उज्यालिन्थे, जसले मानिसको हृदय पनि झिलिमिली बनाउँथ्यो । अहिले त विद्युतीय बत्तीहरूले दियोको अस्तित्वलाई खर्लप्पै निल्न लागिसकेको छ । आयातित झिलिमिलीले घरहरू उज्यालिएका त छन् तर सँगै संस्कृति भने अँध्यारिँदै  गएको भान हुन्छ ।

धैर्य र कलाको संगम दियो 

हेर्दा सामान्य देखिए पनि दियो बनाउन धैर्य र कलाको आवश्यक पर्छ, त्यो भन्दा पनि बढी माटोसँगको प्रेमको खाँचो हुन्छ । विधिवत् एउटा प्रक्रिया पुर्‍याएपछि बल्ल एउटा दियो तयार हुन्छ । बलिरहेको दियोमा कालिगडको पसिना र माटोको सौन्दर्य पनि झिलमिलाइरहेको हुन्छ ।

यसरी माटो रूपान्तरित हुन्छ दियोमा

दियोको लागि विशेष किसिमको माटोको आवश्यक पर्दछ, जुन कालो रङ्गको हुन्छ । वर्षौँ दियो बनाएका पोख्त हातहरूले छोएरै त्यो विशेष माटोको पहिचान गर्न सक्छन् । हेर्दा उस्तै देखिएपनि जुनसुकै माटोले दियो बनाउन सकिँदैन । धर्तीको गर्भ चिरेर निकालिएको कालो रङ्गको माटो दियो बनाउन प्रयोग गरिन्छ, जुन छाम्दा धेरै खस्रो हुनुहुँदैन, हेर्दा धेरै कालो पनि हुनुहुँदैन । साधारण आँखाले हेरेर या छामेर त्यो विशेष माटोको पहिचान गर्न गाह्रै पर्छ ।

माटो भित्र्याइसकेपछि त्यसलाई नरम बनाउन केही समय/केही दिन भिजाउनु पर्छ । भिजेको माटोलाई छामेर त्यसको नरमपन दियो बनाउन उपयुक्त छ छैन भनेर जाँचिन्छ । त्यसपछि उक्त माटोलाई खुट्टाले मजाले मुछिन्छ, अहिले यो काम भने मेसिनले लिने गरेको छ । यद्यपि अधिकांश ग्रामीण भेगमा भने खुट्टा नै माटो मिच्ने मेसिन बन्ने गरेको छ।

मुछिएको माटोमा गिर्खा-गिर्खी छ/छैन भनेर प्रक्रिया पुर्‍याएर विचार गर्नुपर्छ । ओल्टाई-पल्टाई हातले माटो मुछ्दै त्यसमा भएका साना-साना अवरोधहरूलाई निकाल्नुपर्छ ।

त्यसपछि मुछिएको माटो चढ्छ- कुम्हालको चर्खामा । कलात्मक हातहरूले चर्खा घुमाउँदै, आवश्यकता अनुसार पानी दल्दै माटोलाई एउटा आकार दिन्छन् र पाउँछ माटोले दियोको स्वरूप । काँचो दियो तयार भएपछि त्यसलाई घाम हेरेर १/२ दिन सुकाइन्छ । सुकेको दियोमा रातो माटोको रङ्ग लगाएर पुनः घाममा सुकाइन्छ ।

रङ्ग लागेर सुकेका दियो करिब १२ घण्टा भट्टीमा पोल्ने काम हुन्छ । पहिला-पहिला भुस, पराल, छ्वाली आदिको आगोमा पोलिन्थ्यो भने अहिले काठ प्रयोग गर्ने गरिन्छ । अहिले मेसिनमा काठका दाउराको आगोमा दियोहरू सकिन्छन् । यसरी विशेष माटो कुम्हालको कलात्मक हातमा परेर दियो बन्छ र उज्यालो हुन्छ घर-आँगन । भित्रिन्छन् लक्ष्मी र झिलिमिली हुन्छ तिहार ।

उपत्यकाका विभिन्न ठाउँमा माटोका भाँडाहरू बनाउने गरिन्छ, जसमा भक्तपुर विशेष रहेको छ । भक्तपुर दरबार स्क्वाएर नजिकै रहेको प्रजापति टोलमा सामूहिक रूपमा यस प्रकारको भाँडाहरू बनाउने गरिन्छ । उक्त पोटरी स्क्वाएर, बोलाछें-१२ मा माटोले बनेका भाँडाहरू घाममा सुकाइरहेको आवस्थामा, पोलिरहेको या काँचो माटोले भाँडा बनिरहेको देख्न सकिन्छ । म सो ठाउँ पुगेर यसबारेमा जानकारी लिन खोज्दा उल्लेखनीय मात्रामा पर्यटकहरूले सो ठाउँ भ्रमण गर्ने गरेको पनि मैले पाएँ । पर्यटकीय आकर्षणको बिन्दु समेत रहेको सो ठाउँ र पेसालाई सम्बन्धित निकायले ध्यान नदिएकोमा पोटरी व्यवसाय सम्हालिरहेका व्यापारीहरू चिन्तित छन् ।


सोही पेरिफेरीमा रहेर हिमाल दर्पणले गरेको कुराकानी यस प्रकार छ;

सर्जन प्रजापति : सर्जनले विगत १० वर्षदेखि आफ्नो पुर्ख्यौली पेसा सम्हाल्दै आएका छन् । पोटरी स्क्वाएरमा उनको पसल समेत रहेको छ, जसमा प्राय: उनलाई भेट्न सकिन्छ । माटोलाई दियोसँगै अन्य विभिन्न कलात्मक आकार दिने उनी आदर्शमाथि खापी भन्ने ठाउँबाट तथा हरिसिद्धिबाट माटो ल्याउने गर्छन् । अहिले आएका विद्युतीय झिलिमिली बत्तिले दियो संस्कृतिलाई सक्दै लागिरहेकोमा उनी चिन्तित छन् । यद्यपि माटोको दियो शुद्ध हुने हुनाले, लैजाने मान्छेहरूले अझै दियो लगिरहेको उनले देखेका छन् ।

उनी भन्छन् “एक हिसाबले हेर्ने हो भने कुम्हाल जातिको पेसालाई अप्ठ्यारो पार्ने काम झिलिमिली बत्तिले गरेको छ तर, उनीहरू पनि व्यापार गर्न बसेका हुन् भन्ने हिसाबले सोच्दा त्यस्तो लाग्दैन ।” भर्खरका युवा सर्जन पहिलाको दाँजोमा अहिले व्यापार कम भएको बताउँछन् । उनले उत्पादन गरेका माटोका भाँडाहरू उपत्यकाबाहिर पनि जाने गर्छ । व्यापार कुरा गर्दा उनी केही भन्न नसकिने, कहिले राम्रै व्यापार हुने कहिले हुँदै नहुने सुनाउँछन् ।

तुलसीराम प्रजापति : तुलसीरामलाई यो पेसा कहिलेदेखि अँगाले भन्ने स्मरण नै छैन । बाजे-बराजुको पालादेखि माटोसँग खेलेका उनी आफ्नो कारखानामा माटो मुछ्दै या केही बनाइरहेको देख्न सकिन्छ । पहिला-पहिला सिपाडोलमा या भक्तपुरमै माटो सहज रूपमा पाइने गरेको उनी सम्झिन्छन् । अहिले पैसा तिरेर माटो ल्याउनुपर्छ, कतिपटक पैसा तिरेर किन्छु भन्दा पनि पाइँदैन ।

एक मध्यम खालको गाडीमा माटो ल्याएको १५,००० सम्म तिर्नुपर्ने हुन्छ । तुलसीराम दुई वर्ष अघिसम्म हरिसिद्धिबाट माटो ल्याउँथे भने अहिले साँखुबाट या पायक पर्ने ठाउँबाट ल्याउने गर्छन् । १५ वर्षको उमेरदेखि बुवाको कला सिकेका उनी आफ्नो पेसासँग सन्तुष्ट छन् । माटोका भाँडा बेचेर जेहेनतेहेन घर चल्ने गरेको उनी सुनाउँछन् । उनका अनुसार सधैँ उस्तै व्यापार हुने गर्छ, तिहार भन्दैमा त्यस्तो भयङ्कर व्यापार हुँदैन ।

भट्टीमा पोलिने क्रममा रहेका दियोहरू

अहिले आएको विद्युतीय झिलिमिली बत्तिले दियोको परम्परा र कुम्हाल पेसालाई धराशायी बनाउँदै लागेको उनी भन्छन्, ‘नक्कली आएपछि सक्कली हराउने नै भयो ।’ जमाना नक्कलीतिर आकर्षित भएकोमा उनी दुःख व्यक्त गर्छन् । लामो सुस्केरा हाल्दै उनी भन्छन्, “यो कुरामा दु:खी मन गरेर पनि के नै गर्न सकिन्छ र ? हामीले रोक्न सकिँदैन, सरकारले त केही गर्न सकेको छैन हामीले के नै पो गर्न सकिन्छ ?”

पोहोरको भन्दा यसपालि आधा व्यापार मात्र हुने अनुमान उनले लगाएका छन् । पाला (दियो) खोज्दै मान्छे आएकै छैनन् । २/४ वर्षअघि दियो लिन आउने मान्छेहरू लाइन लागेर बस्ने गर्थे । घटेको व्यापार सम्बन्धमा उनी भन्छन्, “उनीहरूले पनि व्यापार गर्ने उद्देश्यले लिन आउने हुन् । उनीहरूको व्यापार नै छैन, त्यसैले लिन नआएका होलान् ।”

देशकै गहनारूपी यस पेसालाई संरक्षण गर्न नसके एउटा सांस्कृतिक पक्ष नै हराउँदै जानेछ, जुन पर्यटनको आकर्षणको बिन्दु समेत रहेको छ ।

धनप्रसाद प्रजापति : कुमाले नाइके धनप्रसाद प्रजापति पनि माटो सहज रूपमा नपाएकोमा दु:खी छन् । “शहरमा घर धेरै उभ्भिए, राम्रा माटो घरको जगमुनि थुनामा परेका छन्”, उनी भन्छन् । पुर्ख्यौली पेसामा लागेका उनी आफ्नो छोरालाई समेत यो काम सिकाइरहेका देखिन्छन् । विद्युतीय बत्तीका कारण व्यापार निकै घटेको उनी बताउँछन् । सरकारले विद्युतीय बत्तीबाट कर पाउने हुनाले मासिँदै गएको संस्कृतिप्रति ध्यान नदिएको उनको आरोप छ ।

३५ वर्षदेखि यो पेसामा लागेका उनी सिजनको बेलामा एकजना व्यापारीले ५०/६० हजारसम्म व्यापार गर्ने गरेको बताउँछन् । तर अहिले समय उस्तै छैन, माटो सजिलै पाइँदैन, यस पेसालाई प्रवर्द्धन गर्ने या संरक्षण गर्नेमा सम्बन्धित निकायले ध्यान दिएका छैनन् ।

अवसरवादी छन् पत्रकार !

पत्रकारहरू प्रजापति टोलमा तिहारको बेला मात्र क्यामेरा बोकेर जाने गरेका छन् । दियोको फोटो खिच्ने, काम गरिरहेका कुम्हाललाई व्यापारसँग सम्बन्धित कुरा मात्र सोध्ने गर्छन् । उनीहरूका समस्याबारे कहिल्यै कुरा गर्दैनन् । कुराकानीकै क्रममा तुलसीरामले भने, “अरूबेला आओ न हाम्रो दुःखका कुराहरू पनि लेखिदेओ भन्दा कोही पनि आउँदैनन् । तर तिहार लाग्नासाथ हुलका हुल बाँधेर, क्यामेरा बोकेर दियोका फोटो खिच्न आइपुग्छन् ।”

त्यसैगरि धनप्रसादले पत्रकारहरूले मनगढन्ते रूपमा ‘दियोको करोडौँको व्यापार’ भन्ने जस्ता समाचार सम्प्रेषण गर्ने गरेको बताए, जसमा कुनै सत्यता हुँदैन । पत्रकारबाट दु:खी भएका उनी भन्छन्, “उनीहरू दियोका फोटो खिच्छन् र ‘भ्याई नभ्याई छ’ भनी लेखिदिन्छन् । यहाँको के समस्या छ, त्यो बुझ्ने या सुन्ने प्रयास गर्दैनन् ।”

व्यापारीहरूका अनुसार पत्रकारहरू तिहार बाहेक अन्य समयमा आउँदै आउँदैनन् । उनीहरूका समस्याहरू लेखिदिँदैनन्, उनीहरूको आवाज बनिदिँदैनन् । म त्यहाँ केही व्यापारीहरूसँग उनीहरूको समस्या सुन्ने क्रममा कति व्यापारीहरूले बोल्ने जाँगर नै चलाएनन् । कतिले क्यामेरा बोकेर आएका पत्रकारलाई रित्तै फर्काइदिए ।

दिपावली पर्व

मुख्यतया: नेपाल तथा भारतमा हिन्दु धर्मावलम्वीहरूले पूजाआजाको समय तथा शुभ साइतका लागि दियो बाल्ने गर्छन् । उज्यालोको प्रतिक दियो बालेपछि घरमा सुख, शान्ति र समृद्धि छाउँछ बन्ने पौराणिक मान्यता रहेको छ । तिहारलाई दिपावली पर्व पनि भनिन्छ । दिप र आवली दुई शब्द मिलेर बनेको दिपावलीमा ‘दीप’को अर्थ बत्ती र ‘आवली’को अर्थ पंक्तिबद्ध रहेको छ ।

दीपावलीसँग सम्बन्धित धेरै पौराणिक कथाहरू सुन या पढ्न सकिन्छ । यस्तै एक कथन अनुसार तेत्रायुगमा भगवान् श्रीराम, लक्ष्मण तथा सिताले चौध वर्ष वनवास पुरा गरेर घर फर्किए । सो समय कार्तिक महिनाको कृष्ण पक्षको औँसी थियो । उक्त अँध्यारो रातमा घर फर्किएका राम, लक्ष्मण र सिताका स्वागतार्थ अयोध्यावासीले प्रत्येक पाइलमा पङ्क्तिबद्ध रूपमा दियो जलाएका थिए । त्यही बेलादेखि दियो बाल्ने प्रचलन सुरु भएको मानिन्छ ।

अर्को कथनअनुसार,  राजा हिमाका छोरा विवाहपश्चात् मर्ने भविष्यवाणी गरिएको थियो ।  जब समय आयो, उनको श्रीमतीले आफ्ना सबै गर्गहना घरको प्रवेशद्वारमा राखी सबै ठाउँमा बत्ति बालिन् । जय यमराज हिमाको छोरालाई लिन आइपुगे, उनी दियोको उज्यालोले दिग्भ्रमित भए र फर्किए ।

साथै, यस रातमा दियो बालि घरलाई उज्यालो बनाउँदा माता लक्ष्मी प्रशन्न हुने समेत मान्यता रहेको छ । वैज्ञानिक हिसाबले हेर्दा अँध्यारो रातमा दियो बाल्नाले बटुवाहरूलाई बाटो ठम्याउन सजिलो हुने गर्थ्यो, त्यसैले घर-आँगनमा दियो बाल्ने गरिन्थ्यो । तिहारको समयमा जोगीहरू फेरी लगाउन समेत आउने गर्दछन्, उनीहरूलाई यसक्रममा दियोले उज्यालिएको घरगाउँले राति बाटो देखाउने काम गर्दछ ।

दीपोत्सव अर्थात दिपावलीले  ‘तमसो मा ज्योतिर्गमय’ अर्थात अँध्यारोबाट उज्यालोतर्फ जानु भन्ने उपनिषदको आज्ञालाई बल दिन्छ ।  स्कन्द पुराणमा सूर्यको हिस्साको प्रतिनिधि पात्रको रुपमा दियोलाई परिभाषित गरेको समेत भेटिन्छ । अँध्यारोलाई असत्य र उज्यालोलाई सत्यको प्रतिक मानिने हिन्दू सांस्कृतिक विश्वासले  माता लक्ष्मी र भगवान गणेशलाई खुसी बनाउन समेत दियो बालेको बताउँदछ । आज पनि नेपालको ग्रामिण भेगमा रातिको समयमा बत्ति बाल्ने एवं अगेनोको खरानीमुनि आगो जोगाइराख्ने  चलन छ ।

यसरी बाल्ने गरिन्छ दियो

सबैभन्दा पहिले माता लक्ष्मी तथा भगवान् गणेशको तस्बिर वा मूर्तिको अगाडि दियो बालिन्छ ।  र, घरको कुल देवता, इष्ट देवता तथा गङ्गा माताको नाममा दियो जलाइन्छ । यी दियोलाई घरको मन्दिर वा आसपासको कुनै मन्दिरमा राख्नुपर्छ । त्यसपछि घरको मूल ढोका, अन्य झ्याल ढोका, बार्दली हुँदै घरको छतमा दियो जलाइन्छ । पिपलको बोटमा दियो जलाउनु पनि शुभ मानिन्छ ।

तिहार कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटिकासम्म (पाँच दिन) मनाइन्छ। पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक भनिन्छ ।

Tags:

सम्बन्धित समाचार