बुधबार , साउन ९, २०८१

वैकुण्ठमा घाटु नाच मेला भव्यताका साथ सम्पन्न (तस्बिरहरू)

image

धादिङ । मकवानपुरको कैलाश गाउँपालिका–२, वैकुण्ठमा घाटु नाच मेला भव्यताका साथ सम्पन्न भएको छ । वैशाख २३ र २४ गते दुई दिन मेला लागेको हो । मेलामा लोपोन्मुख घाटु नाचको अवलोकन गर्नेहरूको भीड लागेको छ ।

पछिल्लो समय आन्तरिक पर्यटकको हब बन्दै गएको वैकुण्ठ गाउँमा प्रत्येक वर्ष वैशाख पूर्णिमामा सती घाटु नाच मेला लाग्ने गरेको छ । मेलामा मकवानपुरको हेटौँडा, मनहरी, पालुङ, धादिङको गजुरी, मलेखु, काठमाडौं, चितवनदेखिका आन्तरिक पर्यटकहरू पुगेका छन् । वैकुण्ठका छिमेकी गाउँहरूबाट मेलामा व्यापक सहभागी भएका छन् ।

यस वर्षको मेला सोचेभन्दा पनि भव्य रूपमा सम्पन्न भएको र टाढाटाढादेखिका पाहुनाहरूको उल्लेख्य सहभागिता रहेको केलाश–२ का वडाध्यक्ष राजेन्द्र घिसिङले बताए ।

राजेन्द्र घिसिङ, वडाध्यक्ष, कैलाश-२

घाटु नाच खासगरी गुरुङ समुदायमा प्रचलित छ । मगर समुदायले पनि यसलाई आफ्नो संस्कृतिको रूपमा अङ्गालेको पाइन्छ । तर, वैकुण्ठ गाउँमा भने परापूर्वकालदेखि तामाङ समुदायले नै घाटु नाच देखाउँदै आएको छ । तामाङ समुदायले घाटु नाच्ने नेपालमै एक मात्र गाउँ वैकुण्ठ नै भएको कैलाश–२ का वडाध्यक्ष राजेन्द्र घिसिङले बताए ।

अध्यक्ष घिसिङका अनुसार कैलाश–२ को तल्लो भेगमा गुरुङ समुदायको बसोबास रहेको छ । तर, घाटु नाचमा उनीहरूको उनीहरूको संलग्नता रहँदैन । वैकुण्ठ गाउँका तामाङ समुदायले नै गाउने र नाच्ने गरेका छन् ।

कैलाश गाउँपालिकाका अध्यक्ष लोक बहादुर मोक्तानले कैलाश–२ गाउँपालिकाकै नमुना पर्यटकीय क्षेत्रको रूपमा विकास भइरहेको बताए । योजना कार्यान्वयनमा वडाले देखाएको सक्रियता अत्यन्तै सराहनीय भएको उनले बताए ।

लाेक बहादुर माेक्तान, अध्यक्ष, कैलाश गाउँपालिका

सोही वडामै रहेको कैलाश पर्वत र सँगै रहेको कैलाश गाउँको नामबाट गाउँपालिकाको नामकरण भएको जनाउँदै कैलाश–२ नमुना वडा भएको र नमुना नै बनाउनुपर्ने अध्यक्ष मोक्तानले बताए । वडाको समग्र विकासका लागि आफूले कुनै कन्जुस्याइँ नगर्ने उनले बताए ।

कैलाश–२ मा प्राकृतिक, धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक पर्यटनको अथाह सम्भावना रहेको उनले बताए । वडालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने योजना अनुरूप विष्णु कुण्डमा गुरु पद्म सम्भवको प्रतिमा स्थापना, डाँफे मुनाल पार्कको निर्माण, विद्युतीय पिङको स्थापना, कैलाश डाँडामा महादेव शिवको मूर्ति स्थापना गरिएको अध्यक्ष मोक्तानले बताए ।

साहसिक पर्यटकहरूको लागि वैकुण्ठ र कैलाश गाउँ बीचमा जिपलाइन निर्माण गर्न लागिएको पनि उनले जानकारी दिए । केही हप्ताभित्रै जिपलाइनको डिपिआर तयार पार्ने र योजना कार्यान्वयनमा जाने अध्यक्ष माेक्तानले जानकारी दिए ।

मेलामा घाटु गाउने गुरु आमाहरुलाई प्रमानपत्रसहित दोसल्ला ओडाएर सम्मानित गरेको छ । त्यसैगरी घाटुु नाच्ने कन्याहरुलाई पनि प्रमानपत्रसहित सम्मानित गरेको छ । समाजसेवी, सञ्चारकर्मी लगायतलाई पनि मायाको चिनोसहित सम्मानित गरेको छ ।

घाटु नाच कस्ताे नाच हाे ? 

घाटु गुरुङ र मगर समुदायमा प्रचलित लोकनृत्य हो । विशेष गरी श्रीपञ्चमीमा विधिपूर्वक पूजाआर्चना गरी सुरु गरिने घाटु नाच मातातीर्थ औँसीदेखि वैशाख पूर्णिमासम्म नाचिन्छ । घाटु एक शास्त्रीय नाच हो । घाटु गुरुङ र मगर समुदायको लोक संस्कृतिमा आधारित एउटा गीती नाटक हो ।

छोटो किंवदन्ती

घाटु नाच राजा परशुराम र रानी यम्फावती (कतै यम्बावती कतै चम्पावती पनि भन्ने गरिएको पाइन्छ) बीचको प्रेम, विवाह, गृहस्थी, राजकाज, जङ्गल प्रस्थान, सिकार, मरण अनि मृत्यु संस्कार आदीमा आधारित छ । किंवदन्ती अनुसार आज भन्दा करिब तीन सय वर्ष अगाडि वैकुण्ठ गाउँमा एक जना राजा थियो । राजाको नाम परशुराम थियो । रानीको नाम यम्फावती थियो । एक दिन सिकार खेल्न जाँदा राजा परशुरामको मृत्यु भयो । राजाको मृत्यु भएपछि रानी सती गइन् । रानी यम्फावतीको चिहान अहिले पनि संरक्षित रहेको छ । वैकुण्ठ गाउँमाथि रहेको चिहान डाँडामा सतिघाट रहेको छ । सतीको चिहानलाई अहिले काँडेतारले घेरेर राखिएको छ ।

अन्त लोप हुँदै, वैकुण्ठमा जस्ताको तस्तै घाटु नाच

घाटु नाचको उद्गम थलो र इतिहासको विषयमा फरक फरक किंवदन्तीहरू प्रचलित रहेपनि यो तीनसय देखि चारसय वर्ष पुरानो लोक नृत्य भएकोमा भने मतैक्ययता छ । मौखिक परम्परामा आधारित भएकाले यसका कथा र विषयवस्तुहरू लोप हुँदै गएका छन् । सुन्ने, गुन्ने र भन्ने परम्परामा आधारित भएकाले भन्नेले सबै भन्न सक्दैनन्, सुन्नेले सबै ग्रहण गर्न सक्दैनन् र उसले ग्रहण गरेको सबै सुनाउन सक्दैनन् । यसो हुँदा एवमरितले घट्दै गएको छ ।

गुरुङ समुदायको बाहुल्यता रहेको र सो समुदायको उद्गमथलो मानिएको लम्जुङ लगायतका जिल्लाका गुरुङ समुदायमा पनि घाटु नाच लोप हुँदै गएको छ । मौलिकता हराउँदै गएको छ । गीत छोटिँदै गएको छ । युवा पुस्ताले चासो नदिँदा यो लोक नृत्य नै लोप हुने चिन्ता बढेको छ । तर, वैकुण्ठ गाउँका तामाङ समुदायले भने सयौँ वर्ष पुरानो घाटु लोक नृत्यलाई जस्ताको तस्तै जोगाउँदै आएका छन् । घाटुको पुरै गीत गाउन झन्डै दुई दिन लाग्छ । निरन्तर गाउँदा नाच्दा पनि १८ देखि २० घण्टा लाग्छ । वैकुण्ठमा अहिले पनि १८ घण्टासम्म नाच्ने गरेको छ । वैकुण्ठवासीले घाटु गीत र नृत्यलाई जस्ताको तस्तै जोगाइराखेको वडाध्यक्ष घिसिङ बताउँछन् ।

“अन्त गुरुङ समुदायको बाहुल्यता भएको ठाउँमा नै लोप हुँदै गएको भन्ने सुनिन्छ । गीत केही घण्टा र मिनेटमा छोटिएको भन्ने सुनिन्छ । तर, यहाँ वैकुण्ठ गाउँमा जस्ता तस्तै छ ।” वडाध्यक्ष घिसिङले भने, “यो हाम्रो लागि गर्वको विषय पनि हो । लोप हुँदै गएको संस्कृति हामीले भने जोगाएका छौँ । अब खास घाटु नाच हेर्न मानिसहरू वैकुण्ठ गाउँमा आउने छन् ।”

उनका अनुसार वैकुण्ठ गाउँमा पनि विगत केही दशक अघि घाटु नाच झन्डै लोप हुन लागेको थियो । घाटु नाचमा आमाहरूले गीत गाउने र कन्याहरूले नाच्नुपर्दछ । नाच्नका लागि करिब एकदेखि तीन महिनासम्म तालिम नै गर्नुपर्ने, गाउँ घरमा खेती किसान घर गृहस्थी चलाउने आमाहरूले पर्याप्त समय दिन नसकिने हुनाले संरक्षणमा कठिनाइ छ । नयाँ पुस्ताले चासो नदिँदा पनि संरक्षणमा कठिनाइ छ । वैकुण्ठमा विगतका वर्षहरूमा पटक पटक संरक्षणको अभियान चलाएको उनले बताए ।

वडाध्यक्ष घिसिङका अनुसार अहिले पुरै गीत गाउन सक्ने मूख्य गुरु दुई जना छन् । अन्य आठ दश जना सिकारुहरू छन् ।

कसरी नाचिन्छ घाटु नाच ?

गुरु आमाहरूले गीत गाउने र कन्याहरूले आँखा चिम्लेर गीत र मादलको तालमा घाटु नाचिन्छ । घाटु नाच्नका लागि घााटुकी कन्या कथा विषयवस्तु अनुसार आवश्यक सङ्ख्यामा छानिन्छ । वैकुण्ठ गाउँमा यसपालि नौ जनालाई नचाइएका छन् । घाटुलीको सङ्ख्या गुरुमाले तोक्ने गरेका छन् ।

उनीहरूलाई घाटु नाच्नुअघि अक्षताले इष्टदेवी, हिउँचुली, बरचुली, देउचुली, गङ्गाचुली आदिको पूजा गर्दछन् । त्यसरी पूजा गरेपछि घाटु नाच्ने कन्याहरूको आँखा बन्द हुने गर्दछ । यसलाई देवी चढेको मानिन्छ । कन्याहरूको आँखा बन्द नभएसम्म देवीहरूको नाम जप्नुपर्छ । देवीले पत्याएपछि घाटु सुरु गरिन्छ । घाटु नाचको सुरुवात मङ्गल चरणबाट गरिन्छ । इष्टदेवीहरूको साथमा आमा, धर्ती र आकाशलाई साक्षी राखिन्छ ।

घाटु गाउने गुरु आमाहरू

घाटु नृत्यमा वाद्य र साज शृङ्गार भन्दा पनि कारुणिक कथाको व्याख्या गरिएको हुन्छ । कारुणिक र हृदय विदारक गीत गाएर शोकाकुल अवस्था सिर्जना हुँदा गाउने कलाकार, दर्शक समेत धुरुधुरु रोएको पाइन्छ । सती घाटुमा गुरुवाले गीतबाटै मंगलचरण गरी घाटु देवता जगाउने, घाटुली चयन, सिँगार गर्ने, नृत्यकला सिकाउने सती ढलाउने सती जगाउने काम गर्दछन् ।

घाटु नाच्ने कन्याहरूले एकैथरीका गुन्यू चोली लगाउँछन् । हातमा चुरा, गलामा विभिन्न माला, शिरमा लाभा (भुटेर फुलाएको धान), फूलको श्रीपेच, शिरविन्दु, कानमा झुम्काना आदी लगाउँछन् । आँखा चिम्लेर नाच्नुपर्ने भएकाले प्रत्येक घाटुलीलाई एक एक जना सहयोगी पनि राखिएको हुन्छ ।

एक पटक नाचेपछि तीन वर्ष अनिवार्य नाच्नुपर्ने हुन्छ । यदि तीन वर्ष नपुग्दै कन्याको बिहे भएमा श्रीपेच नलगाई नचाउने र बाटो काटेर छुटकारा दिने गरेको वडाध्यक्ष घिसिङले बताए ।

चन्द्र तामाङ/हिमाल दर्पण

सम्बन्धित समाचार