बुधबार , बैसाख १९, २०८१

आज ग्याल्पाे ल्होसार मनाइँदै, कसरी मनाउँछन् यो पर्व ?

नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५० औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् ।

image

शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन यो पर्व मनाउने गर्दछन् ।

नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५० औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ। शेर्पा जातिको बसाइ सराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो ।

पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाइसकेका छन् ।

महायानी बौद्ध धर्मावलम्बीहरूको नयाँ वर्षको पहिलो दिनलाई ल्होसार भन्दछन् । भोट–बर्मेली भाषाहरूको शाब्दिक अर्थमा ‘ल्हो’ भनेको वर्ष र सार भनेको नयाँ हो । व्यवहारमा पुरानो वर्षको बिदाइ र नयाँ वर्षको स्वागतार्थ मनाइने पर्वलाई लोसार वा ल्होसार भन्ने गरिन्छ । खासगरी नेपालको उत्तरी भेगमा बसोबास गर्ने शेर्पा, ह्योल्मो, गुरुङ, तामाङ तथा टिबेटियन लगायत बौद्ध धर्म मान्ने समुदायले लोसार पर्व मनाउने गर्दछन् । तोला, सोनाम र ग्याल्पो गरी तीन सम्प्रदायका लोसार पुसदेखि फागुनभित्र मनाउने गरिन्छ ।

ग्याल्पो लोसार मुख्य रूपले नेपाल, तिब्बत, सिक्किम र भुटानका शेर्पा, लामा तथा भोटे समुदायले मनाउने पर्व हो । भारत, जापान, चीन, हङकङ, ताइवान, कोरिया, थाइल्यान्ड आदि मुलुकमा पनि लोसार मनाउने गरिन्छ । अहिले सांस्कृतिक घुलमिलका कारण कतिपय अन्य जातिहरूले पनि मनाउने गर्दछन् । यो पर्व फाल्गुण शुक्ल पक्षको प्रतिपदा तिथिमा मनाउने गरिए पनि यसको तयारी भने करिब डेढ महिनाअघिबाटै गरिन्छ ।

‘ग्याल्पो’ भनेको राजा हो । यो पर्व शासक वर्ग वा राजाहरूले मानेको इतिहास पाइन्छ । कतै कतै मङ्गोल बादशाह जङ्गिच खानले विजयोत्सव मनाई सुरु गरेको पनि बताइन्छ । बौद्ध ग्रन्थअनुसार शाक्यमुनि बुद्धले फागुन शुक्लपक्षमा आफ्नो ऋद्धि शक्तिले ६ जना गैरबौद्ध साधुहरूलाई पराजित गरेको उल्लेख भएकाले विजयोत्सव मनाइएको प्रसङ्ग पनि किंवदन्तीका रूपमा चलेको पाइन्छ ।

तिब्बती पञ्चाङ्गमा १२ जनावर, ५ धातु र २ लिङ्गअनुसार वर्षका नाम निर्धारण गर्ने विधान छ । यस नियमले १२० वर्षमा १ चक्र पूरा हुन्छ । आज तिब्बती पञ्चाङ्गअनुसार च्यान ल्हाे (बाग वर्ष) सकिएर ह्याेइ ल्हाे (खरायो वर्ष) प्रारम्भ हुने दिन हो ।

मनाउने विधि 

लोसार सुरु हुनुभन्दा केही महिना अगाडिदेखि नै यसको तयारी गरिन्छ । सुरुमा घरमा लिपपोत गर्ने, रङ्ग लगाउने, नयाँ लुगा सिलाउने, सौदा किनमेल गर्ने आदि कार्य गरिन्छ । एक–दुई साताअगाडि नै खाप्से (मैदा वा पिठोबाट बनाइने रोटीजस्तै परिकार) पोल्ने र लोफुत (अन्नको जमरा) उमार्ने कार्य गरिन्छ । कुनै भाँडामा माटो र बालुवा भरी त्यसमा गहुँको बीउ राखेर लोसारको पहिलो दिनसम्ममा उमारिन्छ। यसरी उम्रेको गहुँलाई नयाँ वर्षको नयाँ बालीको रूपमा पूजा गर्ने गरिन्छ ।

लोसारको दुई दिनअघि आफूलाई पायक पर्ने गुम्बामा गई गए सालको ग्रहदशा आउने सालमा नलागोस् भन्ने कामनाले ग्रहशान्ति तथा विसर्जनका लागि ‘ङिस्युगु पूजा’ गर्नुपर्दछ । यो पूजा गरेपछि गुम्बाहरूमा पनि लोसारको छुट्टी दिने गरिन्छ । त्यसपछि सबै श्रद्धालुहरूले आफ्नो घरको भित्री भागसम्म सफा गरी निस्केको फोहोरलाई खराब ग्रहदशाको प्रतीक मानेर दोबाटो, चौबाटो वा चोकमा विसर्जन गर्ने चलन छ । यसरी ग्रहदशा शान्त पारेपछि यही दिन साँझ नौ प्रकारका अन्न मिसाएको खाना गुथुक खाइन्छ ।

लोसारको एक दिनअघि घरको साजसज्जा गरी अष्टमंगल, धजा–पताका आदिले घर सजाउने गरिन्छ । यही दिन पूजा कोठामा पूर्ण रूपले साजसज्जा गरी भगवानको प्रतिमा वा फोटोमा षेडशोपचारले पूजा गरिन्छ । प्रसादका रूपमा विभिन्न भोजन, नैवेद्य, पक्वान्न रोटी (पुंगी अम्जो), छिमार, छ्याङ फु लगायत विभिन्न रोटी, मिठाई, परिकार आदि सजाएर राखिन्छ । लोसारका दिन बिहानै नित्यकर्म गरेर घरमूलीले भगवानलाई यी सबै कुरा चढाएपछि छिमार, छ्याङ फु आदि लिएर ३ पटक आकाशतिर चढाएपछि आगन्तुकहरूलाई सगुन वितरण गरिन्छ । सगुनका साथै छिमार, डेसिल, खाप्से र अन्य खानाका परिकार खाँदै शुभकामना आदानप्रदान गरी लोसार मनाइन्छ । लोसारमा मान्यजनले सानालाई आशीर्वाद दिने र सानाले श्रद्धाभाव व्यक्त गर्ने गरिन्छ ।

सम्बन्धित समाचार