काठमाडौं । काठमाडाैं महानगरपालिकाले हनुमानढोका दरबार परिसरभित्र सवारीसाधनलाई प्रवेश निषेध गरेको छ । महानगरपालिकाले पर्यटकको भ्रमणलाई थप शान्त र सुरम्य बनाउने भन्दै सवारीसाधन प्रवेशमा रोक लगाएको हो ।
महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौं मुख्य रूपमा प्राचीन र ऐतिहासिक कालीगढीको उदाहरण रहेको र हनुमानढाेका एक महत्त्वपूर्ण सम्पदा भएको बताउँदै उक्त क्षेत्रमा सवारीसाधन प्रवेशमा रोक लगाएको बताएका छन् ।
मेयर बालेनले भने, “काठमाडौंको पहिचान भनेकै यहाँका सम्पदाहरू हुन, विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग व्यावसायिकता अङ्गाल्न सक्ने भनेकै यिनै सम्पदा र यिनको प्राचीन मौलिकता पनि हुन् । यही हेर्न, अनुभव गर्न र रमाउन लाखौँ पर्यटकहरू आउन सक्छन् ।”
वसन्तपुर हनुमानढोका यसमध्येकै एक रहेको र यहाँ दिनमा हजारौँ पर्यटकहरू आउने र लाखौँ आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै महानगरले यस्तो निर्णय गरेको उनले बताएका छन् । “सम्पदाको मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक रहेकाले नै हामीले यो कदम चालेका हौँ,” उनले थपे ।
‘त्यसैले हनुमानढोका परिसर भित्र सवारी साधनहरूलाई निषेध गरिएको र यस निर्णयले सकारात्मक प्रभाव पार्नेमा हामी विश्वस्त छौ,” उनले भने ।
