शुक्रबार , भाद्र २६, २०८३

कोचबाम्बाको पानीको लडाई, हर्क साम्पाङ र धरान

आफ्ना विचार र मागहरू बोकेर एउटा एक्लो मान्छे दश वर्ष जति धरानका गल्लीहरूमा, टोल-टोलहरूमा एक्लै एउटा कालो झोला र पानीको बोतल बोकेर भौँतारी हिँड्यो । धरान नगरका समस्याहरू लाई उठाई रह्यो, कुटाइ खाइ रह्यो र जेल गइरह्यो । तर ऊ थाकेन ।

image

– केदार सिटौला

ल्याटिन अमेरिकी देश बोलिभियाको तेस्रो ठुलो सहरको नाम हो कोचबाम्बा । यो सहरको जनसंख्या करिब आठ लाख जति रहेको छ । बोलिभिया सरकारले विश्व बैंकको सुझाव अनुसार सन् १९९७ मा ले कोचाबाम्बा सहरको खानेपानी तथा ढल निकासको व्यवस्थापनमा सुधार गर्नको लागि त्यो सहरमा रहेको कोचाबाम्बा नगर खानेपानी तथा ढल व्यवस्थापन सेवा (SEMPA) लाई निजीकरण गर्‍यो । यो सेवालाई अमेरिकी बहुराष्ट्रिय कम्पनी बेक्टेलको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय समूह अगुवास डेल टुनारी (Aguas del Tunari) ले किन्यो । यसमा स्थानीय साझेदारको रूपमा चार वटा बोलिभियाई कम्पनी पनि थिए । यो कम्पनीले कोचाबाम्बा सहर भन्दा ३५ किलोमिटर टाढा रहेको मिसिकुनी नदिमा बाध बाँधेर २० किलोमिटर लामो सुरुङ मार्फत कोचाबाम्बा सहरमा पानी ल्याउने योजना बनाएको थियो । विश्व बैंकले यस कारण खानेपानी सेवा निजीकरण गर्नको लागि पैरवी गरेको थियो कि उसका अनुसार सरकार सँग सो परियोजनाको लागि लगानी गर्न पर्याप्त पुँजी थिएन । त्यस्तै विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष जस्ता बहुपक्षीय संस्थाहरूको विचारमा पानी पनि अरू जस्तै आर्थिक वस्तु मात्र हो । तसर्थ, पानीमा पूर्ण लागत फिर्ताको नीति लागु गर्नु पर्छ । अर्थात् उपभोक्ताले पानी वितरणको पुरै मूल्य चुकाउनु पर्छ र यसमा सरकारले अनुदान दिनु हुँदैन ।

यो परियोजनाको सुरुवात भएपछि खानेपानीको मूल्यमा सय प्रतिशतसम्म मूल्य वृद्धि गरियो । घरमा धारा नजोडेकाहरूले पनि खानेपानीको मूल्य तिर्नुपर्ने भयो । किनकि यो परियोजनाको अवधारणा अनुसार ती परिवारले पनि निकट भविष्यमा यो सेवा पाउने वाला थिए । अझ आकाशबाट परेको पानी संकलन गर्न र इनारको पानी झिक्न समेत लाइसेन्स लिनु पर्ने भयो । यसले गर्दा यहाँका आम जनताकाको आक्रोश बढ्दै जान थाल्यो । जनवरी २००० देखि कोचाबम्बाका आमजनताले यो परियोजनाको विरुद्धमा संघर्ष गर्न सुरु गरे । यो संघर्ष कोचाबम्बाको पानी युद्धका नामले प्रख्यात छ ।

COCHABAMBA WATER WAR: The Effects of Privatization of Water Supply: The International Magz

ओस्कार ओलिभिएरा नामक मजदुर नेताको नेतृत्वमा समिति बनेर संघर्ष सुरु भयो । यो संघर्षमा मजदुर, किसान, विद्यार्थी र जनसंख्याका सबै तह र तप्काको सहभागिता रहेको थियो । यो आन्दोलनको प्रमुख निसाना बोलिभिया सरकार र अमेरिकी बहुराष्ट्रिय कम्पनी बेक्टेल रहेको थियो । यो आन्दोलन कयौँ चरणमा संचालन भयो । फेब्रुअरी २००० मा कोचाबम्बा सहरलाई प्रदर्शनकारीहरूले पुरै नाकाबन्दी गरिदिए । त्यसपछि बल्ल सरकारले जनताको आवाज सुन्यो र मूल्यवृद्धि फिर्ता लियो । यो सँगै सरकारले जनता सामु अरू धेरै वाचाहरू पनि गर्‍यो । तर बिस्तारै ती वाचाहरूलाई बिर्सिन थाल्यो । त्यसपछि फेरी मार्च महिना देखि विद्रोह फेरी भड्कियो ।

आन्दोलनकारीले कोचाबम्बा सहरमा खानेपानीको विषयलाई लिएर जनमत संग्रहको आव्हान गरे । जसमा पचास हजार मानिसहरूले सहभागिता जनाए । क्रमशः आन्दोलनका कार्यक्रमहरू उग्र हुँदै गए । जनताले सडकमा ब्यारिकेडहरू निर्माण गरेर मोर्चाबन्दी सुरु गरे । सरकारले पनि आन्दोलनकारीसँग वार्ता गर्नुको साटो दमनको बाटो अपनायो । बोलिभियाई सेनालाई कोचाबम्बा सहर कब्जा गर्न पठाइयो । आन्दोलनले झन् उग्र रूप लियो । आन्दोलनकारी नेताहरूलाई सरकारले गिरफ्तार गर्‍यो र केहीलाई त्यो सहरबाट टाढा लखेट्दियो । तर आन्दोलन शान्त भएन । आन्दोलनको क्रममा एक जना आन्दोलनकारीको मृत्यु भयो भने दर्जनौँ घाइते भए । कयौँ दिनको रक्तपातपूर्ण संघर्ष पछि सरकार वार्ता गर्न सहमत भयो ।

अन्ततः सरकारले आन्दोलनकारीहरूका सबै माग मान्न तयार भयो । बोलिभिया सरकारले कोचाबम्बा सहरको खानेपानीको ठेक्का पाएको अगुवास डेल टुनारी कम्पनी सँगको आफ्नो सम्झौता रद्ध गर्‍यो । र कोचाबम्बा सहरको खानेपानी व्यवस्थापनको जिम्मा आन्दोलनकारीहरूको नेतृत्वको सामुदायिक समितिलाई हस्तान्तरण गर्‍यो । कोचाबम्बाको पानीको लडाई एक्काइसौँ शताब्दीको पहिलो पानी युद्ध थियो । जसले पानी कुनै विलासिताको बस्तु होइन यो अधिकार हो भन्ने कुरा साबित गर्‍यो ।

Oscar Olivera - IMDb

पूर्वी नेपालको सहर धरानको अवस्था पनि बोलिभियाको कोचाबम्बाको अवस्था भन्दा खासै फरक छैन । धरानमा खानेपानीको ठुलो हाहाकार छ । यतिबेला धरानमा खानेपानीको माग दैनिक चार करोड लिटर छ भने आपूर्ति केवल एक करोड बिस लाख लिटर मात्र रहेको छ । धरानको यो बर्सेनि खानेपानीको अभावलाई समाधान गर्न धरान उपमहानगरले एशियाली विकास बैंक (एडिबी) को एक अर्ब ७७ करोड ऋण अनुदानमा सन् २०१५ मा खानेपानी आयोजनाको काम सुरु गरेको थियो । यो आयोजना र धरान उपमहानगरपालिका बिच भएको सम्झौता अनुसार प्रति दिन १ करोड ५२ लाख २० हजार लिटर पानी उत्पादन गर्ने भनेर उल्लेख भएको थियो । तर यो आयोजना सम्पन्न भइसकेर हस्तान्तरण भइसक्दा पनि धरानको खानेपानीको अवस्था पहिलाको जस्तै छ । अहिले यो आयोजना पूर्ण रूपमा असफल भएको आशङ्का छ । सम्झौतामा उल्लेख भएको संख्याको आधा पनि उत्पादन हुन नसकेको आरोप स्थानीय बासिन्दाको छ । एशियाली विकास बैंक (एडिबी) को सर्त अनुसार धरानको खानेपानी व्यवस्थापनको जिम्मा सरकार द्वारा सञ्चालित खानेपानी संस्थान बाट खोसेर खानेपानी बोर्ड पनि सारियो । जस अनुसार खानेपानीको महसुल पनि दोब्बर नै महँगो बन्यो । तर जनताले खानेपानीको आपूर्तिमा भने कुनै सुधार भएन ।

धरानमा खानेपानी राजनीतिको मूल मुद्दा हो । यो मुद्दालाई यहाँका राजनीतिक दलहरूले आफ्नो दुनो सोझ्याउन प्रयोग गर्ने गर्छन् । तर सत्तामा पुग्ने बित्तिकै यो मुद्दा उनीहरूको प्राथमिकताको विषय रहँदैन । बरु धरानका प्राय सबै ठुला राजनीतिक दलहरू, जनप्रतिनिधि एडिबीको खानेपानी परियोजनाका कर्मचारीहरूको मिलेमतोमा संलग्न रहने गरेका छन् । उनीहरूको लागि एडिबीको खानेपानी परियोजना दुहुनो गाई बनेको थियो । त्यसको अपवाद एक जना व्यक्ति रहेका छन्, ती हुन्- हर्क साम्पाङ । जसले यो परियोजनाको सुरु देखी नै भण्डाफोर गर्दै आएका थिए । उनको यस विरुद्धको आन्दोलन निरन्तर जारि रह्यो । जब एडिबीको खानेपानी प्रयोजन असफल भयो र जसरी पनि यो परियोजनालाई हस्तान्तरण गर्नु थियो । त्यसबेला धरानको खानेपानीको एउटा मुहान रहेको सर्दु खोला बाट आफ्नो प्लान्ट तर्फ अनधिकृत रूपमा लागेको पाइपलाई हर्क साम्पाङ नेतृत्वको समूहले खुस्काइ दिए । त्यस पछि हर्क साम्पाङ्गलाई प्रहरीले गिरफ्तार गरि पटकपटक म्याद थप्दै थुनेर राख्यो । त्यस्तै धरानको खानेपानीको समस्यालाई लिएर उनी काठमान्डुमा सम्बन्धित मन्त्रिलाई समेत भेट्न गए । तर मन्त्रीले भेट दिन समेत जरुरी ठानेनन् । तर आफ्नो उद्देश्यमा असफल भए पनि साम्पाङले आफ्नो आन्दोलन जारी नै राखे ।

धरानमा खानेपानीको हाहाकार

धरानमा खानेपानीको हाहाकार, फोटो : अन्नपूर्ण पोस्ट

त्यस्तै साम्पाङले सर्दु खोलाबाट बालुवा गिटीको अत्यधिक दोहन रोक्न निगरानी गर्न खोजे । नियम अनुसार चार फिट मात्र खोलाको सतह खन्न पाउनु पर्नेमा १५-२० फिट खनेको पाएपछि त्यसलाई रोक्न खोज्दा गिटी-बालुवा व्यवसायीहरूले उनी र उनको समूह माथि आक्रमण समेत गर्‍यो । उनको टाउको समेत फुट्यो । घटनास्थलमा पुगेको प्रहरीले समेत ती तस्करहरूको पक्षमा लाग्दै उल्टै साम्पाङकै समूहलाई गिरफ्तार गर्‍यो ।

साम्पाङले एमसीसी विरुद्धको आन्दोलनमा सुरु देखिनै सरिक थिए । उनले आफ्ना सीमित सहयोगीहरूको साथ एमसीसी विरुद्ध आफ्नो आन्दोलन जारि राखे । नियमित जस्तै जनताको चेतना जगाउन उनले राष्ट्रिय झन्डा बोकेर एमसीसी विरुद्ध धरानको मुख्य केन्द्र भानु चोकमा कोणसभा गरिराखे । अरू राजनीतिक पार्टीहरूले आफ्नो स्वार्थ अनुसार एमसीसी प्रतिको अडान फेरे तर हर्क साम्पाङ्गले आफ्नो अडानमा अलिकति पनि विचलित बनेन ।

त्यस्तै धरानमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको विकृति र विसंगति हर्क साम्पाङ्गको अभियान निरन्तर जारि रह्यो । उनले बिपीको उपकुलपति विरुद्ध मात्र धर्ना, जुलुस गरेनन् बरु सो प्रतिष्ठानको समग्र सुधारको लागि आन्दोलन गरे । उनको आन्दोलन अरू पार्टीको आन्दोलन भन्दा के अर्थमा पनि फरक थियो भने अरू पार्टीले सो प्रतिष्ठानमा आफू समर्थक उपकुलपति नियुक्त गराउने वा त्यसलाई हटाउने लक्षका साथ काम गर्थे भने हर्क साम्पाङ धराने जनताले सहज रूपमा सुविधा पाउन भएर गर्थे ।

आफ्ना विचार र मागहरू बोकेर एउटा एक्लो मान्छे दश वर्ष जति धरानका गल्लीहरूमा, टोल-टोलहरूमा एक्लै एउटा कालो झोला र पानीको बोतल बोकेर भौँतारी हिँड्यो । उसले आफ्ना आवाजहरू धरानका माटो र आकाशहरूले सुन्ने गरि दोहर्‍याइ रह्यो । धरान नगरका समस्याहरू लाई उठाई रह्यो, कुटाइ खाइ रह्यो र जेल गइरह्यो । तर ऊ थाकेन । हर्क साम्पाङले एउटा ट्याम्पोमा हाते माइक र साउन्ड बक्स बोकेर धरानका गाउँ-बस्तीहरूमा धरानका जल्दा-बल्दा समस्याहरू लिएर जनतालाई जगाउँदै हिँडे । आफ्नो पर्चा आफै लेखे र आफै बाडे, आफ्नो अभियानको गीत आफै गाए । उनका कुरा सुन्न कोही भेला नभए पनि उनलाई खासै फरक पर्दैन थियो । अरूले उनको जति खिल्ली उडाए पनि उनलाई केही फरक परेन ।

२०७६ सालको उपनिर्वाचनमा उनी धरानको मेयरको चुनावमा उठेका थिए । जसमा उनले ४२२ मत मात्र पाए । तर यसले हर्क साम्पाङलाई हतोत्साही बनाएन । उनी आफ्नो अभियानमा लागिरहे । तीन वर्ष पछि २०७९ सालमा फेरी अर्को स्थानीय निर्वाचन आयो । यसमा पनि हर्क साम्पाङ तिनै चिरपरिचित शैलीमा आफ्नो अभियानमा लागिरहे । नेपालको राष्ट्रिय झन्डा उडेका हर्क साम्पाङ धरानका घर-घर डुल्दै आफ्नो पर्चा-पम्प्लेट वितरण गरिरहेका हुन्थे । न उनीसँग ठुला ठुला आमसभा गर्ने साधन श्रोत नै थियो न क्षमता नै । धेरैले उनको यो कार्य शैलीको मजाक नै उडाइरहेका थिए । तिनै हर्क साम्पाङ्गले नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक बाम गठबन्धन र नेकपा एमालेलाई सहज रूपमा पराजित गर्दै धरान उपमहानगरपालिकाको मेयर पदमा निर्वाचित भएका छन् । यो कुनै मामुली उपलब्धि होइन ।

धरानको निर्वाचन मूलतः खानेपानीको मुद्दालाई लिएर लडिएको थियो । यसमा धरानका आम मान्छेको जित भएको छ । तर यो जित पूर्ण छैन । हर्क साम्पाङले जुन सपना बोकेका छन् त्यो सहज छैन । हुन त हर्क साम्पाङले जुन हासिल गरेका छन्, त्यो पनि लगभग असम्भव जस्तै नै थियो ।

सुनसरीको धरान उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख हर्कराज साम्पाङ राईले सोमबार शपथ ग्रहण गरेका छन् ।

सम्बन्धित समाचार