शनिबार , अषोज ३, २०८३

पुरा भएन ८३ वर्षीय कार्लोसको धौलागिरि चढ्ने सपना

image

काठमाडाैं । स्पेनका ८३ वर्षीय पर्वतारोही कार्लोस सोरियाको धौलागिरि शिखर चुम्ने १३औँ पटकको प्रयास पनि असफल भएको छ । म्याग्दीको धवलागिरि गाउँपालिका -४ मुदीस्थित ८ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल चढ्ने कार्लोसको यसपालिको सपना पनि अधुरो भयो ।

सेभेन समिट ट्रेक्सको व्यवस्थापनमा धौलागिरि हिमाल चढ्न कार्लोस एक महिना अघि आधार शिविर पुगेका थिए । आधार शिविरमा रोकिएका कार्लोस मौसममा सुधार आएसँगै केही दिन अघि ७ हजार दुई सय मिटर उचाइमा रहेको तेस्रो क्याम्पमा पुगेका थिए ।

‘‘कार्लोस सोरिया तेस्रो क्याम्पबाट शिखर चढ्दै हुनुहुन्थ्यो, अचानक उहाँको खुट्टा मर्कियो,’’ सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईँले भने,‘‘ कार्लोसको धौलागिरि आरोहण गर्ने १३औँ पटकको प्रयास सफल हुन सकेन । उहाँ आधार शिविर ओर्लिँदै हुनुहुन्छ । त्यहाँबाट हेलिकप्टरबाट काठमाण्डौं ल्याउने तयारी गरेका छौँ ।’’

गत वर्ष १२ औँ पटकको प्रयासमा पनि कार्लोस ७ हजार मिटरको उचाइमा पुगेर फर्किएका थिए । धवलागिरि हिमाल चढ्न सन् १९९८ मा पहिलो प्रयास गर्नुभएका कार्लोसको दुई दशक यता १३औँ पटक आरोहण गर्दा पनि धौलागिरिको चुचुरोमा पुग्ने सपना पुरा हुन सकेन ।

सबैभन्दा बढी उमेरमा विश्वका ८ हजार मिटर भन्दा अग्ला सबै १४ वटा हिमाल आरोहण गरेर कीर्तिमान राख्न कार्लोस यसपटक फेरी धौलागिरि आरोहण गर्न लागेका थिए । कार्लोसको आरोहण दलको नेतृत्व मिङतेम्बा शेर्पाले गरेका थिए ।

सेभेन समिटका तर्फबाट यो सिजनमा २५ जना विदेशी आरोहीले धौलागिरिको आरोहण गर्न लागेका छन् । मङ्गलवार मात्र दुई जना पोल्याण्डका आरोहीले धौलागिरिको सफल आरोहण गरेका छन् ।

सेभेन समिट लगायत इलाइट र पाइनर एडभेन्चरको व्यवस्थापनमा आरोहीहरू धौलागिरि आरोहणका लागि पुगेका छन् । उनीहरू ७ हजार दुई सय तीस मिटर उचाइमा रहेको तेस्रो क्याम्पमा पुगेका छन् । अस्थिर मौसमका कारण धौलागिरि हिमाल आरोहणका लागि चुनौतीपूर्ण रहेको आरोहीहरूको अनुभव छ । यस सिजनमा २४ पुरुष र ११ जना महिला गरी ३५ जनाले आरोहणको अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।

सम्बन्धित समाचार