बुधबार , जेठ १३, २०८३

नेपालकै पहिलो वातावरणमैत्री होमस्टे गाउँ -काउलेपानी

सन् २०११ देखि होमस्टे सञ्चालन भएको काउलेपानीलाई सन् २०१४ मा गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले होमस्टे गाउँ घोषणा गरेको थियो ।

image

काठमाडौं । लमजुङको होमस्टे गाउँ काउलेपानीले नेपालकै पहिलो वातावरणमैत्री होमस्टे गाउँको उपमा पाएको छ । यो होमस्टे गाउँ नेपालकै उत्कृष्ट होमस्टे गन्तव्यको पहिचान बनाएको लमजुङको बेसीसहर नगरपालिका-३ स्थित गाउँसहरमा अवस्थित छ । नगरपालिकाभित्रका सबै गाउँ वातावरणमैत्री बनाउने अभियानअन्तर्गत उक्त गाउँका सबै परिवारले वातावरणमैत्री १८ वटा सूचक पालना गरेकाले वातावरणमैत्री गाउँ घोषणा गरिएको हो ।

नेपालकै उत्कृष्ट गाउँ घोषित भएको काउलेपानीका बासिन्दाले प्यानसहितको चर्पी प्रयोग गर्ने, सड्ने र नसड्ने फोहोरलाई छुट्टाछुट्टै व्यवस्थापन गर्ने, पशुपक्षी तथा कुकुरको फोहोर व्यवस्थापन गर्ने, धुवाँरहित चुलो प्रयोग, फलफूलको बिरुवा रोप्ने जस्ता कार्य गर्दै आएकाले वातावरणमैत्री घोषित गरिएको छ ।

होमस्टे रहेका घरमा चिटिक्क परेका सफा बेडरुम (सुत्नेकोठा), शौचालय, बाथरुम, पानीधारा, ऐना, टाबेल, साबुनलगायत आवश्यक सबै सामान राखिएका छन् । त्यस्तै, खानपिनमा पनि उनीहरू सचेत छन् ।

काउलेपानी पुगेपछि आर्गा्निक खानाको साथमा लोकल कुखुरा, गुन्द्रुकको अचार, सिस्नुको खोले, कोदाको रोटी, दूधदही अनि लोकल रक्सी खान पाइन्छ । भव्य स्वागत सत्कारसहित बेलुकाको खाजा, खाना, क्याम्प फायरसहितको सांस्कृतिक कार्यक्रम, सुत्ने र बिहानको नास्तासहित प्रतिव्यक्ति एक हजारको हाराहारीमा काउलेपानीसँग साइनो जोड्न सकिन्छ ।

यस क्षेत्रमा असारको महिनामा धान रोपाई, साउनमा कोदो रोपाई, भदौमा नेवा: समुदायको जात्रा, असोजमा रोटेपिङ, कार्तिकमा कटुस, मङ्सिरमा धानको दाँइ, पुसमा कोदो कुट्ने, माघमा बन तरुल खन्ने, फागुनमा गुराँस टिप्ने, चैत र वैशाखमा काफल र ऐसेलु टिप्ने, र जेठ महिनामा चुत्रो टिप्ने जस्ता दर्जन बढी प्याकेजमा पर्यटकहरूलाई काउलेपानी पठाउन सकिन्छ ।

इतिहास

शाह वंशीय राज्य उदय भएको लमजुङ दरबार, काउलेपानी देवीको मन्दिर, कोट, किल्ला, गढी काउलेपानी होमस्टे नजिकै रहेको छ । १५औँ शताब्दीको ऐतिहासिक लमजुङ दरबार, काउलेपानी देवी मन्दिर, कोट, किल्ला, गढीलगायतका इतिहास बोकेका स्थलहरू यहाँका अमूल्य निधि हुन् ।

प्राकृतिक सौन्दर्य

यहाँबाट बुद्ध, मनासलु, अन्नपूर्ण, लमजुङलगायत हिमशृङ्खलाको कोठाबाटै अवलोकन गर्न सकिन्छ । लमजुङ दरबार, काउलेपानी मन्दिर, लमजुङका विभिन्न किल्ला काउलेपानीको आकर्षण हो । यस क्षेत्रमा विश्वमै दुर्लभ मानिने काँडे भ्याकुर देख्न सकिन्छ भने चरीबाघ पनि यहाँ पाइन्छ । समुद्री सतहबाट १६ सय मिटर उचाइमा रहेको काउलेपानीबाट बुद्ध, मनासलु, अन्नपूर्ण, लमजुङलगायत १४ वटा हिमाल आँखै अगाडि देख्न सकिन्छ ।

पर्यटन प्रवर्द्धन

ऐतिहासिक स्थल गाउँसहरस्थित काउलेपानी होमस्टेलाई नेपालकै उत्कृष्ट होमस्टे घोषणा गरिएपछि विदेशी पर्यटकको आगमन समेत वृद्धि हुँदै गएको छ । सन् २०११ देखि होमस्टे सञ्चालन भएको काउलेपानीलाई सन् २०१४ मा गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले होमस्टे गाउँ घोषणा गरेको थियो ।

सरकारले घुमफिर वर्षका रूपमा घोषणा गरेको १० वटा घुम्नै पर्ने ठाउँको रूपमा काउलेपानी पनि समावेश छ । काउलेपानी यहाँबाट १८० डिग्रीको विन्दुबाट बुद्ध, मनासलु, अन्नपूर्ण, लमजुङ लगायत गरी १४ वटा हिमशृङखला देख्न सकिन्छ ।

लमजुङ जिल्लाको सदरमुकाम बेसीशहरबाट मोटरमा करिब ७ किलोमिटर कच्ची बाटो पार गर्दै पुगिने काउलेपानी गाउँ समुन्द्री सतहदेखि १६०० मिटर उचाइमा छ ।

सम्बन्धित समाचार