बिहिबार , जेठ १८, २०८०

खप्तडमा आध्यात्मिक सम्मेलन हुँदै, स्वामी रामदेवले प्रवचन दिने

image

काठमाडाैं । सुदूरपश्चिमको सुन्दर पर्यटकीय गन्तव्य खप्तडमा अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन हुने भएको छ ।

खप्तडलाई अन्तर्राष्ट्रियस्तरमा चिनाएर पर्यटन विकास गर्ने उद्देश्यले खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा २३ जेठदेखि तीन दिनसम्म आध्यात्मिक सम्मेलन हुन लागेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने सम्मेलनमा स्वामी रामदेवले ध्यान र प्रवचन दिने तय भएको आयोजकले जनाएको छ ।

आध्यात्मिक सम्मेलनमा पूर्वप्रधानमन्त्री, सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री, मन्त्री, प्रमुख राजनीतिक दलका शीर्ष नेता, जगतगुरु कृपाचार्य, आचार्य बालकृष्णलगायत विशिष्ट व्यक्तित्वसहित करिब पाँच सय जनालाई सहभागी गराउने आयोजकको तयारी छ ।

खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले खप्तडको पर्यटन विकासका लागि अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागिएको जानकारी दिए ।

सम्मेलनले अन्तर्राष्ट्रियस्तरमा खप्तडको प्रचारप्रसार हुने र यसले यहाँको पर्यटन विकास हुने अपेक्षा गरिएको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले सम्मेलन उद्घाटन गरेपछि योगी रामदेवले ध्यान गराउनुका साथै प्रवचन दिने कार्यक्रम छ ।

योग अभ्यास पनि गराइने व्यवस्थापन समितिले जनाएको छ । आयोजकका अनुसार सम्मेलनका क्रममा खप्तडबारे पौराणिक र आध्यात्मिक पक्षलगायत विषयमा केही कार्यपत्र प्रस्तुत गरिनेछन् ।

सम्बन्धित समाचार