मंगलबार , साउन ८, २०८१

कंक्रिट र ग्रीलको थुप्रो: कुश्माको शिव-पार्वती पार्क

image

कुश्मा । कुश्मास्थित गुप्तेश्वर गुफा क्षेत्रको भूगोल अध्ययन, अनुसन्धान नक्सांकन बेगर विश्वकै अग्लो  शिव र पार्वतीको मूर्ति निर्माण कार्य धमाधम अघि बढिरहेको छ । गुफाको माख्लोपट्टि विशाल तौलको मूर्ति निर्माण गर्नका लागि पूर्वाधार निर्माण कार्य अघि बढाइएको हो । कुनै सृजनशीलता बेगर बतासे विज्ञहरूद्वारा सिमेन्ट र कङ्क्रिटको संरचनाको काम थालिँदा  कुरूपता बढेको स्थानीय बताउँछन्  ।

“हुँदोखाँदाको राम्रो पाखा बिगारियो । यो मूर्ति बने पनि के, नबने पनि के । हाम्रो दैनिकी उकासिने होइन । यही कारण हामीले घाँसदाउरा गर्ने पाखो पहिरनु भएन”, उनीहरू भन्छन् । स्थानीय पदम नेपाली  विकासको नाममा जातिवादी, धर्मवादीहरू बढेको बताउँछन् । “यहाँ हामी अल्पसङ्ख्यक तथा दलित समुदायमाथि हेर्ने नजर पनि उपेक्षित छ । धर्मको नाममा आर्थिक लाभ लिने शक्तिपुजकले उभ्याएको थुप्रोले के नै नयाँ-नौलो परिचय देला र ?” डीपीआर  हेर्दा कास्कीको पुम्दी-मुम्दीकोटकै नक्कल गरिएको संरचनाजस्तो लाग्छ । “ठाउँको समेत गलत छनौट भयो”, उनी भन्छन् ।

यस शिव-पार्वती पार्क निर्माण कार्यले गुफालाई अतिरिक्त भार बोकाउने काम गरेको गायत्री मन्दिरका महन्त राजेन्द्र गिरि बताउँछन् । “विश्वकै अग्लो मूर्ति बनाई यश कमाउने लहडमा लाग्दा चाक्लेको डिल नै भासिने डर भयो । बनाउने भनिएको विशाल मूर्तिको तौल पनि विशाल नै होला । भारी तौल गुफामाथिको पाखोले थेग्न सक्दैन । मानवनिर्मित शिव-पार्वतीको मूर्तिका कारण गुफाभित्रका प्राचीन शिव लिङ्ग लगायत देवस्थलहरू भास्सिन सक्छन्”, उनी भन्छन्. “फलतः भोलि गुफाको नामनिसान मेटिन सक्ने खतरा बढेर गएको छ ।”

‘विश्वकै अग्लो मूर्ति’ निर्माणस्थलमा पुग्दा निर्माणाधीन पार्कको जग नै कमजोर देखिन्छ । सिधैँ १०/१२ फिट जग उठाइदा यो अवस्था आएको स्थानीयवासी बताउँछन् । प्रत्येक दिन ३-३ फिट उठाएको भए पार्कको जग बलियो हुन्थ्यो कि”, उनीहरू भन्छन् । साथै, निर्माण सामग्रीहरू पाखामा यत्रतत्र पल्टाइएको छ, जसकारण पाखाले पर्यावरणीय क्षति व्यहोर्दै छ। निर्माणाधीन यस पार्कमा रहेको पाँच पाण्डवको मौलिक स्वरूपलाई पनि नष्ट पारी सिमेन्ट, टायल र ग्रील थोपरिएको छ ।

यी शिलाहरूको प्राकृतिक स्वरूप मासी सिमेन्ट पोतेर  कथित विकास देखाइएको छ

आयोजनाको अध्यक्ष पृथ्वी नारायण शर्मा मेसिनरी वाल जमेको र जग साढे २ मिटर भित्र पसेको स्विकार्छन् । “मूर्ति पुरानो जमिनै उठ्ने हो । यस कार्यले गुफालाई दखल पुर्याउँदैन”, उनी भन्छन् । यस सम्बन्धमा प्राविधिक एवम् वातावरण मूल्याङ्कनका विषयमा समितिका सदस्यहरू चित्तबुझ्दो जवाफ दिँदैनन् । नगर उकास्ने तहमा रहेका व्यक्तिहरूको गैरजिम्मेवार जवाफले कुश्माले भविष्यमाथि ठुलो सङ्कट निम्ताउने निश्चित देखिन्छ । जोखिम व्यवस्थापन, प्राविधिक विश्लेषण, कार्यान्वयन, अनुगमन हुनुपर्नेमा उनीहरूमा न्यून विकास चेत समेत देखिँदैन ।

ड्रिम डेभ्लोपर्स कम्पनीका इन्जिनियर सन्दीप डोटेल नेतृत्वको टीमले १४/१५ करोड लगानीको खाका सहित तयार परेको गुरुयोजना (डिपीआर)ले भूगोल र इतिहासलाई बेवास्ता गरेको छ । इन्जिनियर डोटेल डिपीआरमा आधारित रहेर काम गराउने जिम्मा सम्बन्धित निकायकै भएको बताउँछन् । “हामीले सुपरभीजन गरेका हौँ, न्याचुरल फ्लेभर दिने गरि काम अगाडि बढाउन प्रस्ताव दिएका हौँ । पछि, उहाँहरूले के गर्नु भयो हामी जान्देनौं । फलोअप गर्न पनि भ्याइएको छैन”, उनी भन्छन् ।

नगर प्रमुख रामचन्द्र जोशी आफूहरू ‘यद्यपि सिक्दै रहेको’ बताएर कुरा टुङ्ग्याउँछन् । अघिल्लो कार्यकाल सम्हालिसकेका उनले अब पनि सिक्दै छु भन्दा सम्पूर्ण नगरवासीको भविष्यमाथि नै खेलाँची गरिरहेको बताउँछन्, साहित्यकार शान्तिनारायण श्रेष्ठ । “उनीहरूमा समावेशी विकासको सोच देखिँदैन । सडक खन्नु, पुल बन्नु, प्रतीक्षालय, स्वागतद्वार, भ्यूटावर तथा पार्कहरू बन्नु नै विकास हो भन्ने उनीहरूलाई परेको छ”, श्रेष्ठ भन्छन् । परियोजनाको संभाव्यता, योजना, लागत, निर्माण र लाभग्राहीको बृहत् अध्ययन नगरिँदा यो दुर्दशा निम्तिएको उनी बताउँछन् ।

प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङ संरचनामुखी विकासकै पक्षपोषण गर्दै भन्छन्, “स्थानीयवासीको जोडबलकै कारण पार्क निर्माण थालिएको हो, कङ्क्रिटको संरचना भए पनि मौलिक स्वरूप दिनेछौँ । ढुङ्गा र काठको फ्लेभर दिनेछौँ । यस पार्कबाट त्यस भेगको जनसमुदायको जनस्तर माथि उठ्नेछ ।”

यस्तै दृष्टान्तबाट थाहा हुन्छ कि नगरसँग कुनै पनि सिर्जनात्मक सोच छैन । नगर सामान्य विकास प्रविधिबाट माथि उठ्न सकेको छैन । कल्याणकारी विकासका कार्यतर्फ उनीहरू अग्रसर छैनन् । नयाँ संस्करणको स्थानीय तहले पुरानै चिन्तन प्रणालीलाई निरन्तरता दिइरहेको छ ।

गुप्तेश्वर गुफा रहेको यस पाखाको वातावरणीय मूल्यांकन नगरी यस्ता परियोजनाहरू सन्चालित छन्

कुनपा-४ निवासी स्थानीय गणेश आचार्य नगरसँग वस्तुगत कार्ययोजना नभएको बताउँछन् । “यही बसिएको छ, यिनीहरूको विकास हेरिएको छ । देख्दा दिक्क लाग्छ । तर, यिनीहरूसँग विकास र समृद्धिका लागि कार्यमूलक र प्रभावकारी क्षमता छैन । लागत, समय र गुणस्तरको वस्तु तथा सेवाको उत्पादन र वितरण यहाँ देख्न पाइँदैन”, उनी भन्छन् । निर्माणाधीन शिव-पार्वती पार्कविरुद्ध जनसमुदाय बोल्नुपर्ने आवश्यकता उनी औंल्याउछन् ।

विकास योजना निर्माणको सम्बन्ध समाजसँग हुन्छ । भूगोललाई बेवास्ता गरिँदा विकास योजनाहरू प्रभावहीन हुन्छ । कुनपा ५ का कृष्ण भण्डारी भन्छन्, “ठाउँको महत्त्व बुझेर काम गर्नुपर्ने हो, यहाँ त्यस्तो देखिँदैन । आफ्ना बुद्धि-विवेकले जे देख्यो, त्यही गर्ने परिपाटी चारैतिर छ ।” उनी विकास गर्दा स्थानीयसँग छलफल र समन्वय नगरिने प्रवृत्ति बढेको बताउँछन् । सीपयुक्त तथा प्रतिस्पर्धी र स्वयं उत्प्रेरित जनशक्ति र व्यवस्थापकीय र प्रशासनिक क्षमताको अभावले कुश्मावासीको भविष्यमाथि खतरा निम्ताएकोमा भण्डारी चिन्ता व्यक्त गर्छन् ।

असल अनुगमन र बोल्ने व्यक्ति नहुँदा ठेकदारहरूले वातावरणलाई प्रतिकुल प्रभाव पार्ने भौतिक संरचनाहरू निर्माण गरिएको एवम् गुफालाई मागी खाने भाँडो बनाइएको बताउँछन्, स्थानीय पत्रकार भवानी शर्मा । “नगर निर्माण व्यवसायीको कब्जामा छ । आफ्नै खल्तीका इन्जिनियर ल्याएर  मनोमानी चलाइरहेका छन् । स्थानीय सरकार सम्पदा संरक्षण र त्यसको मौलिकता जोगाउने कुरामा सदैव असफल रह्यो,”  उनले भने, “यस विषयमा हामी गम्भीर छौँ ।” शिव-पार्वती  पार्क ‘कर्पोरेट पार्क’ बन्ने बाटोमा रहेको उनले बताए  ।

स्थानीय युवा सुनिल जोन श्रेष्ठ नगरसँग निकै साँघुरो विकास दृष्टि रहेको बताउँछन् । उनी भन्छन्, “विकास गर्ने नगर नै निकम्मा छ । नगर नै ‘ए ग्रेड’को ठेकेदार हो । जनताले चाहेको विकास नगरले गर्दैन, ठेकदारले चाहेको विकास गर्दा यो अवस्था आएको हो ।” यसो हुँदा पनि कसैलाई ग्लानि नहुनु र कोही दण्डित नहुनु अचम्मको कुरा रहेको उनले बताए । “स्थानीय सरकारको बेलैमा मस्तिष्कमा लागेको बिर्को उघारियोस्”, श्रेष्ठ भन्छन् ।

वातावरणलाई प्रतिकुल प्रभाव पार्ने भौतिक संरचनाहरू धमाधम निर्माण हुँदै छ

प्राचीन स्मारक ऐन, २०१३ अनुसार कुनै पनि सम्पदामाथि अत्यावश्यक भएमा विज्ञको सुझाव लिएर मात्रै काम गर्न मिल्ने व्यवस्था छ । तर, यहाँ  ऐन, कानुन र नीति-निर्देशिकालाई लत्त्याएर कुल ७० लाख लागतमा पूर्वाधार निर्माण कार्य थालियो । सङ्घीय सरकारबाट ५० लाख, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट १० लाख र कुश्मा नगरपालिकाका १० लाख रुपैयाँको लागतमा पन्ध्र रोपनी जग्गामा ७८ फिट अग्लो शिव-पार्वतीको मूर्ति, सिसमहल र मन्दिर निर्माण कार्य  अघि बढाइएको हो ।  यस अघि शिव र पार्वतीको विश्वकै अग्लो मूर्ति निर्माण गर्ने लक्ष्य सहित लगाइएको विराट गुप्तेश्वर धार्मिक मेला, तुलादान तथा कोटीहोम महायज्ञ (वि.सं. २०७६ जेठ १ देखि ११ गतेसम्म) बाट झन्डै ३३ लाख रकम सङ्कलन गरिएको थियो । यस पार्कको लागत बर्सेनि बढ्दो छ । हाल १५ करोड माथि पुगेको प्रशासकीय अधिकृत गुरुङ बताउँछन् ।

संरचना निर्माणपूर्व आवश्यकताको पहिचान र त्यसको उत्पादकत्व/लाभबारे अध्ययन नै नहुनु र कुनै अमूक नेताको लहडकै शैलीमा परियोजनाहरू प्रस्तावित हुनुको जटिल समस्या कुश्मावासीले हिजैदेखि भोगिरहेको बताउँछन्, ‘कालीगण्डकी बचाऔँ’ अभियन्ता आरके अदीप्त गिरि । “यतिका रकम खर्चिएर ऐतिहासिक पुरातात्त्विक गुफाको अध्ययन, अनुसन्धान गर्न सकिन्थ्यो, भूगर्भविद् र पुरातत्वविद्हरूलाई बोलाउन सकिन्थ्यो । गुफा व्यवस्थापनका अनेकन् शीर्षकहरू काम गर्न सकिन्थ्यो, तर यस्ता गरिनुपर्ने कार्य गरिँदैन”, उनी भन्छन् । कुश्मा क्षेत्रमा चलिरहेका विभिन्न शीर्षकका संरचनामुखी विकासले ठुला-साना ठेकेदार, तालुकवाला अड्डाका हाकिम, विचौलिया,  कर्मचारी प्रशासन, स्थानीय तहका जनप्रतिनिधि र तिनका आसेपासेलाई फाइदा पुर्‍याएको तर, मानिसको दैनिकीलाई सम्बोधन गर्न नसकेको उनले बताए ।

गिरि कुश्मामा विभिन्न विषय क्षेत्रका विज्ञहरू ल्याएर भूगोलको स्थलगत अध्ययन, भूगोल सुहाउँदो अध्ययन प्रतिवेदन तयार गरि विकासका काम अगाडि बढाउनुपर्नेमा उनको सुझाव छ । “कला, संस्कृति, सभ्यता, मौलिकता बेगरको सहर एक खण्डहर हो । त्यतैतर्फ कुश्मा लम्किरहेको छ । कुश्माले खोजेको खास विकास यो होइन । विकासका नाममा अत्याचार, अपराध नहोस्,” उनी भन्छन् ।

Tags:

सम्बन्धित समाचार