सोमबार , फागुण २१, २०८०

नारायणहिटी सङ्ग्रहालय घेराभित्रका ‘चमेरा’हरू !

दुवै जनाले नारायणहिटी मूलद्वारबाट भित्र प्रवेश गर्दा दुई हातलाई टाउको माथि लगेर 'जय होस' भनेपछि उनीहरूकै पछि लागेको मैले पनि अचानक हातलाई छाती माथि लिन पुगेँ ।

image

  • महेन्द्र रावल

२०६५ जेठ २९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबार छोडेपछि नारायणहिटी दरबारलाई नारायणहिटी सङ्ग्रहालयमा परिणत गरियो । नारायणहिटी सङ्ग्रहालय अहिले नेपालको राजतन्त्रको झल्को दिने केन्द्र बनेको छ । जहाँ दिनहुँ सङ्ग्रहालयको अवलोकन गर्न जानेहरूको भिड हुने गर्दछ ।

सङ्ग्रहालयको अवलोकन गर्न जानेहरूको उत्सुक भिडमा सोमबार म पनि मिसिएँ । यसो त एक पटक दुई वर्ष पहिले पनि म सङ्ग्रहालय हेर्न सङ्ग्रहालय भित्र प्रवेश गरिसकेको थिएँ तर अघिल्लो पटकका छापहरू केही धुमिल भएझैँ लागेर नारायणहिटी सङ्ग्रहालयले मलाई आफूतिर खिचिहाल्यो । टिकट काउन्टरमा दुई सयको टिकट काटेर म सरासर नारायणहिटी भित्र प्रवेश गरे ।

नारायणहिटी सङ्ग्रहालय भित्र प्रवेश गर्ने मूल गेटबाट भित्र पसेपछि सङ्ग्रहालय परिसरको हरियालीले लोभ्याई हाल्यो । पहिलेको नेपालको राजदरबार ,अहिलेको नारायणहिटी सङ्ग्रहालय भित्र गएर फोटो खिच्न र टिकटक बनाउन कसलाई पो मन नलाग्ला र ? अरूलाई जस्तै मलाई पनि धोको मेटिउन्जेल फोटो खिच्ने र टिकटक बनाएर पोस्ट गर्ने त मन थियो नि तर, के गर्नु फोटो खिच्ने र टिकटक बनाउने मोबाइल नै लिन नदिएपछि ! मनका इच्छालाई मनमा नै थाती राखेर नारायणहिटी दरबार बाहिरका दुई वटा तोपलाई एकछिन राम्ररी नियालिसकेपछि म दायाँ र बायाँ माछा, घोडा र हात्ती भएका सिँढीहरू उग्लन खोज्दै थिएँ, ४०-४५ आसपासका जोडीहरू पनि हतारहतार म उभिएकै ठाउँमा आए र सिंढी उक्लनुभन्दा पहिले पशुपति भित्र प्रवेश गर्न लाए जसरी दुई हात जोडेर ‘जय होस्’ भन्ने आवाज निकाली सिँढी उक्लिए । दुवै जनाले नारायणहिटी मूलद्वारबाट भित्र प्रवेश गर्दा दुई हातलाई टाउको माथि लगेर ‘जय होस’ भनेपछि उनीहरूकै पछि लागेको मैले पनि अचानक हातलाई छाती माथि लिन पुगेँ । हातलाई छाती माथि लिएर ध्यानमा भगवान् ल्याइसकेपछि सोचेँ, “हैन यो त मन्दिर पनि होइन ? मैले कसरी छाती माथि हात राखेर भगवान् सम्झिन पुगेँ ?”

ढोकैमा टिकट जाँच्ने मान्छेलाई टिकट देखाई सकेपछि नारायणहिटी सङ्ग्रहालय भित्र सङ्गृहीत चिजवस्तुको अवलोकन सुरु भयो । सबैभन्दा पहिले ‘कास्की’ लेखिएको ठाउँमा नजर गयो, जहाँ बिदेसी राष्ट्रबाट भ्रमणमा आउने राष्ट्राध्यक्षको स्वागत गर्ने र प्रधानमन्त्री तथा प्रधान न्यायाधीशको शपथग्रहण गर्ने साथै राजदूतहरूले ओहोदाको प्रमाणपत्र बुझाउने काम गरिँदो रहिछ ।

त्यसपछि मेरा आँखा अगाडि ‘म्याग्दी कक्ष’मा पर्न गयो, जहाँ संवैधानिक अङ्गका प्रमुख तथा राजदूतहरूलाई जलपान गराउने गरिँदो रहिछ । अगाडि बढ्दै जाँदा क्रमशः पर्वत, रुकुम, रोल्पा, दैलेख, बैतडी, अछाम र बाजुरा कक्षहरूसम्म पुगेँ । यसरी ९–१० जिल्ला भ्रमण गरिसक्दा कहीँ बिदेसी राष्ट्राध्यक्षहरूद्वारा आगन्तुक पुस्तिकामा राजाले हस्ताक्षर गर्दै गरेका समारोह देखियो । कहीँ  राजदूतहरूले राजा सामुन्ने शपथ ग्रहण गर्दै गरेको दृश्यहरू। अनि कतै राजदूतले पेस गरेका ओहोदाका प्रमाण पत्रमा राजाले हस्ताक्षर गर्दै गरेको देखियो भने कतै बिदेसी राष्ट्र प्रमुख विशिष्ट व्यक्तिहरूसँग भेट्दै गरेको, कतै बिदेसी राष्ट्रप्रमुखलाई भेट्न प्रतीक्षा गरिरहेका प्रतिक्षार्थिहरू देखियो त कतै बिदेसी राष्ट्र प्रमुखहरू सुतिरहेका त कतै मजाले बाक्ला-बाक्ला सोफामा बसेर उपरखुट्टी हालेर बात मारिरहेका देखियो ।

जब बाजुरामा बिदेसी राष्ट्रप्रमुखहरूले चाँदीका थाल, बटुकामा सुनका चम्चाले खाना खाएको हेरेर जुम्ला पुगेको थिएँ, त्यहाँ त्यहिँँ भित्र काम गर्ने कर्मचारी दाइले दुई तिन जना केटाहरूलाई भन्दै हुनुहुन्थ्यो- ‘यी सबै राजाले गरिदिएका ‘कमाल’ हुन् । राजाले देशभरिका सबै जिल्लालाई आफ्नै अगाडि देख्न चाहनु हुन्थ्यो, त्यसैले तिमिहरू अहिले देशका सबै जिल्ला यहाँ घुमिरहेका छौ । अब देशको रक्षा गर्ने भने पनि, भलो गर्ने भने पनि तिमिहरू नै हौ । यहाँ भित्र तिमिहरूले आएर त्यसै फर्किने होइन । तिमिहरूले यहाँबाट राष्ट्रिय एकता कसरी गर्नुपर्छ, बिदेसी शक्तिशाली राष्ट्रसामु कसरी प्रस्तुत हुनुपर्छ भन्ने ज्ञान हासिल गर्नुपर्छ । यहाँका भित्ता–भित्ता हेर त हाम्रो स्वाभिमान र गौरवका गाथाहरूले कुदिएका छन् । तिमिहरूले यहाँ ३१ जिल्ला देख्छौ, अरू ४४ जिल्ला अझै बन्दछन् ।’

उहाँको कुरा सुनेर बाँकी ४४ जिल्ला बन्द हुनुको कारण बारेमा मैले उत्सुकता व्यक्त गर्दा उहाँले “देश गरिब हुन्छ, त्यसैले बन्दछन् भन्ने जवाफ दिनुभयो ।” के भन्न खोज्नु भएको मैले केही बुझिनँ । त्यसपछि उहाँ आफ्नो कामतिर व्यस्त हुनुभो । म अगाडि बढ्दै गएँ । आफैलाई खान आउँला झैँ गरेका डरलाग्दा बाघहरू, मलाई नै हेरिरहेका ठुला–ठुला अर्ना र गोहीहरूबाट तर्कँदै म अघि बढिरहेको थिएँ । त्यहीँ भित्र काम गर्ने कर्मचारीहरू मोबाइलमा व्यस्त थिए । सङ्ग्रहालयको अवलोकन गर्न आएका तीन-चार जना भारतीयहरू राजाको हत्याको रहस्य बारेमा त्यहीँ भित्रका कर्मचारीहरूसँग “राजाको हत्या कसले गर्याे ? आजसम्म अपराधी पत्ता किन लागेन ?” भनेर सोधखोज गरिरहेका थिए ।

कर्मचारी जवाफ दिँदै थिए, “खै कसले गर्याे, कसले गर्याे, पत्तै छैन ।” अझ अर्को भारतीय बोल्यो, “दीपेन्द्रले गरेका हुन भन्ने कुरा थियो त ?” कर्मचारीले अलि निन्याउरो मुख लाएर जवाफ दिए, “अँ त्यही भन्छन् ।”

भारतीयहरू प्रश्न माथि प्रश्न सोधिरहेका थिए । मैले मन–मनै सोचेँ, कति चिन्ता हो यी भारतीयहरूलाई छिमेकी देशको राजाको वंश विनाशको सन्दर्भमा । यत्ति चिन्ता हामीलाई हुनुपर्ने हो ! एक अर्थमा त तिनीहरूको छिमेकीप्रतिको चिन्ता जायज पनि होला तर हामी चुप्प छौँ, यिनीहरूलाई व्यर्थको चिन्ता ।

अघि बढ्दै जाँदा भर्‍याङ चढ्दै माथिल्लो तलातर्फ जाँदै थिएँ, मेरो नजर नेपालको नक्सा मुनि लेखिएका अक्षरमा गएर रोकिए जहाँ लेखिएको थियो- “सत्य सेवा सुरक्षणम ।” एक छिन अडिएर सोचेँ यसभन्दा अघि मैले यी अक्षर न कहीँ सुनेको थिएँ, न नेपालको निसाना छाप र अन्य ठाउँमा कहीँ लेखेको देखेको थिएँ । भारतको निसाना छाप मुनि रहेको ‘सत्य मेव जयते’ हो कि ‘सिहं मेव जयते हो’ त्यसको चर्चा त खुब सुनेको थिएँ तर नेपालको निसाना छाप मुनि रहेको बुद्ध वाक्य “सत्य सेवा सुरक्षणम्” पहिलो पटक देख्दै थिएँ । बहुत खुसी लाग्यो जब यी वाक्यहरूद्वारा राजाहरूले नेपालको निसाना छापको र नेपालको परिचय दिएका थिए अनि दु:ख पनि लाग्यो यी शब्दहरूलाई नयाँ वर्गले नजरअन्दाज गरेर त्यागेको देख्दा । जहाँ बुद्ध लुकेर बसेका छन् त्यसैलाई हामीले सहजताका साथ त्यागि दिएका थियौँ, जो हाम्रो दुनियाँमा पहिचानको आधार बने । उनैको पहिचानलाई हामीले बेवास्ता गरिरहेका छौ । “सत्य सेवा सुरक्षणम्” बारे मनमा विभिन्न विचारहरू खेलाउँदै म अघि बढे ।

सङ्ग्रहालय भित्रका एक–एक चिजवस्तुको अवलोकन गर्दै, राजाहरूको जीवन शैलीलाई आँखाले हेर्दै  म नारायणहिटी पछाडि राजा वीरेन्द्रको समूल वंश नाश हुनेगरि नारायणहिटी हत्याकाण्ड भएको क्षेत्रमा पुगेँ, जहाँ राजा वीरेन्द्रको हत्या भएको ठाउँ, रानी ऐश्वर्यको हत्या भएको ठाउँ, युवराज दीपेन्द्र घाइते अवस्थामा भेटिएको ठाउँ, अधिराजकुमार नीराजन र राजकुमारी श्रुतिको हत्या भएको ठाउँ भनेर पोस्टर लगाइएको थियो । हत्याकाण्ड भएको ठाउँबाट अगाडि बढेर ‘घुम्नेघर’ पछाडि के पुगेको थिएँ- ‘च्याँ….च्याँ…’ गरेको धेरै अवाजहरू आइरहेको थियो । के रहेछन् त भनेर रूखतिर हेरेको, अनौठा फलैफलका रूख जसरि रूखहरू चमेराले भरिएका थिए । स्तनधारी प्राणी चमेराले सबैजसो रूखहरू यसरी भरिएका थिए मानौँ यी रूखहरूमा चमेरा फुल्दछन् र चमेरै फल्दछन् । साँच्चै त्यहाँ बडेमानका सयौँको सङ्ख्यामा चमेराहरू थिए । त्यहाँ यस्तो लाग्थ्यो आफू कुनै राजदरबार भित्रको राजाहरूले समय व्यतीत गर्ने गार्डेनमा नभई स्तनधारी जीव चमेराको संरक्षण क्षत्रमा छु । मलाई त त्यसरी गार्डेन भरी चमेरा देख्दा गार्डेनको नामै चमेरा गार्डेन राख्दिऊँ जस्तो लागेको थियो तर के गर्ने सिङ्गो देश चलाउने राजाको केही नलागेको ठाउँमा मेरो के भाउँ !

सम्बन्धित समाचार