शुक्रबार , जेठ ८, २०८३

इलेक्ट्रिक बाइक चढ्न खोजिरहेका नेपालीलाई सधैँको पिरलो, ‘पेट्रोलको भाउ कति पुग्यो ?’

स्वास्थ्यमा लगानी गर्नु भनेको स्वास्थ्य सामग्रीमा लगानी गर्नु मात्रै होइन, स्वस्थ वातावरण निर्माण गर्नमा लगानी गर्नु पनि हो । सवारी साधनको सवालमा अत्याधिक वातावरण प्रदूषण गर्ने पेट्रोलियम पदार्थलाई विस्थापित गर्दै विद्युतीय माध्यममा जाँदा देशलाई कुनै घाटा छैन ।

image

नेपालमा विद्युतीय सवारी साधनको प्रयोग सन् १९९३ देखि सुरु भएको हो । उपत्यकामा ‘विक्रम ट्याम्पो’ले प्रदूषणको मात्रा बढाएपछि विकल्पका रूपमा अमेरिकी सहयोगमा  सन् १९९५ मा ७ वटा ब्याट्रीबाट सञ्चालनमा आउने ‘सफा ट्याम्पो’ सञ्चालनमा ल्याइएको थियो । त्यसको एक वर्षपछि सरकारले थप ८ वटा सफा ट्याम्पो संचालनमा ल्यायो । यसअघि त्रिपुरेश्वर-सूर्यविनायक रूटमा चल्ने ट्रलीबस सेवा नेपालको पहिलो विद्युतीय वाहन हो, यो सेवा २०३२ सालबाट सुरु भएको थियो । राणाकालमा  हेटौंडा-काठमाडौँ विद्युतीय रोपवे समेत चलेको थियो ।

यात्रुहरूको लोकप्रिय सवारी साधनमा रूपमा चिनिने तीन पांग्रे विद्युतीय यातायात सफा टेम्पो एकपटक फुल चार्ज गरेपछि २ सयदेखि ५ सय किलोमिटरसम्म गुडाउन सकिन्छ । यसको मूल्य ब्याट्रीको गुणस्तर अनुसार भर पर्दछ । लिथियम आयन एसिड प्रयोग गरिएको ब्याट्रीको मूल्य १० लाख र साधारण एसिड प्रयोग भएको ब्याट्रीको मूल्य २ लाखसम्म पर्दछ । नाकाबन्दीको समयमा अत्यधिक माग रहे पनि नाकाबन्दी हटे लगतै सरकारको ध्यान त्यसतर्फ गएन ।

उपत्यकामा अहिले करिब  ७०० वटा ट्याम्पो छन्, जसमध्ये ५ सय ५० वटा सञ्चालनमा छन् । विद्युतीय ट्याम्पोका चार्ज गर्नका लागि ३१ वटा चार्जिङ्ग स्टेशन छन् । एक स्टेशनमा करिब दैनिक रूपमा २० देखि ३० वटा ट्याम्पोको ब्याट्री रिचार्ज गर्न मिल्छ । तर, पाँच वर्षयता भने सरकारले यस्ता विद्युतीय ट्याम्पोको नयाँ दर्तामा रोक लगाएको छ ।

पछिल्ला केही वर्षहरूमा उत्कृष्ट सुविधाहरूसहित नयाँ सुविधाजनक गाडी बजारमा आएपछि देशभरि नै यसले ध्यान तानेको थियो । मुख्यतया सहरी क्षेत्रमा बढ्दो प्रदूषण नियन्त्रण गर्न यी सवारीसाधन सञ्चालनमा लाउनु पर्ने देखिन्छ । सरकारको सकारात्मक हस्तक्षेप, गैर-सरकारी संस्थाहरूको प्रगति, र अन्तर्राष्ट्रिय दाताहरूको सहयोगले विद्युतीय गाडीको प्रयोगमा आशाजनक सुरुवातमा भएको पाइन्छ । तर, विद्युतीय क्षेत्रले अपेक्षित गति लिन भने सकेको छैन । उदाहरणका लागि, दुई वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतीय सवारीसाधनको देशव्यापी प्रयोगमा कम्तीमा २० प्रतिशतले वृद्धि गर्ने गरी विद्युतीय गतिशीलताका लागि राष्ट्रिय कार्ययोजना घोषणा गरेका थिए । सन् २०२० सम्ममा कार्यान्वयन गर्ने योजना थियो तर, अहिलेसम्म सुरु भएको छैन ।

यातायात क्षेत्रले विश्वव्यापी हरितगृह ग्यास उत्पादनको झन्डै एक तिहाइ भाग ओगटेको छ । विश्वव्यापी कार्बन डाइअक्साइडको स्तर खतरनाक स्तरमा बढ्दै गएको छ। विद्युतीय गतिशीलताले हरितगृह ग्यास उत्सर्जन घटाउन महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्छ । प्रदूषण नियन्त्रणका लागि प्रभावकारी हुने भन्दै विभिन्न राष्ट्रिय/अन्तराष्ट्रिय सन्धि सम्झौता र नीतिहरूले विद्युतीय वाहन खरीदलाई प्रोत्साहित गरिरहँदा पछिल्ला सरकारहरूले  सो कार्यलाई निरुत्साहित गरिरहेको देखिन्छ ।

नेपालमा विद्युतीय गाडीको उद्योग अझै पनि पुरानै अवस्थामा छ । सरकार र जनता यसको उद्योग र यसबाट वातावरणमा हुने फाइदाका बारेमा पूर्णतया सचेत छैनन् । यसअघि नेपालमा निकै कम गुणस्तरका विद्युतीय सवारी साधन उपलब्ध हुने गरेको र अहिले पनि यसबारे जनतामा यस्तै रहेको देखिएको छ ।

विद्युतीय स्कुटर प्रतिकिलोमिटर लागत ५० पैसा हो भने पेट्रोल इन्जिन स्कुटर प्रतिकिलोमिटर २ रुपैयाँ पर्न जाने विश्लेषणात्मक तथ्यांक विद्युत् प्राधिकरण (०७८) को रहेको छ । विद्युतीय सवारी साधन किन्दा पहिला केही महँगो भए तापनि सञ्चालन खर्चमा किफायती रहने देखिन्छ । पेट्रोल कारलाई प्रतिकिलोमिटर ७ रुपैयाँ खर्चिनुपर्छ भने विद्युतीय कारलाई २ रुपैयाँ र डिजेल बसहरूलाई प्रतिकिलोमिटर इन्धन लागत १७ रुपैयाँ लागिरहँदा विद्युतीय बसलाई प्रतिकिलोमिटर १३ रुपैयाँ भए पुग्छ ।

नेपालले पर्याप्त बिजुली उत्पादन गर्दै आएको छ । नेपाल जलस्रोतमा धनी भएको कारणले गर्दा पनि विद्युत् उत्पादन वृद्धि गर्न सकिन्छ । अहिलेको अवस्था हेर्दा उत्पादन बिजुली जति खेर जाने र उपयोग गर्न नसकिरहेको छ । बर्सेनि पेट्रोलियम पदार्थमा सरकारले खर्च गर्नुको सट्टा आफूसँग भएका स्रोतसाधनको सदुपयोग गरेमा, देशबाट बाहिर निस्कने धेरै पैसा बचाउन सकिन्छ । विद्युतीय सवारी साधन मर्मत गर्न पनि पेट्रोलियम पदार्थबाट चल्नेभन्दा सजिलो भएकाले यस्ता सवारी साधन बढी उपयोगी हुनसक्छन् । तर, पूर्वाधार र वातावरण तयार नहुँदा मानिसहरूले किन्ने आँट गर्न सकेका छैनन् ।

स्वदेशमै उत्पादित इन्धन प्रयोग हुँदा मुलुकलाई आत्मनिर्भर बनाउन, समग्र मुलुकको आर्थिक अवस्था र नागरिकको आय स्तर बढाउन सहयोग पुग्छ भने वातावरण सफा भई नागरिकको स्वास्थ्यमा सुधार ल्याउन, प्रदूषण कम भएसँगै पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्छ । स्वास्थ्यमा लगानी गर्नु भनेको स्वास्थ्य सामग्रीमा लगानी गर्नु मात्रै होइन, स्वस्थ वातावरण निर्माण गर्नमा लगानी गर्नु पनि हो । सवारी साधनको सवालमा अत्याधिक वातावरण प्रदूषण गर्ने पेट्रोलियम पदार्थलाई विस्थापित गर्दै विद्युतीय माध्यममा जाँदा देशलाई कुनै घाटा छैन ।

विद्युतीय सवारी साधनले देशको विकासमा पनि मद्दत गर्नेछ किनकि अधिकांश राजस्व देश भित्रै रहनेछ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ मा मुलुकले २ खर्ब १४ अर्ब ४८ करोड रुपैयाँको इन्धन आयात गरेको थियो । सन् २०१७/१८ मा नेपालको तेल आयात बिल १७१ अर्ब रुपैयाँ पुगेको छ । ‘उपलब्ध तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ को पहिलो तीन महिनामा रु २७ करोड ४० लाखको विद्युतीय सवारी आयात भएको छ भने आर्थिक वर्ष २०७५/७६ मा रु ७६ करोड ८० लाखको विद्युतीय सवारी आयात भएको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेटमा सरकारले विद्युत्को आन्तरिक खपत वृद्धि गर्न तथा वातावरणमैत्री यातायातका साधनको प्रयोगलाई बढवा दिन विद्युतीय सवारी साधनको आयातमा अन्तःशुल्क पुरै खारेज गरी भन्सार महसुल समेत उल्लेख्य मात्रामा घटाएको छ । पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनमा झन्डै साढे दुईसय प्रतिशत कर तिर्दै आएका उपभोक्ताले विद्युतीय सवारी साधनमा भन्सार महसुल १० र भ्याट १३ प्रतिशत मात्र तिरे पुग्छ । यसले गाडीको आयातमा सहज भएता पनि नेपालको बजारको आकार सानो भएकाले पनि मूल्य बढी नै रहेको छ । अधिकांश कम्पनीहरूले बिक्री गर्ने विद्युतीय सवारीको मूल्य ५० लाख भन्दा माथि नै बजार मूल्य रहेको छ । पुराना सवारी साधनलाई हटाउँदा मात्रै पनि हालको अवस्थामा उल्लेखनीय सुधार आउने देखिन्छ । तर, काठमाडौं जस्ता ठुला सहरमा गाडीको सिन्डिकेट चलिरहेको छ ।

यातायात समितिले आफ्ना कम क्षमता, पुराना पेट्रोलियम पदार्थबाट चल्ने गाडी हटाएर, नयाँ धेरै क्षमताका भएका, विद्युतीय गाडिलाई सुरु गर्न खोजेको थियो । तर, सरकारको आफ्नै नीतिले गर्दा सरकार सिन्डिकेट हटाउन विफल भयो । किनभने कम्पनी ऐनको दफा ९ (१) अन्तर्गत शेयर धनीहरूको सङ्ख्या सम्बन्धी व्यवस्थामा लेखिए अनुसार, “प्राइभेट कम्पनीको शेयर धनीहरूको सङ्ख्या एक सय भन्दा बढी हुनु हुँदैन” भनेको छ । तर, एउटै समितिमा दुई-तीन हजार बस धनी समेत रहेका हुनाले व्यवस्थापन कसरी गर्ने भनेर न सरकारले कुनै उपचार दिन सकेको छ, न त कानुनले नै । व्यवसायीहरू पनि कम्पनी ऐनको त्यस प्रावधानले आफूहरूलाई समस्यामा पारेको बताउँछन् ।

सरकारले वातावरणको निर्माण गर्ने हो भने विद्युतीय सवारी साधनलाई सकारात्मक रूपमा सञ्चालन गर्न सकिन्छ । यसका लागि चाहिने भौतिक संरचनाजस्तै चार्जिङ्ग स्टेशन, ब्याट्री, मर्मत केन्द्र जस्ता समस्या समाधानका लागि नेपाल आर्मी, प्रहरी, साझा सहकारीलगायतका संस्थाहरूलाई त्यसको इजाजत दिनुपर्ने र ठूला र मास ट्रान्सपोर्टका रूपमा चल्न सक्ने विद्युतीय सवारी साधन सञ्चालन गर्न सकिन्छ । विद्युतीय सवारी साधन पहिला किन्दा केही महँगो पर्ने भएकाले भन्सारमा न्यायोचित छुट, आवश्यक पार्टपुर्जाको सहज उपलब्ध गराउने व्यवस्थाले पक्कै पनि विद्युतीय सवारी साधनको प्रयोगमा आशातीत प्रगति  गर्नेछ ।

सम्बन्धित समाचार