बिहिबार , जेठ १४, २०८३

तस्बिरमा ‘ताप्लेजुङ–दार्चुला पर्यटन प्रवर्द्धन टूर’

image

ताप्लेजुङ । पर्यटन प्रवर्द्धनका लागि सुदूरपूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुलासम्मको मोटरसाइकल यात्रामा निस्किएको पत्रकार र कलाकारको टोली ताप्लेजुङ पुगेका छन् । जेठ १० गते बुधवार काठमाडौंबाट यात्रा सुरु गरेको टोली चार दिनपछि ताप्लेजुङ पुगेका हुन् ।

टोलीको औपचारिक यात्रा आइतबार ताप्लेजुङबाट सुरु हुनेछ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा आइतबार बिहान पत्रकार सम्मेलन गरेर औपचारिक यात्रा आरम्भ गर्न लागिएको टूरका संयोजक विष्णु विवेकले जानकारी दिए ।

एनटिपी मल्टिमिडिया ग्रुपको संयोजनमा, नेपाल उद्योग वाणिज्य सङ्घ, होटल एसोसिएसन अफ नेपाल (हान), नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्टस (नाट्टा), नेपाल पर्यटन बोर्डको सहकार्यमा टूरको आयोजना गरिएको हो ।

टोली काठमाडौंबाट निस्केको दिनमा खोटाङको हलेसी पुगेका थिए । हलेसीका पर्यटन व्यवसायी र हलेसी सूचना केन्द्रले टोलीलाई स्वागत गरेको थिए ।

टोलीले हलेसीका पर्यटन व्यवसायी, हलेसी महादेव मन्दिर व्यवस्थापन समितिका पदाधिकारी लगायत स्थानीयसँग पर्यटन प्रवर्द्धनका विषयमा छलफल गरेको थियो ।

जेठ ११ गते खोटाङको दिक्तेल बजारको भ्रमण, स्थानीय सञ्चारकर्मी, पर्यटन व्यवसायीसँग छलफल गर्दै खोटाङ र भोजपुरको सिमानास्थित चखेवा पुगेका थिए । चखेवा चर्चित मुन्धुम पदमार्गको बेसक्याम्प हो । टोलीले चखेवा र मुन्धुम पदमार्गको पर्यटन प्रवर्द्धनबारे स्थानीयसँग छलफल गरेका थिए ।

हिजो जेठ १२ गते पाँचथरको सदरमुकाम फिदिम पुगेको टोली आज ताप्लेजुङको सदरमुकाम फुङ्लिङका पुगेका छन् । जेठ १० देखि २५ सम्मको यात्रा तालिका तय भएपनि यात्राअवधि लम्बिने संयोजक विष्णु विवेकले बताए ।

“मौसमको गडबडी, बाटोको अवस्था, सवारी साधनको कन्डिसन लगायत कारणले यात्रा लम्बिने भएको छ । हामी जस्तोसुकै अवस्थामा पनि यात्रा सफल र उपलब्धिमूलक बनाउनेछौँ ।” उनले भने ।

आइतबार बिहान पत्रकार सम्मेलन पश्चात् ताप्लेजुङका स्थानीय पर्यटन व्यवसायी, राजनीतिक दलका प्रतिनिधि, पत्रकार र सरोकारवालासँग प्यानल डिस्कसन गरेर औपचारिक यात्रा अगाडि बढाइने संयोजक विष्णु विवेकले बताए ।

टोली आइतबार झापा पुग्ने छन् । टोलीले सातवटै प्रदेशमा स्थानीय सरोकारवालासँग पर्यटन प्रवर्द्धन, पर्यटकीय गन्तव्य, पर्यटनमा जलवायु परिवर्तनको असर लगायत विषयमा प्यानल डिस्कसन गर्नेछ ।

मध्यपहाडी लोकमार्ग र पुर्वपश्चिम राजमार्गको यात्राको क्रममा टोली करिब ६० वटा जिल्लामा पुग्नेछ । एकसय भन्दा बढी पर्यटकीय गन्तव्यमा पुग्नेछ । करिब एक हजार जना स्थानीय सरोकारवालासँग पर्यटन र जलवायु परिवर्तनबारे छलफल गरिने भएको छ ।

कोभिड महामारीबाट थला परेको पर्यटनलाई उठाउन, नयाँ पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन, पर्यटनमा जलवायु परिवर्तनको प्रभाव, पर्यटन व्यवसायीहरूको अवस्थाको अध्ययनका लागि टूर कोशेढुङ्गा साबित हुने टूरका एक जना क्रु मेम्बर राजाराम पौडेल (रियाज)ले बताए ।

टाेलीमा अहिले विष्णु विवेक, राजाराम पाैडेल, पवित्रा खड्का, चन्द्र तामाङ र चन्द्रकला कार्कीसहित पाँच जना छन् । काठमाडाैंबाट पाख्रिबाससम्म धनकुमार कार्की र नारायण खनाल पनि सम्मिलित थिए । अन्य पत्रकारहरू विभिन्न स्थानबाट जाेडिनेछन् ।

तस्बिरहरूः

   

सम्बन्धित समाचार