बिहिबार , कार्तिक २८, २०८२

दक्षिण एसियाकै ठुलो गुफामा बेनीघाट-रोराङ गाउँ कार्यपालिकाको बैठक सम्पन्न 

धादिङकाे बेनीघाट-राेराङ गाउँपालिका-८, स्थित घामपाङ गाउँ परिसरमा रहेकाे नाेहक गुफा दक्षिण एसियाकै ठुलाे गुफा भएकाे दाबी गरिएकाे छ ।

image

काठमाडौं । दक्षिण एसियाकै ठुलो गुफा, नोहक गुफामा धादिङको बेनीघाट रोराङ गाउँ कार्यपालिकाको बैठक सम्पन्न भएको छ । गुफाको प्रचारप्रसारमा टेवा पुर्‍याउने उद्देश्यले आज फागुन २० गते शनिवार गाउँ कार्यपालिकाका बैठक गुफामा राखिएको हो ।

गाउँपालिकाको वडा नम्बर ८ स्थित घाङबाङ भन्ने गाउँ नजिकै रहेको गुफा दक्षिण एसियाकै ठुलो गुफा मानिएको छ । गाउँ कार्यपालिकाको बैठकबाटै पालिका प्रमुख कृष्ण बहादुर थपलिया (विवेक)ले नोहक गुफालाई दक्षिण एसियाकै ठुला गुफा भएको घोषणा समेत गरेका छन् ।

“हामीले विगत एक दशक अघिदेखि नै यस गुफाको बारेमा सोधखोज गरिरहेका थियौँ । थुप्रै अध्ययन अनुसन्धानकर्ता, विज्ञ एवम् पर्यटन क्षेत्रका मानिसहरूले भ्रमण गरिसकेका छन् । सबैले यो गुफा दक्षिण एसियाकै ठुलो भएको दाबी गरेका छन्”, प्रमुख थपलियाले भने, “आजको यस ऐतिहासिक बैठकबाट नोहक गुफालाई दक्षिण एसियाकै ठुलो गुफा घोषणा गर्दछौँ ।”

बैठकपछि सञ्चारकर्मीसँग बाेल्दै बेनीघाट राेराङ गाउँपालिकाका प्रमुख कृष्ण बहादुर थपलिया (विवेक)

बैठकबाट नोहक गुफाको विकास, पर्यटन प्रवर्द्धन, विकास तथा विस्तारका लागि गाउँपालिकाले नोहक गुफा विकास समितिको गठन गर्ने निर्णय गरेको छ । बैठकमा गुफा र गुफासम्म पुग्ने बाटो, खानेपानी, विद्युत्, सञ्चार लगायत भौतिक पूर्वाधारहरूको विकास गर्ने, गुफाको प्रचारप्रसार गरी पर्यटकहरूमाझ पुर्‍याउने र पर्यटन प्रवर्द्धन गर्ने लगायत विषयवस्तुहरूमा छलफल भएको छ ।

गाउँपालिकाका उपप्रमुख टाप बहादुर श्रेष्ठले गुफाको प्रचारप्रसार गरी पर्यटनको प्रवर्द्धन गर्न सके गाउँपालिकाको मात्रै नभएर देशकै गरिमा बढ्ने र गाउँपालिकाको आर्थिक विकासको मेरुदण्ड बन्ने बताए । स्थानीय अति सीमान्तकृत चेपाङ समुदायको जीवनस्तर उकास्नका लागि गुफा वरदान भएको उनले बताए ।

बैठकमा राय राख्दै नेपाली कांग्रेस बेनीघाट रोराङका सभापति ऋषिनाथ त्रिपाठीले गुफाको प्रचारप्रसार र आवश्यक भौतिक पूर्वाधारहरूको विकासमा गाउँपालिकाले विलम्ब गर्न नहुने बताए । गुफाको प्रवर्द्धन गरी पर्यटनबाट गाउँपालिकाको आर्थिक विकासमा टेवा पुग्ने हिसाबले कार्यक्रमहरू अगाडि बढाउन सभापति त्रिपाठीको सुझाव थियो ।

नेकपा माओवादी केन्द्र, बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष राजेन्द्र कँडेलले गुफाको प्रचारप्रसारमा टेवा पुर्‍याउने हिसाबले गाउँपालिकाले गाउँ कार्यपालिकाको बैठक गुफामा राख्नु ऐतिहासिक कदम भएको बताए । बैठक गुफाको प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा कोशेढुङ्गा साबित हुने अध्यक्ष कँडेलको भनाइ थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, बेनीघाट रोराङका अध्यक्ष सन्तोष धरेलले गुफाको बारेमा अझै पनि थुप्रै खोज अध्ययन अनुसन्धान जरुरी रहेको बताए । गुफाको प्रचारप्रसार, प्रवर्द्धन र विकासका लागि निरन्तर लागिपर्न आवश्यक रहेको उनको भनाइ थियो ।

गुफा प्रवेशद्वार

कसरी पुग्ने नाेह गुफा ?

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङको चरौँदी बजारबाट करिब २४ किलोमिटरको दुरीमा गुफा अवस्थि छ । अहिले करिब १५ किलोमिटर, दुङबाङसम्म बाटो बनेको छ । दुङबाङबाट तीन करिब दुई घण्टाको पैदल यात्रापछि घाङबाङ भन्ने गाउँमा पुग्न सकिन्छ । घाङबाङबाट ४५ मिनेटको पैदल यात्रापछि गुफामा पुग्न सकिन्छ ।

अहिले प्रदेश सरकारको लगानीमा बाटो बन्ने क्रममा रहेको छ । गुफासम्म जाने बाटोका लागि ९९ करोड (करिब एक अर्ब रुपैयाँ) बजेट विनियोजन भएको छ । गाउँपालिकाका उपप्रमुख टाप बहादुर श्रेष्ठका अनुसार अहिलेसम्म ७६ करोड रुपैयाँको ठेक्का लागिसकेको छ ।

गुफालाई प्रचारप्रसार गरी पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यले गाउँपालिकाका जनप्रतिनिधि, गाउँ कार्यपालिकाका पदाधिकारी, सदस्यहरू, कर्मचारी, राजनीतिक दलका नेता, स्थानीय समुदाय र सञ्चारकर्मी सम्मिलित करिब दुई सय जनाको टोली फागुन १९ गते शुक्रवार नै घामपाङ पुगेका थिए । घामपाङमा चेपाङ अति सीमान्तकृत चेपाङ समुदायको बसोबास बसोबास रहेको छ । गुफा जाँदा चेपाङ समुदायको संस्कार, संस्कृति, जीवनशैलीको अध्ययन अवलोकन गर्न र मौलिक खानपानको स्वाद पनि लिन पाइन्छ ।

पर्यटकहरूले स्थानीय पथप्रदर्शक विना गुफामा भ्रमण गर्न मिल्दैन । गाइडविना गुफामा प्रवेश गर्दा हराउने सम्भावना हुन्छ । घण्टाैँसम्म घुम्दा पनि नटुङ्गिने गुफाभित्र थुप्रै मार्गहरू रहेका छन् । स्थानीय चेपाङ समुदायले पथप्रदर्शककाे काम गर्दछन् । त्यसबापत केही शुल्क लिने गरेका छन् ।

गुफामा पस्दै पर्यटक

 

Tags:

सम्बन्धित समाचार