शुक्रबार , अषोज १४, २०७९

पनौती हुँदै नमोबुद्धसम्म पुग्दा

अध्यात्म, प्रकृति र संस्कृतिको त्रिवेणीधाम नमो: बुद्ध शान्त र शीतल छ । हावाले फर्फर गरिरहेका रंगीन ध्वजा र लुङदारहरुले डाँडै झकिझकाउ देखिन्छ ।

image

  • केशवराज

काठमाडौं उपत्यका वरिपरिका जुनसुकै चुचुरामा पुग्दा पदयात्रीको दिमागमा प्राय: आउने पहिलो प्रश्न फूल्चोकीको चुचुरामा पुग्दा पनि आउने गर्छ । यति सुन्दर काठमाडौँ उपत्यका कङ्क्रिटको जङ्गलमा परिणत भएर कुरूप हुनु अघि कस्तो थियो होला ?

त्यसको जवाफ खोज्न फूलचोकीबाट रयाले बिहावर वन, गुर्दुम डाँडा, नागीडाँडा हुँदै वा लठ्ठाभञ्ज्याङ, खानीगाउँ, मानेदोभान हुँदै पूर्व लागेर कुशादेवी भएर काभ्रपलाञ्चोक जिल्लाको प्राचीन नेवार बस्ती पनौती क्षेत्र पुग्दा केही हदसम्म पाउन सकिन्छ । पूर्वतिर ओरालो लागेर थप केही किलोमिटर छिचोलेपछि मध्ययुगीन नेवारी वास्तुकलाको राजधानी पनौती पुगिन्छ । त्यहाँ रहेको सेतो माने तथा फूल्चोकी खोला र मुरली खोलाको दोभानका कारण कुशादेवी जाँदा बाटोमा पर्ने बस्तीको नाम मानेदोभान रहन गएको भन्ने भनाइ रहेको छ ।

काभ्रेपलाञ्चोक जिल्लाका कुशादेवी, रयाले र लाँकुरी भञ्ज्याङ क्षेत्रलाई बिहावर भनिन्छ । सडक यातायात नहुँदा पूर्वबाट सिन्धुली, दाप्चा भएर आउने यात्रुहरू लाँकुरी भञ्ज्याङ हुँदै काठमाडौं पस्ने मुख्य नाका कुशादेवीमा अधिकांश बाहुन, क्षेत्री तथा केही तामाङ बस्ती रहेका छन् । फूल्चोकीबाट आउने लीलावती र आशापुरीबाट आउने सुवर्णगंगा दुई नदीको सङ्गम रहेको कुशादेवीबाट पूर्व लाग्ने खोला लीलावतीका नाममा पनौतीमा पुगेर मिसिए पछि रोशी खोलाको नाउँले चिनिन्छ ।

कहिले वन तथा कहिले स–साना गाउँबस्ती पार गर्दै जाँदा शुरुमा यात्रा लामो पनि लाग्न सक्छ । तर पनौती पुगेर इन्द्रेश्वर महादेव मन्दिर लगायत ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको अवलोकन गर्न पाउँदा यात्राको थकान हराउने मात्र होइन, कला तथा सम्पदा जोगाउने स्थानीयवासीको क्षमतालाई प्रशंसा गर्न मन लाग्छ । करिब ४–५ घण्टाको हिँडाइमा पार गरिने सो बाटो फूल्चोकीदेखि पनौतीसम्म नै प्राय: सबै ओरालो हो । यस पदयात्राका मुख्य आकर्षण घना जङ्गल र टाकुरा हुँदै यात्रा गर्ने अवसर, खेतका फाँट र पहाडी हरियाली, गाउँबस्ती, हिमालको दृश्यावलोकन, पुराना नेवार बस्ती, प्राचीन मन्दिर तथा घाट आदिको अवलोकन हो ।

बनेपाबाट करिब सात किलोमिटर दक्षिण स्थित अहिलेको पनौती पुग्दा सुनिने सवारी साधनका हर्नका आवाज तथा मानिसको भीड, बजार देख्दा भने पनौती कुनै समय ऋषि गोरखनाथको तपोभूभि हुने गरेको विश्वास गर्न भने गाह्रो हुन्छ । पनौतीको त्रिवेणी तीर्थबाट पश्चिममा देखिने तीनतले छानो शैलीको इन्द्रेश्वर महादेवको मन्दिर र त्यस वरपर रहेका सत्यनारायण, लक्ष्मीनारायण, सूर्यनारायण, उमामहेश्वर, विश्वेश्वर महादेव, कृष्ण, उन्मत्त भैरव आदिका मन्दिरहरू आदि त्यहाँका आकर्षण हुन् । विश्व सम्पदा सूचीमा सूचिकृतका लागि प्रस्ताव गरिएको ऐतिहासिक, सांस्कृतिक, धार्मिक शहर पनौतीको अवलोकन गरे पछि त्रिवेणीधामबाट गोरखनाथ डाँडाको अवलोकन गरी नमोबुद्धतर्फ जान सकिन्छ ।

पनौती अझ पूर्व लागेर थप ३-४ घण्टामा सहजै नमोबुद्धसम्म पुग्न सकिन्छ ।

पनौतीबाट सुन्थान, इँटे, शंखुपाटीचौर हुँदै करिब १० किलोमिटरको दूरीमा रहेको बौद्ध धर्मावलम्बीहरूको ऐतिहासिक स्थल नमोबुद्धसम्म हाइकिङ गर्न सकिन्छ । सुन्थानको मनमोहक सुन्तला बगैँचा, शंखुपाटीचौरको हरियाली फाँट, मौलिक घर र रहनसहन, पारी देखिने खोपासी, ढुङ्खर्क, च्यासिङखर्क, कामीडाँडा, बल्थली जस्ता सुन्दर बस्ती र हरियाली डाँडाकाँडासँग भलाकुसारी गर्दै हिँड्दा नमोबुद्ध पुगेको पत्तै हुँदैन । बाटोमा पनौती नगरपालिकाका वडा नं. ९, धुलिखेल नगरपालिका वडा नम्बर १२ र नमोबुद्ध नगरपालिका वडा नम्बर ११ श्यामपाटी लगायतका ठाउँहरू भेटिन्छन् । शंखुपाटीचौर गाउँ कृषिका लागि उर्वर छ । त्यहाँ सुनमती कुण्ड र शंखबुद्ध पाउ पनि रहेका छन् । सुन्तलाका लागि समेत चर्चित शंखु क्षेत्रमा शंखेश्वरी खोला नजिकै नदीको किनारमा पुरानो शंखेश्वरी मन्दिर, प्यागोडा शैलीको कलात्मक महादेव मन्दिर तथा भगवतीको मन्दिर रहेका छन् ।

बौद्धमार्गीहरुको नेपालमा भएका प्रमुख चार धाम (बौद्धनाथ, लुम्बिनी, स्वयम्भू र नमोबुद्ध) मध्ये एक नमो: बुद्ध (१,८००मिटर) सँग शाक्य मुनि गौतम बुद्धको पूर्व जन्मको इतिहास जोडिएको छ । राजा महारथका तीन छोरा मध्ये दयालु कान्छो छोरा महासत्त्वले वन घुम्न जाँदा पाँच डमरुकी वृद्ध आमा बघिनीले भोकले व्याकुल भएर आफ्नै बच्चालाई झम्टन खोजेको देखी आफ्नै शरीरको मासु काटेर बघिनीलाई खुवाएको तथा अर्को जुनीमा सिद्धार्थ गौतमका रूपमा लुम्बिनीमा जन्मिएको किम्बदन्ती रहेको छ । पछि, बघिनी सिद्धार्थकी कान्छी आमा प्रजावतीका रूपमा तथा डमरुहरू बुद्धका चेलाका रूपमा जन्म लिएको विश्वास गरिन्छ । महासत्त्वका कपडा र हाडखोर बटुलेर तल भञ्ज्याङमा चैत्य (स्तूप) बनाइएको विश्वास गरिन्छ । बुद्धत्व प्राप्त गरेपछि चेलाहरूसँग काभ्रेको श्यामपाटीमा आएका गौतम बुद्धले त्यो चैत्यलाई तीनपटक घुमेर नमन गरेको कारण सो स्थानलाई नमो: बुद्ध भनिएको भन्ने भनाइ रहेको छ । डाँडा माथिका गुम्बा पछि मात्र बनाइएको हो ।

अध्यात्म, प्रकृति र संस्कृतिको त्रिवेणीधाम नमो: बुद्ध शान्त र शीतल छ । हावाले फर्फर गरिरहेका रंगीन ध्वजा र लुङदारहरुले डाँडै झकिझकाउ देखिन्छ । डाँडाबाट मकालु, चोयु, गौरीशङ्कर, जुगल, फुर्बीघ्याचु दोर्जेलाक्पा, लाङटाङ, गणेश र मनास्लु जस्ता हिमालहरू आँखै अगाडि देखिन्छन् । त्यहाँबाट चारै तिर सुन्दर हरिया डाँडाकाँडा र बस्तीहरू पनि देखिन्छन् ।

नमो: बुद्धसम्म पनौती वा धुलिखेल वा काभ्रेभञ्ज्याङ वा दाप्चाबाट मोटर बाटो भए पनि काठमाडौंबाट नजिकै रहेको नमो: बुद्ध क्षेत्रमा चारैतर्फ जानका लागि अनेकौँ सुन्दर हाइकिङ मार्गहरू पनि रहेका छन् ।

अनुमानित दूरी:

काठमाडौं – बनेपा: २५ किमी; काठमाडौ. – धुलिखेल: ३० किमी; काठमाडौं – पनौती: ३२ किमी; काठमाडौं – बतासे: ३५ किमी; काठमाडौ – नमो बुद्ध: ५० किमी; लठ्ठाभञ्ज्याङ – पनौती – १३ किमी; बनेपा – पनौती: ७ किमी; धुलिखेल – (वी.पी राजमार्ग हुँदै) काभ्रेभञ्ज्याङ्ग: ८ किलोमिटर; बतासे – नमोबुद्ध: ६ किमी; नमो बुद्ध – काभ्रे भञ्ज्याङ: ७.५ किमी तथा पनौती – नमोबुद्ध: १० किमी।

Tags:

सम्बन्धित समाचार