काठमाडौं । सगरमाथा क्षेत्रमा अनुमतिविना प्याराग्लाइडिङ गर्ने एक अमेरिकी नागरिकलाई पर्यटन विभागले कारबाही गर्ने भएको छ ।आइतबार दिउँसो सगरमाथाको क्याम्प २ मा अवैध प्याराग्लाइडिङ गरेका ड्यारेन जोनलाई कारबाही गरिने भएको हो।
प्याराग्लाइडिङ गर्ने व्यक्ति र उनलाई लैजाने कम्पनी सेभेन समिटलाई स्पष्टीकरण सोधी आवश्यक कानुनी कारबाही गरिने पर्यटन विभाग पर्वतारोहण शाखाका निर्देशक युवराज खतिवडाले जानकारी दिए ।
उनका अनुसार, सगरमाथा आरोहणको अनुमति पाएका उनले प्याराग्लाइडिङको भने अनुमति लिएका थिएनन् । अहिले छानबिन समितिले अध्ययन गरिरहेको र, अध्ययन प्रतिवेदन आएपछि कारबाही सुरु हुने जानकारी गराइएको छ।
अध्ययनपछि अवस्था अनुसार कानुनी कारबाही गरिने उनको भनाइ छ । उनले भने,‘परमिट रद्द गर्नेसम्मको पनि कारबाही हुन सक्छ ।’
रिपोर्ट आएपछि उनलाई लैजाने एजेन्सीलाई समेत स्पष्टीकरण सोधिने निर्देशक खतिवडाले जानकारी दिए । खतिवडाकै संयोजकत्वमा सगरमाथा आधार शिविर अनुगमन तथा सहजीकरण समिति गठन गरिएको छ । जसमा नेपाली सेनाका किशोर अधिकारी र छिरिङ शेर्पाले अनुगमन गर्नेछन् ।