लैंगिक विभेदलाई अँठ्यारहेका पितृसत्तात्मक राज्यव्यवस्थाको प्रतिनिधित्व गरिरहेका पुरुष कलाकारहरू चराको पृष्ठभागमा लेखिएका स्लोगनहरूलाई जानाजान च्यात्ने, टोक्ने, लुछ्ने, चपाउने, कुल्चिने एवम् थुक्ने र टुक्रा-टुक्रा बनाउन थाल्छन् ।
काठमाडौं । रातो टिसर्ट ल्याएर मन्चमा प्रवेश गरेका तीन युवतीहरूको अनुहार चिन्न सकिँदैन थियो । सेतो ब्यान्डेजद्वारा अनुहार बाँधिएका उनीहरूको दुवै हातमा रंगीचंगी कागजका चराहरू झुन्डिएका देखिन्थे ।
चरा स्वतन्त्रताको विम्ब हो । चरा आकाशको बिम्ब हो । चरा उचाईको बिम्ब हो । चरा उडानको बिम्ब हो । सबैसबै संकुचन, द्वेष, बाध्यता र शोषित हुनुको मनोभाव देखि माथि उठ्नु या उठ्न खोज्नुको सांकेतिक प्रस्तुति हो- चरा ।

तस्बिर : मनिष अर्याल
चराहरूको पृष्ठभागमा लेखिएको थियो- ‘वन हराभरा, महिला कठैबरा !’, ‘पितृसत्ताले आत्मालोचना गरोस् !’, ‘पीडितलाई आरोपित नगरौं’, ‘नो मिन्स नो’, ‘बी बोल्ड फर चेन्ज’, ‘आई एम जेनेरेसन इक्वालिटी : रिअलाइजिङ विमिन्स राइट्स’, ‘खबरदार’, ‘जेन्डर इक्वालिटी इज अ ह्युमन फाइट, नट अफ फिमेल फाइट’, ‘डियर मम, एम फाइटीङ फर यू’, ‘महिला सशक्तीकरणः व्यवहारमा उतारौँ’ र आदिआदि ।
सडकमा हिँडिरहेका आममानिस, कलेजका विद्यार्थीहरू, सार्वजनिक यातायातका यात्रीहरू, सुरक्षाकर्मीहरू टक्क रोकिएर उनीहरू नियाल्दै थिए । युवतीहरू आ-आफ्ना हात उचालेर स्वतन्त्र अनुभव गर्दै गरेका देखिन्थे, तर उनीहरूका हात-हातमा रहेका चराहरूले विसंगतिपूर्ण समाजको महिलाद्वेषी मनोदशाहरू, लैंगिक विभेदका शृंखलाबद्ध घटनाहरूलाई प्रतिबिम्बित गरिहेका थिए । गरिरहेका थिए- विभेदयुक्त चिन्तनले ग्रसित नेपाली समाजको विद्रुप तस्वीर, महिला प्रतिनिधित्वको समान सुनिश्चितताको माग ।

जसै युवतीहरू दर्शकहरूतर्फ फर्केर स्वतन्त्र समाजको परिकल्पना गर्दै थिए, अचानक कालो कपडाले अनुहार ढाकेका पुरुषहरूको आगमन हुन्छ । एकाएक उनीहरू लैग्निक हिंसासँग सम्बन्धित पर्चाहरु लिएर उभिरहेका युवतीहरूमाथि जाइलाग्छन् । महिलामुखी नीतिको माग गरिरहेका युवतीहरूलाई लुछ्ने, लडाउने, चिथोर्ने गर्न थाल्छन् ।

उनीहरू यतिमै रोकिंदैनन् ! शारीरिक, मानसिक, यौनजन्य मनोवैज्ञानिक वा अन्य कुनै पनि किसिमको हिंसाजन्य कार्य र शोषणमार्फत महिलाको सुरक्षित र सम्मानपूर्वक बाँच्न पाउने अधिकार खोस्न अग्रसर हुन्छन् । महिलामैत्री, बालबालिकामैत्री, अपांगतामैत्री समाजको कल्पना गर्नु नै पाप हो र सो पापको भागीदार यिनै हुन् झैँ गरि युवतीहरूलाई हेयको दृष्टिकोणले हेर्छन् ।
..दर्शकहरू मूकदर्शक बनिरहेका हुन्छन्, केहि आफ्ना ओठ टोक्छन्, केहि आँखा चिम्लिन्छन् ।

लैंगिक विभेदलाई अँठ्यारहेका पितृसत्तात्मक राज्यव्यवस्थाको प्रतिनिधित्व गरिरहेका पुरुष कलाकारहरू चराको पृष्ठभागमा लेखिएका स्लोगनहरूलाई जानाजान च्यात्ने, टोक्ने, लुछ्ने, चपाउने, कुल्चिने एवम् थुक्ने र टुक्रा-टुक्रा बनाउन थाल्छन् । यसप्रकार, महिला हिंसाविरुद्धको अभियानलाई गति दिइरहेका युवतीहरू निकै छोटो समयमा भुइँमा पुग्छन् र अनगिनत पुरुषप्रधान हेपाइको सिकार हुन् पुग्छन् ।

पर्फमेन्सको अन्त्यमा तीनै युवतीहरूले लैंगिक विभेदविरुद्धको तत्कालीन र दीर्घकालीन संघर्षसँग जुध्दै ति पुरुषहरूलाई धकेलिदिन्छन् र छरिएका/च्यातिएका/मिल्किएका ‘चराहरू’ बटुलबाटुल पार्छन् र आफूले जोगाइराखेका केहि सग्ला चराहरू आकाश ताकेर उडाउछन् । महिलामाथिको हिंसा न्यूनीकरणका लागि प्रतिबद्ध देखिएका तीनै जना युवतीहरू एकअर्काका कुममा मुन्टो अडाएर निकैबेर सम्म ति चराहरूको उडान नियालीरहन्छन् । महिला हिंसामाथिको न्याय सम्पादनका बग्रेल्ती त्रुटीहरूलाई प्रश्न गर्दै नियालीरहन्छन्- त्यो खुला निलो आकाश, त्यो स्वतन्त्र उडान.. ।

र, यसै समय सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारीहरू, रोट्र्याक्ट क्लब अफ रुद्रामतिका सदस्यहरू, आम नागरिक, सामाजिक अभियन्ताहरू आ-आफ्ना हातमा रहेका चराहरूलाई उसैगरी आकाश ताकेर उडाउछन् । उडाइरहन्छन्..।
र, यसप्रकार सामाजिक, सांस्कृतिक, राजनैतिक एवम् समसमायीक बेथिति, विभेदविरुद्ध बिम्बात्मक रुपमा प्रस्तुत हुँदै आइरहेको आभा फर कियटीभिटीका कलाकारहरूको यस ‘पर्फमेन्स आर्ट’ सकिन्छ ।
करिब १० मिनेटमा समापन भएको ‘निर्दोष पंक्षी’ शीर्षकको यस आर्टको परिकल्पना राजु झल्लु प्रसादले गरेका हुन् । यस ‘पर्फमेन्स आर्ट उनीसहित पूर्णिमा गिरि, सुषमा तिमिल्सिना, मनिषा श्रेष्ठ, राजु उवरकोटी र सुरज पराजुलीको उपस्थिति रहेको थियो ।

सामुदायिक वन उपभोक्ता महासंघको आयोजनामा १६ दिने लैंगिक हिंसाविरुद्धको कार्यक्रम अन्तर्गत आभा फर कृयटीभीटीले माइतीघर मण्डलामा यस ‘पर्फमेन्स आर्ट’ प्रस्तुत गरेको हो । रोट्र्याक्ट क्लब अफ रुद्रामतिले कार्यक्रममा सह-आयोजकको भूमिका निभाएको थियो ।

‘सभ्य समाजको पहिचान : लैंगिक हिंसाविरुद्धको अभियान’ नारासहित आयोजना गरिएको उक्त कार्यक्रममा फेकाेफनकी केन्द्रीय अध्यक्ष भारती पाठक, महासचिव विर्खबहादुर शाही, काेषाध्यक्ष पार्वता गाैतम, सचिव ठाकुर भण्डारी, गङ्गा विष्ट, सुजन खनाल लगायत सहभागी थिए ।

फेकाेफनका सचिव भण्डारीले संस्थाले निरन्तर रुपमा अभियान सञ्चालन गर्दै आएकाे भन्दै ३६५ दिन नै अभियान आवश्यक रहेकाे बताए ।अभियानमा सडक नाटक, सचेतनामुलक र्याली, निबन्ध प्रतियोगिता, ड्रामालगायतका कार्यक्रमहरु राखिएको उनले बताए ।
महासंघकी लैंगिक समनाता तथा सामाजिक समावेशीकरण अधिकृत गङ्गा विष्ट वन जङ्गलमा काम गर्ने महिला अभियानकर्मीहरु अदृश्य रुपमा हिंसामा परिरहेका बताउँछिन् । “जङ्गलमा घाँस, दाउरा गर्न जाँदा महिलामाथि गरिने अमानवीय व्यवहार, अपराधजन्य गाली, गलौज आदि । यस्तै पुरुष वर्गले असहयोग गर्ने, आर्थिक अभाव र चरित्रसँग जोडेर हेर्ने प्रवृति अझै बाँकी छ”, उनी भन्छिन् । यस्ता हिंसाको अन्त्य गर्न सामुदायिक वन उपभोक्ता महासंघ नेपालले अहिले संचालन गरिरहेको गतिविधिसँगै अन्य व्यापक अभियान संचालन गर्नु आवश्यक रहेको उनले बताइन् ।

नोभेम्बर २४ देखि विश्वव्यापी रुपमा सुरु भएको १६ दिने अभियान डिसेम्बर १० सम्म चल्नेछ । सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीनजना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो ।
उक्त हत्यालाई लिंगका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ। एकै परिवारका तीनजना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।