बुधबार , कार्तिक १९, २०८३

पर्यटन फोटो पत्रकारहरूलाई तीन दिने तालिम

image

काठमाडाैं । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपीद्वारा संयुक्त रूपमा सञ्चालित परियोजना जीविकोपार्जनका पुनः उत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को आयोजना, राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को सहकार्य तथा सञ्चारीका समूह नेपालको संयोजनमा सोमबार देखि काठमाडौंमा पत्रकार महिलाहरूका लागि तीन दिने फोटो पत्रकारिता तालीम सुरु भएको छ ।

विभिन्न सञ्चारमाध्यममा कार्यरत ४५ जना पत्रकार महिलाहरूको सहभागिता रहेको तालीममा फोटो पत्रकारिताका सैद्धान्तिक र व्यावहारिक विषयवस्तुको संयोजन सहित नेपालको पर्यटनका बारेमा समेत प्रशिक्षण दिइने छ । यस्तै तालीममा पर्यटन फोटो पत्रकारिताका क्षेत्र र यसका आयामबारे पनि प्रशिक्षण हुने परियोजनाले जानकारी दिएको छ ।

तालिम उद्घाटन सत्रमा बोल्दै नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले परियोजनाले पर्यटन क्षेत्रमा विभिन्न तालिम सञ्चालन गरिरहेको सन्दर्भमा पत्रकार महिलाहरूका लागि यो तालीम आयोजना गरिएको र यसले पर्यटन बिटमा कलम तथा क्यामेरा चलाउने पत्रकारहरू लाभान्वित हुने अपेक्षा गरिएको बताए ।

सञ्चारीका समूहका अध्यक्ष विमला तुम्खेवाले पछिल्लो समय पत्रकारितामा महिला सहभागिता बढिरहेको सन्दर्भमा यो तालीमले पर्यटन क्षेत्रमा क्यामेरा चलाउने पत्रकार महिलाहरूको क्षमता अभिवृद्धि हुने बताए ।

राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले तालिमलाई व्यवहारिक बनाउन सैद्धान्तिक तथा व्यवहारिक कक्षाहरू सञ्चालन गरिएको र यसले फोटा पत्रकारिताका काम गर्दै गरेका तथा नयाँ आउन चाहनेलाई समेत सहज हुने बताए ।

तालीमको पहिलो दिन नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट टी.पी. भुसालले नेपालको भूगोल, धर्म, कला, संस्कृतिका साथै पर्यटन पत्रकारिताका बारेमा प्रशिक्षण दिएका थिए ।

यस्तै अर्का प्रशिक्षक राजन काफ्लेले फोटो पत्रकारिताकाे सैद्धान्तिक विषय तथा क्यामेराको सञ्चालन लगायतका बारेमा प्रशिक्षण दिएका थिए । तालीमको मङ्गलवार बुधवारको शेसनमा फोटो पत्रकारहरू सुनिल शर्मा र सुनिल श्रेष्ठ लगायतले प्रशिक्षण दिनेछन् । यस्तै वरिष्ठ फोटो पत्रकारहरू मीन बज्राचार्य र विकास कार्कीले फोटो पत्रकारिताको अनुभव र नयाँ आयामबारे आफ्ना अनुभव साट्नेछन् ।

एसटीएलआरपीले पर्यटनका अन्य क्षेत्रमा तालिम सञ्चालन गरिरहेको सन्दर्भमा पत्रकार महिलाहरूको फोटो पत्रकारिताको क्षेत्रमा क्षमता अभिवृद्धि होस भनेर यो तालिमको आयोजना गरिएको परियोजनाका जीविकोपार्जन विज्ञ धर्म दवाडीले बताए । दवाडीका अनुसार परियोजनाले छिट्टै एनएफपीजेसंगको सहकार्यमा पुरुष तथा महिला दुवै पत्रकारका लागि अर्को तालीम समेत आयोजना गर्ने छ ।

सम्बन्धित समाचार