आइतबार , भाद्र २८, २०८३

सगरमाथामा कन्सर्ट गरेर राजु लामाले राखे विश्व कीर्तिमान

image

काठमाडौं । गायक राजु लामाले सगरमाथा क्षेत्रमा ६ हजार पाँच सय ७४ मिटरको उचाइमा एकल कन्सर्ट गरेर विश्व कीर्तिमान राखेका छन् । जलवायु परिवर्तनको असरबारे सन्देश दिन गायक लामाले सगरमाथाको क्याम्प-३ मा पुगेर गीत गाएका हुन् ।

उनको यो कन्सर्ट सबैभन्दा उचाइमा गरिएको सांगीतिक कार्यक्रम बनेको छ ।

राजुले आफ्नो सार्वजनिक नै नभएको ‘हिमालले डाक्यो मलाई’ बोलको नयाँ गीतको प्रस्तुति दिएका हुन् । यसबाहेक उनले मंगोलियन हार्ट ब्यान्डका चर्चित गीतहरू गाएका थिए ।

‘६५ सय मिटरभन्दा माथिको उचाइमा गीत गाउन सजिलो छैन,’ गायक राजुले सामाजिक सञ्जाल फेसबुकमा एक भिडिओ पोस्ट गर्दै लेखेका छन्, ‘तर मलाई त्यहाँको पातलो हावा र चुनौती मन पर्‍यो । हाम्रो उद्देश्य जलवायु परिवर्तन र दैनिक जीवनमा विश्वभरी यसको प्रभावबारे सचेतनाको सन्देश दिनु हो ।’

यसअघि बेलायती गायक ओज बेल्डोनले सन् २०१२ मे १६ तारिखमा मेरापिक हिमालको ६ हजार चार सय ७६ मिटर उचाइमा कन्सर्ट गरेर गिनिज विश्व रेकर्ड राखेका थिए । उक्त रेकर्डलाई गायक राजुले तोड्दै नयाँ कीर्तिमान राखेका छन् ।

सम्बन्धित समाचार