बुधबार , बैसाख १९, २०८१

पर्यटक लाेभ्याउँदै रुप्से झरना

image

काठमाडाैं । अहिले हिउँद सकिएको छ भने वर्षायाम सुरु भइसकेको छैन । मौसम पनि खासै सोचेजस्तो छैन । यो समयमा बेनी–जोमसोम सडकखण्ड अन्तर्गत पर्ने अन्नपूर्ण गाउँपालिका–३, दानामा पर्ने रुप्से झरनाले पर्यटकको मन लोभ्याउने गरेको छ ।

रुप्से झरनाको पानी गहिरो अन्ध गल्छीमा पुगेर कालीगण्डकी नदीमा मिसिन्छ । आन्तरिक तथा बाह्य पर्यटक रुप्सेको मनमोहक दृश्य प्रत्यक्ष हेर्न लालायित हुने गर्छन् ।

पर्यटन व्यवसायी अन्नपूर्ण गाउँपालिका–१, दोवाका धनबहादुर पुनका अनुसार दायाँ अन्नपूर्ण र बायाँ धौलागिरि हिमालको बीचमा

बग्ने पवित्र कालीगण्डकीको मनमोहक दृश्यमा पर्यटक भुल्ने गर्छन् ।

धरमपुर बचत तथा ऋण सहकारी शिवसताक्षी–१, झापाको टोली मुक्तिनाथ हुँदै कोरलासम्मको भ्रमणका लागि आएको थियो । टोलीले रुप्से झरनामा गाडी रोकेर फोटो खिच्ने र टिकटक पनि बनायो । सहकारीका व्यवस्थापक विनोद ढकालले भने, “झापाबाट सहकारीको भ्रमण टोली मुक्तिनाथसम्मको यात्रामा यसअघि दुई पटक आएका थियौँ। यस पटक भने हामी कोरला नाकासम्मै पुग्ने योजना छ ।”

रुकुमका नारायण मगर पनि रुप्सेमा आइपुग्दा उत्साहित देखिन्थे । पहिलो दिन काठमाडौँबाट तातोपानी आएर बसेको उनको टोली दोस्रो दिन उपल्लो मुस्ताङतर्फ लागेर तेस्रो दिन रुप्से आइपुगेको थियो । मगर भन्छन्, “जाँदा फोटो खिचिएन फर्कँदा त खिच्नै पर्‍यो भनेर यहाँ गाडी रोकेर तस्बिर खिच्न थालेका हौँ ।”

चितवनको देवघाटमा अध्ययन गर्दै आउनुभएकी अश्लेषा पौडेल पनि आफ्नो बाबासँग रुप्से पुगिन् । नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा पहिलाको बिदाको सदुपयोग गर्न रुप्से पुग्दा आफू निकै उत्साहित भएको उनले बताइन् ।

पछिल्लो समय सडकमा भएको स्तरोन्नतिसँगै मुक्तिनाथ तथा कोरला नाका भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकको वृद्धि भएको छ । केही समय विश्राम गर्ने र फोटो खिच्नका लागि रुप्से झरना उपयुक्त भएको व्यवसायी पुनको भनाइ छ । उनले भने “छोटो समय विश्राम गर्न रुप्से क्षेत्र निकै उपयुक्त स्थान हो ।” विश्वमै चर्चित र मनमोहक दृश्य अनि गहिरो गल्छीको पनि सङ्गमस्थल भएकाले यो ठाउँको उचित प्रचार नभएको उनको अनुभव छ ।

सम्बन्धित समाचार