सर्पगन्धाको जरामा रहेका रिपर्पिन, सर्पेन्टाईन र एजमालिन आदि नामका मुख्य वनस्पतिजन्य रसायनहरू उच्च रक्तचाप, निन्द्रा नलाग्ने, पागलपन, मानसिक उत्तेजना र मृगि जस्ता रोगहरूमा समेत उपयोगी भएकोले हानी रहित प्राकृतिक औषधीको रूपमा प्रयोग गरिन्छ ।
परिचय
सर्पगन्धा (रावल्फिया) एक वहुवर्षे सदाबहार बिरुवा हो । यसको व्यापारिक नाम रावलफिया हो । रावलफिया भन्ने शब्द १६औँ शताब्दीका जर्मन चिकित्सक राउओल्फको नामबाट आएको हो ।
सर्पगन्धा करवीर परिवारको बिरुवा हो । यो बिरुवा साधारणतया ५० से.मी. सम्म उचाइ भएतापनि कहिले काहीँ १ देखि १.५ मिटरसम्म उचाइ भएको पाइन्छ । यसका पातहरू चिल्ला , लामा , भालाकार हुन्छन् र प्रत्येक आँख्लाबाट तीन–तीन वटा पातहरू निस्किएका हुन्छन् ।
फूल झुप्पा झुप्पा भएर फुल्दछन् र हल्का सेता र गुलाफी रंगका हुन्छन् । यसका फूलहरू चैत्रदेखि फुल्न सुरु गर्छन् र पौषसम्म फूल फुल्ने क्रम जारी रहन्छ । फलहरू ज्येष्ठको अन्तिमबाट पाक्न सुरु गर्छन् । फलको रंग पाकेपछि कालो हुन्छ । फल र बीउ चेप्टो गोलो हुन्छ । बीउको रंग खैरो हुन्छ र बाहिरी भाग कडा हुन्छ । जाडो याममा यो बिरुवा सुषुप्त अवस्थामा रहन्छ र बसन्त ऋतुमा नयाँ पालुवा आउन सुरु भई फूल फूल्न थाल्दछन् ।
अत्यधिक संकलनले गर्दा यो बिरुवा लोप हुने स्थितिमा पुगेकोले प्राकृतिक अवस्थाबाट संकलन गरी व्यापार गर्न प्रतिबन्धित गरिएको छ । यसलाई संकटापन्न बिरुवाको सुचीमा समेत राखिएको छ ।
फैलावट :
प्राकृतिक अवस्थामा यो बिरुवा पतझर ओसिलो जंगलमा पाइन्छ । समुद्र सतहदेखि १२०० मिटरको उचाइ सम्म यो बिरुवा पाइन्छ । विशेष गरेर सालको जंगलमा यो बिरुवा पाइन्छ । उष्ण प्रदेशिय वनस्पति भएकोले यो बिरुवा नेपाल लगायत भारत, वर्मा आदि देशहरूमा पाइन्छ यो एसिया बाहेक अफ्रिका र अमेरिकाको उष्ण भूभागमा समेत पाइन्छ । भारतमा मात्रै यसका पाँच प्रजाति पाइन्छन् । हाम्रो देशमा यो तराई क्षेत्रमा पाइन्छ ।
उपयोगिता :
रावलफियाको जरा शताब्दी पहिलेदेखि नै आयुर्वेदिक औषधीमा प्रयोग हुँदै आईरहेको छ भने आधुनिक औषधीमा पनि यसको प्रयोग केही दशक अघि देखि भइरहेको छ । त्यसैले, युरोपियन मुलुकहरू तथा अमेरिकामा यसको आपूर्ति भारत, पाकिस्तान , श्रीलंका , बर्मा ,थाइल्यान्ड आदि एसियाली देशहरूबाट निकासीबाट हुने गरेको छ । सर्पगन्धा औषधीमा उपयोग हुने वनस्पति भएकोले यो बिरुवाको महत्त्व निकै छ । यो बिरुवाको औषधीय गुणबारे करिब ४०० वर्ष देखि नै ज्ञात भएको विश्वास गरिएको छ ।
सर्पगन्धाको जरा उच्च रक्तचापका लागि अति नै उपयोगी मानिन्छ । यो जडीबुटीलाई प्रशोधन नगरी कोरा रूपमा नै रक्तचापको रोगमा प्रयोग गर्न पनि सकिन्छ । यसको जरा सुपारीको टुक्रा समानको आकारमा खाएमा उच्च रक्तचाप नियन्त्रण हुन्छ । संसार भरि नै हाल रसायनबाट तयार गरिएको औषधीहरूले दीर्घकालीन रूपमा स्वास्थ्यलाई हानी गर्न सक्ने संभावना बढी भएको कारणले विकसित देशहरूका उपभोक्ताहरूले हाल जडीबुटीमा आधारित औषधीको प्रयोग गर्न सुरु गरेका छन् । तसर्थ सर्पगन्धाको माग बढी रहेको छ ।
सर्पगन्धाको जरामा रहेका रिपर्पिन, सर्पेन्टाईन र एजमालिन आदि नामका मुख्य वनस्पतिजन्य रसायनहरू उच्च रक्तचाप, निन्द्रा नलाग्ने, पागलपन, मानसिक उत्तेजना र मृगि जस्ता रोगहरूमा समेत उपयोगी भएकोले हानी रहित प्राकृतिक औषधीको रूपमा प्रयोग गरिन्छ । तसर्थ उपर्युक्त रोगहरू निदान गर्न सर्पगन्धा महत्त्वपूर्ण र हानी रहित कच्चा पदार्थको रूपमा ख्याति प्राप्त जडीबुटीको रूपमा चिनिन्छ ।
नेपालमा आयुर्वेदिक औषधि निर्माता कम्पनीहरू सिंहदरबार वैद्यखानाले “सर्पगन्धावटी ” , गोरखा आयुर्वेदिक कम्पनीले “टेन्सारिन ” र भारतको डाबर कम्पनीले “रिपर्पिन ” नामको औषधि उत्पादनमा सर्पगन्धा जडीबुटीको खपत गरी राखेका छन् । जर्मन , अमेरिका जस्ता पश्चिमी मुलुकहरूमा पनि यसको माग प्रशस्त रहेको छ । विश्व बजारमा मागअनुसार मूल्य फरक फरक रहेका पाइन्छ । नेपालमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले यसको जरा प्रति के.जी. रु १००।–मा खरिद गर्दछ भने गोरखा आयुर्वेदिक कम्पनीले प्रति के.जी. रु १५०।–मा खरिद गर्ने गरेको छ । जर्मनीमा यसको जराको मूल्य प्रति केजी ५ अमेरिकी डलर अर्थात् ने. रु . ३७५।– रहेको छ । यसको बजार स्वदेश लगायत विश्वभरि नै भएकोले यसको खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ ।
खेती प्रविधि :
नेपालमा जनसंख्या वृद्धिको कारणले वन, जंगलमाथि अत्यधिक चाप हुनुका साथै वन विनाश समेत हुँदै जाँदा हाल यो जडीबुटी प्राकृतिक अवस्थामा दुर्लभ भइरहेको छ भने बाँकी रहेको जंगलबाट अव्यवस्थित संकलन हुनाले लोप हुने स्थितिमा समेत पुगीसकेको छ । तसर्थ, यसको खेती गर्नु नै यसलाई संरक्षण गर्ने र यसबाट आर्य आर्जन गर्न सकिने प्रमुख उपाय हुन आएको छ । यसको खेती हाल व्यावसायिक रूपमा सफल सिद्ध भएको पाइएको छ । वनस्पति विभागले यसको खेती विस्तारको सम्भाव्यता अध्ययन गर्न बाँके र कैलालीमा पनि खेती गर्न सुरु गरेको छ ।
यसको खेतीको लागि नरम तथा ओसिलो हावापानी भएको क्षेत्र उपयुक्त मानिन्छ । बिरुवाले खुला स्थान भन्दा केही छायाँ मन पराउने भएकोले आंशिक छहारी भएका स्थानमा खेती गर्न उपयुक्त हुन्छ । सर्पगन्धाको खेती तराईदेखि १००० मी.को उचाइ सम्ममा गर्न सकिन्छ, तापनि तराई र भित्री मधेशहरू यसको खेतीको लागि उपयुक्त मानिन्छ । हाम्रो देशको तराईको पूर्वी क्षेत्र यसको खेतीको लागि राम्रो मानिएको छ ।
माटो :
सर्पगन्धा (रावलफिया) खेतीको लागि बलौटे माटो अथवा चिम्ट्याइलो माटो उपयुक्त हुँदैन र दोमट माटो (Sandy Loam) उपयुक्त हुन्छ । जग्गा छनोट गर्दा प्रशस्त मात्रामा प्रांगारिक मल भएको, पानी नजम्ने र माटोले पानी सोसेर राख्ने क्षमता भएमा जराको उत्पादन राम्रो लिन सकिन्छ ।
बिरुवा उत्पादन :
सर्पगन्धाको बिरुवा उत्पादन मुख्यतया बीउबाट गरिन्छ भने जरा कटिङ र हाँगा कटिङबाट पनि बिरुवा उत्पादन गर्न सकिन्छ ।
नर्सरी
बेर्ना नर्सरी ब्याडमा उमारिन्छ। रावलफियाको बिरुवा उत्पादन बीउबाट गर्न चैत्र/ वैशाख महिनामा नर्सरी राख्नुपर्दछ । बीउ राख्ने जमिन राम्रोसँग खनजोत गरी माटो मिहिन पार्नुपर्दछ । नर्सरीमा प्रति वर्ग मिटर ४ के.जी. का दरले राम्ररी पाकेका गोवर मिलाउनु पर्दछ । जमिनमा बाली संरक्षण रसायन कीटनाशक फोरेट अथवा फ्युराडन प्रति वर्ग मिटर १००–२०० ग्राम हाल्नुपर्दछ। नर्सरी ब्याड १ मिटर चौडाईको र १० से. मी.अग्लो हुनु पर्दछ भने लम्बाई अग्लो हुनु पर्दछ भने लम्बाई जग्गा अनुसार अथवा १० मिटरसम्मको हुनुपर्दछ । यसरी तयार पारिएको ब्याडमा सर्पगन्धा (रावलफिया)को बिउँ चैत्र /वैशाखमा छर्नुपर्दछ । बिउँलाई ६ से. मी. गहिरो, बिउँ देखि बिउँको दुरी ५ से.मी. र लाइन देखि लाइनको दुरी १० से. मी. गरी बिउँ रोप्नुपर्दछ । नर्सरी ब्याड केही छहारी भएको ठाउँमा अथवा नेट हाउसमा उमार्नु उपयुक्त हुन्छ ।
बिउँबाट बिरुवा तयार गर्ने :
बिउँलाई वेविस्टनीनको १% झोलमा डुबाएर आधा घण्टा पछि निकालेर छहारीमा सुकाउनु पर्दछ । १ हेक्टर जमिनलाई आवश्यक पर्ने बेर्ना उत्पादन गर्न ५.५ के. जी बिउँ आवश्यक पर्दछ । उक्त परिमाणको बिउँ राख्ने नर्सरी तयार गर्न १.५ कठ्ठा जमिनको आवश्यकता पर्दछ । संकलन गर्ने बित्तिकै बाहिरी आवरण निकाली सफा गरी तयार पारिएका ताजा बिउँबाट सबैभन्दा बढी प्रतिशत अर्थात् ७५ प्रतिशत सम्म बिरुवा उम्रन्छन् भने बिउँ पुरानो हुँदै गएमा बिउँको उम्रन सक्ने क्षमता घट्दै जान्छ र १ वर्ष पुरानो बिउँबाट बिरुवा उम्रँदैन । बिउँ रोपेको ३ हप्तापछि उम्रन सुरु गर्दछन् र ८ हप्तासम्म पनि बिरुवा उम्रँदै गर्छन् । नर्सरी ब्याडमा बिरुवाको उचाइ १० देखि १२ से. मी. भएपछि बिरुवा सार्न योग्य हुन्छन् । यसरी चैत्र /वैशाखमा राखिएको नर्सर्रीबाट वर्षायाम सुरु हुनासाथ बिरुवाहरू सारिन्छ ।
कटिङबाट बिरुवा तयार गर्ने
कटिङबाट बिरुवा तयार गर्नको लागि पुराना बिरुवाको डाँठ उचित मानिन्छ । यसको लागि बलौटे माटोको ब्याड बनाउनु पर्दछ । वैशाख / जेठ महिनामा डाँठलाई १५ देखि २२ से. मी. सम्म लामो हुने गरी काटेर नर्सरी ब्याडमा रोप्नु पर्दछ । यसरी रोपिसकेपछि नर्सरी ब्याडलाई डाँठबाट नयाँ मुना नआउन्जेल सम्म चिसो पारेर राख्नु पर्दछ । यसरी काटेर राखिएका डाँठहरूमध्ये ४० देखि ६५ प्रतिशतले जराहरू दिन्छन् । कटिङबाट जरा आइसकेपछि सर्पगन्धा खेती गर्ने जमिनमा लगेर सार्नु पर्दछ । जराको कटिङबाट पनि बिरुवा उत्पादन गर्न सकिन्छ । यसको लागि मुख्य जरालाई केही मसिना जरा समेत पर्ने गरी ३ देखि ५ से. मी . लामो गरी काटेर जेठ /असार महिनामा जमिनमा रोप्नु पर्दछ । जराको सानो भाग जमिनमा देखिने गरी रोप्नु पर्दछ । यसरी रोपिइएका जराबाट ३ हप्तापछि नयाँ टुसा पलाउन सुरु हुन्छ । यस विधिबाट ५० देखि ८० प्रतिशत सम्म जराको कटिङहरू बाँचेको पाइएको छ । कटिङबाट उत्पादित बिरुवाबाट बाली उत्पादन राम्रो हुँदैन तर बिउँ उत्पादनको लागि यो प्रविधि उपयुक्त मानिन्छ ।
बिरुवा सार्ने
नर्सरी ब्याडमा बिरुवाहरू करिब १० देखि १२ से.मी. अग्ला भएपछि खेती गरिने जमिनमा लागि बिरुवाहरू सार्नु पर्दछ । सर्पगन्धा रोप्ने जमिनको तयारी वैशाख / जेठ महिनामा गरिन्छ । जमिन तयार गर्दा प्रति हेक्टर २० टन राम्ररी कुहिएको गोबर मल हाली जमिनलाई गहिरो गरी खनजोत गर्नु पर्दछ ।
असार महिनामा बिरुवा रोपेमा राम्रोसँग सर्छ र सिँचाइको पनि आवश्यकता पर्दैन । बिरुवाको जरा लामो हुने नभएकोले जरा सोझो पारेर रोप्नु पर्दछ । बिरुवा रोप्दा १ लाइन देखि अर्को लाइन ४५ से. मी. र बिरुवा देखि बिरुवाको दुरी ३० से. मी. हुनु पर्दछ । यसरी रोपेको बिरुवाहरूबाट १८ महिनामा वाली संकलन गर्न सकिन्छ । गोडमेल विशेष गरी रोपेको पहिलो वर्ष वर्षा याममा अनावश्यक झारपात गोडी दिनु पर्दछ । पहिलो वर्ष बिरुवा सानो हुने भएकोले आवश्यकताअनुसार गोडमेल गरी माटो खुकुलो बनाई दिएमा जरा उत्पादन राम्रो हुन्छ ।
सिँचाई
सुख्खा मौसममा (फागुनमादेखि जेष्ठ) सम्म सिँचाईको आवश्यकता पर्दछ । हप्ता दिनदेखि दश दिनको फरकमा र जाडो याममा महिनामा १ पटक सिँचाइ गर्नु पर्दछ । सिँचाइ गरेको खेतबाट जराको उत्पादन राम्रो हुन्छ । रोग तथा किरा फट्याङ्ग्राको प्रकोप सर्पगन्धाको बिरुवाहरूमा विभिन्न रोगहरूले आक्रमण गर्दछ । ढुसीबाट हुने रोगमा पातमा दाग लागेपछि पात नै झर्ने गर्दछ । यो रोगलाई सर्कोस्पोरा लिफ स्पट (ऋभचअयकउयचब भिबा कउयत) भनिन्छ । अर्को रोगमा पातमा मसिना कालो खैरो रंगका थोप्लाहरू देखिन्छन् । यो रोगले पनि पछि पात नै झर्ने गर्दछ । यसलाई अल्टरनेरिया लिफ स्पट भनिन्छ । अन्य रोगमा पात खुम्चिएर पछि नै झर्ने गर्दछ। यस रोगलाई लिफ मोजाईक (भिबा यकबष्अ) भनिन्छ । यसको अतिरिक्त जरामा “निमोटोड” (माटोमा हुने एक किसिमको सूक्ष्म जुका)ले आक्रमण गरेर जरामा गाँठा पार्ने गर्दछ । यस्तो रोग लागेमा बिरुवा बढ्न सक्दैन र पातको आकार पनि सानो हुन्छ । ढुसीबाट लाग्ने रोगहरूलाई ढुसी नियन्त्रण गर्ने औषधि प्रयोग गरेमा रोग रोकथाम गर्न सकिन्छ ।
बाली संकलन
सर्पगन्धाको बाली संकलन भनेको जरा खनेर निकाल्नु हो । रोपेको १८ देखि ३० महिनामा बाली संकलन गर्न सकिन्छ । जरा मंसिर / पौष महिनामा खन्नु पर्दछ किनकि उक्त समयमा जरामा सार तत्त्व बढी हुन्छ । व्यावसायिक खेती गर्दा १५ देखि १८ महिनामा बाली संकलन गर्दा फाइदाजनक हुन्छ । गुणस्तरीयता कायम गर्न जरा खन्दा जरामा रहेका मसिना रौँ जस्ता जरा समेत रहने गरी र बोक्रा नबिग्रने गरी खन्नु पर्दछ । जरा खनिसकेपछि राम्रोसँग सफा गरी हावादार छहारीमा सुकाउनु पर्दछ । राम्ररी सुकेका जराहरूको सानो सानो टुक्रा पनि पिट–पिट भाँचिने हुन्छ । यसरी सुकाएका जराहरू बोरामा राखी पानी नपस्ने र हावादार कोठामा भण्डार गरिन्छ ।
उत्पादन
औषधीमा काम लाग्ने भाग यसको जरा हो । मुख्य जरा २ देखि २.५ फिट सम्मको गहिराईमा सोझै जमिन मुनि गएको हुन्छ भने सहायक जराहरू जमिनको चारैतिर फिँजिएका हुन्छन् । सहायक र मुख्य जरामा रौँ जस्ता मसिना जराहरू हुन्छन् । गुणस्तरीय कच्चा पदार्थमा मसिना रौँ जस्ता जरा हुनु अति आवश्यक हुन्छ । १८ महिनामा बाली संकलन गरेमा एउटा बोटबाट १०० ग्रामदेखि ४ के. जी सम्म ताजा जरा उत्पादन हुन्छ । १ हेक्टर जमिनबाट २०००–२२०० के. जी. सम्म जरा उत्पादन हुन्छ भने ३० महिनामा संकलन गर्दा जराको उत्पादन ३३००–३६०० के. जी. प्रति हेक्टर उत्पादन हुन्छ । यसरी २ वर्षे बिरुवाबाट सुकेको जराको उत्पादन लिन सकिन्छ भने ३ वर्षे बिरुवाबाट ३६०० के. जी. सम्म उत्पादन गर्न सकिन्छ ।
एग्रो फरेष्ट्रीः
सर्पगन्धाले आंशिक रूपमा छहारी मन पराउने भएकाले कृषि वन कार्यक्रम अन्तर्गत यसको खेती गर्न सकिन्छ । प्रत्येक घरमा रहने फलफूलको बगैँचामा यसको खेती गरेर थप आम्दानी गर्न सकिन्छ । आजभोलि सरकारी वन जंगल वन उपभोक्ता समितिहरूलाई हस्तान्तरण गरिएकोले वन जंगलमा पनि सर्पगन्धा रोपेर आम्दानी लिन सकिन्छ ।