अब स्कुलका विद्यार्थीहरू शिक्षकलाई देख्दा डराएर भाग्दैनन् । आजकाल उनीहरू भन्छन्, ‘शान्ता म्याम हाम्रो त साथी हो ।’
उनी आइपुग्दा भूकम्पको घाउ आलो थियो । एउटा स्कुलबाट सरुवा भएर आफ्नै घरछेउको स्कुल पुग्दा उनी निकै खुसी थिइन् । तर, भूकम्पले तहसनहस भएको आफ्नै घर, गाउँ र स्कुल देखेर चिन्तित पनि उत्तिकै थिइन् ।
गोरखाको आरुघाट गाउँपालिका अन्तर्गत ८ नम्बरमा वडामा पर्ने धारापानी माध्यमिक विद्यालयको शैक्षिक स्थिति बताइरहेकी वर्तमान प्रधानाध्यापक शान्ता सापकोटा खनालको कथा हो यो ।

२०७२ साल साउन १२ गतेबाट विषय शिक्षक र अतिरिक्त क्रियाकलाप शिक्षकको रूपमा विद्यालय प्रवेश गरेकी शान्ता २०७६ वैशाखको ४ गते निमित्त प्रधानाध्यापकको रूपमा नियुक्त भइन् । त्यसको २६ दिनपश्चात् (वैशाखको ३० गतेबाट) प्रधानाध्यापककै रूपमा नियुक्त भइन् । त्यसपछि सुरु भयो उनको सङ्घर्ष । लामो समय शिक्षण पेसामा आबद्ध भए पनि उनले यसअघि कहिल्यै यस्ता भूमिका निभाएकी थिइनन् ।
आफ्नै गाउँको विद्यालय, चिनेका अभिभावक, उनलाई प्रधानाध्यापक भएपछि पनि सजिलै होला भन्ने लाग्थ्यो । तर उनले सोचेको ठिक विपरीत भइदियो । उनी नियुक्त भएको केही दिनमै गाउँमा कुरा सुरु भयो । ‘स्कुल डुब्ने भयो, यो आइमाईले के स्कुल चलाउन सक्छे र ? आइमाईले स्कुल चलाएर कतिन्जेल टिक्छ र ?’
स्कुलको संरचना त भताभुङ्ग थियो नै उनले सामाजिक संरचनासँग पनि लडिरहन पर्यो । आफू सक्षम हुँदाहुँदै पनि उनले समाजलाई प्रमाणित गरेर देखाउनै पर्ने भयो ।
गाउँमा भूकम्पको कारणले बसाइसराइ बढिरहेको थियो । स्कुलमा बच्चाहरू घटिरहेका थिए । त्यहीसँगै उनलाई हतोत्साहित गर्नेहरू पनि बढी रहेका थिए । यतीसम्म की आफैँ सोही तहमा बसेर काम गरेकाहरूको समेत उनले साथ पाइनन् । जसले उनलाई यो भूमिकामा रहेर काम गर्ने जिम्मा दियो, उनैले खुट्टा तान्न सुरु गरे । यद्यपि, यो सबै बिच उनको परिवारले उनलाई यती साथ दिए की उनले हार्नै सकिनन् ।
केही समय काम गर्दै जाँदा विद्यार्थीहरू र सहकर्मी साथीहरूको बिस्तारै सहयोग पाउन थालिन् । त्यसले उनमा झनै हिम्मत आयो ।

‘यो आइमाईले स्कुल चलाउन सक्दिन भन्थे..’
विगतलाई सम्झिँदै उनी भन्छिन्, “कहिलेकाहीँ त हिम्मत हारेर स्टाफ बैठकमा समेत म सक्दिनँ यो जिम्मा लिन भन्थेँ । काम गर्न थालेपछि सबैले विश्वास पनि गर्न थाल्नु भयो र सहज भयो । ‘यो स्कुल आइमाईले चलाउन सक्दिन’ भन्ने कुराहरू आफ्नै कानले सुन्दा एकदमै नराम्रो लाग्थ्यो । त्यो कुराहरूलाई गलत देखाउन र महिलाहरू पनि गर्न सक्छन् है भन्न पनि काम गर्ने पर्ने नै थियो ।”
त्यस समय जापानको सहयोग (जाईका)ले स्कुलको भवन बनाउँदै थियो । भाडामा लिएको जग्गामा टहरा बनाएर विद्यालय सञ्चालन भइरहेको थियो । आन्तरिक रूपमा पनि विद्यालय ऋणमा थियो । विद्यालय माटोमा मिसिएको बेलामा प्रवेश गरेकी उनलाई चिप्लिने भुईँबाट सिमेन्टको कक्षाकोठामा विद्यार्थीलाई सार्न पाउँदा खुसी लाग्यो । तर, पहिलेका सामानहरू धेरै ड्यामेज भइसकेका थिए । सोही अवस्थामा ‘गाउँ वातावरण नेपाल’ नामको संस्थाले गरेको सहयोग कहिल्यै भुल्न नसक्ने उनी बताउँछिन्, “विद्यालय भवनमा छिरेपछि हामीलाई सुरुवातमा गाउँ वातावरण नेपालले आठ थान कम्प्युटर, ४० थान डेक्सटप बेन्च, २० थान कुर्सी सहयोग गर्यो । त्यसले हामीलाई धेरै सहयोग मिल्यो ।”
उनले अब स्कुलमा कसरी कार्यक्रम ल्याउने भन्ने विषयमा सोच्न थालिन् । सहयोग कसले गर्छ र कसरी ल्याउने भन्ने लगायतका विषयमा नमुना विद्यालयका प्र.अहरू, शिक्षाविद्हरूसँग कुराकानी र छलफल गर्न थालिन् । उनले आफैँ प्रस्तावनाहरू लेख्न सिकिन् ।
त्यसपछि स्कुलमा दोस्रो सहयोग रेडक्रसको आयो । रेडक्रसले केही थान ब्याल्ङकेटहरू सहयोग गरेको थियो । त्यो ब्याल्ङकेटहरू तत्कालै त स्कुलको काम आउन त सकेन । तर, कोभिडको बेला त्यही दिएर स्कुलले गाउँपालिकाको सहायता गर्यो ।
उनी भन्दा पहिलेका प्रधानाध्यापक र सहायक प्रधानाध्यापक दुवैले सँगै पद छाडेका थिए । उनले एक वर्ष त सहायक प्रधानाध्यापकको समेत पाइनन् । सबै विस्तारै सामान्य हुँदै थियो ।
एक वर्ष सिक्दा र सुन्दैमा बित्यो । त्यसपछि स्कुलमा बिस्तारै थप सहयोगहरू आउन थाल्यो । उनले विद्यालयमा परेको सबै कार्यक्रमहरू सार्वजनिक समेत गर्न थालिन्, जुन यो भन्दा अगाडी उक्त स्कुलमा कहिल्यै हुँदैन थियो ।

उनका प्रशंसकहरू बढ्न थाले
त्यसपछिका चरणमा स्कुललाई प्रदेश सरकारबाट बाल कक्षा व्यवस्थापन शीर्षकमा ५ लाख रूपैँया पर्यो । गाउँपालिकाबाट विज्ञान कार्यक्रम पर्यो । गोरखा डिभिजन कार्यालयबाट फूलबारी पर्यो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम पनि पर्यो । र ‘राइट टु स्टडी नेपाल’ भन्ने संस्थाले ७ थान कम्प्युटर र ११ थान ल्यापटप सहयोग गरेको छ ।
यतिका कार्यक्रम परिरहेको सबैलाई थाहा हुँदै जाँदा विद्यालयलाई अरूले हेर्ने दृष्टिकोण पनि बदलियो । उनी सम्झिन्छिन्, ‘यसरी कार्यक्रमहरू आउन थालेपछि सबैले स्कुललाई ध्यान दिन थाल्नु भो । मलाई पनि धेरै सल्लाह र सहयोग गर्न थाल्नु’भो ।
स्कुल बिस्तारै परिवर्तन हुँदै थियो । भौतिक संरचनासँगै अन्य व्यवस्थापन पनि मिल्दै थियो । बालकक्षाको विकास कम्प्युटर ल्याब र पुस्तकालयको राम्रो व्यवस्थापन भएपछि एकै पटक बोर्डिङ पढ्ने १४ जना विद्यार्थीहरू उक्त स्कुल भर्ना भए । सबैलाई स्कुलले राम्रो गति लिइरहेको भान हुन् थाल्यो । अब विस्तारै उनका प्रशंसकहरू बढ्न थाले । त्यसले विद्यालयमा धेरै सकारात्मक ऊर्जा दियो ।
यी सबै कुराको बिच नेपाल सरकारलेले दिएको खाजाले पनि विद्यार्थीहरू स्कुल नियमित आउन थाले । नेपाल सरकारले बाल कक्षादेखि पाँच कक्षालाई दैनिक १५ रुपैयाँको दरले विद्यार्थीलाई खाजा सहयोग गरेको । धारापानीमा भने आरूघाट गाउँपालिकाले कक्षा ६,७ र ८ को लागि शुक्रवार र परीक्षा बाहेक दिनमा २० रुपैयाँको दरले खाजाको व्यवस्थापन गरेको छ ।

उनी प्र.अ भएपछि स्कुलमा अर्को सबैभन्दा ठुलो परिवर्तन पनि भयो । उक्त स्कुलको कुनै पनि पदमा दलित या जनजातिहरू थिएनन् । केही समय अघिसम्म, विद्यालय कुनै पारिवारिक स्रोतले चलेजस्तो देखिन्थ्यो । तर, अहिले स्कुलमा दलितहरूले समेत स्पेस पाएका छन् ।
उनी भन्छिन्, “अहिले पनि शिक्षक आवश्यकता भनेर विज्ञापन राखेपछि दश थरी फोन आउँछन् तर, फोन होइन परीक्षा दिनोस् भनेर फोन राख्छु । जो सक्षम छ, उसैले काम पाउनु पर्छ । अबको समय पनि भनसुनको आधारमा जागिर पाइने समय हो र ?”
विद्यार्थीहरूसँगको आत्मीयता
यो स्कुलमा तपाई जति बेला पुग्नुस्, शान्ता की त विद्यार्थीलेको समस्या सुनिरहेकी हुन्छिन् की त उनीहरूसँग रमाई राखेकी हुन्छिन् । केही दिनसम्म विद्यार्थीले पनि प्रधानाध्यापक रूपमा स्वीकार गर्न नसकेको हो कि भन्ने उनलाई लागेछ । तर, विद्यालयमा विद्यार्थीहरूले उनलाई प्रधानाध्यापक भन्दा पनि आफ्नो आमासँग नजिक भएसरह व्यवहार गर्छन् । शिक्षक देखेपछि विद्यार्थी भाग्ने समाजमा उनको वरिपरि कोही न कोही विद्यार्थी झुम्मिइरहेका हुन्छन्

स्कुलमा यतिका परिवर्तन भए पनि सोचेको जति काम नभएको उनी बताउँछिन् । कोर्स नै भ्याउन हतारले विज्ञान ल्याबहरू सोचेअनुसार प्रयोगमा आउन नसकेको, खेल मैदानको अभावले विद्यार्थीहरूले चाहे जसरी खेल्न नपाएको उनले बताइन् । करिब २०० सय जना विद्यार्थीहरू भएको यस विद्यालयमा १५ जना शिक्षकले अध्यापन गराई राखेका छन् ।
प्रा.वि स्थायीको तहको शिक्षक भए पनि उनले लगभग चार वर्षदेखि उक्त स्कुललाई धानेर बसिरहेकी छन् । अब आउने दिनहरूमा शैक्षिक गुणस्तर सुधार्ने उनको मुख्य योजना हो । साथै, अहिले सो स्कुलमा स्थानीय विषयमा कम्प्युटर छ त्यसलाई प्रयोगात्मक रूपमा लाने पनि उनले बताइन् । कम्प्युटर ल्याब, विज्ञान ल्याबहरूलाई अझै प्रयोगात्मक तरिकाले लाने र शिक्षकहरूलाई पनि लेसन प्लान सहित कक्षामा जाने वातावरण बनाउने उनको लक्ष्य रहेको छ ।

उनले हामी छुट्टिने बेलामा रमाइलो किस्सा सुनाएर आफ्नो अन्तिम योजना पनि बताइन् ।
‘एक पटक हाम्रो विद्यालयको कम्प्युटर ल्याबको ढोका फुटाएर चोरले कम्प्युटरहरूलाई केही नगरी फ्यान चोरेका थिए । उनलाई हामीले क्षतिपूर्ति तिरायौँ । गाउँको विद्यालय छ, चोरी हुने कामहरू भइराख्छ साथै, विद्यार्थीको सुरक्षालाई पनि ध्यानमा राखेर सिसिटिभी पनि जोड्ने सोचेको छु । ’
अब उक्त स्कुलका विद्यार्थीहरू शिक्षकलाई देख्दा डराएर भाग्दैनन् । आजकाल उनीहरू भन्छन्, ‘शान्ता म्याम हाम्रो त साथी हो ।’
