प्रत्येक दिन सूर्योदयबाट सुरु हुन्छ र सूर्यास्तमा समाप्त हुन्छ । परको क्षितिजबाट उदाउँदै वा अस्ताउँदै गरेको सूर्योदय वा सूर्यास्तको दृश्य एक अनौठो भावना हो, यसले हरेकको दिल कुत्कुताउँछ । यस्ता जादुमयी दृश्यहरू जहाँकहींबाट हेर्न/देख्न पाइँदैन, यसका लागि ठीक समयमा ठीक ठाउँमा पुग्नुपर्छ ।

यसपटक हामी तपाइँलाई पहेंलो, सुन्तला एवम् उज्ज्वल रातो रङमा ढलिरहेको चामत्कारिक सूर्यास्तको दृश्य देखाउन पर्वतस्थित दुर्लुङकोट लैजान्छौँ ।
जिल्ला सदरमुकाम कुश्मादेखि दुर्लुङकोटसम्म पुग्ने बाटो पहिलेजस्तो अप्ठ्यारो छैन, यद्यपि कोट आसपासको ३-४ किमी बाटो अझै कालोपत्रे हुन् बाँकी छ । हरियाली वनभित्रको नागबेली सडक हुँदै २५ मिनेट यात्रा गरेपछि सुन्दर गाउँ, दुर्लुङ पुगिन्छ । गाउँ उक्लँदै गर्दा वरैबाट डाँडाको टुप्पोमा अवस्थित दुर्लुङकोट देख्न सकिन्छ ।

बाइसे, चौबिसे राजाको पालादेखिनै महत्वपूर्ण मानिएको दुर्लुङकोट भूमे मन्दिरमा पुगी पूजाआजा गरेमा मनोकामना पूरा हुने जनविश्वास छ । हरेक वर्ष बडादसैँ, चैते दसैँ र उभौलीमा पूजाआजादेखि बलि दिने गरिएको छ भने धार्मिक तथा ऐतिहासिक महत्वको यो ठाउँ प्राकृतिक दृष्टिले समेत अर्थपूर्ण छ ।
दुर्लुङकोटबाट म्याग्दी, बागलुङ, कास्की, पाल्पा, स्याङ्जा र पर्वतलाई एकै पटक नियाल्न सकिन्छ । यहाँबाट धौलागिरि, धौलाशिरि, माछापुच्छे, अन्नपूर्णलगायतका हिमशृङ्खला पनि देख्न सकिन्छ । केही वर्षदेखि दुर्लुङ पुग्ने पर्यटकलाई लक्षित गरेर होमस्टे पनि सञ्चालनमा ल्याइएको छ । होमस्टेमा पुग्ने पर्यटकले गाउँको कला, संस्कृति र खानपानको पनि मज्जा लिन सक्नेछन् ।

हिमाली दृश्य, उच्च पहाडी भूभागका साथै सूर्योदय र सूर्यास्तका रमणीय दृश्यलाई क्यामेरामा कैद गर्न दुर्लुङकोट पुग्नैपर्ने बताउँछन्, फोटो पत्रकार एवम् कुश्मा कला परियोजना चलाईरहेका आरके अदिप्त गिरी । “सूर्योदय र सूर्यास्तको दृश्य हेर्नका लागि दुर्लुङकोटलाई देशका सुन्दर गन्तव्यहरुमध्ये एकका रुपमा परिचित गराउन सकिन्छ”, उनी भन्छन् ।

गिरि दुर्लुङकोटको ऐतिहासिक एवम् धार्मिक महत्त्वलाई दखल नपुर्याई कलासापेक्ष ढङ्गले संरचनाहरू बनाउनुपर्ने बताउँछन् । जथाभावीरूपमा पूर्वाधार खडा गर्दा दुर्लुङकोटको प्राकृतिक सौन्दर्य नासिने क्रममा रहेको बताउँदै उनले भने, “व्यवसायीक संस्थाका दुई अग्ला-अग्ला टावरहरू अन्यत्र राख्न सकिन्थ्यो । भ्यू टावरको नाममा यो डाँडामा यति अग्ला संरचनाहरू चाहिएकै थिएन “, उनी भन्छन् ।
