शुक्रबार , मंग्सिर २३, २०७९

‘भर्जिन ल्यान्ड’को चीरहरण, एक नौस्टाल्जिया

तपाईँलाई बताऊँ कि हामी जति रमाउनुपर्ने हो यात्रामा नै रमाउन सक्नुपर्छ । गन्तव्य पुग्ने आशामा यात्रा बिथोल्नु हुन्न, बिगार्नहुन्न । गन्तव्य त फगत स्खलन हो, विसर्जन हो, अन्तिम बिन्दु हो । शून्यता हो ।

image

जसोतसो ८ बज्दा नबज्दै हामी जम्मा भयौँ । कोहीले बाइकमा ऊर्जा हाले भने कोहीले पेटमा ।

“यो तेल पनि के सारो महँगो”  एउटा साथी बोल्यो ।

“खाने बेला घिन र सुत्ने बेला ऋणको कुरा गर्नु हुँदैन”, भन्थे हाम्रा बुढापाकाले । शुभ-साइतको बेला यस्ता कुरा बेवास्ता गरौँ लाग्यो ।  तैपनि मनमा एक खयाल आयो, “यस्तो महँगो तेल हालेर त के घुम्नु जानु !”

साथीले खाँदै गरेको समोसा मागेर खाएँ, केही कुँडिएको मनलाई नुनिलो बनाएँ र लाग्यौँ योजना मुताबिकको गन्तव्य तर्फ । राहुलले हुकुम दिए, कुन बाइक अगाडी कुद्ने कुन बाइक कुनको पछाडि कुद्ने । राहुल भन्ने मान्छे छ नै यस्तै, केही सन्की, केही छुचो, केही हक्की स्वभावको । खैर, सबैको आ-आफ्नो स्वभाव, गुण तथा अवगुण हुन्छ । हरेकको आफ्नै जीवनदर्शन हुन्छ । जस्तो कि, हेर्दा तोरी र कोदो, टिमुर र मरीच, चिनी र नुन उस्तै देखिन्छ । तर, तिनीहरूको असुल फरक हुन्छ ।

यात्राको क्रम अघि बढ्यो । राहुलको हुकुम कसैले मानेन । सबै आ-आफ्नो लयमा हिँडे । म केही पर पुगेर रोकिएँ ।

“साथीहरू पछाडि छुट्यो…”

राहुल करायो ।

खोजी सुरु भयो, रेखा छुटिछे । रेखाको बारेमा पनि दुई लाइन चर्चा गरौँ । रेखा आफैमा नाम जस्तै सरल छे । हुन त गणितीय भाषामा भन्ने हो भने सबै रेखा सरल हुँदैन । तर हाम्रो रेखा वास्तवमै सरल छे । अब कसरी भन्नु होला । कथा यस्तो छ । हामी सबै पेट्रोल भरेर निस्कियौँ तर सबैभन्दा पहिले निस्किनेमा रेखा नै थिई । दुई मिनेट नपुग्दै कसरी पछाडि परिन् सोच्नुहोस् त ? यसको सजिलो उत्तर हो, रेखाको ड्राइभिङ । रेखाको स्कुटी चलाउने गति यस्तो थियो कि मानौँ, उनी कुनै कछुवाको चाल नक्कल गर्दैछे या को ढिलो पुग्ने भन्ने प्रतिस्पर्धामा विजेता बन्न खोज्दै छे । उनको यो सरल रेखामा चलेको स्कुटीको चाल हेर्दा नै थाहा हुन्छ कि उ कति सरल छे । उनको यो सरल स्कुटी चलाइ देखेर स्कुटीको इन्जिन पड्किन मिल्ने भए पड्किन्थे होला । बोल्न सक्ने भए कराउथे होला । त्यस्तो महँगो तेल खाएको इन्जिन कसरी यति ढिलो चल्न सक्छ ? लाज सरम लाउँदो हो । त्यसकारण इन्जिन आफू पड्किनु नसकेर टायरलाई पड्किन भनेछ क्यार । भयो पनि त्यस्तै, टायरले आफ्नो हावा फाले, अनि भयो शीतल ।

अब केही छिटो चलाउने वाचाका साथ टायरमा हावा भरिन् । अब अघिको सरल रेखा केही बाङ्गो हुन थाल्यो, स्कुटी हामी भन्दा अघि-अघि कुदाई । कास टायरको हावा बीच जङ्गलमा गएर सकिएको भए जहाँ वरिपरि हावा भर्ने कुनै ठाउँ नहोस्, कति रमाइलो हुन्थ्यो होला ? सबैले आ-आफ्नो बाइक धकेल्दा, रेखालाई साथ दिँदा । एक घण्टा धकेलेर ग्यारेजमा पुर्‍याउँदा । अनि यो सब देखेपछि चन्द्रजी ठुलो स्वरमा भन्थे होला, “साथी सबैभन्दा माथि हुन्छ ।”

अब चन्द्रजीको बारेमा पनि दुई लाइन बोलाैँ । चन्द्र अर्थात् चन्द्रमा, शीतलताको प्रतीक, शालीनताको प्रतीक, सौहार्दताको प्रतीक । आजसम्म हामीले चन्द्रजीमा सूर्यको जस्तो राप-ताप देखेका छैनौँ । जसले अरूलाई जलाओस्, भस्म गरोस् ।

यतिन्जेल तपाईँलाई लाग्यो होला कि यो मान्छे गन्तव्यको कुरा कहिले गर्छ, सूर्य चौर पुगेको कुरा कहिले बताउँछ । यदि त्यसो हो भने तपाईँलाई बताऊँ कि हामी जति रमाउनुपर्ने हो यात्रामा नै रमाउन सक्नुपर्छ । गन्तव्य पुग्ने आशामा यात्रा बिथोल्नु हुन्न, बिगार्नहुन्न । गन्तव्य त फगत स्खलन हो, विसर्जन हो, अन्तिम बिन्दु हो । शून्यता हो । यस्तो शून्यता जुन कहिले एक बन्ने सामर्थ्य राख्दैन । जस्तो कि, तपाईँ कुनै पनि जीवनलाई हेर्नुहोस् । सबै यात्रा हो, गन्तव्य त केवल मृत्यु हो । यसर्थ पनि यात्राको कुरा सुन्ने हो, गन्तव्यको कुरा कसैले सुनाउँदैन । विषय र प्रसङ्ग मिलेमा यात्रा र गन्तव्यको हिसाब पछि गरौँला । अहिलेलाई यात्रामा नै लागौँ ।

हाम्रो गाउँतिर अगाडि बाटो देखाएर हिँड्ने मान्छेलाई ‘मुल्के’ भन्छन् । हाम्रो यात्रामा मुल्केको काम गर्ने चन्द्र जी नै थिए । कहिले अगाडी गएर फोटो खिच्थे त कहिले पछाडि बसेर सबैलाई अगाडी लाउँथे । बाइक चलाउनेहरू पनि कहिले दुवै हात छोडेर पोज दिन भ्याइहाल्थे । यस्तो गर्दा गर्दै हामी झोर पुग्यौँ । त्यहाँ फोटो खिच्ने कुरा भयो । रेखाले बीच सडकमा बसेर सरल रेखा झैँ पोज दिन लागे । उता सिआर कहिले पूर्व कहिले पश्चिम फर्केर गणेशको जस्तो फुलिएको पेट भित्र तान्दै पोज दिन लागे । सिआरको परिचय दिनु पर्दा आजसम्म मैले सङ्गत गरेको मध्ये सबैभन्दा मिलनसार र सहयोगी साथी हुन उनी । केही थान फाटो खिचेर हामी उकालो लाग्यौँ ।

केही माथि पुगेपछि शिवपुरी राष्ट्रिय निकुञ्ज आयो । घुम्न जानेहरूले त्यहाँ टिकट काट्नु पर्ने रहेछ । तर, आफ्नो गाउँ जानेहरूले भने टिकट काट्नु नपर्ने । चन्द्रजीले एउटा आइडिया फुराए, “हामी घुम्न हिँडेको नभई आफन्तकोमा जान लाग्या भनौँ टिकट काट्न पर्दैन ।” र त्यस्तै गर्याैँ । केही माथि पुग्न साथ हरियाली जङ्गल देखेर सबैको मुहार आनन्दले चम्किएको थियो । खुसीयाली कैद गर्न चन्द्रजीले क्यामेरा तेर्साए । रेखा बोली, सिआर बोले, सुमिसलाई बोल्न कर लगायौँ । अहो, सुमिसको बारेमा के बोल्नु सुमिस आफैँ त बोल्दैन । सुमिसको नाम अनुसारको काम मिलाउन उसको नाम थोरै संशोधन गर्नु पर्छ । जस्तो कि ‘सुमिस’ नभएर ‘सुनिस’ राख्नु पर्छ किनकि, उ सुन्छ मात्रै । एकदम कम बोल्छ । कम बोल्नुको पनि आफ्नै फाइदा छ । जस्तो कि, कोहीसँग झगडा गर्नु पर्दैन गरी हाले पनि कसैले ‘बढी बोलिस्’ भन्दैन ।

अब बाँकी पुरै कच्ची बाटो रहेको चन्द्रजीले जानकारी दिए । तर कसैले केही प्रतिक्रिया जनाएनन् । मलाई जङ्गलको बाटो औधी मन पर्छ । त्यसकारण कच्ची बाटोले खासै फरक पारेन । कहिले पछाडि बसेको साथीलाई ओराल्दै कहिले चढाउँदै यात्रा जारी रह्याे । निकै चिप्लो बाटो आयो, पछाडि बसेको साथी उर्मिला डराइ र रोक्न भनी । अब उर्मिलाको बारेमा पनि दुई लाइन बताऊँ । जस्तोसुकै परिस्थितिमा पनि सम्हालिएर कदम चाल्न सक्ने एक अविचलित व्यक्तित्व ।

कच्ची बाटो छिचोलेर केही अगाडि पुग्यौँ, एउटा खोला आयो । बाइक रोकेर मुख धुन लाग्यौँ । सिआरले पानी छ्यापेर मेरो कपडा भिजाइदिए, मैले उसको भिजाइदिएँ । सबै जना हाँसे । सबैले एकअर्कालाई पानी छ्याप्न थाले, भिजाउन थाले । सायद सबैले आफ्नो बालापन सम्झे ।

सजिलो अप्ठेरो बाटो काट्दै पुग्यौ सूर्यचौर । उत्सव भोकले कराउन थाले । अहाे, यस्तो चङ्गा समयमा उत्सवको बखान नगरी कसरी बसौँ । उत्सव नाम नै काफी छ । उत्सव त्यस्तो व्यक्ति हो-“जो कहिले रिसाउन जान्दैन र रिसाएपछि खुसी हुन जान्दैन ।” र, हामी सबैलाई एकमुष्ट रूपमा समाल्दै सबैको ख्याल राख्दै हामीलाई सकुशल हाम्रो गन्तव्य पुर्‍याउने हाम्रो अभिभावक ज्यू, सुस्मिताजीको बारेमा केही नलेखी कसरी यो लेख पुरा हुन्छ ? तर, उनको बारेमा बयान गर्न मेरो शब्दहरूले ल्याकत राख्दैन ।

यसरी हाँस्दै हँसाउँदै, रम्दै रमाउँदै, सजिलो अप्ठ्यारो छिचोल्दै हामी सूर्यचौर पुग्यौँ । बर्खाको समय भएकाले हुस्सुले त्यहाँको सुन्दरता ढाकेको थियो तर त्यो पनि ठिकै भयो । त्यो सुन्दरता हेर्ने फुर्सद कसलाई थियो ? सबै जना भोकले व्याकुल थिए ।

हुन त ‘खाएको कुरा अरूलाई सुनाउनुहुन्न’ भन्छन् तर तपाईँ यति बुझ्नुस् । हामीले खानु पर्ने कुरा पनि खायौँ, खानु नपर्नै कुरा पनि खायौँ । कसैले स्वइच्छाले खाए, कसैले करले खाए र कोही करको बाबजुद पनि अपवाद रहे । छिनमै खुल्ने छिनमै हुस्सुले धपक्क ढाक्ने दृश्यले सूर्यचौर निकै मनमोहक बनाइरहेको थियो । केही हरियो घाँसको मैदान, मैदानमा चरिरहेको अर्थात् घाँस खाइरहेका केही भैँसी, एक घोडा र एक हुल केटाहरू । यहाँ ‘केटाहरू घाँस चरिरहेको छ’ भन्दा तपाईँलाई अचम्म लाग्यो होला । हो, उनीहरू करिब आठ नौ जना थिए । गोटा तीन एक थालमा घाँस केलाउँदै खाने तयारीमा थिए । धन्न यी भैँसी र घोडाहरूलाई घाँस केलाउनु पर्दैन । जे होस दृश्य रमाइलो थियो । हुस्सुले ढाकेको त्यो डाँडामा केही धुवाँ त ती हुल केटाहरूले सापटी दिएका थिए । उनीहरू आकाशतिर फर्केर लामो सासमा मुखभित्रबाट धुवाँको मुस्लो फाल्दै थिए । त्यो देख्दा यस्तो लाग्थ्यो कि, ‘उनीहरूलाई आकाश खुलेको मन्जुर छैन या एउटा छुट्टै धुमील दुनियाँको निर्माण गर्न चाहन्छन् ।’

केही प्रेमील जोडीहरू चौरको डिलमा बसेर एक अर्कामा लिप्त थिए । मानौँ कि उनीहरूले दुनियाँ भुले । कति जुकाहरूले उनीहरूको प्रेमपान गरे, उनीहरूलाई प्रवाह छैन । केही जोडीहरू लिप्तताबाट माथि उठेर कुहिरो जसरी आकाशमा उड्न फुरफुर गर्दै थिए । तल नदी बगिरहेको थियो । यी सबै दृश्य निहालेर हामी छुट्टै आनन्द प्राप्त गरीरहेका थियौँ । यतिकैमा एक साथीले गीत गाएर नाच्ने प्रस्ताव ल्याए । सबैले हुन्छ मा हुन्छ थपे र सुरु भयो नाच्ने काम । कहिले तीनपानेको तालमा नाच्यौँ । कहिले एक थरीको गीत बजाएर अर्को थरीको स्टेप दिँदै बेतालमा नाच्यौँ । तर नाच्न चाहिँ  खुब नाच्यौँ । कहिले पीर भुलेर नाच्यौँ त कहिले पीर भुलाउन नाच्यौँ । कहिले खुसी हुन नाच्यौँ त कहिले खुसी भएर नाच्यौँ । कहिले गीत बिर्सिएर नाच्यौँ, कहिले गीत सम्झेर नाच्यौँ । कहिले साथी भेटिएको उत्सव साट्न नाच्यौँ, कहिले उत्सव बिट मार्न नाच्यौँ । तर नाच्न चाहिँ खुब नाच्यौँ । आखिर समय र परिस्थितिले पनि त जिन्दगीलाई सूर न तालमा खुब नचाइरहेको छ । अनि हामी चुपचाप नाचिरहेका छौँ र नाचिरहने छौँ ।

तस्बिरहरू:

सम्बन्धित समाचार