काठमाडाैं । पर्वतीय पर्यटनलाई थप सुरक्षित, गुणस्तरीय र प्रतिस्पर्धी बनाउने विषयमा ट्रेकिङ एजेन्सीज एशाेसिएसन अफ नेपाल (टान) र गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटाेफ) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’काे ध्यानाकर्षण गराएका छन् ।
टानका अध्यक्ष निलहरी बास्ताेला, भिटाेफका अध्यक्ष गाेपाल थापा, भिटाेफका पूर्व अध्यक्ष रामप्रसाद सापकाेटा ‘कमल’सहित दुवै सङ्गठनका पदाधिकारीहरूले आज (बुधवार) प्रधानमन्त्री प्रचण्डसँग साक्षात्कार गर्दै पर्वतीय पर्यटनलाई व्यवस्थित बनाउनेबारे ध्यानाकर्षण गराएका हुन् ।
भेटका क्रममा हालै सञ्चालनमा आएको नयाँ पदयात्रा सूचना व्यवस्थापन प्रणाली (टिम्स)को प्रभावकारी कार्यान्वयन गर्ने, अनुमति लिई पदयात्रा गर्नुपर्ने क्षेत्र (Restricted Area) मा एकल पदयात्रीले समेत अनुमति पाउनुपर्ने नीतिगत व्यवस्था गर्ने र Restricted Area का गन्तव्यहरूमा उद्धारका लागि जाने हेलिकप्टरहरूले अनुमति पत्र लिएर मात्र उद्धार गर्न पाउने व्यवस्थाले अकालमा धेरैले ज्यान गुमाउन परेकोले यस्तो व्यवस्थालाई अलि सहज, छिट्टो र छरितो तरिकाबाट उद्धार गर्ने वातावरण तयार गर्ने लगायतका विषयहरूमा प्रधानमन्त्रीकाे ध्यानाकर्षण गराएको टानका महासचिव विनाेद सापकाेटाले जानकारी दिएका छन् ।
गत अप्रिल १ देखि नेपाल पर्यटन बोर्डले नयाँ पदयात्रा सूचना व्यवस्थापन प्रणाली (टिम्स) लागु गरेको छ । नयाँ नियम अनुसार पदयात्रामा जाने पर्यटकहरूले अनिवार्य गाइड लैजानुपर्ने छ । यसअघि पर्यटक एक्लै पदयात्रामा जान पाउने व्यवस्था थियो । नयाँ टिम्स निर्देशिका जारी भएसँगै पर्यटन बोर्डले जारी गर्दै आएको एफआइटी टिम्स बन्द भएको छ ।
नयाँ टिम्सकाे कार्यान्वयनमा समस्या देखिएको व्यवसायीहरूले बताएका छन् । टिम्स कार्ड अनुमति शुल्क बढी भएको, पर्यटकहरूले एक्लै घुम्न नपाएको, अनिवार्य गाइडको व्यवस्था गरेर पर्यटकहरूको खर्च बढाएको र यसले गर्दा नेपालमा पर्यटकको आगमन घट्ने लगायतका बहसहरू चलिरहेको छ ।
नेपाल पर्यटन बोर्ड र पर्यटन व्यवसायीहरूले भने पर्यटकहरूको सुरक्षाको लागि नयाँ टिम्स जारी गरेको दाबी गरिरहेका छन् ।